Thursday, January 31, 2019

राणा र लोहनीको नयाँ पार्टीको नाम राप्रपा संयुक्त

१७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता हुने पक्का भएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दा उठाउन सहमत भएको राप्रपा राष्ट्रवादीका प्रवक्ता राजेन्द्र गुरुङले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति भएको छ ।

संयुक्त पार्टीको चुनाव चिह्न हलो राख्ने सहमति भएको गुरुङले बताए । गत निर्वाचनमा राप्रपा प्रजातान्त्रिकको गोलाकारभित्र हलो र राप्रपा राष्ट्रवादीको आयातकारभित्र हलो चिह्न थियो । गोलाकारभित्रको हलोमा ८८ हजार ३७७ र आयातकारभित्रको हलोमा २८ हजार ८२८ मत खसेको थियो ।

पार्टी एकता घोषणा भने शुक्रबार राजधानी हुने भएको छ ।

Continue Reading…

समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिएला त ?

‘समृद्ध नेपाल सुखी नेपाली’ विकासको भिजन बोकेर सरकार हिँडेको छ । समृद्धि नेपालकोे चाहना र जनताको आशा बनेको छ । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा बनेको छ । तर, समृद्धि र सुख के हो र कसरी प्राप्त गर्ने भन्ने विषय भने अझै अपरिभाषित छ ।

सुप्रसिद्ध अर्थशास्त्री माईकल टुडारोले ट्रिकल डाउन (माथिबाट चुहिएर) प्रभावबाट हुने विकास जनताको चाहना पूरा गर्न पर्याप्त हुँदैन भन्दै देशको निरपेक्ष गरिबी निर्मूल गर्न प्रत्यक्ष कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्छ भन्ने विचार राखेका छन् ।

परम्परागतरुपमा विकासको अर्थ कुल ग्रार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आय बढाउनु हुन्थ्यो भने आधुनिक समाजमा विकासको अर्थ व्यापक भएकोछ । आयको समान वितरण, सबै भौगोलिक क्षेत्रको सन्तुलित विकास, मानव संंसाधनको समान विकास र देशको सांस्कृतिक संपदाको संंरक्षण तथा विकास आर्थिक विकासको परिभाषाभित्र समेटिएका छन् ।

समृद्धि विकास प्रयासको उच्चतम प्राप्ति हो । विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक पक्ष हो ।

विकासवादी टुडारो जनताका आधारभूत आवश्यकता पूरा गर्ने, जनतालाई सम्मानित जीवन यापन गर्ने वातावरण निर्माण गर्ने तथा वस्तु तथा सेवा छनौट गर्ने स्वतन्त्रता नै समृद्धि हो भन्दछन् ।

विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपुर्ण सम्पन्नतासहितको ‘समृद्धि’ निर्माण नै आजकोे आवश्यकता हो । जनताबीच आर्थिक सामाजिक समानता, सेवाप्रवाहमा समान पहुँच र जनताबीच सुमधुर सम्बन्ध नै ह्याप्पीनेस हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रबिन्दुमा राखी नागरिकलाई शान्ति पूर्णस्वतन्त्र, स्वशासित, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समृद्ध समाजको निर्माण गर्नु नै वास्तविकरुपमा समृद्धि हो ।

हाम्रो देशमा योजनावद्ध विकास र गरिवी निवारण केन्द्रीत विकास प्रयासले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेको देखिए पनि गरिब र धनीबीचको खाडल फराकिलो बनेको छ । देशको नब्बे प्रतिशत सम्पति केवल १० प्रतिशत धनाढयहरुसँग छ भने नब्बे प्रतिशत जनतासँग केवल १० प्रतिशत मात्र धनसम्पति रहेको छ ।

शहरी तथा ग्रामीण एवम् विभिन्न भौगोलिक क्षेत्र, लैगिंक र सामाजिक समूहबीच धनको वितरण पनि असमान छ । पूर्वाधारको निर्माणमा पनि समानता छैन । देशमा गरिवी रहेसम्म, आवश्यक पूर्वाधारको विकास नभएसम्म, मानव संंसाधन असक्षम रहिरहेसम्म तथा रोजगारीका अवसर सिर्जना नभएसम्म विकास र समृद्धि प्राप्त हुन सक्दैन । समृद्धि प्राप्त नभएसम्म जनतामा खुसी र सुख (ह्याप्पिनेस) पनि आउँदैन ।

अझै पनि २१.६ प्रतिशत नेपाली जनता गरिवीको रेखामुनि छन् । देशको बर्तमान वार्षिक औषत आर्थिक बृद्धिदर ६ प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फिति ३.७ प्रतिशत रहेको छ, जुन एउटा सकारात्मक पक्ष हो । तर, निर्यातको तुलनामा आयात उच्चदरमा बढिरहेकाले व्यापारघाटा उच्च छ । उच्च व्यापारघाटाको कारण विदेशी विनिमयको सञ्चितिमाथि दवाव बढेको छ ।

तापनि विदेशी विनिमयको सञ्चिति ९ महिनाको आयात धान्न मात्रै पर्याप्त छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सकारात्मक भए पनि भूमिका नगन्य जस्तै छ ।

बैंकहरुमा लगानी गर्न सक्ने गरी तरलता छैन् । तरलताको अभावमा लगानी अवरुद्ध बनेको छ । आर्थिक नीतिमा देखिएको अस्थिरताले पूँजी बजार डग्मगाएको छ । दिगो विकासका लक्ष्यहरुलाई राष्ट्रिय नीति योजना तथा वार्षिक कार्यक्रममा समाहित गरी लक्ष्य प्राप्त गर्न बस्तुनिष्ठ सूचकहरु निर्माण गरी कार्यक्रम कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने रोईलो राष्ट्रिय योजना आयोगको छ ।

लगानीका क्षेत्रहरुको पहिचान गर्नु पर्ने र लगानीका लागि धनको अपर्याप्तता भएको स्वीकार दिगो विकास लक्ष्यहरुमा आयोगले नै गरेकोछ । प्रदेशगत रुपमा तुलनागर्दा पनि गरिवी र विकासमा देखिने गरि असमानता छ ।

समृद्धि विकासबाट मात्र प्राप्त हुन्छ । विगतको विकासको समिक्षा गर्ने हो भने टीठलाग्दो अवस्था देखिन्छ । हाम्रो देशमा विकास तर्दथवादमा आधारित भएर गरियो । शासकका ईच्छा तत्काल के बाट पूरा हुन्छ, त्यसको मात्रैै विकास गरियो, जुन दिगो भएन र जनसंख्या बृद्धिको भारलाई थेग्न पनि सकेन । विकासको नारा दिएर सरकारले अरबौ रुपैया खर्च गर्‍ यो । विकास पनि धेरथोर हासिल गर्‍यो । तर त्यसको समान वितरण हुन सकेन । थोरै हुनेखानेले मात्र उपभोग गर्न पाए । धनी र गरिबबीचको खाडल झन फराकिलो बन्यो ।

विकासका नाममा प्राकृतिक स्रोतहरुको अवैज्ञानिक उपयोग गरियो । पहाडि गाउँहरुमा बाटो बनाउन भन्दै विचारै नगरी जताततै डोजर जोतियो, वनजंगल फाँडियो । पानीका सबै मुहानहरु सुके । पहाडका हरिया डाँडाहरु खैरा बने । शहरमा ठूला ठूला भवनहरु बने ।

शहरमा पनि परम्परादेखि पानी खाइरहेका धाराहरु सुके । जलस्रोतको धनी देशमा अहिले खानेपानीको हाहाकार गाउँ शहर दुवैतिर छ । पानी र आधुनिक सुविधाको खोजीमा गाउँलेहरु गाउँ छोडेर हिँड्न बाध्य छन् । तराईका शहर बजारमा मान्छे थुप्रिएका छन् । शहर बजार र तराईलाई जनसंख्या धान्न नसक्ने अवस्थामा पुर्‍याएको छ ।

यो अवस्थामा पहाडमा डोजरले खनेको बाटोको के काम ? विकासको नाममा स्थानीय मौलिक संंस्कृतिमाथि पनि चरम शोषण भयो । स्थानीय संस्कृतिहरु हराएर गए । यसप्रकारको निष्ठुरी विकासले सुख होइन, तनाव मात्र दिएको छ । समृद्धि को त कल्पनासम्म गर्न सकिँदैन ।

समृद्धि र सुखी नेपाली विकासको एक दीर्घकालीन लक्ष्य हो । समृद्धि र सुखीको लक्ष्य हासिल गर्न सजिलो छैन, तर नसकिने भने होइन । आफ्नो कमजोरी पहिचान नगरेसम्म विकास गर्न र समाज परिर्वतन गर्न सकिँदैन । सरकारले लक्ष्य राम्रो लिने तर लक्ष्य प्राप्तिको लागि लिईएका रणनीतिहरुको कार्यान्वयनमा चुक्ने सरकारको पूर्ववत बानी हो । न्यून आर्थिक वृद्धि, गरिबी न्यूनीकरणका कार्यक्रम कार्यान्वयनमा सुस्तता, धनी र गरिब, शहरी तथा ग्रामीण क्षेत्र एवं विभिन्न भौगोलिक क्षेत्र र समुदायहरूबीच रहेको गरिवीको खाडल, सीप, पुँजी र प्रविधिमा बहुसङ्ख्यक जनताको पहुँच कम, लगानीमैत्री वातावरणको निर्माण तथा औपचारिक वा सङ्गठित क्षेत्रमा संयुक्त लगानीमा आधारित उद्योगको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारीका अवसरहरू उपलब्ध गराउनु नसक्नु समृद्धि प्राप्तिका प्रमुख बाधक हुन् ।

अनौपचारिक क्षेत्रमा अत्यधिकरूपमा केन्द्रित विद्यमान अदृश्य बेरोजगारीलाई घटाउनु, कृषिमा आश्रित आवश्यकताभन्दा बढी जनसङ्ख्यालाई क्रमिकरूपले गैरकृषि क्षेत्रमा स्थानान्तरण गराउनु, स्थानीय सीप, पुँजी र प्रविधिमा पहुँच भएका स्वदेशी उद्यमीहरूको निमित्त स्वरोजगार प्रवद्र्धन गर्नु तथा प्रतिस्पर्धाका आधारमा सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्नु समृद्धिका चुनौतीका रूपमा रहेका छन् ।

संघीय शासन प्रणालीमा सरकारका तहहरुबीच स्रोतसाधनको उपलब्धता समानरुपमा नहुनु, राजस्व तथा प्राकृतिक स्रातको बाँडफाँड, संघ र प्रदेश, अन्तरप्रदेश तथा स्थानीय तहबीच समन्वय अभाव, सशासनको कमी, नीति तथा कार्यक्रमहरुको सवल कार्यान्वयनको कमी, बढ्दो व्यापार घाटा र घट्दो औद्योगिक उत्पादन, आवश्यक पूर्वाधारको निर्माणको अभावले सन्तुलित र समानरुपमा विकास गर्न कठिन हुनु, स्थीर सरकार अस्थिर आर्थिक नीति, स्थीर सरकारको अस्थिर कर्मचारी सरुवा तथा कर्मचारीतन्त्रका काममा राजनीतिक दलका कार्यकर्ताहरुको स्थायी दवाव पनि कार्यान्वयनका अनुभूत बाधाहरु हुन् ।

समृद्धि र खुसीका लागि समाजबाट गरिबी समाप्त हुनुपर्दछ । तर, गरिबीको वितरण भौगोलिक÷क्षेत्रीय रूपमा मात्र नभई जातीय रूपमा समेत दुःखलाग्दो रहेको छ । गरिबी निवारणका लागि विभिन्न निकायहरूबाट सञ्चालित गरिबी निवारण कार्यक्रमहरूबीच समन्वयको अभाव रहनु, मानव क्षमता विकासका कार्यहरू पर्याप्त नहुनु एवम् नीति, योजना र बजेट कार्यक्रमबीच समानजस्य नहुनुजस्ता समस्याहरूले सङ्ख्यात्मक रूपमा गरिबीको तथ्याङ्कमा सुधार आएको देखिए तापनि आर्थिक असमानता भने कायमै रहेको पाईन्छ ।

देशमा व्याप्त गरिबी घटाई, पूर्वाधारको अभाव मेटाई आर्थिक समृद्धि प्राप्त गर्नु आजको आवश्यकता हो । यसकार्यको जिम्मेवारी समग्र सरकारका तह, अङ्गहरू तथा सरोकारवालाहरूसमेतको भएकोले विभिन्न निकायहरूबाट सञ्चालन हुने यस्ता कार्यक्रमहरू प्रभावकारी हुनुका साथै ती निकायहरूबीच समन्वय हुनु पनि जरुरी छ ।

समृद्धि हासिल गर्ने मार्गमा सकारात्मक पक्षहरु पनि धेरै छन् । स्थिर सरकार, मुलुकको भौगोलिक विविधता, संघीय प्रादेशिक र स्थानीय संरचना, निर्वाचन र जिम्मेवारीवहन, संघीय शासन प्रणालीबाट केन्द्रमा रहेको अधिकार प्रदेश र स्थानीयतह हुँदै गाउँ गाउँ पग्नु, सरकारका तीनै तहहरु कानून बनाउन र कार्यान्यन गर्न तथा स्रोतसाधन जुटाउन र खर्च गर्न स्वतन्त्र हुनु, गाउँ शहरमा जनताको चेतनाकोस्तर बढनु, गरिब घर परिवार पहिचान र गरिब लक्षित कार्यक्रम सञ्चालन, कृषि, पर्यटन, पूर्वाधार निर्माण तथा सेवा क्षेत्रको विस्तार तल्लो तहबाट नै आर्थिक वृद्धि एवम् रोजगारी सिर्जना गरि गरिबी घटाउन र समृद्धि प्राप्त गर्न बलियो अवसरको रुपमा रहेको छ ।

सुशासनप्रतिको प्रतिवद्धता नयाँ सान्र्दभिक कानूनको तर्जुमा, असल अन्तर्राष्ट्रिय सम्बन्ध, विकासप्रतिको जनताको अभिलाषा विकासमा महिला र विभिन्न जातिहरुको उल्लेख्य सहभागिता तथा विकासका लागि सहभागी हुन उत्साहित निजी क्षेत्र समृद्धि प्राप्त गर्ने थप अवसरहरु हुन् ।

ग्लोबल खुसी सूचकांक २०१८ को प्रतिवेदनमा नेपाल १०१ औं स्थानमा रहेको छ । समृद्धिका बाधाहरुको व्यवस्थापन गर्दै अवसरको उपयोग गर्नु सरकारको अहम र प्रथम जिम्मेवारी हो । तर, सरकारको सम्पूर्ण मेसिनरी योजना परियोजना कार्यान्वयन गर्नुभन्दा राजस्व संकलनमा केन्द्रित भएको जस्तो देखिन्छ ।

राजस्व, त्यसमाथि सरकारले भन्सार संकलनलाई सफलता मान्ने गर्दछ । उत्पादन बढाउनतर्फ जोड दिँदैन । उत्पादनमुखी अर्थतन्त्रविना समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सकिँदैन ।

आर्थिक वर्षको ६ महिनामा केवल २० प्रतिशत मात्रै विकास बजेट खर्च हुनु राम्रो संकेत होइन । र, तथ्याकंलाई तोडमरोड गरेर विकास देखाउनु बुद्धिमानी पनि हुँदैन ।

समृद्धिको लक्ष्य लिएर मात्र समृद्धि हासिल हुन्छ भन्नु विनापरिश्रम अर्थात भाग्य छ भन्दैमा डोकामा दुध अड्याउन खोज्नु जस्तै हो । जनतालाई ढाँट्नु वा झुक्याउनु हो । विकास र समृद्धि हासिल गर्न आर्थिक सामाजिक विकास र समृद्धिलाई विकासको पदसोपानको सिद्धान्तमा उन्नुपर्छ ।

तुलनात्मक लाभ (जलविद्युत) र तुलनात्मकरुपमा प्रतिस्पर्धात्मक क्षमता हुने क्षेत्र (पर्यटन) हरु पहिचान गरी लगानी केन्द्रित गर्नुपर्छ । विप्रेषणमा निर्भर देशको अर्थतन्त्र उपभोगमा आधारित छ ।

उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित नबनाएसम्म देशभित्र रोजगारी सिर्जना हुन सक्दैन । यसकारण उत्पादनमूखी लगानीमा जोड दिनुपर्छ । लगानीका लागि नीतिगत स्थिरता र दिगो र विश्वासिलो लगानी वातावरण हनुुपर्दछ ।

साथै, लगानीका लागि देशभित्र ऋण प्रवाह क्षमता पनि सशक्त बनाउनुुपर्छ । मानव संसाधन तुलनात्मक लाभ भएको क्षेत्र भएकाले मानव संसाधन विकासमा जोड दिनुपर्दछ । सुशासन र विधिको सुशासन कायम गर्नुपर्दछ ।

आर्थिक विकास गरेर समृद्धि हासिल गर्न चौधौं योजनाले सोचे अनुसार कम्तिमा पनि ७.२ प्रतिशत दरले विकास गर्नुपर्दछ ।

कर्मचारीतन्त्रको सफल परिचालनविना सरकारका नीति र कार्यक्रमहरु कार्यान्वयन हुँदैनन् । यसकारण, विकास र समृद्धि हासिल गर्न कर्मचारीतन्त्रलाई नगिज्याई नगिजोली राम्रोसँग सञ्चालन गर्नुपर्दछ ।

उच्च, फराकिलो, समावेशी र दिगो आर्थिक वृद्धि, मर्यादित रोजगारीका अवसरहरुको सिर्जना र सिर्जित अवसर र सुविधाहरुमा समन्यायिक पहुँच, जनताका लागि आध्यात्मिक ज्ञान र प्रयोगको वास्तविकताको जानकारीे, शासकीय स्थायित्व अर्थात् नीति, कानुन, संस्था र नेतृत्वको सुस्थिर निरन्तरता, सुशासन, निजी र सरकारी निकायहरुमा उत्कृष्ट व्यवस्थापकीय क्षमता र आपसी समन्वय, मानव संसाधन अर्थात ज्ञानको पूर्वाधारको विकास र व्यापक प्रयोग तथा शान्तिपूर्ण एवम् मर्यादित सभ्य संस्कृतिको विकास, सरकारका तहहरुबीच सहयोग र हार्दिक सम्बन्धजस्ता समृद्धि प्राप्त गर्ने आधारभूत नीतिहरु कार्यान्वयन आजको आवश्यकता हो ।

हामीले विकासमा फड्को मार्न सकेनौं, धनको समान वितरण गर्न सकेनौ र जनतालाई समान सेवा दिन पनि सकेनौं भने समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न पनि सक्दैनौं ।

(कोइराला नेपाल सरकारका पूर्वसहसचिव हुन्)

Continue Reading…

मेलबर्नमा टी-१० क्रिकेट प्रतियोगिता हुँदै, विजेताले तीन लाख पाउने

१७ माघ, काठमाडौं । भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियसनको आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा टी-१० क्रिकेट प्रतियोगिताको हुने भएको छ ।

आगामी फागुन १२ गते अष्ट्रेलियाको मेलबर्नमा टी-१० प्रतियोगिता हुने भएको हो । यसअघि एकदिवसीय र टी-ट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी-१० स्वरुपमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गर्न लागिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भीएनसीका अध्यक्ष यश्वन्त सुवेदीले बताए ।

मेलबर्नमा पहिलो पटक हुन लागेको टी-१० प्रतियोगिताको पुरस्कार राशी तीन लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा आठ वटा नेपाली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष सुवेदीले जानकारी दिए ।

Continue Reading…

आरक्षण होइन, योग्यता विकास गर्नुहोस्- अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।नेपाल पत्रकार महासङ्घका महिला विभागले चितवनको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्नेमा जोडदिए ।

उनले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिए । प्रचण्डले पत्रकार महिलालाई इङ्गीत गर्दै भने, “तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।”

इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उनले भने, “हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।” सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उनले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको समेत बताए ।

राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, “एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।”

Continue Reading…

अस्पतालमा सरकारको दम्भ तोडिसक्यौ, अब डा. केसीका मागमा दम्भ तोड्छौ-गगन थापा

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले अस्पतालको बिषयमा सरकार झुकेको र गोविन्द केसीका बिषयम पनि झुक्ने दावी गरेका छन् । संसद बैठक स्थगित भएपछि प्रतिनिधिसभा परिसरमा पत्रकारसँग कुरा गर्दै थापाले सरकारको एउता दम्भ तुहिएको बताए ।
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले अहिलेसम्म कुनैपनि पहल नथालेको भन्दै आक्रोस पोखे । ‘एउटा सत्याग्रही, जसले जनताका हकहरु बोकर २० दिनदेखि अनशनमा छ, त्यसलाई सरकारले कुनै वास्ता गरेको छैन’, थापाले भने ‘यो दुई तिहाईका नाममा सरकारको दम्भ हो, दुई अस्पतालका बिषयमा हामीले सरकारलाई देखाइ नै दियो, ढिलो चाँडो गोविन्द केसीका बिषयमा सरकारको दम्भ पनि देखिनेछ ।’
गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय दुई दिनअघि मात्र सरकारले गरेको थियो । यही बिषयलाई लिएर कांग्रेसले संसद बैठक अबरुद्ध पार्दै आएको थियो । सरकारले दुई अस्पताललाई केन्द्र सरकार मातहत ल्याएपछि थापाले दुई तिहाईको दम्भ तोडेको बताए ।

Continue Reading…

चोटैचोटले डुबाएको मेरो क्रिकेट

जब जब नेपाली टिम कुनै प्रतियोगिता खेलिरहेको हुन्छ, म आफूलाई त्यो ठाउँमा राखेर हेर्न मन पराउँछु । अहिले नेपाली टिम एकदिवसीय र टी–२० सिरिजका लागि युएईमा छ । एकदिवसीय सिरिज जित्यौं, अब टी–२० खेल्दैछौं ।

खेलाडीको रुपमा कुनै प्रतियोगिता जित्दा कस्तो अनुभव हुन्छ मैले राम्ररी बुझेको छु । सिरिज जित्दा उनीहरुको मनमा के आइरहेको होला सहजै अनुमान लगाउन सक्छु । देशलाई जिताउँदाको उत्साह र सन्तुष्टि मैले पनि अनुभव गरेको छु नि त ! त्यस्तै उत्साह र सन्तुष्टि मैदानमै पाउन प्रयास गर्दैछु, मेहनत गर्दैछु । छिट्टै टिममा फर्कने सपना बुन्न थालेको छु ।

कहिले काँही त लाग्छ, किन मलाई नै पटकपटक चोटले सताउनु परेको होला ? मेरो दुर्भाग्य भन्ने कि नियति भन्ने । जे हुनु भयो र त्यसलाई स्वीकार नगरी अगाडि बढ्नुको विकल्प छैन । विगतको घाउ कोट्याएर बस्नुभन्दा अगाडिको बाटो हेरेको छु । किनभने अझै कमब्याक गर्ने अवसर छ । घरेलु प्रतियोगिताहरुमा राम्रो गर्न सकेँ भने म राष्ट्रिय टममा फर्कन्छु भन्ने विश्वास छ र अवसर पाउँदा प्रमाणित गरेरे दुखाउँछु पनि ।

००००

नेपालले युएईमा खेलिरहेको सिरिजबाटै कुरा सुरु गरौं । एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले पहिलो टी–२० म्याच बिहीबार खेल्दैछ । नेपाली टिमलाई हेर्दा अहिले निकै मिलेको देखिन्छ । खेल्ने शैली पनि निकै आकर्षक छ ।

पहिलो खेलमा कमजोर देखिए पनि बाँकी दुई वटा एकदिवसीयमा नेपालले निकै राम्रो खेल्यो । ऐतिहासिक सिरिज जित्दा अरुलाई जस्तै मलाई पनि खुशी लाग्यो । युएईलाई उसकै घरेलु मैदानमा हराउनु ठूलो कुरा हो ।

अहिले यो खेललाई किन सम्झिरहेको छु भने हामीले खेल्ने बेला नेपाली क्रिकेट के होला, कस्तो होला, कुन ठाउँमा पुग्ला भन्ने केही सोचेका थिएनौं । माहौल पनि त्यति बनिसकेको थिएन, उमेर पनि सानै थियौं, त्यसबेलाको उमेर नेपालको क्रिकेट यो उचाइमा पुग्ला भन्ने अनुमान लगाउन गाह्रै थियो ।

क्रिकेटमा भिज्न थालेपछि भने पनि एकदिवसीय खेल्ने र विश्वकपसम्म पुग्ने सपना देखेको थिएँ । अहिले त्यही सपना पूरा भइरहेको छ । म भने मैदानबाहिर बसेर त्यसको अनुभव गर्न बाध्य छु । तर, नेपाली क्रिकेटलाई यो स्थानमा पुर्‍याउन आफूले पनि योगदान गर्न पाएकाले खुशी लाग्छ ।

००००

२०१२ मा मलेसियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोर र २०१३ मा बर्मुडामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जित्दा म पनि राष्ट्रिय टिममा थिए । त्यसले नेपाली क्रिकेटलाई अगाडि लैजाने बाटो देखाएको हो । त्यसबेला राम्रो गर्न नसकेको भए अहिले पनि हामी डिभिजन लिगहरुमा खेल्दै हुन्थ्यौं होला ।

हुन त डिभिजन फाइभदेखि अहिलेसम्म हेर्ने हो भने हामी हरेक तहमा दुई पटक खेल्दै यहाँसम्म आइपुगेका छौं । २००८ मा जर्सीमा डिभिजन फाइभ खेलेको नेपालले २०१० मा काठमाडौंमा भएको डिभिजन फाइभ जितेको थियो । त्यही वर्ष इटालीमा डिभिजन फोर खेल्यौं । २०१२ मा मलेसियामा डिभिजन फोर जित्यौं । २०१३ मा बर्मुडामा डिभिजन थ्री जित्यौं । अर्को वर्ष विश्वकप छनोट खेल्यौं तर, राम्रो प्रदर्शन गर्न सकेनौं । त्यही कारण मलेसियामा डिभिजन थ्री खेल्नुपर्‍यो तर, नेपालले उपाधि जित्यो ।

२०१५ मा नामिबियामा भएको डिभिजन टुमा तेस्रो भयौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–२०१७ मा हामीले सोचेजस्तो गर्न सकेनौं । २०१८ मा नामिबियामा फेरि डिभिजन टु खेल्यौं । त्यहाँको हाम्रो उपलब्धी सबैको मनमा ताजै छ । कसरी हामी विश्वकप छनोटसम्म पुगेका थियौं र कसरी एकदिवसीय मान्यता पायौं भन्ने कुरा सबैको सम्झनामै छ ।

उमेर समूहमा कप्तानको भूमिका निभाएको मैले २०१० मा राष्ट्रिय टिममा डेब्यू गरेको थिएँ । चोटका कारण केही प्रतियोगिता छुटे पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म राष्ट्रिय टिमबाट खेलेँ । चोट बोकेका दिन सम्झँदा दुःख लाग्छ, खेलाडीलाई चोटले सताउने पीडा ठूलो हुने रहेछ ।

००००

म गल्लीमा टेनिस बल खेलेर हुर्किएको हुँ । मेरो क्रिकेट मोह देखेर कक्षा ७ मा हुँदा ममीले बालुवाटार क्रिकेट एकेडेमीमा लगिदिनुभयो । एकेडेमीमा गएर सिक्न थालेपछि त क्रिकेट अलि राम्रो हुँदै गयो । त्यहाँ सामसङ, अरुण, रिकेश गुरुहरुसँग सिक्न पाएँ । त्यसबेला एकेडेमीमै गएर सिक्न पाउनु पनि ठूलो कुरा थियो । आफ्नो खेलमा के कस्तो परिवर्तन गर्नुपर्छ, कसरी खेल्दा के हुन्छ भन्ने सबै कुरा एकेडेमीमा बुझ्ने मौका पाए ।

त्यही कारण २००६ मा यू–१५ राष्ट्रिय टिममा छानिएँ । मलेसियामा भएको टु डे टुर्नामेन्ट खेल्न गएको थिएँ । हामीले जित्यौँ पनि । त्यसपछि यू– १७, यू–१९ बाट खेलेँ । २०१० मा एसियन गेम्स क्रिकेटमा राष्ट्रिय टिममा डेब्यू गरेँ । त्यतिबेला १७ वर्षको थिएँ । प्रतियोगितामा माल्दिभ्सविरुद्ध एक खेल खेल्न पाएँ त्यो २० ओभरकै प्रतियोगिता थियो ।

मलाई सम्झना छ, मैले १० बलमा ९ रन बनाएको थिएँ भने बलिङतर्फ ७ रन दिएर दुई विकेट लिएको थिएँ । १३० रनको लक्ष्य दिएको हामीले ५ रनले खेल जित्यौं । आफ्नो डेब्यू खेलमै जित्न पाउँदा धेरै खुशी लागेको थियो ।

उमेर समूह खेलेर राष्ट्रिय टिममा आएका कारण सबै वातावरण बुझ्ने मौका पाएको थिएँ । त्यो बेलाको माहोलमा धेरै खुशी पनि लागेको थियो । रोय डायस सर प्रशिक्षक हुनुहुन्थ्यो । युवा खेलाडी भएकाले पनि मैले आफूमा धेरै परिवर्तन ल्याएको थिएँ । नयाँनयाँ कुराहरुको अनुभव पनि गर्न पाएँ ।

००००

२०१२ को यू–१९ विश्वकपको बेला म नेपालको कप्तान थिएँ । एसीसी छनोट र आईसीसी छनोट दुबैमा दोस्रो भएर हामी विश्वकपसम्म पुगेका थियौं ।

त्योभन्दा अघि २०१० को विश्वकपमा लागि भएको २००९ को छनोटमा हामीले राम्रो गर्न सकेका थिएनौं । त्यसैले पनि २०१२ को लागि हामीले राम्रो गर्नु पर्ने थियो । छनोटमा सोचेजस्तो खेल्यौं र विश्वकपमा पुगेका थियौं ।

तर, अस्टे«लियामा सोचजस्तो भएन । घुलमिल हुन सकौँ भनेर एक हप्ता अगाडि गएका पनि हौं । तर एसियाको अवस्था र त्यहाँको अवस्था त भिन्नै थियो । ‘स्लो ट्रयाक’मा खेलिरहेका हामी फास्ट ‘ट्रयाक’ मा फास्ट बलरका सामू निरिह जस्तो भयौं । नेपालले राम्रो प्रदर्शन गर्न सकेन । अस्ट्रेलिया र इंग्ल्याण्डसँग ठूलो हार व्यहोर्‍यौं । आयरल्याण्डसँग जित्न सकिने खेल पनि हार्‍यौं ।

हामीले फास्ट बलिङमा अभ्यास गर्ने अवस्था थिएनौं । फास्ट बलर नै थिएनन् भन्दा हुन्थ्यो । प्लास्टिक बलले नजिकैबाट बलिङ गरेर अभ्यास गरेका थियौं । अस्टे«लिया पुगेपछि अभ्यासमा ध्यान दिएका त हौं तर, सोचेजस्तो भएन ।

हुन त फास्ट बलिङ भनेर उनीहरु पनि १४५ को स्पिडमा बल फाल्ने खाले त होइनन् । मिडियम प्रेसर नै हो तर, हामीले अवस्था बुझेर खेल्न सकेनौं ।

भिन्नता के रहेछ भने ‘स्लो ट्रयाक’मा खेल्ने हाम्रो शरीरको अवस्था थोरै भएपनि सुस्त नै हुनेरहेछ । छोटो समयमा त्यो सबै बुझ्नै सकेनौं । तर, त्यस्तै अवस्थामा खेल्न जानअघि त्यस्तै तयारी हुनुपर्छ भन्ने पाठ भने सिकायो ।

हामीले कति सिक्यौं त्यो अलग हो ।

जे होस् त्यो विश्वकप क्रिकेट यात्रा हाम्रा लागि धेरै कुरा सिक्ने अवसर पनि थियो । त्यो टिमबाट राष्ट्रिय टिममा धेरै खेलाडी पुगे, कति अहिले पनि छन् । त्यसबेला राष्ट्रिय टिममा पुग्ने बाटो यू–१९ प्रतियोगितामा गर्ने प्रदर्शन नै थियो । अहिले त यू–१५, यू–१७ लाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नै हटाएको छ र यू–१९ को महत्व अझ बढेको छ ।

००००

उमेर समूहमा राष्ट्रिय टिमको कप्तान बनेर देशलाई जिताउन पाउँदा छुट्टै सन्तुष्टि मिल्थ्यो । त्यही उपलब्धीहरुले राष्ट्रिय टिममा पनि खेल्न पाएको हो जस्तो लाग्छ । राष्ट्रिय टिमका उपलब्धी पनि सामान्य भने होइनन् ।

पछिल्ला वर्षहरुमा चोटका कारण मैले व्यहोनुको परेको समस्याहरु भने बग्लै छ । हुन त खेलाडी भएपछि चोटलाई स्वीकार गरेर अघि बढ्न सक्नु पनि पर्छ । तर चोट पनि एकपटक मात्रै होइन, पटक पटक हुँदा धेरै समस्या भयो । घुँडाकै चोट बल्झयो, औँला भाँच्चियो, अप्रेसन पनि सोचेजस्तो हुन सकेन । यसले मलाई लामो समयसम्म क्रिकेटबाट टाढा बनायो । र त आज लगातारको प्रयासका बाबजुद राष्ट्रिय टिममा फर्कन गाह्रो भइरहेको छ ।

हुन त घरेलु लिगहरुमा अवसरहरु पाइरहेको छु तर, त्यसमा राम्ररी बढ्न सकिरहेको छैन । इमान्दार भएर भन्नुपर्दा मैले पछिल्लो समय पाएको अवसरलाई उपलब्धीमा बदल्न सकेको छैन । अब त प्रतिस्पर्धा पनि बढिहरेको छ । नयाँ खेलाडीहरु आएका छन्, जुन नेपाली क्रिकेटका लागि राम्रो हो ।

००००

सम्झिएर बस्ने मन त छैन तर, आफ्ना कुरा भनिरहँदा चोटले गलाएका दिनहरु सम्झना आएका छन् ।

सन् २०१४ को टी–२० विश्वकप छनोटका लागि २०१३ मा भएको क्लोज क्याम्पमा घाइते भएपछि मेरो क्रिकेटमा ब्रेक लाग्दै गयो । क्याम्प सुरु भएको पहिलो दिन नै घाइते भएको थिएँ । हामी वामअप गरिरहेका थियौं, त्यसका लागि विस्तारै फुटबल खेलिरहेका थियौं । खुट्टा फर्किएर म ढलेँ ।

खुट्टा विस्तारै सुन्निदै गयो । एक्सरे गरेर हेरेँ । लिगामेन्ट च्यातिएको आशंका लागेपछि एमआरआई गरियो । नभन्दै लिगामेन्ट च्यातिएको रहेछ । दुई महिना लगाएर उपचार गरेँ । घुँडाको सुरक्षाको लागि ब्रेस लगाएर पनि खेलेँ ।

एकदिवसीय विश्वकप–२०१५ का लागि २०१४ मा भएको छनोटका लागि खेल्न राष्ट्रिय टिममा फर्किएँ । छनोटका खेलहरु न्युजिल्याण्डमा भएको थियो । तर, हामीले राम्रो खेल्न सकेनौं र हामी फेरि डिभिजन थ्रीमा झर्‍यौं ।

त्यहीँ प्लेअफको अन्तिम खेलमा युगान्डासँग खेल्दा शरद भेषावकर दाइसँग ठोक्किएर फेरि घाइते भएँ । त्यसपछि घुँडाको अप्रेसन गर्नुपर्‍यो । त्यो खेलमा हामीले १६० रनले युगान्डालाई हराएका थियौं । मैले घाइते भएर रिटायड हर्ट हुनुअघि ५१ बलमा ९ चौका र १ छक्कासहित ५९ रन बनाएको थिएँ । पूरा खेल नखेले पनि त्यसमा म म्यान अफ दि म्याच भएको थिएँ ।

तर, म घाइते भएँ । ठोक्किएको बेला नै अब मैले खेल्न सक्दिनँ होला भन्ने लागेको थियो । नभन्दै त्यही चोटले विश्वकप खेल्ने मेरो सपना खोस्यो । नेपालले २०१४ को टी–२० विश्वकप खेल्दा म टिम बाहिर बस्नु पर्ने भयो । यो सबै सम्झिँदा मन अमिलो भएर आउँछ । किन त्यही बेला घाइते हुनुपरेको होला जस्तो लाग्छ । तर, खेलाडी भएपछि चोटलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । म १५ महिना जति मैदान बाहिर भएँ ।

इंग्ल्याण्डमा केन्ट क्रिकेट लिग खेल्न गएर फेरि क्रिकेटमा फर्किएँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डसँग खेलमा राष्ट्रिय टिममा आएँ । त्यसपछि पपुवा न्यूगिनीविरुद्ध खेल्न गएँ । त्यही बेला औंलामा चोट लाग्यो । त्यसले धेरै समय मैदान बाहिर बनायो ।

अपरेसन राम्ररी नहुँदा धेरै दुःख पाएँ । सुरमा अपरेसन गर्ने कि नगर्ने भन्ने अन्यौल थियो । कसैले अपरेसन गर्नुपर्छ भन्थे, कसैले पर्दैन भन्थे । लामो अलमलपछि अपरेसन गर्ने निर्णयमा पुग्यौं तर, अपरेसन बिगारिदिए । त्यसले गर्दा समय त गयो, औंला बाँगो भयो । दुख्ने या ब्याट समाउन गाह्रो हुने चाहीँ भएन । राम्ररी खेल्न सक्छु । घुँडाको चोट पनि ठीक भएको छ ।

००००

कहिले काँही लाग्छ, मलाई चोटले सताउन नै लेखिएको थियो कि ! दुर्भाग्य भन्ने कि यस्तै हो भन्ने । जे हुनु भयो तर, त्यही चोटले टिममा फर्कन गाह्रो भयो ।

हुन त अझै कमब्याक गर्ने अवसर छ । घरेलु प्रतियोगिताहरुमा राम्रो गर्न सकेँ भने कमब्याक हुन्छु । अब आफूलाई प्रमाणित गर्ने अवसर पाउँदा राम्रो गर्नैपर्छ ।

राम्रोसँग खेलिरहेको बेला घाइते भएर लामो समय मैदान बाहिर हुनुपर्दा जो कोही खेलाडीलाई अप्ठ्यारो भइहाल्छ । घाइते भएको खेलाडीलाई कसरी छिटो ठीक गर्न सकिन्छ भन्नेतर्फ कुनै काम भएको छैन जस्तो लाग्छ । आफैंले गर्न पनि राम्रो उपचारहरु सम्भव भएन, त्यसले गर्दा समय बढेको हो ।

अहिले मिलेसम्म प्रतियोगिताहरु खेलिरहेको छु । नियमित अभ्यास पनि गरिरहेको छु तर, अझैसम्म सोचेको जस्तो भइरहेको छैन । इपीएल, पीपीएल, डीपीएलमा पनि राम्रो गर्दै जान सकेँ भने कमब्याकको बाटो बन्छ भन्ने लाग्छ ।

पछिल्लो समय चोटका कारण मैदान बाहिर रहँदा अरु केही गर्ने कि भनेर पनि सोचेँ । टिममा नभएपछि आम्दानीको बाटो त बनाउनु पर्‍यो । बाहिरको जस्तो सुविधा छैन हामी कहाँ । त्यसैले व्यवसाय गर्न थालेको छु ।

तर, म क्रिकेटबाट टाढा भएको छैन । नियमित अभ्यास गरिरहेको छु, क्रिकेट खेलिरहेको छु । पहिले अरु प्रतियोगिता हुँदैनथ्यो । राष्ट्रिय टिमको खेल हुँदा मात्र अभ्यास हुन्थ्यो । अहिले टी–२० फ्रेन्चाइज लिगहरु भइरहेका छन् । राष्ट्रिय टिममा पर्नेले मात्रै होइन, घरेलु लिग खेल्नेले पनि नियमित खेल्न पाएका छन् । एउटा खेलाडीका लागि यो ठूलो कुरा हो ।

तर, क्रिकेट समर्थकलाई मात्रै होइन, हामी खेलाडीलाई पनि दुःख लाग्ने कुरा क्रिकेट संरचनाहरु नै हो ।

मूलपानीमा क्रिकेट रंगशाला बन्छ भनेर मैले खेल्ने थाल्ने बेला २००६ देखि नै सुनिएको हो । तर सुनेर मात्रै समय बित्यो । अहिले बनेको पनि अन्तर्राष्ट्रिय स्तरको छ जस्तो लाग्दैन । गएर हेर्दा पनि खुशी हुने जस्तो केही देखिँदैन । खाली एउटा खेल्ने मैदान मात्र छ । क्रिकेटबाट यत्तिका उपलब्धी पाइराख्दा पनि हुन सक्ने जति ध्यान नभएको देख्दा दुःख नै लाग्छ ।

विश्वकप खेलिसक्यौं, एकदिवसीय मान्यता पाइसक्यौं तर, पनि एउटा राम्रो क्रिकेट रंगशाला छैन । कीर्तिपुर मैदानकै पनि रेखदेख जुन रुपमा हुनुपर्ने हो भएको छैन । हिजो भर्खर चितवनमा रंगशाला बनाउने भनेर धुर्मुस सुन्तली फाउण्डेसनले घोषणा गरेका छन् । अब विस्तारै केही हुँदै जाला कि जस्तो पनि लाग्छ ।

पोखरामा पनि राम्रो मैदान बनाउन सक्ने ठाउँ छ । हामीले पीपीएलमा खेलेको मैदान नै पनि एकदमै क्षमता भएको मैदान हो । हामीले त्यहाँ राम्रो मैदान बनाउन सक्ने हो भने धेरै कुरा हुन्छ । सही ठाउँमा सही निर्णय लिन सक्नै पर्छ ।

००००

अब एकदिवसीय क्रिकेट खेल्ने मन छ । मेरो मात्र होइन, क्रिकेटमा लागेका सबैको चाहना हुन्छ । अझ राष्ट्रिय टिममा खेलिरहँदा घाइते भएर बाहिर बस्नुपरेको मलाई त्यो चाहना धेरै छ । त्यसैले देशका लागि खेल्न मेहनत गरिरहेको छु । गरिरहेको पनि छु । ब्याटिङमा नै फोकस गरिरहेको छु ।

त्यसका लागि आफ्नो खेल थाहा हुनुपर्छ । टिमलाई के चाहिन्छ भन्दा पनि आफ्नो खेललाई विकास गर्दै लैजाँदा राम्रो हुन्छ । सबै कुराका लागि तयार हुनैपर्छ ।

अहिले युएईसँगको प्रतियोगितामा पनि हामीले पछिल्लो दुई खेलमा निकै राम्रो गरेका हौं । नेपालले पहिला ब्याटिङ गरेर लक्ष्य दिन सक्दैन भन्ने कुरालाई पनि फेर्न सक्यौं । यही हिसाबले नेपाली क्रिकेट राम्ररी नै अगाडि बढ्दै नै जान्छ ।

हारेको बेला सबैभन्दा धेरै दुःख लाग्ने पनि खेलाडीलाई नै हो । हामीले एउटा साझेदारी मात्रै बढाउन सकेको भए…. एउटा विकेट लिएको भए …. जित्यौं जस्तो हुन्छ ।

अब टी–ट्वान्टीमा हामीले तीन खेल नै जितौं भन्ने लागेको छ । त्यसका लागि टिम तयार पनि छ । हुन त युएईको घरेलु मैदान पनि हो । उनीहरुले नियमित खेलिरहेका पनि रहेका छन् । जे होस् यो हाम्रो समय हो, हामीले जित्छौं ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी

अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २१ औँ श्रृङ्खलामा यो हप्ता क्रिकेट खेलाडी पृथु बास्कोटाको कथा प्रस्तुत गरिएको हो ।)

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog