Wednesday, July 31, 2019

डाक्टरविहीन गाउँमा आँखा उपचारका लागि मोबाइल फोनको प्रयोग

१६ साउन, काठमाडौं । विद्यार्थीकालमा नेत्र चिकित्सा (अफ्थ्याल्मोलोजी) पढ्दा सुमन थापालाई एउटा कुरा कहिल्यै चित्त बुझ्दैनथ्यो, आफ्ना विषयका शिक्षक, विद्यार्थी सबैमा एउटा आम सहमति के थियो भने उनीहरूले निश्चित अवस्थाका बिरामीको आँखा परीक्षण गर्न हुँदैन ।

“सबैको विश्वास के थियो भने कि हामीले ग्लकोमाजस्ता रोगको परीक्षण गर्नुहुँदैन, किनकि यसको निदान हुने सम्भावना अत्यन्त कम हुन्छ । बिरामीको रोग पत्ता लगाइदिएर उपचार नगरी छाड्नु एउटा चिकित्सकका लागि अनैतिक काम हुन जान्छ ।”

तर, यसमा थापाको चित्त बुझ्दैनथ्यो । विश्वमा अन्धोपनाको दोस्रो ठूलो कारण मानिने ग्लकोमासँग उनको आफ्नै ‘प्रेम’ थियो, त्यसैले पछि उनले यसै विषयमा पिएचडी नै गरे ।

“मलाई त्यो सिद्धान्त नै गलत लाग्थ्यो । किनकि, सुरुवाती चरणमै यस रोगको पहिचान गर्न सकियो भने यसबाट हुने अन्धोपनको रोकथाम गर्न सकिन्छ । यदि हामीले सुरुवाती चरणमै मान्छेको आँखाभित्रका नसाहरूको फोटो खिच्न सक्यौँ भने उनीहरूलाई अन्धो हुनबाट बचाउन सक्छौँ भन्ने मेरो भनाइ थियो ।”

अध्ययनको करिब १५ वर्षपछि आज थापा आफ्नो क्षेत्रका अगुवाहरूले जेका लागि आफूलाई हतोत्साहित गरे, त्यसैका लागि आफ्ना शिष्यहरूलाई प्रोत्साहित गर्दैछन् ।

आँखाका नसाको फोटो खिच्ने प्रविधिको खोजीमा चाहार्दै गर्दा उनी आज आधा बाटो आइपुगेका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानस्थित अनुसन्धान विभागको नेतृत्व गर्ने डा. थापाको नेतृत्वमा नेपालमा पनि यस्तो फोटो खिच्ने प्रविधिको प्रयोग सुरु भएको छ ।

उनकै अगुवाइमा तुलनात्मक रूपमा सस्तो पर्ने, खल्तीमा राखेर हिँड्न मिल्ने र मोबाइल फोनमा जोडेर प्रयोग गर्न सकिने एक उपकरणको प्रयोग गरी ग्लकोमा मात्र नभई आँखाका विभिन्न रोगको निदानमा सहयोग पुर्‍याउने नयाँ प्रयासको सुरुवात भएको छ ।

आँखाको उपचारका लागि दूर चिकित्सामा संसारभर प्रयोग भएका अधिकांश उपकरणका तुलनामा हाल आफूले प्रयोग गरेको उपकरण सस्तो, सजिलो र गुणस्तरीय भएको थापा समूहको दाबी छ । यसलाई अझै विकसित र सहज बनाउन सके नेत्र विशेषज्ञ सहजै उपलब्ध हुन नसक्ने दुर्गम गाउँगाउँमा आँखाको उपचारमा यो प्रविधि एक कोसेढुङ्गा हुने देशकै ठूला आँखा अस्पतालमध्ये एक प्रतिष्ठानको भनाइ छ ।

के हो त्यो साधन ? कसरी आयो नेपालमा ?

संवत् ०६८ तिर थापा एक कार्यक्रममा भाग लिने सिलसिलामा क्यानाडाको भ्यानकुभर पुगे । अमेरिकाको जन हप्किन्स विश्वविद्यालयका प्राध्यापक एलान रबिनसँग सामान्य कुराकानी हुँदै गर्दा उनले आफूले आँखाको नसाको फोटो खिच्ने यन्त्र खोजिरहेको सुनाए । साथमा उनले बताए कि नेपालको ग्रामीण जनसङ्ख्याका लागि त्यस्तो साधन सानो, सस्तो र सहज हुनुपर्छ ता कि डाक्टर नभएका गाउँगाउँका सामान्य प्राविधिकले पनि त्यसबाट फोटो खिचेर डाक्टरहरूलाई पठाउन सकून् ।

“तत्कालै उनले मलाई क्रिस जन्सन नाम गरेका एक व्यक्तिसँग परिचय गराइदिए । आफैँ डाक्टर नभए पनि जन्सन नेत्रचिकित्सामा प्रयोग हुने प्राविधिक उपकरणको विकासमा सिद्धहस्त ठहरिएका थिए । उनले हजारौँ डलर पर्ने ठुल्ठुला उपकरण बनाएका थिए,” थापा सुनाउँछन्, “साथसाथै, रबिनले मलाई के सुनाए भने उनले चिनेका केही डाक्टरहरूले आफ्ना आइफोनमा जोडेर एउटा सानो क्यामेरा प्रयोग गरिरहेका छन् । त्यसको मूल्य करिब पाँच हजार अमेरिकी डलर पर्छ ।”
पाँचै हजार डलर परे पनि यो थापाका लागि सहज विकल्प थियो । किनकि त्यस्तै काम गर्ने ठूला आकारका उपकरणको ४० हजार डलरसम्म पर्छ भन्ने उनलाई थाहा थियो । त्यसपछि उनले प्रस्ताव राखे, “त्यसोभए अब पाँच हजार डलरवाला क्यामेराको प्रभावकारिता जाँचौँ न त । ४० हजार डलरको क्यामेरा र यसको कामको तुलना गरौँ ।”

त्यसैअनुसार परीक्षण भयो । नतिजा सकारात्मक निस्कियो । “हाम्रो परीक्षण सफल भएको समाचार अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भयो । हामीले विश्वभरिबाटै राम्रो प्रतिक्रिया पायौँ,” उनी सुनाउँछन् ।

थापाले अब त्यो साधनलाई नेपालमा वास्तविक चिकित्सा अभ्यासमा प्रयोग गर्न प्रस्ताव गरे । यहाँका प्रायः गाउँहरूमा नेत्रचिकित्सक उपलब्ध नभएका तर केही गाउँहरूमा भने आफ्नो अस्पतालले आँखाको उपचारमा सामान्य तालिमप्राप्त केही प्राविधिक खटाएको उनले सुनाए ।

“अब हामी ती प्राविधिकलाई यो क्यामेरा दिएर गाउँगाउँ पठाऔँ । उनीहरूलाई सेवाग्राहीका आँखा जाँच्दा यो क्यामेराले फोटो खिच्न लगाऔँ । अनि ती फोटाहरूलाई तिलगङ्गा अस्पतालमा पठाउन लगाऔँ,” थापाले आफ्नो प्रस्ताव सम्झिए ।

टोलीका सबैजना सहमत भए । सबैले आआफ्ना हिसाबले तयारी सुरु गरे । तर, योजना कार्यान्वयन हुन नपाई ०७२ वैशाखको १२ को महाभूकम्पले देशै हल्लायो । सबैको ध्यान उद्धार र पुनर्निर्माणतिर गयो । थापाले आफ्नो योजना स्थगित गरे ।

एकदुई वर्षपछि देश सामान्य अवस्थामा फर्किन सुरु भयो । अब पुरानो योजना कार्यान्वयन गर्न तात्नुपर्छ भन्ने सोचिरहेका बेला थापालाई अमेरिकाको स्टानफर्ड विश्वविद्यालयले एउटा कार्यक्रममा निम्ता दियो । कार्यक्रममा उनले नेपालमा आँखा उपचारका क्षेत्रमा दूरचिकित्साको प्रयोग गर्न केके पहल भइरहेको छ भन्ने विषयमा बोल्न पाए । त्यसै क्रममा विश्वविद्यालयकै कुनै अनुसन्धानकर्ताले उनलाई ‘एप्पल’ कम्पनीका कुनै पनि यन्त्रसँग जोडेर सजिलै फोटो खिच्न सकिने यन्त्र आफूसँग रहेको सुनाए ।

“उनीहरूले मलाई ‘प्याक्सोस स्कोप’ नामको यन्त्र देखाए,” उनी सुनाउँछन्, “यो त एउटा सानो टुयुबजत्रो पो रहेछ । तपाईँको खल्तीमा सजिलै अट्नेरहेछ ।”

“फेरि भाउ पनि कति सस्तो भन्नूस् न । यसका सबै एसेसरीको जम्मा पाँच सय डलर मात्र पर्ने रहेछ । यति सस्तो होला भनेर त्यो बेला मैले कल्पना पनि गरेको थिइनँ ।”

अर्कातर्फ यो उपकरणको प्रभावकारिता अमेरिकामै परीक्षण भइसकेको थियो । फोटोको गुणस्तरमा कुनै गुनासो थिएन ।

अब थापाले निर्णय गरे कि नेपालमा त्यो पाँच हजार डलरवाला होइन, त्यसभन्दा दश गुणा सस्तो प्याक्सोस स्कोप लगिनेछ ।

नेपालमा परीक्षण

तिलगङ्गा अस्पतालले खोलेका सामुदायिक आँखा केन्द्रमा यो उपकरणको प्रयोग गर्न सकियो भने त्यहाँका प्राविधिकहरूलाई बिरामीको सामान्य उपचार गर्न र जटिल रोगका हकमा अस्पतालमा सिफारिस गर्न सजिलो होस् भन्ने थापाको उद्देश्य थियो ।

तिलगङ्गा अस्पतालका सामुदायिक आँखा केन्द्रको मूल काम नै त्यही हो ः बिरामीको आँखा जाँच्ने, सामान्य अवस्थाका बिरामीलाई आवश्यक औषधी दिएर घर पठाउने, जटिल बिरामीलाई कागज दिएर काठमाडौँ (अस्पताल) पठाउने ।
त्यस्ता केन्द्रमा प्राविधिक बन्नका लागि धेरै योग्यता आवश्यक पर्दैन । कक्षा १० (एसइई) उत्तीर्ण गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को तीन वर्षे कार्यक्रम पूरा गरेको हुनुपर्छ । अर्थात्, उनीहरूमा सामान्य प्राविधिक ज्ञान मात्र हुन्छ, विशेषज्ञता हुँदैन ।

स्टानफोर्डबाट फर्किपछि थापाले अस्पताल प्रशासनसँग कुरा गरे अनि देशैभरका प्राविधिकलाई काठमाडौँमा जम्मा गराए । उनीहरूलाई प्याक्सोस स्कोपको प्रयोग कसरी गर्ने भन्ने सिकाए । परीक्षणका लागि दोलखा जिल्लाका तिन ओटा र रामेछाप जिल्लाको एउटा स्वास्थ्य केन्द्रका प्राविधिकलाई एक एक वटा उपकरण दिएर पठाए ।

अब ती आँखा केन्द्रका प्राविधिकले नियमित कामका अतिरिक्त बिरामीका आँखाको फोटो खिची अस्पताललाई पठाउनुपर्ने भयो ।

अस्पतालले उक्त यन्त्रको परीक्षण गर्न लागेकाले केही नियमहरू बनाइए । प्राविधिकले फोटो खिच्नु अगाडि नै बिरामीलाई घर पठाउने कि अस्पताल पठाउने भनेर निर्णय गर्नुपथ्र्यो । अनि फोटो खिचेर पठाएपछि काठमाडौँका डाक्टरले बिरामी भेट्ने वा उनीहरूका अन्य कागजात हेर्न पाउँदैनथे, खालि फोटो हेरेर बिरामीलाई घर पठाउने कि अस्पताल भनेर निर्णय गर्नुपथ्र्यो ।

दश महिनाको अध्ययन अवधिमा ३४६ बिरामीका आँखा जाँचिए । त्यसपछि थापा नेतृत्वको अध्ययन टोलीले गाउँका प्राविधिक र अस्पतालका डाक्टरले गरेको निर्णय तुलना गरे । समग्रमा प्राविधिकले भन्दा डाक्टरले २० प्रशित बढी बिरामीलाई थप उपचारका लागि भर्ना हुन सिफारिस गरेको पाइयो । “यसको अर्थ के हो नयाँ उपकरणले फोटो नखिची प्राविधिकको मात्र भर परेको भए भने ती २० प्रतशित बिरामी थप उपचारका लागि सिफारिस हुँदैनथे ।

अर्थात्, उनीहरू आवश्यक उपचारबाट वञ्चित हुन्थे,” थापाको दाबी छ, “यसबाट हाम्रा गाउँमा यी उपकरण साँच्चै नै आवश्यक रहेछन् भन्ने देखियो ।”

विस्तार

हाल प्याक्सोस स्कोप एप्पलका उपकरणसँग जोडेर मात्र प्रयोग गर्न मिल्छ । तिलगङ्गा अस्पतालको प्राविधिक टोली यसलाई यान्ड्रोएड भर्सनमा विकास गर्नका लागि अध्ययनरत छ । साथै, अस्पतालले यसको प्रयोगका लागि आफ्नै याप पनि बनाउँदै छ । ता कि, गाउँका प्राविधिकलाई यसको प्रयोग गर्न अझ सहज होस् ।

परीक्षण गरिएका चारबाहेक अन्य ११ आँखा केन्द्रमा पनि यो उपकरण बाँडिएको छ । ती केन्द्रहरूले दैनिक कार्य सञ्चालनमै यसको प्रयोग गर्न सुरु गरेका छन् । आँखा केन्द्र बाहेक अस्पतालले गर्ने आँखा सिविरहरूमा पनि यसको प्रयोग सुरु भएको छ । अब ग्रामीण प्राविधिकले बिरामीको थप उपचारबारे गर्ने निर्णय थप परिपक्व हुने अस्पतालको विश्वास छ ।

उता आफ्नो विषयका अगुवाहरूको ‘आम सहमति’ नमानी नमानी आँखाका नसाको फोटो खिच्ने यन्त्रको खोजीमा निस्केका थापा आज मख्ख छन् । आफूले ग्लकोमाको रोकथामका लागि उपाय खोज्दै जाँदा अन्य रोगका बिरामी पनि लाभान्वित हुन सक्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । आफ्नो अध्ययनको दायरा अझ फराकिलो हुँदै जाँदा यस्ता उपकरणले अझ धेरैलाई लाभ दिने उनको विश्वास छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog