Monday, June 17, 2019

बीबीसीको आरोप सही ! सगरमाथामा भ्रष्टाचार !

३ असार, काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीबीसीले सगरमाथाका बारेका प्रश्न सोधेर र्‍याखर्‍याख्ती पारेको थियो । प्रधानमन्त्रीलाई सोधिएकोमध्ये एउटा प्रश्न थियो, ‘सगरमाथा आरोहणको समन्वय गर्ने सरकारी अधिकारी पैसा बुझेर घरमै बसे र आधार शिविर पुगेका सीमित कर्मचारीले समन्वय गर्नै सकेनन्, यसले तपाईलाई नराम्रो लागेन ?’

यो प्रश्नभन्दा बढी आरोप थियो, जसमा प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षा हुने गरी ठोस जवाफ दिन सकेनन् । उनलाई यो आरोपले किन अप्ठेरोमा पार्‍यो भने बीबीसीले सही ठाउँमा प्रहार गरेको थियो । र, बीबीसीले प्रश्न गरेको दुई दिनपछि पर्यटन विभागले सगरमाथा क्षेत्रमा खटाइएका ३७ मध्ये १५ जना आधार शिविर नपुगेको पुष्टि गरेको छ ।

बीबीसीका प्रश्नकर्ताले चाहिँ ६० मध्ये ५ जना मात्रै आधार शिविरमा पुगेको दावी गरेका थिए ।

यो समस्याको जरोमा पस्नुअघि एउटा घटना सम्झिनु सान्दर्भिक हुन्छ । गत जेठ १ गते अपरान्ह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र कर्मचारीबीच कुटाकुट भएको समाचार सञ्चार माध्यममा आयो ।

खासमा, सरुवाको विषयमा असन्तुष्ट बनेका कर्मचारीको समुह मन्त्री यादवका सरकारी पीए प्रेम पौडेलमाथि जाइलागेका थिए । उक्त झगडामा संलग्नमध्ये एक थिए, मन्त्रालयकै उद्योग शाखाका शाखा अधिकृत विश्ववन्धु रेग्मी ।

यदि आफ्नो कर्तव्यपालन इमान्दाररुपमा गरेको भए रेग्मी त्यतिबेला मन्त्रालयमा हुन सक्दैनथे । किनकि उनी सगरमाथा आरोहण गर्ने १० जना विदेशीको एक टोलीका सम्पर्क अधिकृत नियुक्त गरिरहेका थिए । उनी त्यसबेला सगरमाथाको आधार शिविरमा हुनुपथ्र्यो ।

पर्यटन विभागको तथ्याङ्क अनुसार रेग्मी करिब साढे दुई महिनाका लागि लागि ६ भारतीय, एक अर्जेन्टीयन,२ स्पेनीस र एक जना साउदी अरबका आरोही टोलीको सम्पर्क (लियाजन) अधिकृत तोकिएका थिए । ललितपुरको प्रेस्टीज एड्भेञ्चर प्रालिको आरोहण दललाई रेग्मीले समन्वय गर्नुपर्ने जिम्मेवारी थियो । तर उनी मन्त्रालयमा सहकर्मीको सरुवा विवाद ब्यस्त भए ।

सम्पर्क अधिकृत किन ?

नेपालका ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि जाने टोलीलाई समन्वय गर्न सरकारले एकजना अधिकृत खटाउने व्यवस्था छ । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट प्रत्येक वर्ष लियाजन अफिसर खटाउने गर्छ । हरेक आरोहण पर्मिटका लागि एक जना सम्पर्क अधिकृत खटाईन्छ । यस सिजनमा सगरमाथा आरोहणका लागि गएका ४४ टोलीका लागि ३७ जना लियाजन अफिसर विभागले खटाएको थियो ।

आरोहण टोलीसँगै आधार शिविर पुग्ने, आरोहण समयभरी आधार शिविरबाट निरिक्षण गर्ने, पर्वतारोहीको समस्या समाधान गर्ने, टोलीमा जाने भरियाको भारीको तौल मापन गर्ने, अनाधिकृत आरोहण रोक्ने, आरोहणका सबै गतिविधि अन्तिम समयसम्म निरिक्षण गर्ने र भईपरि आउने दुर्घटनाबारे मन्त्रालय तथा विभागलाई जानकारी दिने सम्पर्क अधिकृतहरुको जिम्मेवारी हुन्छ ।

हिमाल आरोहण गराउने एक कम्पनीले एक जना लियोजन अफिसरका लागि न्युनतम १८ सय डलर तिर्नुपर्ने व्यवस्था छ । आरोहण टोलीअनुसार एक कम्पनीले एक वा दुई जना लियाजन अफसर लिनैपर्छ । तर, आरोहण कम्पनीहरुले कम्तीमा २१ सयदेखि ३५ सय डलरसम्म लियाजन अफिसरका लागि तिर्दै आएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए ।

यसबाहेक आधार शिविरको खाना र बास खर्च पनि कम्पनीले ब्यहोर्छ । प्रायजसो लियाजन अफिसरको आउने–जाने यातायात र खाना खर्च कम्पनीले नै ब्याहोर्छन् । जबकि उक्त रकम लियोजन आफैले ब्याहोर्नु पर्ने नियम छ । एकपटक लियोजन अफिसरको रुपमा खटिदा साढे दुईदेखि सवा तीन लाख रुपैयाँसम्म सरकारी अधिकारीले पाउँछन् ।

यो सिजनमा तोकिएका लियाजो अफिसर

पर्यटन विभाग र यस अन्तर्गतका निकायसहित सबै सरकारी मन्त्रालय तथा कार्यालयबाट गरी यो वर्ष ११८ जना लियाजो अफिसर तोकिएको थियो । जसमध्ये ११३ जना पर्यटन बाहेकका मन्त्रालय तथा विभाग र पर्वतारोहण संघबाट तोकिएका थिए ।

लियाजो टोलीमा राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव एवं अधिकृत राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष, अख्तियारका उपसचिव, रक्षा तथा गृहका उपसचिव, सर्वोच्चका उपरजिष्ट्रार, अर्थ मन्त्रालयका अधिकारी लगायतको प्रतिनिधित्व छ । यस वर्ष प्रधानमन्त्री कार्यालयबाटै सबैभन्दा धेरै ९ जना लियाजो अफिसर तोकिएका थिए ।

कसरी तोकिन्छन् लियाजो अफिसर ?

निजामति सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत वा सोभन्दा माथिका अधिकारीलाई लियाजो अफिसर तोकिनुपर्ने नियम छ । उनीहरु समान जंगी सेवाका अधिकृत पनि लियाजो अफिसरका रुपमा जान पाउँछन् । तर, जंगी सेवाका थोरै मात्र अधिकारी लियाजोका रुपमा खटिएका छन् ।

लियाजो अधिकृतले आधारभूत पर्वतारोहणसम्बन्धी तालिम अनिवार्यरुपमा गरेको हुनैपर्छ र उनीहरुले सम्बन्धित हिमालको आधार शिविरसम्म पुग्न सक्ने निरोगिताको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्ने नियम छ ।

तर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्मचारी युनियन, प्रभावशाली मन्त्रालय तथा आयोगको दबावमा आफ्नो मान्छेलाई लियाजो अफिसरका रुपमा खटाइन्छ ।

पैसा बुझे, जिम्मेवारी निर्वाह गरेनन्

धेरै लियाजो अफिसर कार्यस्थलमा नपुगेको र पुगेकाहरुले पनि आफ्नो दायित्व राम्ररी निर्वाह नगरेको पाइएको छ । अनलाइनखबरले कुरा गरेका केही लियाजो अधिकृतहरुले आफूहरुले स्वास्थ्य समस्याका कारण जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन् । एकपटक भन्दा धेरै लियाजो अधिकृत हुन नपाइने नियम भए पनि ४ पटकसम्म लियाजो तोकिएका व्यक्ति पनि अनलाइनखबरले फेला पारेको छ ।

उद्योग मन्त्रालयका शाखा अधिकृत विश्ववन्धु रेग्मीले अनलाइनखबरसँगको कुराकानीमा आफू बिरामी भएर सगरमाथा आधार शिविर नजिकबाट फर्किएको बताए । आफू कुन दिन काठमाडौंबाट हिँडेको र कुन दिन काठमाडौं फर्केको भन्ने मिति पनि याद नरहेको उनको भनाइ छ ।

‘काठमाडौंबाट हिँडेको ६ कि ७ औं दिनमा हामी बिरामी पर्‍यौं, त्यसपछि केहीछिन आरालो झरेर हेलिकोप्टरमा लुक्ला आयौं,’ उनले भने ।

लुक्लाको अस्पतालमा एक दिन उपचार गरेकोे र त्यहाँबाट सोलुका प्रमुख जिल्ला अधिकारीको समन्वयमा जहाजमा काठमाडौं फर्किएको उनको भनाइ छ । बिरामीका कागजात र जहाजको टिकट विवरण पर्यटन विभागमा पेश गरेको रेग्मीले बताए ।

उनले समन्वय गर्ने आरोहण दलको निजी कम्पनी प्रेस्टिज एड्भेञ्चर प्रालिका कार्यकारी निर्देशक डम्बर पराजुली अनलाइनखबरसँग सम्पर्कमै आउन चाहेनन् । कार्यालयको नम्बर र उनको व्यक्तिगत नम्बरमा अनेक पटक फोन गर्दा पनि उठेन ।

बेयुल एड्भेन्चरका २९ जना आरोही टोलीको सम्पर्क अधिकृत सूचना तथा सञ्चार मन्त्रालयका लेखा र कम्प्युटर अधिकृतद्वय लेखा पनेरु र बीना श्रेष्ठ तथा पर्यटक प्रहरीका इन्सपेक्टर अमृतबहादुर बस्नेत तोकिएका थिए । आरोहण कम्पनीका कर्मचारीका अनुसार यो कम्पनीको आरोहण दल २५ मार्चमा काठमाडौंबाट निस्किएको थियो । त्यतिबेला सम्पर्क अधिकारी टोलीमा थिएनन् ।

आधार शिविरमा तीनजना सम्पर्क अधिकारी भेटिएको कम्पनीले जनाएको छ । ठीक दुई महिनापछि मे २५ मा आरोहण दल काठमाडौं फर्किएको थियो । तर, सम्पर्क अधिकारी आरोहणदलसँग थिएनन् । बेयुल एड्भेन्चरले रेन्बो माउन्टेन र माउन्टेन इएक्सपेरियान्स प्रालिको थप दुई समूहको पनि आरोहण समन्वय गरेको थियो ।

सम्पर्क अधिकृत बीना श्रेष्ठले आफूले आरोहण दल नै नभेटेको बताइन् । आफू आधार शिविरसम्म पुगेको, तर ‘मसल्स पेन’ का कारण फर्किएको उनको भनाइ छ । आफूले लेखा पनेरु र अमृतबहादुर बस्नेतलाई नभेटेको पनि बीनाले बताइन् ।

सञ्चार मन्त्रालयकी शाखा अधिकृत लेखा पनेरुले आफ्नो चौथो पटकको सम्पर्क अधिकृतको भूमिका अस्वस्थताका कारण पूरा नभएको बताइन् । बिरामी परेपछि फेरिचेबाटै फर्किएको उनको भनाइ छ ।

पर्यटक प्रहरीमा कार्यरत प्रहरी निरीक्षक अमृत बस्नेतले पनि आधार शिविरमा बिरामी परेपछि चिकित्सकको सल्लाहमा काठमाडौं फर्किएको बताए । काठमाडौंबाटै टोलीको मनिटरिङको काम गरेको उनको भनाइ छ ।

सांग्रिला एक्सिक्र्युसनका सम्पर्क अधिकृत तोकिएका पर्यटन विभागका सन्तोष मुक्तान पनि आफू गम्भीर बिरामी भएर नाम्चेभन्दा थोरै माथिबाट उद्धार भएको बताउँछन् । उनी हेलिकप्टरमा काठमाडौं आएका थिए । कुन दिन काठमाडौंबाट हिँडे र कुन दिन फर्किए भन्ने चाहिँ याद नभएको र पात्रो हेरेर भन्न सक्ने उनले बताए ।

सांग्रिला एक्सक्र्युसन प्रालिले भने १३ जनाको आरोहण दल अप्रिल पहिलो हप्ता काठमाडौंबाट हिँडेको जनाएको छ । आरोहण दलको लागि खटिएका सम्पर्क अधिकृतले जम्मा ३ दिन आधार शिविरमा बिताएका थिए । कोही पनि सम्पर्क अधिकृत त्यसबेला बिरामी नभएको उनीहरु बताउँछन् । सम्पर्क अधिकृत र कम्पनीबीचको कुरो नै बाझिएको छ ।

पर्यटन विभागका रामेश्वर निरौला इभर क्वेस्ट एक्स्पीडिसन प्रालिको १० जना सम्मिलित आरोहण दलका सम्पर्क अधिकृत थिए । निरौलाका अनुसार उनीहरुको टिम वैशाख २२ मा सगरमाथा क्षेत्रका लागि प्रस्थान गरेको थियो । २९ बैशाखमा आधार शिविर पुगेको उनको टिम चौथो रात आधार शिविरमा बस्यो । पाँचौं रात आरोहण टोलीले आरोहण थालेपछि उनीहरु काठमाडौं फर्किए ।

उनको टोलीमा ६ जना सम्पर्क अधिकृत थिए । जसमध्ये एक लुक्लाबाट, अर्का गोरखसेफबाट फर्किए भने ४ जना आधार शिविरमा पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत रत्नमणि भट्टराई समिट नेपाल ट्रेकिङका प्रालिका ७ आरोही दलको सम्पर्क अधिकृत थिए । उनी अनलाइनखबरको सम्पर्कमा आउन चाहेनन् ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे सगरमाथा तथा अन्य हिमालका लागि खटिएका लियाजो अफिसरहरुका बारेमा विभागले अनुसन्धान अघि बढाएको बताउँछन् ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog