Monday, June 17, 2019

विकास बजेट: एक अर्कालाई देखाउदै १ अर्ब स्वाहा

काठमाडौं। संघीय सरकारबाट प्रदेश सरकारका लागि विनियोजित सशर्त रकम खर्च नहुदा प्रदेश नम्बर २ का सडक योजनाहरु अलपत्र परेका छन् भने करिब एक अर्ब रकम फ्रिज हुने भएको छ।

चालु आर्थिक वर्षका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ८५ करोड २३ लाख एक हजार रकम प्रदेश सरकारलाई विभिन्न सडक योजनाहरुका लागि दिइएको थियो । उत्तर दक्षिण सडकहरु, संभावित रणनीतिक सडकहरु तथा संभावित प्रादेशिक सडकहरुका लागि खर्च गर्न उपलब्ध गराइएको उक्त बजेट प्रदेश सरकारले खर्च गर्न सकेको छैन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले केही रकम छिटपुट रुपमा खर्च गरेपनि ९० प्रतिशतभन्दा बढी रकम खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको अन्तिम महिना चलिरहँदा उक्त रकम खर्च हुने स्थिति छैन भने ठूलो परिमाणमा बजेट फ्रिज हुने पुरानै प्रवृति पुन: एक पटक दोहोरिने स्पष्ट छ ।

आफैले अगाडि बढाएका योजनाहरुका लागि विनियोजित रकम खर्च नभएको बारे संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई खासै चासो भएको देखिदैन् । मन्त्रालयका योजना शाखाका उप-सचिव कर्णबहादुर राणाभाटसँग यस विषयमा बुझ्न खोज्दा उनले आफुहरु त्यसबारे अपडेट नभएको बताए । थप जिज्ञासा राख्दा उनले यसको कार्यान्वयनको पाटो सडक विभागले हेर्ने बताउदै त्यहाँबाट अपडेट नआएको बताए । सडक विभागका उप-महानिर्देशक तथा प्रवक्ता शिवहरी सापकोटाले प्रदेश सरकारले उक्त बजेटको स्वामित्व नलिएको बताए । बजेट कार्यान्वयनमा विभागको खासै भूमिका नहुने बताउँदै उनले भने, ‘गत पौषतिर नै हामीले प्रदेश सरकारलाई योजना हस्तान्तरण गर्न खोज्यौ तर उहाँहरुले सबै योजनाको स्वामित्व लिन चाहनुभएन् । खातामा पैसा पठाइसकिएको छ तर उहाँहरुले केही योजनाबाहेक कुनैको पनि स्वामित्व लिन चाहनुभएको छैन् ।’

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारले नै स्पष्ट पार्न नसक्दा बजेट खर्च हुन नसकेको आरोप लगाए । जिम्मेवारी लिनबाट पन्छिदै मन्त्री सोनलले भने, योजनाहरु कार्यान्वयनका लागि खटिएका कर्मचारीहरु संघीय सरकारमातहतका छन् । उनीहरुसँग कुरा गर्दा हामी त केन्द्रका कर्मचारी हौँ भनेर टेर्नु नै हुन्न । हाम्रो प्रादेशिक संरचना बन्न सकेको छैन र आफ्नै कर्मचारी छैन जसका कारण हामीलाई समस्या आएको हो । अन्य योजनाहरुको काम हामीले अगाडि बढाएकै हो तर सडकका योजनाहरुबारे संघले स्पष्ट नपार्दा बजेट खर्च हुन नसकेको हो ।

संघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व रघुवीर महाशेठले गर्दैछन् । उनी स्वयम प्रदेश नम्बर २ का हुन् । सबैभन्दा पिछडिएको प्रदेशको रुपमा चित्रण हुने प्रदेश नम्बर २ कै नेताहरुले कामको जिम्मेवारी बोध गर्न नसक्नु लज्जास्पद भएको प्रदेशका अगुवाहरुको टिप्पणी छ । यस विषयमा विकासलाई प्राथमिकतामा राख्ने नेताको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहसँग जिज्ञासा राख्दा वहाँले प्रदेशका नालायक मन्त्रीहरुका कारण यस्तो स्थिति सृजना भएको बताए । उनले भने,  ‘पहिलो कुरा हाम्रो प्रदेश मानव विकास सुचकांकमा सबैभन्दा पछाडि छ । त्यसमाथि सरकारले सधै कन्जुस्याइ गरेर प्रदेशलाई कम बजेट दिने गरेको छ । विकासको महत्वपूर्ण पूर्वाधार मानिने सडक निर्माणका लागि छुट्याइएको झण्डै एक अर्ब रकम खर्च नहुनु दुर्भाग्य हो ।जिम्मेवार मन्त्रीहरुबाट प्रदेशका जनताले धेरै आश गरेका छन् तर उहाँहरुको कार्यशैली र विनियोजित बजेट खर्च नहुनुले जनताको मन दुखेको छ। यसबारे उहाँहरु जवाफदेही हुनैपर्छ ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog