Tuesday, July 9, 2019

प्रशासकीय अदालत गठन नगर्ने प्रस्ताव कानुन समितिबाट अस्वीकार

२५ असार, काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट पारित भइसकेको प्रशासकीय अदालत गठनसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानुन समितिले संशोधनसहित पारित गरेको छ ।

कानुन न्याय तथा मानवअधिकार समितिको बुधबार बिहान बसेको बैठकले केन्द्रमा एउटा प्रशासकीय अदालत रहने गरी विधेयक संशोधन गरेको हो ।

यसअघि राष्ट्रियसभाको विधायन समितिले केन्द्रमा र प्रदेशमा बेन्चमात्र रहने व्यवस्थासहित विधेयक पारित गरेको थियो । राष्ट्रियसभामा प्रस्तुत गरिएको विधेयकको मस्यौदामा भने केन्द्रमा बेन्च एउटा प्रशासकीय अदालत रहने र प्रदेशमा उच्च अदालतमा बेन्च रहने प्रस्ताव थियो ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले केन्द्रमा प्रशासकीय अदालत रहने व्यवस्था राख्दै प्रदेशमा बेन्च रहने व्यवस्था हटाएर विधेयक पारित गरेको जानकारी दिए ।

तर २ सयभन्दा बढी मुद्दा भएको अवस्थामा प्रदेश प्रशासकीय अदालत नै गठन गर्ने र कम भएको अवस्थामा अदालत आवश्यक छैन भनेर प्रश्न उठाउन नपाइने गरी संशोधन गरिएको’ पोखरेलले जानकारी दिए ।

समिति सभापति पोखरेलले राष्ट्रियसभाबाट संशोधन गरेर पठाइएको विधेयक जस्ताको तस्तै पारित गरेको भए कार्यालय, जनशक्तिलगायतको व्यवस्थापनको झन्झटलाई आफूहरुले रोकेको दाबी गरे ।

बुधबार पारित विधेयकमा प्रशासकीय अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने र सो अदालतको प्रादेशिक क्षेत्राधिकार नेपालभर रहने उल्लेख छ । अदालतको प्रादेशिक क्षेत्राधिकार न्याय परिषदको परामर्शमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुने छ ।
यो पनि पढ्नुहोस प्रशासकीय अदालत कि इजलास ? राष्ट्रियसभाको संशोधनले प्रतिनिधिसभामा असन्तुष्टि

निजामती कर्मचारीसँग सम्बन्धित मुद्दाहरु हेर्ने गरी प्रशासकीय अदालत गठनको व्यवस्था गरिएको छ ।

अदालतको अध्यक्ष र सदस्यको पदावधि पाँच वर्षको हुने छ । अध्यक्ष र सदस्यलाई दुई पटकभन्दा बढी अवधिको लागि अध्यक्ष तथा सदस्य पदमा नियुक्त गरिने छैन ।

अध्यक्षको सामान्य निर्देशन र नियन्त्रणमा रही अदालतको प्रशासकीय प्रमुखको रुपमा काम गर्न न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको एक जना रजिष्ट्रारको व्यवस्था पनि गरिने छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog