Thursday, June 13, 2019

जीवन जिउने कला बच्चाबाट पनि सिक्ने कि ?

इन्द्रबहादुर राईको एउटा कथा ‘खीर ।’ कथाको पात्र टिस्टा नदीको किनारमा बास बस्छन् । उनी बसेको डाकबंगलाको अर्को कोठामा कुल्ली, बढाई अर्थात भनौ त्यही काम गर्ने श्रमिकहरु खीर पकाउन थाल्छन् । उनीहरुले खीर पकाउन सुरु गरेदेखि नै त्यसबारे चर्चा गर्न थाल्छ । खीर यसरी पकाउनुपर्छ, यस्तो चामल हाल्नुपर्छ, यति दुध मिसाउनुपर्छ, यसरी चलाउनुपर्छ, चिनीको मात्रा यति हुनुपर्छ, यस्तो मसलाई मिलाउनुपर्छ । अर्को कोठामा बसेका पात्रले यी सबै गन्थन सुनिरहन्छ र उनले खीर कस्तो पाक्दैछ भन्ने कल्पना गर्छ । खीर पाक्छ । उनीहरु बाँडीचुडी गर्छन् । त्यसपछि फेरी गन्थन सुरु हुन्छ, यस्तो भएछ । यो पुगेनछ । यो धेरै भएछ । यसरी पकाइएछ । इत्यादि ।

कथाको पात्रले खीरलाई जीवनसँग तुलना गरेको छ । उनी सारंशमा भन्छन्, ‘तिनीहरुले पकाएको खीर हाम्रो जीवन जस्तै रहेछ । जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्श मनभरी छन् ।’

मनमा अनेक आदर्श लिएर बाँचेपनि हामी भनेजस्तै वा ढंग पुर्‍याएर बाँचिरहेका हुँदैनौ । कथाको सार यत्ति हो ।

भनिन्छ, हामी जीवनभर कसरी बाँच्ने भनेरै भौतारिन्छौ । जब हाम्रो मस्तिष्कमा चेतनाको विकास हुन्छ, उतिबेलादेखि नै हामी जीवन जिउने कला खोजिरहेका हुन्छौ । यसरी बाँच्ने कि, उसरी बाँच्ने कि । दुःखलाग्दो चाहि के भने, कसरी बाँच्ने भन्दा भन्दै हाम्रो बाँच्ने आयु रित्तिन्छ । हामी जीवनको प्रस्थान विन्दुमा आइपुग्छौ ।

हामी हरक्षण प्रयत्न गरिरहेका हुन्छौ, जीवन कसरी बाँच्ने ?

हामी हरक्षण चर्चा गरिरहेका हुन्छौ, जीवन कसरी बाँच्ने ?

हामी हरक्षण खोजिरहेका हुन्छौ, जीवन कसरी बाँच्ने ?

यही खोज र आकंक्षामै हामी घण्टा, दिन, हप्ता, महिना, बर्ष बिताइरहेका हुन्छौ । तर, जीवन जिउने मेलोमेसो मिलिरहेको हुँदैन । ‘कसरी जीवन जिउने’, ‘जीवन जिउने कला’ भन्ने कुरामा हामी पुरा जीवनको चक्कर लगाइरहेका हुन्छौ ।

कस्तो जीवन बाँच्ने भन्ने कुरा तपाईं जन्मेको वंश, तपाईं हुर्केको समाज, तपाईंले अंगालेको मूल्य र आदर्शले पनि निर्धारण गर्छ । यद्यपी संसारका सबै मान्छेको एउटा साझा चाहना हो, जीवनलाई उन्नत, सहज र सुन्दर बनाउने ।

एकबारको जुनी

हामीलाई लाग्छ, यो एकबारको जुनी हो । फेरी जन्म लिइने हो वा होइन ? निश्चित छैन । त्यही कारण हामी चाहन्छौ कि यही जीवनमा सम्पूर्ण सुख-सुविधा भोग गरौं । यही नै त जीवन हो ।

हामी जतिसक्दो जीवनलाई भोग गर्ने प्रयासमा हुन्छौ । कसरी रमाइलो हुन्छ, कसरी सहज हुन्छ, कसरी आनन्द हुन्छ यही कुराको खोज गरिरहन्छौ । यद्यपी हाम्रो सन्तुष्टको दायरा खुम्चदै जान्छ । हामी जति जति जीवनलाई सुविधाभोगी बनाउँदै जान्छौ, उत्तिनै औडाह, बेचैनीको चक्रमा फस्दै जान्छौ । अन्ततः त्यहीबाट उम्कने यत्न गर्दागर्दै हाम्रो जीवनको रस निथि्रन्छ । हामी मृत्युको मुखमा पुग्छौ ।

जीवन जिउने कला

मान्छेलाई आकंक्षाले दुःखी बनाउँछ । हाम्रो आकंक्षाको भकारी कहिल्यै भरिदैन । त्यसैले हामी जस्तो छौ, जे छौ, जहाँ छौ त्यही रमाउने मेलो खोज्नुपर्छ ।

संसारमा कोहीपनि यस्ता हुँदैनन्, जो सबै कुराले परिपूर्ण होस् । हरेकले केही न केही अभाव र समस्या झेलिरहेकै हुन्छ । त्यसैले त भनिन्छ नि सन्तुष्टि नै परम सुख हो । हाम्रो जीवनको खोज सुख हो भने हामीले आफैसँग सन्तोष गर्नुपर्छ । सन्तुष्ट मनले नै जीवनलाई प्रफुल्लित बनाउँछ । उमंगित बनाउँछ ।

जीवन कस्तो बनाउने ? कसरी जिउने भन्ने कुरामा हामीले धेरै खोज गरिरहनु पर्दैन । तपाईंले आफ्नै बालबच्चालाई कति र जीवनजन्तु हेरेर जीवनका धेरै कुरा सिक्नुहुनेछ, जसले तपाईंको जीवन रहरलाग्दो बनाउँछ ।

हामीलाई प्रकृतिले जस्तो जीवन दिएको छ, त्यस्तै बाँच्ने हो भने सुन्दर हुन्छ । तर, हामी अप्राकृतिक तौर तरिका अपनाउँछौ । यसले हामीलाई फन्दामा पार्छ ।

बालबच्चाबाट के सिक्ने ?

कस्तो जीवन बाँच्ने भन्ने कुरा आफ्नै बालबच्चाबाट सिक्न सकिन्छ । तपाईंको बालबच्चालाई नियाल्नुहोस् । उनीहरुको मनोभाव बुझ्नुहोस् । उनीहरुको चञ्चलता हेर्नुहोस् । उनीहरुको भावना अनुभूत गर्नुहोस् ।

जीवनको सौन्दर्य खोज्ने हो भने साना एवं अवोध बच्चासँग जतिसक्दो एकाकार हुनुहोस् । उनमा तेरो, मेरो, आफ्नो, अर्का भन्ने भावना हुँदैन । चाहे जतिसुकै ठूलो कुलमा जन्मिएको होस्, जतिसुकै कुलिन खानदानमा जन्मिएको होस्, उनमा एकरत्ति दम्भ हुँदैन । अहंकार हुँदैन । उनको आँखाले कसैमाथि विभेद गर्दैन ।

त्यही कारण बच्चाहरु उनमुक्त हाँस्न सक्छन् । आज हाम्रो हाँसो र खुसी किन खोसिएको छ ? किनभने हामीमा तेरो, मेरो, आफ्नो, पराई भन्ने विकारले प्रवेश गरिसकेको छ । डाहा, अहंकार मनभित्र कोचिएको छ । त्यही कारण त जतिसुकै खुसीमा पनि हामी फुरुंग हुन सक्दैनौ । जब तपाईं एउटा बच्चालाई हेरेर उनीजस्तै उन्मुक्त खुसी चाहनुहुन्छ भने बच्चाकै जस्तो निष्कपट, निश्छल, निर्मल भाव आफुमा विकास गर्नुहोस् ।

बच्चाहरु सन्तुलित हुन्छन् । उनीहरुलाई तपाईं पिरो, अमिलो वा स्वास्थ्यले नरुचाउने खानेकुरा दिनुहोस्, पटक्कै खाने छैन । बच्चाले सुपाच्य खानेकुरा मात्र रुचाउँछ । उनलाई जति चाहेको त्यती मात्र खान्छ । आवश्यक्ताभन्दा बढी खाँदैन । बच्चाको यो खानपान शैलीबाट पनि हामीले सिक्न सक्छौ । किनभने आज हाम्रो जीवनको तालमेल बिग्रनुमा खानपानप्रतिको आशक्ति पनि हो ।

बच्चाहरु आफुलाई चित्त नबुझेको कुरामा तुरुन्त प्रतिक्रिया जनाउँछन् । आफुलाई असहज भएमा रुन्छन् । आफुलाई चित्त दुखेमा रुन्छन् । तर, हामी हरेक कुरा भित्र भित्रै गुम्साएर राख्छौ । त्यही कारण त हामी कुष्ठित हुन्छौ । बच्चाले जस्तै मनको मैलो पखाल्ने हो भने हामीमा रिस, राग, कुष्ठा रहँदैन ।

बच्चाहरु सधै उत्सुक हुन्छन् । नयाँ कुरा जान्न, छुन, खेल्न चाहन्छन् । हरेक कुराप्रति उनीहरुको प्रश्न हुन्छ । जिज्ञासा हुन्छ । बच्चाहरुबाट सिक्नुपर्ने गुण यो पनि हो । हामीले बच्चाहरु जस्तै हरेक कुरामा उत्सुकता राख्ने हो भने धेरै कुरा जान्न सक्छौ । बुझ्न र अनुभूत गर्न सक्छौ ।

यस्ता थुप्रै कुरा छन्, जो बच्चाबाट हामीले जीवन जिउने कला सिक्न सक्छौ । जीवन कसरी बाँच्ने, जीवनलाई कस्तो बनाउने ? भन्ने प्रश्नको हल तपाईंको बच्चाको जीवनबाट मिल्नेछ । प्रकृतिले जस्तो दिएको छ, त्यस्तै जीवन बाँच्ने हो भने हामीले अन्यत्र भौतारिनुपर्दैन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog