Friday, June 14, 2019

नियात्रा : प्रेमको निर्वस्त्र रात

जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार–हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र सामानको बैरालाले टेक्ने ठाउँ थिएन । खाङ्ग्रे डोकोमा खसी बोका झैँ रुल्लटुल्ल उभियौँ ।

हाम्रो बस कुँदेपछि दक्षिणतिर पुरै सेताम्य देखियो नीलगिरि । हात अलि तन्काए चुचुरोसम्म नै सुमसुम्याउन सकिने जस्तो लाग्दैथ्यो । भिरमा भेडा बत्तिए झैँ गुडिरहेछ हामी चढेको मिनीबस । मिनीबस नै नअटाउने जस्तो साँघुरो बाटो छ कालीगण्डकीको किनारैकिनार । खोलाको विपरीत उत्तरतिर उक्लन खोज्दैछ हाम्रो गाडी । अब रुख पात भन्नु कतै कतै अञ्जुलीमा अटाउने ससाना बुच्काहरू मात्र देखिन्छन् ।

एकातिर धवलागिरि अर्कातिर नीलगिरिले बिचको घामलाई जिस्क्याइरहेछन् । जतिसुकै चम्किए पनि बादल र कुहिरोले इन्तु न चिन्तु बन्न खोज्दैछ घाम । भर्खरकी गुदुमुने छोरीले बाबाको काँधमा चढ्दै ओर्लंदै गरे झैँ चुचुरादेखि ढाडसम्म नै बेरिँदै फैलँदै, ढाक्दै, हराउँदै चर्तिकला प्रदर्शन गरिरहेछ कुहिराले ।

दुईतिर फुस्रे पहाडहरूको माझमा फैलिएको छ कालीगण्डकी । संसार गेरु रङ्गमा छ, गेरु रङ्गमै बगिरहेछ कालीगण्डकी । नदीको माथितिर सेताम्य उडिरहेछ भुइँकुहिरो । कुहिराले होइन बालुवाले बनाइरहेछ भुइँकुहिरो ।

बगर नै उठेर उड्न थालेपछि लेपसिँदै लेपसिँदै कुलेलम ठोक्दो रहेछ नदी पनि ।

‘एकपटक सुसेल्दा एक कोस बाटो नाघिन्थ्यो । खुट्टैले नाघिन्थ्यो । अहिले मोटर पाएर मात्तियो गोडा’— मेरो दायाँ सिटमा बस्नुभएका ग्याल्जेन दाइको गुनासो थियो । भन्दै हुनुहुन्थ्यो— ‘जत्ति साधन भेटियो त्यत्ति अल्छी बन्दोरहेछ ज्यान । ‘दुःख नभोगेको ज्यान र हुरी नखेपेको रुख दह्रो हुनै सक्तैन ।’

मैले त्यसअघि नै जोमसोमदेखि मुक्तिनाथसम्म एकपटक पैदल र एक पटक सरकारी गाडीमा यात्रा गरिसकेको थिएँ । यस पटकको बसको त्यो धुस्नुकोचाइ यात्रा भने सबैभन्दा झुर लागिरहेथ्यो । नाम मात्रको बस छ, सजिलोसँग बस्न नपाइने । ड्राइभर र कन्डक्टरले यात्रुलाई हेपेको र चेपेको देख्दा वाक्कदिक्क भइने । सम्झाऊँ भने कुटाई खाइएला भन्ने डर । सिटमा सँगै बसेका सहयात्रीसँग यसो दुःख सुख साटौँ भने क्यासेटमा घन्किएको गीतको चर्को आवाजले कान फुट्ला भन्ने डर । कुराकानी त सुन्नै पाइने होइन ।

यस्ता पहाडी र हिमाली भेगमा त पैदल यात्रा नै बेस रहेछ । कम से कम माटोसँग स्पर्श गर्न र मान्छेसँग संवाद गर्न त निस्फिक्री पाइन्छ । माटोको सुवास चाख्न नपाउने र मान्छेको स्पर्श नपाउने हो भने यात्राको कुनै अर्थ हुँदैन ।

पहाडहरूमा अब एक सिन्को घाँस पनि कतै देखिँदैन । झन् झन् रहस्यमयी र झन् झन् रङ्गीन लाग्दैछन् तिनीहरू । गेरु रङ्गे पहाडहरू आफैँमा बहुरङ्ग र बहुरूपी बनेर उठिरहेछन् ।

कालीगण्डकी बगरभरि शालिग्राम खोज्नेहरू झुण्ड–झुण्ड देखिन्छन् । ठाउँ–ठाउँ बेच्न पनि राखिएका छन् ।

नाङ्गा पहाडहरू नाघ्दै पूर्व दिशा मुक्तिनाथतिरबाट झरेको काग खोला र उत्तर दिशाबाट आएको कालीगण्डकीको सङ्गम स्थल नै कागबेनी हो । ‘तिब्बती शब्द ‘काक’ अर्थात् ‘खण्ड’ वा ‘अवरोध’ र नेपाली शब्द ‘बेनी’ अर्थात् ‘दुई नदीको सङ्गम’ को योगबाट ‘काकबेनी’ नाम रह्यो । पछि यसैलाई ‘कागबेनी’ पुकार्न थालियो’ भन्ने मैले कतै पढेको थिएँ । हो, त्यही कागबेनीमा पुग्यौँ हामी घाम ओरालो लागिरहेका बेला ।

प्राकृतिकरूपमा जति अलौकिक छ कागबेनी, धार्मिकरूपमा त्यत्तिकै स्तुत्य छ । हिन्दु र बौद्ध अनुयायीहरू उत्तिकै आस्थाले सल्बलाइरहेका देखियो कागबेनीमा । कागबेनीको धार्मिक प्रसङ्ग अथ्र्याउँछु म साथीहरूलाई— पौराणिक कालमा नीलगिरि पर्वतमा आश्रम बनाई बस्दथे काग भुसुण्डी ऋषि । उनी दैनिक कृष्णगण्डकी र कागखोलाको सङ्गम त्यही कागबेनीमा स्नान गर्दथे ।

त्यसैबेला सप्तऋषिहरूले सुखपूर्वक तपस्या गर्ने ठाउँ भेटेनन् र सोध्न पुगे काग भुसुण्डीकहाँ । उनले त्यसका लागि कागबेनी सबैभन्दा पवित्र र उपयुक्तस्थल भएको बताएपछि उनीहरू त्यही बसी तपस्या गर्न थाले । ती ऋषिहरूले त्यहाँ पिण्ड तर्पण गरेका कहानी सुनेपछि आज पनि कयौँ आस्थावान्हरूले त्यहाँ श्राद्ध तर्पण गरेका भेटिन्छन् ।

सुनौला पहाडहरूको माझमा आँखाको नानी जस्तो, मरुभूमिको पानी जस्तो र एक्कासी भेटेको मोतीजस्तो बाँचिरहेछ कागबेनी । पूर्वतिरबाट भिरालिँदै पश्चिमतिर झरेको, दक्षिणबाट अग्लिँदै उत्तरतिर फैलिएको भूभागमा तिब्बती शैलीका आकर्षक घरहरू छन् । घरका बिच बिचमा स्याउ, खुर्पानी र आरुका बोटहरू छन् । छेउ, कुना, उकालो, ओरालो ठूला ठूला बैंसका रुखहरू छन् । उत्तरी कुनामा फैलिएको बस्ती माझमा पुरानो दरबारको भग्नावशेष झन् झन् जीर्ण देखिँदैछ ।

दक्षिणतिर ढुङ्गाको ठूलो पर्खालले घेरिएको भिरालो फाँट छ । कागबेनीवासीले त्यही फाँटमा आफ्नो जाँगर उमारेका छन् मकै हुर्काएर, गहुँ उमारेर, जौ, उवा, फापर, आलु र किसिम किसिमका हरिया तरकारी सपारेर । हामी चढेको बसले बजारको शिरदेखि पुच्छरसम्म एक फन्को लगायो र मोडियो उत्तरतिर । त्यताबाट पूर्वतिर उकालो चढे मुक्तिनाथ पुगिन्छ र उपल्लो मुस्ताङ जान उत्तरतिर लाग्नुपर्छ ।

हामी चढेको बसले छुक्साङसम्म लगिदिने कार्यक्रम छ ।

कागबेनी बजार सुन्दर छ, तर, सुनसान छ । दुई हजार आठ सय दस मिटर उचाइमा रहेको कागबेनीका हरेक घरका छानामा बौद्ध श्लोकहरू लेखेका लुङ्दरहरू फहराइरहेछन् । घरहरू, पसलहरू र होटलहरूमा झ्याल र ढोकाहरूमा सिसा जडिएको छ, तर, ती सबै बन्द छन् ।

अत्यधिक बतास चल्ने भएकाले र हिउँदभर हिउँ पर्ने भएकाले झ्याल ढोका बन्द गर्ने चलन चलेको हुन सक्छ । माटाको पर्खालले बनाइएका घरहरू, शुष्क किसिमको हावापानी, तिब्बती बोलीचाली रहनसहन, ढुङ्गाका विशाल पर्खालहरू देख्दा बिलकुलै नयाँ संस्कृतियुक्त सहरमा पुगेको महसुस भयो हामीलाई । घर र बस्तीको बनोट हेर्दा त्यो कुनै प्राचीन किल्लाको आभास दिन सफल बनिरहेछ, साँघुरा गल्ली र पुराना घरहरूले पुरानोपनको झल्को दिइरहेछ ।

प्याजी रङ्गको बख्खु र पाइन्ट पहिरेका एक हूल मान्छेहरू दक्षिणतिरबाट उकालो चढ्दै थिए । उनीहरू सबैको हातमा माने घुमिरहेको थियो र मुख मुखले ‘ॐ मणि पद्मे हुँ’ जप्दै थिए । उनीहरू शान्त बस्तीको छेउबाट शान्तिको याचना गरिरहेका थिए । हाम्रा गुरुजीले तिनीहरू सबैलाई किचिमिची पार्ने शैलीमा गाडी दौडाए । बिचराहरू कोही कुलामा र कोही भिरमा फाल हालेर ज्यान जोगाए तैपनि, तिनीहरू हाँसिरहे । कसैले अपशब्द निकालेनन् ।

मान्छे नै उडाउँला जस्तो गरेर बजोडले चलिरहेछ हावा । झन्डै झन्डै भाँचिएलान् जस्तो गरी उठ्दै नुहिँदै गरिरहेछन् बैँसका हरिहल्ल वृक्षहरू । जन्मेदेखि नै बतासको बल थाम्दा थाम्दा हर बाङ्गिसकेको छ सबै बैँसहरूको ।

हाम्रो बस बताससँग धावा खेल्दै कालीगण्डकी र मुक्तिनाथ खोलाको सङ्गम कागबेनी किनारमा पुग्यो । त्यहाँ भिरालो चौरमा पाँच दिदी बहिनीहरू उवा बत्ताउँदै रहेछन् । उनीहरूले बाटाभरि पनि उवाको बिस्कुन सुकाइरहेका रहेछन् । हाम्रा गुरुले उवा नै छरीवरी हुने गरी बस दौडाइदिए बिस्कुन माथिबाटै । हिमालमा बल्ल बल्ल फलेको त्यो अन्न नासिदिएकामा हाम्रो मन कुँडियो ।

हामी सहयात्रीले आपसमा चित्त दुःखायौँ । बाहिरपट्टि हिँडिरहेकी एउटी गोरी दिदीले बोलेको आवाज सुनियो— ‘वेट वेट, ग्रेन्स आर ग्रेटर देन गोल्ड । हाम्रो गुरुजीमा त्यो संवेदना शून्य । उनले बसलाई अलि तलसम्म पुर्‍याए । फरक्क फर्काए फेरि कुल्चाए बिस्कुनलाई र बोले— ‘बल्ल देखिहोली झुमाले मेरो करामत ।’ हामीले बुझ्यौँ— तरुनीहरूलाई रबाफ देखाउन त्यसो गरेछन् उनले ।

घाम निर्बिघ्न वर्षिइरहेछ । तिब्बती संस्कारलाई जिउँदो बनाउन खोजिरहेछ कागबेनीले । तिब्बती शैलीका घरहरू । घरछेउछाउ र घरभित्र बाहिर कतै न कतै सजिएका बुद्ध मूर्तिहरू र दलाइ लामाका तस्बिरहरू । छाना छानामा फहराइरहेका लुङ्दरहरू र गुम्बाबाट ध्वनि र प्रतिध्वनि बन्दै निस्किरहेका ‘ॐ’ मणि पद्मे हुँ’ का समवेत स्वरहरू ।

हर्दम असीम गुञ्जन एकत्रित गर्दै कुदिरहने हावाका नवीन झोक्काहरू– सबै सबैले मनलाई नौलो मझेरीमा धाप मार्दछन् । ‘कति राम्रो गुम्बा हगि त्यो, यतैतिरको सुनौलो माटाको सुनौलो पहाड जस्तो’— म बोलेँ । ‘त्यो काग चोदे थुप्तेन साम्फेललिङ्ग’ गुम्बा हो मेरो दायाँतिर बस्नुभएका चैले निवासी एक दाइले अथ्र्याउनुभयो । माटाले छापेका छानाका घरहरू बिचमा मौरीको रानु झैँ जगधम्म बसिरहेछ गुम्बा ।

सयौँ वर्ष पुरानो दरबार र गुम्बालाई नयाँ कलेवर दिन खोज्दैछन् कागबेनीवासीले । समयका चित्रहरूलाई समयले नै सच्याउनु उम्दा हो जस्तो लाग्छ मलाई, उनीहरूको काम देखेर । त्यस्तै दरबार साउदी अरेबियाको राजधानी रियादमा देखेको थिएँ मैले । दुवैमा माटाले चारैतिर झ्यालविहीन गारो बनाइएका, दुवै शत्रुबाट बच्ने उपाय अपनाएर निर्माण गरिएका, दुवै मरुभूमि प्रदेशमा । एक जाडो छल्ने नियतले र अर्को गर्मी छल्ने अभिप्रायले ।

तत्कालीन गृह निर्माणको अत्यूच्च नमूना देखेँ मैले ती दुवै दरबारहरूमा ।

पूर्वतिर उकालो लाग्यो मुक्तिनाथ जाने बाटो । पश्चिमतिर जाने बाटो भने साङ्दाला (५११० मिटर) हुँदै डोल्पा जाने रहेछ । हाम्रो गाडी भने उत्तरतिर लाग्यो कालीगण्डकीको किनार नै किनार । कहिले खोलानजिकै पुग्ने र कहिले अलिपरको बस्तीमा घुस्ने क्रम जारी छ ।

दक्षिणतिर ६ हजार ९४० मिटर अग्लो नीलगिरि । घरी बादलु घुम्टोले अनुहार छोप्छे, घरी घामको लेदो मुहारभरि पोतेर चम्किँदै अघि बढ्न धाप दिन्छे । उनकै नायक ७ हजार १३६ मिटर अग्लो तिलिचो भने ठुस्सिएर लुकेको छ ।

नीलगिरि साथमै छिन् मेरी । उनी मलाई हेरेर अघाउँछिन् । म उनलाई हेरेर अघाउँदिन । उनले नै डोर्‍याएर त्यहाँसम्म पुर्‍याएकी हुन् मलाई । सँगै हिँडेर संसार भुलिरहेछौँ हामीले । सँगै भएरै पीडा र बन्धनहरू धमाधम फेरिरहेछौँ हामी दुवैले । मेरी नीलगिरि अझ अग्लिएकी हेर्न चाहिरहेछु मैले । उनीसँगको मेरो यात्रा अझ उच्च र सुनौलो बनोस् भन्ने आकाङ्क्षा छ । उनको पीडा होस् या प्रेम आफ्नैसँग साट्न पाउनु जस्तो सन्तोष अरू के नै हुन्छ र यो संसारमा ।

हाम्रो बायाँतिरबाट दक्षिणतिर बगिरहेको नदीमा छताछुल्ल पोखिएको छ घाम । हावामा घुलिएर उडेका बालुवा कणहरूले धुलिमण्डल छ जतासुकै । पहाडभरि प्यागोडा शैलीका र शिखर शैलीका असङ्ख्य मन्दिरहरूले मन लोभ्याउँछन् । रुखका लहरहरू छन्, झुरुप झुरुप झाडीहरू छन्, मान्छेका जुलुसहरू छन्, बथान घोडा, हात्ती, मृग र बँदेलहरू छन् । तिनीहरू न कुनै वनस्पति हुन् न कुनै प्राणी । हुन् केवल ढुङ्गाका विशाल आकृतिहरू ।

आकृति नै आकृतिको विशाल कोलाज देखिँदैछ संसार ।

गहिरो खोँच ओर्लेर अलिकति उकालो चढेपछि स्यानो गाउँ आइपुग्छ हाम्रो सामु । ‘ताङ्वे’ गाउँ हो यो— सहयात्री दाइले चिनाउनुभयो हामीलाई । मैले आइफोन खोलेँ । माइ अल्टिच्युट एपले ३०१९ मिटर उचाइ देखायो । चौँरी गाई र भेडाहरू छरिवरि रङ्मङ्गिएका देखिन्छन् ताङ्वे गाउँमा । गाउँमा धाराहरू प्रशस्तै देखिए । सडक छेउमै एक युवक नुहाइरहेछ । अरू दस/बाह्र युवक जिस्क्याइरहेछन् उसलाई । हाँसोको फोहोरा र गफको शृङ्खला चर्को बनिरहेछ । सायद नुहाउनु अचम्म मानिँदैछ त्यहाँ ।

ताङ्वेमा सत्तरी जति घरहरू देखिन्छन् । घरभन्दा धेरै देखिन्छन् छोर्तेनहरू । पहाडको काखमा पहाडकै ढिस्का जस्ता फुस्रा घरहरू देखिन्छन् ताङ्वेमा । मलाई लाग्छ— पहाडमा गाउँ बसाउनु भनेको संभावनाका पहाडहरूलाई खुरु खुरु खोतल्नु हो ।

हामीले ताङ्वे छोड्दा धुलाको भुमरीले ढपक्क ढाक्यो हामीलाई । धुलो नै धुलाको वर्षाले धुलिमाटी बनाइदियो हाम्रो पुरै शरीर । हरेक क्षण खतराको घन्टी सुन्दै कुलेलम ठोकिरहेछ बस । एक हूल खच्चरहरू पिठ्युँभरि भारी बोकेर घोडेटोबाट अघि बढिरहेछन् ।

एउटा ठाडो नदी पारिपट्टि पूर्वबाट पश्चिमतिर झर्दै कालीगण्डकीमा मिसिएको देखियो । दुई वर्षअघि मुस्ताङ जिल्लाका कार्यालयहरू र तिनका काम कारवाहीको निरीक्षण गर्न म त्यही खोलासम्म पुगेको थिएँ । जिल्ला विकास समिति मुस्ताङले झोलुङ्गे पुल जडान गर्न ठेक्का लगाएको थियो । म पुग्दा एकातिरको जगको काम हुँदै थियो । त्यसै ठाउँमा तयारी झोलुङ्गे पुल देख्दा मनले राम्रो सपना पुरा भए झैँ मान्यो ।

हामी चढेको बस त्यही पुलको वल्लो किनारमा रोकियो । त्यो किनारमा प्रहरी चौकी र चिया चमेना पसलहरू रहेछन् ।

‘छुकसाङ बस स्टप यही हो सर । अब चैलेसम्म पैदल हिँड्नुपर्छ । सरहरू आज यहीँ बस्नुहुन्छ भने म बन्दोबस्त मिलाउँछु’— सब इन्स्पेक्टर चङ्ख कडायत बोले । उनी जोमसोमदेखि हामीसँगै बसमा गएका थिए । उनी त्यही चौकीका रहेछन् ।

‘भो, आज यता नबसौँ, अलिकति भए पनि बाटो काट्यो भने भोलिलाई सजिलो पर्छ, बरु पारिको गाउँमा बसुँला नि हुन्न ?’— मैले खोलापारिको गाउँ देखाएँ । आँखाको नानी जस्तो, तिर्खाएको बेलामा भेटेको पानी जस्तो, फक्रक्क फक्रेको जवानी जस्तो देखियो छुकसाङ गाउँ । पाटोमा मकै उम्रिइरहेको थियो । अलि परतिर फापरले राताम्मे देखिन्थ्यो, झन् तलतिर लहलह थियो आलुबारी । छुकसाङ देख्दा हामीमा रहेको थकाइ अलि मत्थर भयो ।

छुकसाङ गाउँ छेउको बारीमा आलु गोड्दै गरेकी एउटी दिदीलाई सोधेँ — ‘दिदी यहाँबाट चैले पुग्न कति समय लाग्छ ?’

‘त्यस्तै दस मिनेट ।’ दिदीको जवाफ सुनेपछि हामीलाई भने कम्तीमा डेढ घण्टा लाग्ने मेरो अड्कल साथीहरूलाई सुनाएँ । नभन्दै दुई घण्टामा मात्र त्यहाँ पुग्यौँ । त्यतातिरकाले दस पन्ध्र मिनेटमा पार गरेको बाटो हाम्रा लागि एक डेढ घण्टामा पार गर्न फलामको च्युरा चपाउँनु झैँ हुन्छ ।

गुचुमुच्च छुकसाङ गाउँको माझबाट छ बाटो । हिँड्दाहिँड्दै गाउँबाट अर्को बाटो पो झरेछौँ हामी ।

कालीगण्डकीको किनारमै छ छुकसाङ गाउँ । दुईतिर अग्ला पहाडको बिचमा अलि समथर पनि छ गाउँ बसेको धरातल । दायाँबायाँ भित्ताभरि किसिम किसिमका चित्रहरू टाँसेझैँ देखिन्छन् रक्तिम भू–आकृतिहरू । नीलो आकाशमुन्तिर रक्तिम पहाडहरूका बिचमा कालीगण्डकी बगर नै बगर हिँड्दैछौँ । गोला र चिल्ला ढुङ्गाहरू, शालिग्रामहरू र महासागरमा थिग्रिएको जस्तो बालुवाहरूका चाङले बनेका छन् पहाडहरू ।

‘हेर्नुहोस्, हजारौँ वर्ष पहिले यो क्षेत्रमा टेथिस सागर थियो । भूगर्भ भित्रको तिब्बती प्लेट र भारतीय प्लेटको टकरावले कालान्तरमा यहाँ हिमाल ठडियो र महासागर मर्‍यो’— मैले साथीहरूलाई बताएँ । त्यहाँका ढुङ्गा, बालुवा बगर हेरेपछि साथीहरूले पत्याउनुभयो । बाटामाथि फिँजाइएका गुच्चा जस्ता गोल ढुङ्गाहरूमा टेक्ता ग्वार ग्वार गर्ने एक किसिमको सङ्गीत बजिरहेछ ।

ज्यान थाकेको छ । तर, चैले नपुगी सुस्ताउने ठाउँ नभएकाले नरोकिइ हिँड्नुपर्ने बाध्यता छ । लक्ष्यले थकाइलाई थन्क्याउँछ, जाँगरमा जोश थप्छ ।

घाम डुब्ने र हामीले कालीगण्डकी पुल तर्ने एकै पटक भयो । हरिया र खैरा बलौटे ढुङ्गा, चिप्ला र काला ढुङ्गाहरू, गोलढुङ्गे बालुवाको बिस्कुनले बेग्लै देखिएको छ कालीगण्डकी । त्यो गेग्नर्‍यायुक्त बगरमा हिँड्दा मसिना ढुङ्गाहरू जुधेर मरमर सुनिँदैछ बेग्लै सङ्गीत । कतै कतै भेटिने राइसल्लाका कोणधारी रुखहरूले थपिदिँदैछन् जीवनका सुकिला आशा । कञ्चन बगिरहेछ कालीगण्डकी । कालीगण्डकी उत्तरबाट एकै झरेकी हुन् तर त्यहाँ पुगेपछि दुई रूपमा निस्केकी छिन् । एक भङ्गालो खुला नदी बनेर र अर्को भङ्गालो पहाड छेडेर पहाडीे मुखबाट । दुवै भङ्गाला त्यहीँ मिसिएका छन् र एकै बनेर सुरु गरेको छ एउटा अविरल यात्रा ।

त्यति पानी काठमाडौँमा पुगे कति सुन्दर बन्दो हो काठमाडौँ, कति स्वस्थ बन्दो हो काठमाडौँ । मैले मेरी नीलगिरिलाई छपछपी छ्यापिदिएँ कालीको पानी । नीलगिरिले फिँजाइरहिन् ममाथि प्रेमका कोमल प्वाँखहरू । जोमसोमदेखि बायाँ बगेकी कालीगण्डकी अब दायाँ परिन् । उनलाई त्यतै छोडेर घुस्यौँ हामी घना पठारको स्वच्छ र सफा चैले गाउँतिर ।

कालीको किनारमा उभिँदा आँखैमा ठोक्किएला झैँ देखिए माथिल्लो आकाशनेर चैलेका चार घर । उकालाका हरेक इन्चहरूमा पाइलाहरू धर्मराउँछन् । मेरै सहाराले मसँगै उचाइ चढिरहिछिन् मेरी नीलगिरि । उनको स्पर्शले मेरा सारा थकाइहरू निस्तेज बन्दैछन् । मेरो प्रेमको रापले बिस्तारै गल्दैछन् उनका निराशा र अन्यौलका बादलहरू । प्रेमिल यात्रालाई छेक्न सक्तैनन् कुनै ढुङ्ग्यानल,े पहाडहरूले । बन्धनहीन समर्पणको शक्ति बोकेर हामीले सरक्कै चैलेको ठाडो भिर नाघेको देखेर नीलगिरिसँगै मुसुक्क हाँस्नुभयो अर्का मित्र ।

काली किनारबाट झन्डै पैंतालिस मिनेट उकालो चढेपछि मात्र भेटियो चैले । चैलेको आँगनमा पहिलो पाइला परेपछि एक पटक अँगालोभरि तिमीलाई बाँधु जस्तो लाग्यो मलाई, नीलगिरि । त्यहाँसम्म पुगेर तिम्रो र मेरो मायाको शिलालेख ती पत्थरे पहाडभरि लेख्न पाएकामा म मनमनै नीलगिरि जत्तिकै अग्लिएको थिएँ । प्रेमको न्यानाले पुरै पग्लिइसकेको थियो हाम्रो थकाइ ।

त्यो आदिम एकान्तमा फुर्केर अनवरत गाइरहे संसारको सर्वोच्च प्रेमगीत, वरिपरिका पहाड, गुफा र हावाका लर्कनहरूले । यो आदिम एकान्तमा तिमीलाई पाउनु मेरो जिन्दगीभरिको सर्वोच्च खुसी हो भन्दै बैंसको हाँगामा छेकारो परेर च्वाप्प म्वाई खायौ तिमीले । निस्फिक्री रमाइरहेका नाङ्गा रक्तिम पहाडहरू मनमा सारेर बिन्दास शैलीमा कयौँबेर अँगालामा कसिरहेँ मैले तिमीलाई । घोडा धपाउँदै उकालो चढिरहेका दाइहरूको आवाजले मात्र झसङ्ग झस्कियौँ, हामी दुवै । जून पनि अलि बढी नै मादकता छरेर हतारले ओर्लिइरहेथ्यो डाँडाको टुप्पाबाट हामीतिर नै । सग्लो र सुन्दर प्रेमको अमुक भाषामा रमाउन पाउनु जतिको आनन्द अरू के नै हुन सक्तछ र जीवनमा ?

निधारमुन्तिर चनाखो बनेर चम्किएको आँखो जस्तो रहेछ चैले । माथितिर सुनौला पहाडहरू छन्, पारितिर र वरिपरि राताम्य पहाडहरू छन् । आकाश ओडेर, धर्तिमा अडेस लागेर र बतासमा ब्युँतिइरहेछ, हर्दम चैले । चैलेमा जति घर छन् ती सबै होटलहरू छन् । एक, दुई, तीन, चार, सात घरसम्म बास नपाउने छाँट आयो हाम्रो ।

‘हिँईईई …’ ठाडै कोपर्ला जसरी हिनहिनाउँदै एक्कासी घोडा उफ्रिएपछि सातोपुत्लो गयो हाम्रो ।

‘डराउन पर्दैन, जिस्केको मात्र हो क्या’— दाइले घोडा समातेपछि मात्र अलि ठेगानमा बस्यो, हाम्रो मुटु ।

‘दाइ, होटल खाली छैन ? — मैले सोधेँ ।

‘आज टुरिस्ट धेरै छ, सबैतिर भरिइसक्यो, उः त्यो ग्रिनपिसमा बाँकी होला ।’ चैलेको शिरतिर देखाउनुभयो दाइले ।

ग्रिनपिस होटलभित्र गोराहरूको भिड नै रहेछ । कोही पल्टेका, कोही चाउचाउ चिज र सुप खाँदै । खानेकुरा देखेपछि त कुर्लदै ओल्र्यो भोक । खोसेरै खाइदिउँ जस्तो लाग्दै थियो ।

बस्ने बास पाइयो । फापरको रोटी, चाउचाउ, रायोको साग र दालभात पाएपछि बल्ल तंग्रियो ज्यान ।

आकाश नाङ्गो छ । नाङ्गो आकाशका नाङ्गा ताराहरू आफ्नै पुर्पुरोमा अडेस लाग्न झरे झैँ लाग्दैछन् । बस्ती छ, तर कोलाहल छैन । त्यहाँ शान्तिको वर्षा छ, कलुषितताको गन्ध छैन । शान्तिको अनुपम अँगालामा संसार बिलकुल नौलो लाग्दैछ । जीवनका कयौँ थकित भारहरू त्यतै बिसाइए झैँ लाग्दैछ । इच्छाका पातहरू अलि बेग्लै वृक्षबाट पिपिराउन खोज्दैछन् । त्यो चकमन्न अन्धकारमा आशाका वेगवान् छालहरू छचल्किन खोज्दैछन् ।

होटलको नाङ्गो छानामाथि उभिँदा — हावाको एक झोक्काले म्वाइँ खाँदै भन्यो— उचाइ चढ्न सक्यो भने धमाधम खुल्छन् संसारका सबै रहस्यहरू ।

श्वेत साम्राज्यमा ठिङ्ग उभिएर जिस्क्याइरहिन् मलाई नीलगिरिले । शान्त र शालीन ढपमा चनाखो बनेर जाग्राम छन् सुन जस्ता पहाडहरू । हरेक पहाड, खोँच र नदीका छालहरूसँगै जिस्किइरहेछ जून । हिउँका केस्रा बोकेर बत्तिइरहेको वायुले कोपर्दैछ हाम्रा नाक कान र पुरै शरीरलाई । चिसाको हुँकारले पनि अत्याउन सकेको छैन तिम्रो र मेरो अटल प्रेमलाई ।

एकातिरबाट निर्निमेष हेरिरहिछ्यौ र सिरेटोका खम्बाहरूमा अडेस लागेर मस्किइरहिछ्यौ तिमी । अर्कातिर कालीगण्डकीको सुसाई र डाँडा डाँडाबाट खुर्मुरिदै उक्लिँदै गरेका हावाका झोक्काहरूको दोहोरीमा तिम्रो र मेरो प्रेम कथा खोतलेर झन् झन् तेजिलो बन्दैछु म । उत्सर्गका कोरसहरूमा प्रेमको उन्मुक्त बगैँचा फिँजाउन पाउँदा फुलहरूमा ओर्लिइरहेको जून पनि मस्तले फैलिँदो रहेछ समुद्रका नीलिम छालहरू जस्तै ।

प्रेमिल वर्षामा निथ्रुक्क भिजेको त्यो साँझ कसरी बिर्सन सकौँला र तिमीले र मैले । साँच्चै हाम्रो प्रेमको माइलस्टोन बन्यो चैलेको निर्वस्त्र रात । प्रेम ! प्रेम !! प्रेम !!! प्रेमबाहेक केही बाँकी रहँदो रहेनछ एउटा उत्सर्गपूर्ण धुनको सप्तरङ्गी प्रेममा ।

मित्र निदाए पनि हामी दुवै निदाएनौ । अँध्यारोमै एक अर्कालाई हेरिरह्यौँ । टाढैबाट एक अर्कालाई छामिरह्यौँ । निद्रा नपुगे पनि शरीर स्वच्छ बनिरह्यो हाम्रो ।

‘साँच्चै थाहा पाउनुभयो कि पाउनुभएन होला मित्रले हाम्रो प्रेमको प्रगाढता ?’— सोध्न भुसुक्कै बिर्सेछु मैले, रङ्गीन धूनहरूका तरङ्गमा इच्छाका बिरुवाहरू उमार्दैमा ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog