Showing posts with label samachar. Show all posts
Showing posts with label samachar. Show all posts

Sunday, January 20, 2019

डडेल्धुराका महिलालाई ‘घरआँगन’मै रोजगारी

६ माघ, डडेल्धुरा । विष्नादेवी जोशी ५६ वर्ष भइन् । गन्यापधुरा गाँउपालिका-१ असीग्रामकी उनलाई अहिले आलु स्याहार्न चटारो छ । उनको दैनिक कमाइ पनि राम्रै छ । ‘दिनको ५०० कमाउँछु बा,’ खेतमा आलु निकाल्दै गरेकी विष्नादेवी बोलिन् ।

गन्यापधुरा गाँउपालिक- १ भेटामा रहेको ठुल्खाली क्षेत्र केहीवर्ष पहिले उजाड थियो । अहिले त्यही ठाउँमा आलुुको बीउ खेती भइरहेको छ । त्यहीँ काम गर्छन् यहाँका महिलाहरु । ‘म बिहे भइ यस ठाँउमा आउँदा पुरै डाँडा बाँझो थियो । खाली घाँस मात्र थियो,’ विष्णदेवी अघि भन्छिन, ‘यस्तो परिवर्तन होला भनेर हामीले सपनामा पनि देखेका थिएनौं ।’

अहिले महिलाहरुले दैनिक ज्यालाबाट घरखर्च चलाएका छन् । ‘हामी देउरानी जेठानी मिलेर विहान-साँझ घरको काम गरेर दिनभरी यही फर्म आएर हाँसो-मजाक गर्दै काम गर्छौ, घरमा परिवार पनि खुसी छन्,’ उनले अघि भनिन् ।

घरआँगनमै रोजगार पाएपछि घर खर्चको साथै बालबालिकाको पढाइ खर्चमा समेत सहयोग भएको विष्णदेवीको भनाइ छ ।

भागेश्वर एग्रीकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेड भेटा ठुल्खालीमा विष्णदेवी जस्तै ३० जनाले काम गर्ने गरेका छन् ।

उनीहरु मध्ये एक हुन् बसन्तीदेवी अवस्थी । उनी पनि दिनभर त्यहीँ फर्ममा काम गर्छिन् । श्रीमान विदेश गएपछि घरको सबै जिम्मा उनकै काँधमा आयो ।

भारतमा श्रीमानले कमाउने ८ हजारले उनलाई घरखर्च धान्न धौधौ थियो । तर, गाउँमै आलु बीउ खेतीको फर्म खुलेपछि उनले पनि दैनिक ५०० कमाउन थालिन् । जसले गर्दा घरखर्च चलाउन सहज भएको छ ।

‘उतिबेला समस्या थियो, केटाकेटीको पढाइलाई पनि असर परिरहेको थियो तर अहिले राम्रै भएको छ,’ उनी भन्छिन्, ‘बाँझो जमीन राम्रो भएको छ । हामीलाई पनि रोजगार मिलेको छ, पैसाको त्यती समस्या छैन आजभोली ।’

जिल्लामा आलुको बीउको समस्या देखेपछि भागेश्वर एग्रीकल्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेडले बीउ उतपादन थालेको हो ।

पाँचजना मिलेर बाँझो जमीनलाई सदुपयोग गरी रोजगारीको वातावरण सिर्जना गर्नुका साथै जिल्लामा आलुको बीउ पुर्‍याउने लक्ष्य लिएको प्रालिका प्रमुख संचालक दत्तराज अवस्थीले बताए ।

ठुल्खालीमा उनीहरुले करिब ८० रोपनी जग्गा भाडामा लिएर फर्म संचालन गरेका छन् । अहिले दैनिक १० देखि ३० जनाले यहाँ रोजगारी पाएका छन,’ संचालक अवस्थीले भने, ‘पाँच जनाले २५ लाखको लगानी गरेर यही वर्ष ५० क्विन्टल बीउ आलु र ७ हजार दाना पीभीएस लगाएका छौ । यो बाँझो जमीनमा यसवर्ष खासै फल्लाजस्तो छैन, धेरै आम्दानी हुँदैन तर जमीन अनुसार ५ सय क्विन्टल फलेको छ ।’

यस सिजनमा फलेको आलु शीत भण्डारमा राखी भदौमा किसानलाई वितरण गर्ने योजना रहेको अवस्थीले बताए ।

Continue Reading…

उद्योगीको स्वार्थले विषालु बनेको सिर्सिया

६ माघ, वीरगञ्ज । वीरगञ्जको प्रसौनी विर्ताका प्रदिप कुमारलाई साथीभाईसँग सिर्सिया नदीमा पौडी खेलेको याद ताजै छ । तर अहिले उनलाई सिर्सिया नदीको डिलमा समेत जान घिन लाग्छ । उनी सिर्सियालाई वीरगञ्जको बागमतीको संज्ञा दिन्छन्

हुन पनि औद्योगिक प्रदुषणले सिर्सिया नदी नभएर नाला जस्तै बनेको छ ।  बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको रामवनको झाडीमा सिर्सिया नदीको मुहान छ । झाडी मुहान भएपनि सिर्सिया नदीमा बाहै्र महिना पानी आउने गरेको छ ।

परवानीपुरको दक्षिणमा यो नदीमा ‘कियासुत’ नदी आएर मिसिन्छ । त्यसैगरि ‘वौद्यी’ खोला पनि यसैमा विलय हुन्छ । मुहानबाट त कञ्चन पानी नै निस्कन्छ । तर ३० किमि दूरी छिचोलेर वीरगञ्ज पुग्दा नपुग्दै नदीको पानी प्रदुषणले कालो गन्हाउने बन्न पुग्छ ।

रक्सौलको दक्षिणमा गएर यो नदीमा वीरगञ्जको पूर्वबाट बग्ने सिंघिया नदी आएर मिल्छ । सिमरा, जीतपुर, छातापिपरा, परवनीपुर र वीरगंजमा स्थापना भएका उद्योगहरूबाट निष्कने प्रदुषित पानी सिधै नदीमा छोड्ने गरेकोले पवित्र र कञ्चन नदी अहिले विसालु बनेको छ । यस क्षेत्रमा औद्योगिकरणको विकास क्रम शुरु भएसँगै नदीको अवस्था बिग्रन थालेको स्थानीय बताउँछन् ।

विश्व स्वास्थ्य सङगठनले तय गरेको मापदण्डअनुसार प्रतिलिटर पानीमा ५ सय मिलिग्रामभन्दा बढी ठोस वस्तु भेटिए त्यो पानी प्रदूषित हुन थाल्छ । दुई दशक पहिले सिर्सिया नदीको पानी परीक्षण गर्दा औद्योगिक क्षेत्रमा प्रवेश गर्नुअघि नदीको प्रतिलिटर पानीमा ०.४ ग्राम ठोस पदार्थ भेटिएको थियो । पछिल्ला दशकमा सिमरा, वीरगञ्ज क्षेत्रमा कलकारखानाहरूको स्थापनामा वृद्धि भएकोले सिर्सिया नदीको पानीमा प्रदूषणको मात्रा निकै बढेको छ ।

बग्छ विसालु पानी

विगतमा सिर्सिया नदी स्वच्छ र सफा थियो तर छाला, घ्युलगायत विभिन्न उद्योगको केमिकलयुक्त दूषित पानी खसाल्नाले सिर्सिया नदी एकातिर प्रदूषित बन्दै गइरहेको छ । भने अर्कोतिर नदी अतिक्रमणको चपेटामा पर्दै गईरहेको छ । सिर्सिया वर्षेनी सानो हुँदै गएको र सम्बन्धित निकायले यसमा कुनै चासो नदिएकोमा स्थानीय चिन्तित छन् ।

वीरगञ्ज-सिमरा क्षेत्रका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन उद्योगहरुबाट निस्कने रसायन तथा विकारहरू प्रशोधन नगरी नदीमा छोड्ने गरिन्छ । नदी छाला कारखानाहरुको लेदो, खरानी, नगरहरुबाट फालिने फोहेार, चौपायाको शव, टेक्सटायल, औषधी  लगायत कारखानाहरुको प्रदुषित पानी, नगरको ढलको पानीका कारण प्रदुषित छ ।  सिर्सियाको प्रदुषणबाट आम जनजीवन र कृषिमा प्रतिकुल असर परिरहेको छ ।

तीन दशक यतादेखि वीरगञ्ज सिमरा क्षेत्रमा तीव्र रुपमा उद्योग स्थापना भएका छन् । तर, प्रायः सबै कलकारखानाहरूले फोहरमैलाको उचित व्यवस्थापन नगरी कतिपयले सोझै र केहीले नदेखिनेगरी भूमिगत नालाबाट सिर्सिया नदीमा खसाल्ने गरेका छन् ।

सिर्सिया नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, श्रीसिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर, र वीरगञ्ज महानगरपालिकाका  सिर्सिया नदी किनारका बासिन्दा नराम्ररी प्रभावित छन् ।

नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत विभिन्न किसिमको रोगको संक्रमण देखिने गरेको छ । नेपाल तर्फ मात्रै होईन सिर्सियाको असर छिमेकी मुलुक भारतको सीमावर्ती शहर रक्सौलमा पनि पर्छ । सिर्सियामा भएको प्रदुषण नियन्त्रणको माग राखेर रक्सौलका अगुवाहरुले पनि पटक पटक आन्दोलन गरेका छन् ।

तर प्रदूषणको नियन्त्रण वा समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो नदिएका कारण सभ्यताको प्रतीक मानिने सिर्सिया नदी विनाशको बाहक बन्दै गएको स्थानीय बताउँछन् । केहि व्यक्तिले सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन संघर्ष समिति नै गठन गरेको भएपनि खासै उपलब्धीमुलक काम गर्न सकेको छैन । संघर्ष समिति निष्क्रिय जस्तै छ ।

तीन दशक अघिसम्म सिर्सिया नदीमा पौडी खेल्न सक्ने अवस्था रहेपनि अहिले नदीको किनारसम्म पुग्न पनि नाक थुन्नुपर्ने अवस्था छ । सिर्सिया नदीको पानीले सयौं किसानको जमिन सिञ्चित हुने गरेको थियो ।

जीतपुरका बलिराम साह सिर्सिया नदीमा खसेको औद्योगिक फोहर पानीले कृषि बाली नष्ट हुनुको साथै खेतको उर्वरा शक्तिमा ह्रास आएको गुनासो गर्छन् । ‘पहिला सिर्सिया नदीमा नुहाइन्थ्यो, गर्मीमा पौडी खेलिन्थ्यो, अब त सिर्सियाको पानी छुन पनि घिन लाग्छ,’ उनी भन्छन् ।

प्रतिवेदन रद्दीको टोकरीमा

तीन दशक यता धेरै पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले सिर्सिया नदीको प्रदूषणको कारण प्रभावित क्षेत्र तथा समाधानका उपायबारे यथार्थ प्रतिवेदन र्सार्वजनिक भएको छ ।

बङ्गलादेशको डा. एम इकरामुल हकको टोली र रसायन विज्ञ उत्तम कुँवरको स्थलगत अध्ययन प्रतिवेदनले पनि नदीको प्रदुषणको कारकतत्व उद्योगधन्दाहरु नै भएको निष्कर्ष निकालेको छ ।

त्यतिमात्रै होईन, वीरगञ्जमा वि.स. २०६७ सालमा सिर्सिया नदी अनुगमन समिति २०६७ नै गठन भएको थियो । अनुगमन समितिले तत्कालिन वीरगञ्ज उपमहानगरपालिका, अवैद्य रुपमा सञ्चालित रक्सी भट्टी र औद्योगिक क्षेत्रका ४६ वटा ठूला तथा साना उद्योगले सिर्सिया नदीको पानीलाई प्रदुषित गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर यस्ता प्रतिवेदनहरु प्रतिवेदनमै सिमित छन् । कार्यान्वयन गर्ने निकाय प्रतिवेदनबारे मौन छन् ।

प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो । बाराको रामपुरटोकनीस्थित नारायणी छाला उद्योग, बाराको लिपनीमालस्थित मोरियम एण्ड मारियम लेदर इण्डष्ट्रिज, बीरगञ्ज बहुअरीस्थित नेशनल लेदर इण्डष्ट्रिज, लिपनीबिर्ता स्थित ग्लोबल लेदर टेनिग इण्डष्ट्रिज, नेपाल लेदर र रामपुरटोकनी स्थित एभरेष्ट छाला कारखानालाई तत्काल कारबाही गर्नुपर्ने प्रदिवेदनमा उल्लेख गरिएको थियो ।

नदीको पानी प्रदुषित गर्ने उद्योगमा त्रिवेणी टेक्सटाइल इण्डष्ट्रिज परेको छ । यसले प्रत्येक दिन कारखानामा २४ टन भुस बालेर त्यसको खरानी कियासुत नदीमा फयाक्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नदीमा सोझै केमिकल प्रभाव गर्ने उद्योगहरुमा टेक्सटाईल, साबुन र डिष्टिलरी उद्योगहरु परेका छन् ।

यस्ता उद्योगमा अरनिको टेक्सटाइल, सिद्धी टेक्सर्टाईल, डायमण्ड टेक्सटाइल, न्यु अनिल टेक्सटाइल, इष्टर्न टेक्सटाइल, हिमाल डिष्टिलरी प्रालि, छातापिपरास्थित सुर्या एग्रो प्रोडक्सन एण्ड कुसुम आयल, बिनायक एग्रो प्रालि, जितपुरस्थित शिवशक्ति घ्यु उद्योग, शिवशक्ति सोप इण्डष्ट्रिज, बाराको बजनीस्थित पुजा सोप एण्ड केमिकल इण्डष्ट्रिज रहेका छन् ।

त्यसैगरी नदीमा तेजावयुक्त पानी प्रभाव गर्नेमा हुलास स्टिल, भगवती स्टिल, जय विश्वकर्मा इण्डष्ट्रिज, साल्ट एण्ड स्विट र हिमाल स्टिल रहेका छन् । यसबाहेकका उद्योगहरुले समेत फोहोर विना संकोच नदीमा फ्याक्ने गरेको समितिले पत्ता लगाएको थियो ।

तर हालसम्म प्रतिवेदनमा आएका निष्कर्षका आधारमा समाधानको कुनै उपाय अबलम्बन गरिएको छैन् । स्थलगत अध्ययनबाट नदीको पानी प्रदुषित हुनुको कारण, औद्योगिक प्रदुषण नियन्त्रणका बारेमा मुलुकमा भएका व्यवस्थाहरु र कानुनी उपचार गरी तीन वटै पाटोलाई प्रतिवेदनमा समेटिएको तत्कालिन सिर्सिया नदी अनुगमन समितिका संयोजक एवं पत्रकार रितेश त्रिपाठी बताउँछन् ।

‘हामीले त एकदमै गहिराईसम्म पुगेर अध्ययन गरेका थियौं । नदि सफा होस, नदी छेउका वासिन्दा प्रदुषणबाट मुक्त होउन भन्ने चाहना हो,’ उनले भने ‘कानुन कार्यान्वयन गर्ने निकायले कारबाही गर्न सकेन, त्यसले गर्दा प्रदिवेदन आएको ८ वर्ष वितिसक्दा पनि हाम्रो चाहना अधुरै रह्यो ।’

२५ पन्नाको प्रतिवेदनले दिएको सुझावलाई स्थानीय प्रशासनले कार्यान्वयन मात्रै गर्न नसकेको संयोजक त्रिपाठी बताउँछन् ।

कारबाही शून्य

नदीलाई प्रदूषित पार्ने उद्योगका सञ्चालकहरु वीरगञ्ज उद्योग वाणिज्य संघमा आवद्ध छन् तर आˆनो उद्योगबाट निस्कने दूषित पानीलाई शुद्धीकरण गर्न पहल गरेका छैनन् । सिमरामा रहेको सुर्य नेपाल प्रालीले अपनाएको प्रदुषण नियन्त्रण प्रविधि अध्ययन गर्न मानिसहरु बाहिरबाट समेत आउने गरेका छन् ।

स्थानीयको दवावमा जगदम्बा लगायत केहि उद्योगले प्रदुषण नियन्त्रण युनिट खडा गरेको भएपनि पुरै औद्योगिक क्षेत्रमा प्रदुषण नियन्त्रणका लागि कुनै विशेष व्यवस्था हुन सकेको छैन् । कतिपय उद्योगले देखाउनका लागि मात्रै प्रदुषण नियन्त्रण युनिट स्थापना गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओम प्रकाश शर्मा प्रदुषण गर्ने उद्योगहरुले जति आग्रह गर्दा अटेरी गरेको बताउँछन् । ‘जुन उद्योगले रसायन निकाल्छ, उसले रिफाईन गरेर मात्रै नदिमा छोड्ने हो । तर उनीहरु त्यसो गर्दैनन्,’ उनले भने ‘ संघले अनुारेध गर्नेसम्म हो, पटक पटक पत्राचार गरेको हो, मान्दैनन भने हामीले केही गर्न सक्दैनौं ।’

नदीलाई नाला बनाउने दोषीलाई कारबाही गर्दा उद्योग वाणिज्य संघ वाधक नबन्ने उनले बताए ।

प्राथमिकतामा पर्दैन

सिर्सिया नदीको प्रदुषण नियन्त्रण पर्सा र बारा जिल्ला स्थित प्रशासन कार्यालयको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन । किनकी जिल्ला हाक्ने प्रमुख जिल्ला अधिकारीहरुले सिर्सिया नदीको प्रदुषणको मार झेल्नु पर्दैन । सिर्सिया नदीबाट बग्ने पानीबाट आउने गन्ध सुँघ्न पर्दैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल सिर्सिया नदीको प्रदुषण नियन्त्रणको विषयमा ध्यान पुर्‍याउन नसकेको स्वीकार गर्छन् । ‘नदीको प्रदुषणका बारेमा ध्यान पुर्‍याउन नसकिएको सत्य हो, वेवास्ता गरेको विषय भने होइन,’ उनले भने ‘नदीको प्रदुषणलाई घटाउन अवस्थामा सुधार के गर्न सकिन्छ, छिट्टै उद्यामीहरुसँग छलफल गर्छौ ।’

राजनीतिक स्वार्थ बाधक

तत्कालीन अवस्थामा सिर्सिया नदीमा प्रदूषण बढेझैं नेपालको राजनीति पनि प्रदूषित थियो । त्यति बेला प्रदूषण मुक्त गर्न अभियान चाल्नुु असम्भव भएपनि अब स्थानीय सरकार आईसकेको अवस्था छ । राजनैतिक स्वार्थ त्यागेर नदीको संरक्षणसँगै प्रदुषण नियन्त्रणका लागि लाग्नुपर्ने बेला आईसकेको सरोकारवाला बताउँछन् ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक सरदार जसपाल सिंह सिर्सिया नदीको प्रदुषण नियन्त्रण हुनुपर्छ भनेर दिईएका हरेक किसिमको दवावले काम नगरेको बताउँछन् ।


‘माता सीताको नाम श्री सियाबाट सिर्सिया नदीको नाम बनेको छ । त्यो पवित्र नदीको हामी पानी पिउँथ्यौं, पौडी खेल्ने गर्दथ्यौं । अहिले त्यो सबै ईतिहास भएको छ,’ उनले भने ‘पटक पटक अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन पनि बुझायौं, वातावरण विभाग, उद्योगमन्त्रीहरु सम्म पुगेर पनि कुरा राखेका छौं, प्रदुषण नियन्त्रण हुनुपर्छ भन्छन्, तर उद्योगबाट वि्रफकेस जान्छ कि के हुन्छ काम हुँदैन । नदीको अवस्था जस्ताको त्यस्तै छ ।’

पर्सामा केशवराज घिमिरे प्रमुख जिल्ला अधिकारी रहेको समयमा आफूले सिर्सिया नदीमा पसेर पानी पिउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने धम्की दिएको स्मरण गर्दै सिंहले त्यतिबेला साथीभाईहरुले सम्झाएपनि अब त्यस्तै गर्नुपर्ने अवस्था आइसकेको बताए ।

सिर्सिया करिडोर बनाउने तयारी

सिर्सिया नदीको सफाईमा स्थानीय सरकार जति सक्रिय हुनुपर्ने हो त्यति हुन सकेको छैन । जीतपुर-सिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिका हुँदै सिर्सिया नदी भारततर्फ बग्ने गरेको छ ।

स्थानीय सरकार गठनको डेढ वर्ष बितिसक्दा उनीहरुले नदीको प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सकेका छैनन् । दुईवटै स्थानीय सरकारका प्रमुखहरु सिर्सिया नदीको प्रदुषण नियन्त्रण गर्नु आवश्यक छ त भन्छन् । तर कार्यान्वयनको तहमा उल्लेखनीय काम हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सिर्सिया नदीको सफाईका लागि ‘सिर्सिया करिडोर’ प्रस्ताव गरिएको बताउँछन् । झण्डै २२ सय करोडको लागत अनुमान गरिएको सिर्सिया करिडोरको डीपीआर तयार पार्ने तयारी भईरहेको उनको भनाइ छ ।

‘सिर्सिया प्रदुषित छ, त्यसको नियन्त्रणका लागि नै सिर्सिया करिडोरको प्रस्ताव गरेका छौं । शहरी विकास मन्त्रालयलाई यसको डीपीआर तयार गर्न भनेका छौं,’ उनले भने ‘करिडोरमा दुवैतर्फ नाली बनाएर फोहोर पानी संकलन गर्ने र शुद्धिकरण गरेर मात्रै नदीमा खसालिनेछ ।’

वाटर टि्रटमेन्ट प्लान्टबाट पानी शुद्धीकरण गरेपछि त्यसलाई सिंचाईमा समेत प्रयोग गर्न सकिने उनी बताउँछन् । जीतपुर सिमरा उपमहानगरपलिकाका नगर प्रमुख कृष्ण पौडेलले ‘सिर्सिया करिडोर’मा वीरगञ्ज महानगरपालिकासँग मिलेर काम गर्नेबारे छलफल भईरहेको बताउँछन् ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

Continue Reading…

राष्ट्रिय क्रिकेट टीममा एकसाथ चार युवाको प्रवेश

६ माघ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा क्रिकेटरले एकै पटक प्रवेश पाएका छन् ।

यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा हुँदा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाथ बोहोरा अटाएका हुन् ।

प्रदिप ऐरी र विनोद भण्डारी राष्ट्रिय टोलीमा कायमै रहे । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दिप लामिछाने र सोमपाल कामी छन् ।

भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले भने अस्वस्थताका कारण नाम फिर्ता लिएका छन् ।

यस्तै ललित भण्डारी, सुसन भारी र विक्रम शोव भने वैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली पर्सि यूएई जानेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

Continue Reading…

‘टिसीएल ८के टिभी’ले पायो अन्तर्राष्ट्रिय पुरस्कार

६ माघ, काठमाडौं । टेलिभिजन ब्रान्ड र कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी टिसीएल विभिन्न अन्तराष्ट्रिय पुरस्कार द्वारा सम्मानित भएको छ ।

लस भेगसमा आयोजना गरिएको कन्जुमर इलेक्ट्रोनिक्स शार्प २०१९मा ८के गोल्ड अवार्ड अफ दि इयर, २०१८–२०१९ ग्लोबल सिई ब्रान्ड टप ५०, २०१८–२०१९ ग्लोबल स्मार्ट कनेक्टेड डिभाइस टप १५, २०१८–२०१९ ग्लोबल फोन ब्रान्ड टप १५, ग्लोबल सेक्यूरिटी स्मार्टफोन इनोभेसन अवार्ड अफ दि इयरद्वारा सम्मानित भएको हो ।

विश्वस्तरीय आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता रहेको टिसीएलका टेलिभिजनहरु नेपालमा लोकप्रिय छन् ।

उक्त सिईएस २०१९ मा टिसीएलले आफनो उत्पादनलाई थप नयाँ आयाम दिनका लागी न्इू ब्रान्डेड एआई प्लाटफम, टिसीएल एआई–आईइन बजारमा भित्राउने घोषण गरेको छ ।

उक्त टिभी नेपालमा पनि पाईने छ । नेपालमा ३ वर्षको वारेन्टी प्रदान गरिएको टिसीएलमा एलईडी टिभीहरु चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स आधिकारीक बिक्रेता रहेको छ ।

Continue Reading…

साइँला दाइको ठेलाको कमाइ महिनाको एक लाख

६ माघ, हेटौँडा । ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् नवलपरासी घर भई हाल हेटौंडामा ठेला किचेन चलाएर बसेका ३५ बर्षीय युवराज नेपाल ।

वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खाएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई गएका उनलाई एक वर्षको बसाइले कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज २० हजार भन्दा कमको लगानीमा हेटौंडामा दैनिक तीन/चार हजार त मुनाफा मात्रै गर्ने युवराज भन्छन्,  ‘हिजो विदेश नगएर यस्तै काम गर्‍या भए हेटौँडामा पाँच तले घर बनाइ सक्या हुन्थेँ ।’

उनको ठेला वरपर केराका परिकारसहित चटपटे, पकौडा, आलु चप, भेज मोमोलगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लाग्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन्न पैसा कमाउने सपना देखे । ऋणपान गरेर मलेसिया उडे । भुइँ कहिल्यै नछोडेका उनले बोइङ चड्दा भुइँ मात्रै छोड्नु भएन, देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाडे ।

पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उनलाई विदेश गएर आएका नेपालीहरुको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, विदेशमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् ।

युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नु पर्दाको ग्लानि अनि, के ले हो के ले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो । ‘कसम मलाई सानोमा दाजुभाइ सिरकले थिची खेल्थ्यौं, त्यतिखेर अलि धेरै बेर सिरकले थिचिँदा जस्तो उकुसमुकुस हुन्थ्यो त्यस्तै भयो’ उनले विगत सम्झँदै आफ्नै लवजमा भने ।

तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना बिपना भन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाए पनि तर, त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्छन् ‘रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।’

त्यसो त तीन वर्षको अवधिमा एकपटक पनि नेपाल नफर्किएका युवराजले विदेशमै हुँदा बुबा गुमाए । काजक्रिया गर्न नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । ‘पसिना मात्र हैन दाइ मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा’ युवराजले भावुक हुँदै भने । नेपालमै केही गर्ने सोचसहित युवराज नेपाल फर्किए ।

त्यसो त विदेशमै हुँदा उहाँलाई नेपाल मै गर्न सकिने थुप्रै कामहरुको ‘आइडिया’ नफुरेको होइन तर, के चाहिँ गर्ने निक्र्योल भने हुन सकेको थिएन । यसबीचमा चितवनकी निरु चिमोरियासँग उनको विवाह भयो ।

एक्लो युवराजसँग अब सहयात्री थपिएपछि नेपालमै बसेर कुखुरापालन गर्ने योजना बन्यो । नवलपरासीका युवराज कुखुरा पाल्ने योजनासहित चितवनमा बसाइँ सरे । चितवनमै खोर बन्यो । कुखुराका चल्ला पनि हालियो । चल्ला बढ्दै गए । चल्लाहरु कुखुरामा परिणत भए । बेच्ने बेला पनि भयो । तर बेच्ने बेलाका कुखुरा भटाभट मर्न थाले ।

युवराजलाई ‘तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा’ भने झैं भयो । मलेशियाबाट कमाएको अलिअलि रकम पनि यसले डुबायो । परदेशप्रतिको वितृष्णा कुखुरापालनको घाटाले कता हरायो कता । युवराज २०६९ सालमा दुबईका लागि उडे । उनका अनुसार दुबई पनि फापेन । मासिक १० हजार रुपैयाँको तलब खाना खान नै नपुग्ने । युवराज एक वर्षको दुबई बसाइलाई बिट मारेर गोजीमा १० हजार रुपैयाँ बोकेर नेपाल फर्किए ।

त्यसपछि आफन्त भेट्न हेटौंडा आएका युवराजले हेटौँडामा सटर भाडामा लिएर दुनोट बनाएर बेच्न थाले । आखै अगाडि ताजा दुनोट, सेल, जेरी, पुरी बनाउँदै गरेको देखेपछि ग्राहकहरु बढ्दै गए, व्यापार पनि बढ्दै गयो । ठिकैको कमाइ भए पनि सटर भाडा महङ्गो भएकाले बचत हुन सकेन । युवराजले हेटौँडामा ठेला किचेन खुब चलेको देखिरहेका थिए ।

साँझपख हेटौंडाका सडक किनारमा मोमो, ससेस, चप, पकौडा, चटपटेलगायतका खानेकुराका ठेला किचेनहरु देखेपछि युवराजलाई त्यस्तै पसल चलाउन मन लाग्यो र उनले पनि त्यसै गरे । हेटौंडाको व्यस्त बजारबाट अलि पर हेटौँडा सिमेन्ट उद्योग जाने बाटोमा उनले ‘साइँला दाइको ठेला किचेन’ खोले ।

बजारले नयाँ तर स्वादिला परिकार खोज्छ भनेर केराको नयाँ परिकार कल्पना गरे र नाम राखे ‘बनाना ससेस’ । आज त्यही बनाना ससेसले युवराजको धेरै पैसा कमाउने सपना पूरा गर्दैछ र परिवारका चाहनाहरु पनि । आज साँइला दाइको ठेलाबाट दैनिक अपरान्ह ३ बजे देखि साँझ ८ बजेसम्ममा तीन–चार सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् ।
यो सबै काममा सहयोग गर्छिन् उनकी श्रीमती निरुले । ‘फ्रन्टमा म छु व्याकग्राउण्डमा मेरी वाइफ’ युवराजले नेपालीमा अङ्ग्रेजी मिसाएर भने । निरु भने ठेलामा के सकियो वा के आवश्यक पर्‍यो याद गरेर बस्छिन् । सकिएका चिजबिज कोठाबाट ल्याउँछिन् । दुई छोराका अभिभावक बनिसकेको यो जोडीको सफलताका कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ ।

Continue Reading…

म साउदी अबरबाट किन भागें ?

१८ बर्षकी राहफ मोहम्मद अल-कुननको सन्दर्भमा तब विश्वको ध्यान खिचियो, जब उनी बैंककको हवाई हड्डामा स्वयम्लाई एक कोठामा बन्द गरिरहेका थिए । र, र्फकनका लागि अस्विकार गरिरहेकी थिइन् ।

उनी साऊदी अरबमा आफ्नो परिवार छाडेर आएकी थिइन् । साथै ट्वीटरमा उनका समर्थनमा एक अभियान चलाइएपछि उनलाई क्यानडामा आश्रय दिइएको थियो ।

यो घटनापछि साऊदी अरबमा महिला अधिकारको कुरा फेरी चर्किएको छ र त्यहाँ महिलामा लगाइदै आएको प्रतिवन्धमाथि प्रश्न उठाउन थालिएको छ । यही पृष्टभूमीमा एक युवतीको कथा बीबीसी हिन्दी अनलाइनले प्रकासित गरेको छ, जो साऊदी अरब छाडेर क्यानडा पुगेकी छिन् । उनी पनि राहफ मोहम्मद अल-कुननकै जस्तो कुटिल स्थितीबाट गुजि्रदै आएकी थिइन् ।

उनको उमेर २४ बर्ष । नाम, सलवा । उनी १९ बषिर्य बहिनीसँगै घर छाडेर भागेकी थिइन्, आठ महिनाअघि । अहिले उनी क्यानडामा आश्रय लिइरहेकी छिन् । सलवाको कथा, उनकै शब्दमा ।

कसरी गरिन् घर छाड्ने तयारी ?

हामीले करिब ६ बर्षदेखि साऊदी अरब छाड्ने तयारी गरिरहेका थियौं । तर, यसका लागि हामीलाई पासपोर्ट र नेशनल आईडी कार्डको आवश्यक्ता हुन्थ्यो ।

मलाई यी सबै दस्तावेजका लागि आफ्नो अभिभावकको सहमतिको जरुरी थियो ।(साऊदी अरबमा महिलाले इच्छा गरेको कुनैपनि कुरा प्राप्त गर्न पुरुषको अनुमति जरुरी हुन्छ ।)

राम्रो कुरा चाहि के भने, मसँग आईडी कार्ड थियो, किनकी विश्वविद्यालयमा पढ्ने क्रममा मेरो परिवारले यसका लागि सहमति दिएका थिए ।

मसँग पासपोर्ट पनि थियो, किनभने मैले दुई बर्षअघि अंग्रेजीको परीक्षाका निम्ति पासपोर्ट बनाएकी थिएँ । तर, मेरो परिवारले यी सबै कागजात राखेको थियो । त्यसलाई मैले परिवारबाट लिनुपर्ने हुन्थ्यो ।

मैले आफ्नो भाईको घरबाट चाबी चोरें । र, बजरामा गएर त्यस्तै नक्कली चाबी बनाएँ । जब घरका सबै परिवार सुतेका थिए, मैले चाल मारेर घरभित्रबाट यी कागजात लिएँ । यो निकै जोखिमपूर्ण काम थियो । किनभने मैले यी सबै गरेको परिवारका कसैले भेउ पाउन सकेका भए म पक्राउ पर्ने थिएँ । र, त्यसका निम्ति मैलें जस्तोसुकै सजया भोग्न राजी हुनुपथ्र्यो ।

अब मसँग चाबी थियो, त्यसैले मेरो र बहिनीको पासपोर्ट निकाले । पिता सुतिरहेका थिए, उनको फोन पनि लिएँ ।

यसका माध्यामबाट मैले गृह मन्त्रालयको एक वेबसाइटमा उनको अकाउन्टमा लगइन गरें र त्यसमा पंजीकृत नम्बरलाई बदलेर आफ्नो नम्बर राखें ।

मैलें उनको एकाउन्टबाट हामी दुबै देश छाड्ने सहमति लिएकी थिएँ ।

कसरी निस्किएँ घरबाट ?

एक रात जब सबैजना सुतिरहेका थिए, हामी दुबै उठेर भाग्यौं । त्यसबेला हामी दुबै एकदम तनावमा थियौं ।

हामी ड्राइभ गर्न सक्दैनथ्यौं । त्यसैले हामीले ट्याक्सी मगायौं । राम्रो कुरा चाहि के भने, सबै ट्याक्सी चालक विदेशी हुन्छन् । यसकारण हामी एक्लाएक्लै हिँडेको कुरामा पनि उनीहरुलाई कुनै वास्ता हुँदैन ।

हामी रियाद नजिक किंग खालिद इन्टरनेशनल एयरपोर्टका लागि निस्कियौं । यदि त्यसबेला कसैले थाहा पाएको भए के हुन्थ्यो ? हामी स्वयम् अनुमान गर्न असमर्थ छौं । किनभने यस्तो अवस्थामा हाम्रो हत्या हुनु पनि सामान्य थियो ।

जब म कलेजको अन्तिम बर्षमा अध्ययन गरिरहेकी थिएँ, त्यहीबेलादेखि म एक अस्पतालमा काम गरिरहेकी छु । मैले यति पैसा जम्मा गरेकी थिएँ कि, जर्मनीका लागि एक हवाई जहाज टिकट र एक ट्रान्जिट भिषा खरिद गर्न सकौं । मसँग बेरोजगारी भत्ताको पनि पैसा थियो ।

मैलें आफ्नी बहिनीसँग जर्मनीको फ्लाइट लिएँ । त्यो पहिलो पटक थियो, जब म हवाई जहाजमा बसेकी थिएँ । त्यो एक गजब अनुभव थियो । म खुसी थिएँ, डराएकी थिएँ । म एकसाथ सबैकुरा महसुष गरिरहेकी थिएँ ।

जब मेरो पितालाई थाहा भयो कि, हामी दुबै घर छाडेर भाग्यौं तब उनले प्रहरीलाई खबर गरे । तर, यतिबेलासम्म निकै ढिला भइसकेको थियो । किनभने हामी घरबाट धेरै टाढा पुगिसकेका थियौं । जस्तो कि, मैलें गृह मन्त्रालयको वेबसाइटमा उनको फोन नम्बर बदलेको थिए र जब उनले अधिकारीलाई फोन गर्थे त्यो मलाई आउथ्यो ।

जब हामी जर्मनीमा उत्रियौं, तब मलाई प्रहरीबाट एक म्यासेज आयो, जुन मेरो पिताको लागि थियो ।

जब पुगें जर्मनी

साऊदी अरबमा कुनै जिन्दगी छैन । मेरो जिन्दगी केवल यति थियो कि, म घरबाट विश्वविद्यालय र त्यहाँबाट घर आउँथें । यसबाहेक म केही गर्न सक्दिनथे ।

परिवारले मलाई खराब कुरा सिकाएको थियो, जस्तो कि पुरुष महिलाभन्दा माथि हुन्छ । मलाई रमजनमा रोजा राख्नका लागि बाध्य तुल्याइन्थ्यो ।

जब म जर्मनी पुगें, तब आश्रयका लागि कानुनी सहयोग लिन वकिलकहाँ गएँ । मैले फारम भरें र उनलाई आफ्नो कथा बताएँ ।

मैले क्यानडामा बस्ने निर्णय लिएँ किनभने मानवअधिकारको सन्दर्भमा यो देश एकदम राम्रो मानिन्छ । मैले खबरमा पढेकी थिएँ कि सीरियाको शरणार्थीलाई त्यहाँ आश्रय दिइदैछ ।

जब म टोरन्टो उत्रिए, तब एयरपोर्टमा क्यानडाको झन्डा देखें । र, त्यहाँ बस्नु मेरो खातिर एक उपलब्धी जस्तै थियो ।

म अहिले आफ्नी बहिनीसँग बिना कुनै तनाव मन्ट्रीओलमा बसिरहेकी छु । यहाँ मलाई केही गर्नका लागि कसैले बाध्य पार्दैनन् । हुनसक्छ, साऊदी अरबमा बढी पैसा हुन्छ । तर, यहाँको जिन्दगी बढी उत्कृष्ट छ । जतिबेला चाहे, म आफ्नो अपार्टमेन्टबाट निस्कन सक्छु । यसका लागि मलाई कसैको सहमतिको आवश्यक्ता हुँदैन । यी सबै कुराले मलाई अपार खुसी दिएको छ ।

Continue Reading…

मधेसका ४६ शहीद परिवारलाई रोजगारी खोलियो, तर ….

६ माघ, सप्तरी । प्रदेश २ सरकारले शहीद परिवारलाई लक्षित गरी ‘एक परिवार एक रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत ४६ शहीद परिवारलाई समेट्ने सरकारको लक्ष्य छ ।

जागिरका लागि नियुक्तिको ‘डेमो’ प्रदान गर्दै सरकारले एक साताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न शहीद परिवारलाई पत्राचार गरेको थियो । यो पत्र ५ माघमा सिरहाको लहानमा आयोजना गरिएको ‘बलिदानी दिवस’ को कार्यक्रममा शहीद परिवारलाई हस्तान्तरण गरियो ।

पत्र पाएकाहरुले करारमा जागिर पाउनेछन् । कसलाई कुन कार्यालयमा, कुन पदमा, कुन ठाउँमा जागिर दिने भन्ने निर्क्यौल भइसकेको छैन ।

डेमो लिएर आउनेलाई नियुक्ति दिएर पठाइने पत्रमा जनाएको छ । यसरी नयाँ नियुक्तिको तयारी भइरहँदा यसअघि जागिर दिइएकाहरुको असन्तुष्टि बाहिर आएको छ । शहीद परिवारको रुपमा जागिर पाएकामध्ये एकले छोडिसकेका छन् भने अर्कीले पनि छोड्ने मानसिकता बनाएकी छन् ।

‘शुरुमा पनि पैसा दिन आलटाल गरियो, कहिले पाँच सय त कहिले एक हजार दिइयो,६ महिनासम्मको तलव नदिएपछि छोराले बाध्य भएर जागिर छाडेको हो ।’

रमेशका दाजुले छोडे जागिर

१३ बर्षअघि ५ माघमा तराई मधेसका जिल्लाहरुमा आन्दोलन भएको थियो । काठमाडौंमा अन्तरिम संविधान जलाउने उपेन्द्र यादवसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको आन्दोलनले उग्र रुप लियो । सिरहाको लहानमा गोली चल्दा रमेश महतोको ज्यान गयो ।

१७ वर्षीय महतो लहानस्थित मनकामना स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । त्यससँगै दर्जनौं बससहितका सवारीसाधन जलाइयो भने तराई मधेसका प्रायः सबै जिल्ला आन्दोलित बने ।

रमेश महतोको परिवारलाई मधेसी नेताहरुले धेरै आश्वासन बाँडे तर, पूरा गरेनन् । नेताहरुले उनको परिवारका सबै बच्चाहरुलाई निःशुल्क पढाइदिने आश्वासन दिएका थिए । तर अहिले आफैं पैसा तिरेर पढाउनुपरेको रमेशको परिवारको भनाइ छ । रमेशका जेठो भतिजा सञ्जीव कक्षा ८ र कान्छो सतिश कक्षा ६ मा अध्ययन गरिरहेका छन् । जनकपुरमा राखी आफ्नै पैसामा उनीहरुलाई पढाइरहेको रमेशकी आमा रानोदेवीले बताइन् । भतिजी सुलैनालाई भने डा. पशुपति चौधरीले आफ्नो खर्चमा पढाइरहेका छन् ।

रमेशका दाजु मोहनले आफूलाई जागिर लगाइदिए पनि तलव नपाएको गुनासो गरेका छन् । फुलबरियास्थित मावि (जसलाई रमेश महतो मावि नामाकरण गरिएको छ) मा मोहनलाई कर्मचारी नियुक्त गरिएको थियो । तर, ६ महिनाको तलव नपाएपछि छोराले जागिर छोडेको आमा रानोले बताइन् ।

‘शुरुमा पनि पैसा दिन आलटाल गरियो, कहिले पाँच सय त कहिले एक हजार दिइयो,’ उनले भनिन्, ‘६ महिनासम्मको तलव नदिएपछि छोराले बाध्य भएर जागिर छाडेको हो ।’

नेताहरुले दिएको धेरै आश्वासन कपटीपूर्ण भएको ठान्छन् शहीद रमेश महतोका परिवार । परिवारका अन्य सदस्यलाई पनि जागिर दिने आश्वासन पुरा नभएको रानोले बताइन् । उनी भन्छिन्, ‘घरमा छोरा, बुहारी सबै पढेका छन्, तर खाली बसिरहेका छन् ।’

रमेशका भाइ रामशोभित महतोलाई प्रदेश सरकारले जागिर दिने लिस्टमा राखेको छ । तर, महतो परिवार अझै संशकित छन् । रामशोभितलाई पनि दाजु मोहनलाई जस्तै हुन सक्ने उनीहरुको चिन्ता छ ।

‘नाम मात्रैको जागिर नहोस्,’ रमेशका अर्का दाजु बालकृष्णले भने, ‘रामशोभितले स्नातक पास गरेकाले प्रदेश सरकारले राम्रो जागिर दिनेमा आशावादी छु ।’

शहीद पत्नीको पनि असन्तोष

मधेस आन्दोलनकै क्रममा ज्यान गुमाएका थिए सप्तरीका गुल्टेन दासले । पाँच सन्तान र एक पत्नीको एक्लो सहारा रहेका गुल्टेन ज्याला मजदुरी गरेर परिवार पाल्थे ।

राजविराजको मिनी मार्केटमा सामान लिएर साहूको पसल जाँदै गर्दा नेता चोकबाट प्रहरीले चलाएको गोली उनलाई लागेको थियो । उपचारका लागि लगिँदै गर्दा उनको ज्यान गएको थियो ।

गुल्टेनको ज्यान गएपछि उनकी पत्नी विमलालाई बज्रपात पर्‍यो । सरकारले शहीद घोषणा गरेर १० लाख रुपैयाँ दिए पनि त्यसले छोराछोरीको पढाई लेखाईसहित पालनपोषण असम्भव बनेको उनी बताउँछिन् । तीन जना छोरीको बिहे र घर परिवारको उपचारमा नै उनले त्यो रकम सिध्याइन् ।

सरकारले उनलाई काम पनि दिएको छ, तर घरभन्दा ४० किलोमिटर टाढा लहानको सडक डिभिजन कार्यालयमा । ‘टाढा भए पनि आफ्नो र छोराछोरीको पेट भर्न जानैपर्छ,’ उनी भन्छिन्, ‘तर, अहिले आएर जागिर नै नगरौं जस्तो लागिरहेको छ ।’

‘किन ?’

उनले भनिन्, ‘एक वर्ष काम गर्छु, तलव ५ देखि ६ महिनाको मात्रै पाउँछु ।’

२०६८ साल मंसिरको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार दासले सडक डिभिजन कार्यालयमा जागिर पाएकी थिइन् । कार्यालय सहयोगीको रुपमा जागिर पाए पनि केहि बर्ष पैसा नपाएको उनको दाबी छ । यो बर्षको असारदेखि अहिलेसम्म एक पैसा नपाएको उनले बताइन् ।

यसबारे सोध्दा कार्यालय प्रमुख जितेन्द्र चौधरीले काम चलिरहेका साइटहरुमा नगए तलव नमिल्ने बताउने गरेको सुनाइन् उनले । ‘त्यति टाढा काम गर्न जाने कि छोराछोरी पाल्ने ?’ उनी भन्छिन्, ‘नोकरीलाई हेर्‍यौं भने बालबच्चालाई दुःख र बालबच्चालाई हेर्दा भने घर कसरी चलाउने भन्ने चिन्ता हुन्छ ।’

२०६८ सालमा केन्द्रीय सरकारले कार्यालय सहयोगीको जागिर दिए पनि अहिलेको प्रदेश सरकारले उनीबारे मौनता प्रकट गरेको छ । प्रदेश सरकारले २०६३ सालदेखि अहिलेसम्मका ५८ जना शहीद परिवारको लिस्ट तयार गरे पनि यो लिस्टमा शहीद गुल्टेन दास र उनका परिवार छैनन् । लहानमा सबै शहीद परिवारलाई बोलाएर सम्मान गरे पनि आफूलाई जानकारी नआएको उनले बताइन् ।

आँखा गुमाएका सन्तोष

२०६३ साल माघको अन्तिम साता राजविराजको मालपोत कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबीच झड्प भइरहेको थियो ।

यही झड्पमा परे काम खोज्न आएका तत्कालिन फर्सेठ गाविस (हाल राजविराज ११) का सन्तोष मण्डल । यता जाउँ कि, उता जाउँ भन्दाभन्दै कुनै वस्तुले उनको दायाँ आँखामा जोडले लाग्यो र रगत बग्न थाल्यो ।

‘केले लागेको थियो मलाई अहिलेसम्म थाहा भएन,’ ४३ बर्षीय मण्डल भन्छन्, ‘तर मेरो आँखा गुम्यो ।’

दैनिक ज्याला गरेर परिवार पाल्दै आएका मण्डल त्यस दिन पनि काम खोज्न आएका थिए राजविराज । घाइते भएपछि केही साथीको सहयोगमा अस्पताल गएर प्राथमिक उपचार गरियो । लहानदेखि बिभिन्न ठाउँमा गएर जाँच गराए पनि निको हुन सकेनन् । फलस्वरुप एउटा आँखा गुमाउनैपर्‍यो उनले ।

यतिबेला सन्तोष गुमनाम छन् । केही नेता आफूलाई भेट्न आए पनि आश्वासनबाहेक केही नपाएको उनले बताए ।

उनका अनुसार नेताहरुले क्षतिपूर्ति उपलब्ध गराइदिने, उपचार खर्च उपलब्ध गराइदिने र जागिर लगाइदिनेसम्मको आश्वासन दिए । तर केही पूरा भएन् । प्रदेश सरकारले ९७ जना घाइतेलाई अवस्था हेरेर राहत प्रदान गरे पनि यो लिस्टमा उनको नाम समावेश भएन ।

Continue Reading…

अर्बपति अरूण चौधरीले भने : स्विस बैंकमा हाम्रो खाता छैन

६ माघ, काठमाडौं । खोज पत्रकारिता केन्द्रले स्विस बैंकमा खाता हुने नेपाली अर्बपतिको नाम र कम्पनी सार्वजनिक गरेपछि खण्डन हुने क्रम बढेको छ ।

चौधरी ग्रुपका एक जना सदस्य अरुणकुमार चौधरीले समाचारमा आफ्नो परिवारका सदस्यको पैसा स्विस बैंकको खातामा रहेको भन्ने विषय निराधार भएको बताएका छन् ।

उनले शनिबार विज्ञप्ति जारी गरी भनेका छन्, स्विस बैंकमा हाम्रो खाता नै छैन ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ ः
खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको छ ।

यस विज्ञप्तिमार्फत म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।

सो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो ।

हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं । ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानविनको विषय बन्नसक्ला ।

त्यसैगरी, ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ । ती दुई कम्पनी कम्पनीमा हाम्रो साझेदारी छैन । मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ ।

अहिलेसम्म मेरो नेतृत्वमा संचालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी(एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी समेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।

म अटो मोविल्स, शिक्षा, हस्पिटालिटि, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी÷व्यक्ति हुँ । मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रुपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ ।

विदेशमा लगानी सम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रुपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत पुनः एकपटक प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

अरुण कुमार चौधरी
२०७५ माघ ५ गते शनिवार

Continue Reading…

एभरेष्ट बैंक र भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर

६ माघ, काठमाडौं । वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्ने उद्देश्यले भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर भएकाे छ ।

पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महा प्रबन्धक पंजाव नेशनल बैंक-सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरे ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् ।

रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह-ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

Continue Reading…

तपाईंको नामभित्र कुनै वैज्ञानिक अर्थ छ ?

तपाईंको नाम के हो ? जवाफमा आफुलाई चिनाउने संज्ञावाचक कुनै वाक्य भन्नुहुनेछ । तपाईंलाई नाम सोध्दा जुन वाक्य भन्नुहुनेछ, त्यो फगत तपाईंलाई चिनाउने संज्ञा हुन् । संकेत हुन् ।

तर, अनुभूत गर्नुभएको होला, जब कसैले तपाईंको नाम उच्चाहरण गर्छन्, तपाईंको कान ठाडो हुन्छ । तपाईंलाई त्यो नाम औधी पि्रय लाग्छ, जसले तपाईंलाई चिनाउँछ । अझ घतलाग्दो त के भने, त्यही नामका खातिर हामी संघर्ष गर्छौं ।

ठूलाबडाले भन्ने गर्छन्, ‘नाम राख्नुपर्छ ।’

अर्थात ख्याती आर्जन गर्नुपर्छ । प्रख्यात हुनुपर्छ । आफ्नो नाम सबैलाई चिनाउनुपर्छ । बारम्बार प्रश्न उठ्ने गर्छ, ‘आखिर नाममा के छ त्यस्तो ?’

एकपटक आँखा चिम्लेर घोत्लनुहोस् त, अहिले तपाईंको जुन नाम छ, त्यो नाम नभएर अर्कै नाम भइदिएको भए के होला ?

असहज लाग्छ । कता के नमिले जस्तो लाग्छ । अर्को नाममा तपाईं आफुलाई सहज अनुभूत गर्नुहुन्न । यस्तो किन हुन्छ ? किनभने हामीले जुन नाम लियौं, त्यसले केही अर्थ राख्छ । हामीले जीवनमा एउटै नाम पाउँछौं । त्यो एक अद्भूत संयोग हो । त्यही नाम लिएर हामी जीवनभर बाँच्छौं । जीवनपर्यान्त पनि त्यही नाम रहिरहोस् भन्नका खातिर केही कर्म गर्छौं ।

कुनैपनि व्यक्तिको नाम केवल उनलाई चिनाउनका लागि हो । तर गंभिरतापूर्वक सोच्नुहोस् त, यस्तो लाग्छ मानौं त्यो नाम उसले गर्भबाटै लिएर आएका हुन् । किनभने कुनैपनि व्यक्तिको प्रकृति एवं प्रवृत्ति अनुसार नाम मिल्दो लाग्छ । यस्तो किन हुन्छ ? यसलाई धार्मिक विधानले मात्र होइन, वैज्ञानिक ढंगले पनि अथ्र्याउन सकिन्छ ।

कुनैपनि व्यक्ति जन्मदा उनीहरुको कुनै नाम हुँदैन । एउटा विधी वा संस्कारबाट उनीहरुलाई नाम दिइन्छ । नामकरण गरिन्छ । हाम्रो पूर्विय दर्शनले पनि यसको विधिगत स्वरुप निर्माण गरेको छ । जब कुनै बच्चा जन्मन्छ, तब उनको नाम विधिपूर्वक गरिन्छ ।

हिन्दु पद्धतीले नामकरण संस्कारलाई निकै व्यवस्थित गरेको छ । बच्चा जन्मिएको अवस्थामा ग्रह-नक्षत्र, दिन-रात, घडी-पाला आदिको अवस्थितीलाई हेरेर नाम जुराइन्छ । यसलाई न्वरान संस्कार भनिन्छ ।

हिन्दु पद्धतीको १६ संस्कारमध्ये एक हो, न्वरान । यो संस्कार शिशु जन्मिएको १० देखि १२ दिनको मध्यमा हुन्छ । यसरी शिशुको नामकरण गर्नका लागि ज्योतिष विज्ञानमा पोख्त व्यक्ति चाहिन्छ । ज्योतिष शास्त्र अनुरुप नै कुनैपनि शिशुको नामकरण गरिन्छ, जसको धार्मिक मात्र होइन, वैज्ञानिक अर्थ पनि छ ।

हिन्दु पद्धती अनुसार शिशुको जन्म जुन नक्षत्रमा हुन्छ, त्यही अनुसार उनीहरुको नाम राखिन्छ । यसरी नामकरण गरिरहँदा परिवारका सबै सदस्य उपस्थित हुन्छन् । यस क्रममा पूजाआजा गरी पण्डितले बच्चाको नाम जुराइदिन्छन् ।

कुनै शिशुलाई नाम दिने संस्कार सुत्केरी आमाले सूतक सकाएपछिको अवस्थामा गरिन्छ । यसलाई सुत्केरीपछिको शुद्धिकरण पनि भन्न सकिन्छ । शुद्धिकरण संस्कार सम्पन्न गरेपछि नामकरण गरिन्छ । धार्मिक मान्यता के छ भने, नामकरण संस्कारबाट आयु वा बुद्धिको वृद्धि हुन्छ ।

बैज्ञानिक कारण ?

नामकरण संस्कारको पछाडि वैज्ञानिक अर्थ पनि छ । वैज्ञानिक हिसाबले के भनिन्छ भने, त्यस दिने शिशुलाई जुन नामले पुकारिन्छ, त्यसमा उनको गुणको अनुभूति हुन्छ । त्यसैले व्यक्तिमा उनको नामको गुण पनि देखिने गरिन्छ ।

त्यस दिन जुन नामले शिशुलाई पुकारिन्छ, उसले जीवनभर त्यही नाम बोकेर हिँड्छ । त्यही नामको खातिर संघर्ष गर्छ ।

जब एक बच्चाको जन्म हुन्छ, त्यस दिन र समयको हिसाबले सौर्यमन्डलको ज्यामितिय स्थिती (नक्षत्रको चाल)को आंकलन गरिन्छ । त्यही आधारमा एक यस्तो खास ध्वनि (नाम) तय गरिन्छ, जो नवजात शिशुको लागि उपयोगी होस् । ताकि जब बच्चालाई त्यस नामबाट पुकारिन्छ तब आसपासको वातावरणमा यसको आवृत्तिको ध्वानी पैदा होस् ।

नाम संस्कृत भाषाको अलग अलग वर्णमा ५४ वर्ण हुन्छ । यस वर्णलाई अरु छोटो ध्वनीमा टुक्राउन सकिन्छ । यही छोटो ध्वनीको माध्यामबाट मान्छेको नामकरण गरिन्छ ।

सही नामकरणको माध्यमबाट सही उच्चारण गरेर तपाईं वातावरणमा नयाँ ध्वनी पैदा गर्न सक्नुहुन्छ, जो शिशुको जीवन बदल्नका लागि सहयोगी हुन्छ ।

त्यही कारण कुनैपनि शिशुको नामकरण अर्थपूर्ण रहने गर्छ ।

Continue Reading…

आफ्ना कम्पनीमा विदेशी लगानी नरहेको सौरभ ग्रुपको प्रष्टीकरण

६ माघ, काठमाडौं । सौरभ ग्रुपले खोज पत्रकारिता केन्द्र (खोपके) को रिपोर्टप्रति आपत्ति जनाएको छ । ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफ्नो ग्रुपमा कुनै पनि विदेशी लगानी नभएको बताएका छन् ।

उनले खाेपकेको रिपोर्टप्रति आपत्ति जनाउँदै आवश्यक परेमा ग्रुपसँग आवद्ध सबै कम्पनीका सूचनाहरू दिन तयार रहेको बताए ।

खोपकेको रिपोर्ट अनुसार सौरभ ग्रुपको गुट्खा, साबुन, सुपारीलगायतका क्षेत्रमा अवैध लगानी भएको भन्ने कुराको पनि अध्यक्ष न्यौपानेले खण्डन गरे ।

उनले भने, ‘हाम्रो ग्रुपको विदेशमा वैध, अवैध कुनै पनि लगानी छैन ।’ यस ग्रुपअन्र्तगत जति पनि लगानी छ, सबै लगानीको कर तिरेको प्रमाण आफूसँग भएको उनले दाबी गरे ।

अहिलेसम्म आफ्नो ग्रुपमा कुल ३ हजार ६ सय करोड लगानी भएको अध्यक्ष न्यौपानेले बताए । आफ्ना कम्पनीका सबै कारोबार पारदर्शी भए पनि आरोप लगाइएकाले चित्त दुखेको भन्दै उनले गुनासो गरे ।

उनले आफ्ना छोरा विदेशमा पढेको तथा काम गरेको भए पनि छोरालाई पनि गैरआवासीय नबनाएको तथा अवैध लगानी पनि नभित्र्याएको उनले दाबी गरे । खोपकेको खुलासा अनुसार स्विस बैंकमा नेपालीको ५२ अर्ब रुपैयाँ रहेको छ ।

नेपालको कानुनअनुसार नेपालीले विदेशमा पैसा राख्नु गैरकानुनी काम हो । तर, कानुन मिचेर स्विस बैंकमा पैसा राख्ने र अवैध रूपमा लगानी गर्ने गरेको खुलासा गरेको थियो ।

Continue Reading…

काठमाडौंमा ८ मुख्य चोकमा चार महिनाभित्रै ट्राफिक लाइट

६ माघ, काठमाडौं । महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि काठमाडौंमा थप ८ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको छ । मुख्य ८ वटा चोकमा  लाइटहरु राख्न ठेक्का सम्झौता भएको हो ।

मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बिरहीले जानकारी दिए । अब कतिपय चोकमा नयाँ लाइटहरु पनि राखिनेछन् ।

काठमाडौंमा बढी व्यवस्त हुने सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिनेछ ।

यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो । तर, सफल भएन । स्मार्ट लाइट जडान नहुने भएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको हो ।

तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिनेछ । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउने योजना छ । यो कामका लागि भ्याट रकमबाहेक ५७ लाख खर्च गरिँदैछ ।

अघिल्लो वर्ष काठमाडौं महानगरपालिका, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नयाँबानेश्वर र महाराजगञ्जको बत्ती मर्मत गरेर परीक्षण गरिएको थियो । नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । महाराजगञ्जको मर्मत खर्च काठमाडौं महानगरले ब्यहोरेको थियो ।

बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको छ । काठमाडौंका सडकबा ट्राफिक बत्तिहरु ०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय अधिकांश अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिगि्रएका छन् ।

चार महिनाभित्रै ८ वटा चोकमा लाइटहरु बाल्छौं,’ बिरहीले भने, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हटाउन यो काम तत्कालै गर्न जरुरी छ ।’

लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक गरेको छ । लाइट नहुँदा आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।

Continue Reading…

ग्लोबल आइएमई बैंक र एमआर डायगोनस्टिक एण्ड हेल्थकेयरबीच सम्झौता

६ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर बिराटनगरबीच विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सेन्टरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र बैंकका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सो सेन्टरमा उपचार गराउँदा बैंकका कार्डधनीले १५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले हेल्थकेयरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

बैंकले ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याईरहेको छ ।

Continue Reading…

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको उद्घाटन

६ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप तीन ठाउँमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौंको कुलेश्वर शाखा तनहुँस्थित भिमाद शाखा र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरेको हो ।

शुक्रबो बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले कुलेश्वर शाखा कार्यालयका उद्घाटन गरे ।

नयाँ शाखाहरुमार्फत बैंकले आˆना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

Continue Reading…

गोरखामा ६१ प्रतिशत निजी आवास पुनर्निर्माण

६ माघ, गोरखा । भूकम्प गएको ४४ महिनामा गोरखाको ६१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।

कुल ७० हजार सात सय ६८ लाभग्राही रहेको जिल्लामा हालसम्म ४३ हजार पाँच सय ६२ जनाले तेस्रो किस्ता लगेका छन् ।

६३ हजार एक सय ८० ले पहिलो किस्ता र ५३ हजार चार सय ५१ जनाले दोस्रो किस्ता लगेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

एघार स्थानीय तह मध्य बारपाक-सुलिकोट गाउँपालिका निजी आवास पुनर्निर्माणमा सबैभन्दा अगाडि देखिएको छ ।

भूकम्पको केन्ऽविन्दुसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म ७९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको प्राधिकरण कार्यालय गोरखाको तथ्याङ्कक छ ।

कुल सात हजार १८१ लाभग्राही मध्य पाँच हजार ६४५ जनाले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगिसकेका छन् ।

गण्डकी गाउँपालिका निजी आवास पुनर्निर्माणमा सबैभन्दा पछाडि देखिएको छ । हालसम्म ४५ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कुल पाँच हजार ६ सय तीन लाभग्राही मध्य दुई हजार ५२० जनाले मात्र तेस्रो किस्ता लगेका छन् । ७६ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गरेको अजिरकोट गाउँपालिका दोस्रो स्थानमा देखिएको छ । कुल ४ हजार १२३ लाभग्राही मध्य तीन हजार एक सय ४९ जनाले तेस्रो किस्ता लगेका छन् ।

शहीद लखन गाउँपालिको ६८ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । कुल सात हजार ५९ लाभग्राही मध्य चार हजार १८६ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन् ।

गोरखा नगरपालिकासँगै आरुघाट र भिमसेन थापा गाउँपालिकामा ६७ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।

गोरखा नगरपालिकाका दश हजार ९४ लाभग्राही मध्य ६ हजार सात सय ७१ ले तेस्रो किस्ता लगेका छन् ।

कुल ६ हजार ९ सय ११ लाभग्राही रहेको आरुघाट गाउँपालिका चार हजार ६ सय ६४ जनाले तेस्रो किस्ता पाएका छन् ।

भिमसेन थापा गाउँपालिकामा कुल ६ हजार आठ सय ३४ लाभग्राही मध्य चार हजार ६१२ जनाले तेस्रो किस्ता पाएका छन् ।

सिरानचोक गाउँपालिकामा ६१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । कुल लाभग्राही ६ हजार ८१९ छन् । जसमध्य हाल सम्म चार हजार एक सय ३७ जनाले तेस्रो किस्ता लगिसकेका छन् ।

हालसम्म ५० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको पालुङटार नगरपालिकामा कुल ९ हजार ७०० लाभग्राही मध्य चार हजार ८२८ जनाले तेस्रो किस्ता लगेका छन् ।

धार्चे र चुमनुव्री गाउँपालिकाको ४७ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । कुल चार हजार १६९ लाभग्राही रहेको धार्चेमा एक हजार ९७६ जनाले तेस्रो किस्ता पाएका छन् ।

चुमनुव्रीमा कुल दुई हजार २७५ लाभग्राही छन् । ती मध्य एक हजार ७४ जनाले तेस्रो किस्ता पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Continue Reading…

जान्हवीको करिअरलाई लिएर चिन्तित बोनी, सारासँग किन डराए ?

बलिउडमा यतिबेला २ नयाँ नायिकाको तुलना खुबै हुने गरेको छ । तुलना मात्र होइन, को भन्दा को अगाडि भन्ने पनि देखिन थालेको छ । चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालेकी निर्माता बोनी कपुर र नायिका श्रीदेवी छोरी जान्हवी कपुरको तुलना सैफअली खान र अमृताकी छोरी साराअली खानसँग हुने गर्दछ ।

सारा र जाहन्वीको एकै बर्ष बलिउडमा मात्र आगमन भएको छैन, उनीहरुको बिषयलाई लिएर फ्यानविच लडाई पनि हुने गरेको छ । जान्हवीको करिअर र चर्चालाई लिएर उनका पिता बोनी कपुरमा चिन्ता सुरु भएको चर्चा हुन थालेको छ । भारतीय मिडियाका अनुसार बोनी कपुर जान्हवीको भन्दा साराको चर्चा बढी भएकोमा चिन्तित छन् ।

यसको मुख्य दोष उनले जान्हवीको पीआर टीमलाई दिएका छन् । पीआर टीमको सुस्त कामको कारणले जान्हवीको चर्चा कम भएको उनको वुझाई छ । यसैले उनी र जान्हवीको पीआर टीमविच लफडा भएको खबर पनि सार्वजनिक भैरहेको छ ।

बलिउडमा एकसाथ पाइला चालेका यी दुइमध्ये अहिले साराको चर्चा बढी छ । ‘केदारनाथ र सिम्बा’ जस्तो हिट चलचित्रका कारण पनि सारा लाइमलाइटमा छिन् । जसलेगर्दा, जान्हवीको क्रेज कम भएको विश्लेषण गरिएको छ ।
एउटा अन्र्तवार्तामा साराले भनेकी थिइन्–‘जान्हवी र मैले रेड कार्पेटमा एकसाथ तस्बिर खिचाउन आवश्यक छ । जसलेगर्दा, मिडियालाई हाम्रो फोटो जोडी राख्न आवश्यक हुदैनथ्यो ।’

Continue Reading…

काभ्रेमा ३२ लाभग्राहीले फिर्ता गरे पुनर्निर्माणको रकम

६ माघ, बनेपा । भूकम्पपछि क्षति भएका निजी आवास पुन:निर्माणका लागि सरकारी अनुदान लिएर घर नबनाई रकम फिर्ता गर्नेको सङ्ख्या काभ्रेमा ३२ पुगेको छ ।

पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेपछि ३२ जनाले रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले बताए ।

‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ’ रेग्मीले भने ‘जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु पर्‍यो, कि त रकम फिर्ता गर्नुपर्‍यो ।’

रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए । त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जानकारी दिए ।

पुनःनिर्माणको अभियानसँगै बाँकी रहेका मौलिक घरलाई प्रवलिकरण गर्न प्रोत्साहन गर्ने र सो प्रयास देशैभर गर्न सकेमा भूकम्पीय जोखिम पनि कम हुने तथा मौलिकबस्ती पनि जोगाइ राख्न सकिने उनको भनाइ छ । साथै एकीकृत बस्ती विकासमा जोड दिने र यसमा स्थानीय तहलाई अधिकार दिने तथा तेस्रो किस्ता लिनेलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने लगायतको प्रक्रियामा रहेको उनले बताए ।

निजी आवास पुनःनिर्माण सम्बन्धी सूचना तथा जानकारी सम्बन्धित पक्ष समक्ष समयमा नै नपुग्दा स्थानीय निकाय, लाभग्राही सबैमा कतिपय अवस्थामा अन्योल रहेको पाइएकोसमेत उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ ।

Continue Reading…

‘झोलामा खोला राख्ने’लाई १० लाख जरिवाना !

६ माघ, काठमाडौं । सरकारले विद्युत उत्पादन तथा सर्वेक्षण अनुमतिपत्रका शर्त पालना नगर्ने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । हाल अनुमतिपत्र लिएर शर्त बमोजिम काम नगर्ने प्रवर्द्धकहरुको संख्या बाक्लो छ ।

यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकमा यस्ता प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गराउन प्रस्ताव गरिएको हो ।

अब यो ऐन जस्ताको तस्तै संशोधन भए झोलामा लाइसेन्स राखेर अनुचित लाभ लिने र अलपत्र छाड्ने प्रवर्द्धकहरुलाई सजिलो अवस्था रहने छैन । जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएका प्रबर्द्धकले तोकिएको समयमा प्रगति प्रतिवेदन नबुझाउने समस्या ब्याप्त छ ।

विद्युत् विकास विभागले सूचनामार्फत तत्काल प्रगति प्रतिवेदन बुझाउन पटक-पटक निर्देशन दिने गर्छ । तर, यसरी काम नगरी बस्नेलाई अहिले ५ हजारभन्दा बढी जरिवना गर्न सकिने अवस्था छैन ।

आयोजनाको अनुमतिपत्र दिँदा विभिन्न शर्त राखिएका हुन्छन् । शर्त पालना नगर्नेलाई जरिवना गर्ने व्यवस्था खुकुलो हुँदा विभागलाई समस्या पर्ने गरेको छ । हरेक ६/६ महिनामा प्रबर्द्धकले प्रगति प्रतिवेदन विभागलाई बुझाउनुपर्ने छ ।

नियमअनुसार सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र सम्पूर्ण प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । तर, प्रबर्द्धकले विभागलाई नै अटेर गर्ने र आयोजनाको अवस्थाका बारेमा जानकारी नदिने भएपछि नयाँ व्यवस्था गरिएको ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अब कसैले अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेख भएका शर्तहरु पालन नगरी विद्युत उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएको अधिकारीले १० लाखसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्ने गरी प्रस्ताव गरिएको छ ।

यो व्यवस्थाले जलविद्युत क्षत्रेमा रहेको विकृति कम हुने विश्वास गरिएको छ ।

Continue Reading…

दाङमा दुईवटा भरुवा बन्दुकसहित एकजना पक्राउ

६ माघ, काठमाडौं । प्रहरीले दाङमा एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला का २९ वर्षीय हरिबहादुर रासकोटीलाई दुईवटा भरुवा बन्दुक र बदेलको जस्तो देखिने दुईवटा खुट्टासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला परेपछि रासकोटीलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।

Continue Reading…

सिमाको प्रेममा भुलेका रामकृष्ण

गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘पूर्णिमाको जुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हसिकुमार(हरिकुमार सिलवाल)को शब्द छ भने हरि लम्सालको संगीत छ । गीतको बारेमा गीतकार हसिकुमार भन्छन्–‘मलाई प्रायजसो प्रेमीले प्रेमिकालाई जुन, फूल भनेर तुलना गर्दा मलाई खल्लो लाग्छ । यसैले मैले यो गीतमा प्रेमीकालाई अरु नै विशेषण दिएको छु ।’

सिलवाले भने–‘म गीत प्राय हतार र दबाबको बेलामा सिर्जना गर्छु । यो गीत मैले पार्टीमा निस्कने बेलामा श्रीमतीले पहिरन लगाउन ढिलो गरेपछि सिर्जना गरेको हुँ ।’ उनले गीतले दर्शकलाई प्रेमको महशुश गराउने बताए ।
भिडियोबाट पनि आफू सन्तुष्ट भएको र भिडियो भनेको आँखामैत्री हुनुपर्ने उनको तर्क छ । गीत सुन्नका लागि भिडियो हेरिने भएकाले भिडियो आँखामैत्री हुनुपर्ने उनले सुनाए ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा दिपेन बस्न्यातको सम्पादन, सुरेश नेपालीको छायांकन छ । भिडियोमा रामकृष्ण ढकाल र सिमा पन्थीको मोडलिङ छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog