Saturday, June 15, 2019

कथा : हाउगुजी

बिहानको ठीक ९ बजेर ४५ मिनेटमा गेटअगाडि उभिने महाशयको पहिरनले ऊ कहीँ कतैबाट त्यही संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी होला भनी कल्पनाको धर्सोसम्म तान्न सकिँदैनथ्यो ।

उसले झल्ट्याङ आसमानी रङको पाइन्ट, पकेटमा मसीका पचासौँ थोप्ला र कलरमा मयलको नमेटिने पोतो भएको सेतो सर्ट भिरेको थियो । भन्नु परोइन, उसले लगाएका कपडा डाँडा पारिको जुन भइसकेकी बूढी आमैका चाउरी परेका छालाभन्दा कम थिएनन् ।

कपडाको गति यस्तो तन्नम भएपछि जीउबाट झन् एक–दुई तोला मालदार चरेस निक्लिनु अस्वाभाविक भएन । राजधानीमा चैत्र महिनापछि न्यायो कपडा नचाहिने हेक्का नभएर हो कि ? बैशाख महिनामा समेत उसले झुत्रो हाफ स्वेटर पहिरिन बिर्सेको थिएन ।

पिठ्यूँमा फुटपाथे झोला झुन्ड्याएको थियो । झोला भने नयाँ देखिन्थो । फुटपाथबाट भर्खरै किनेको हुनुपथ्र्यो, आवश्यक सरसामान र खर्चपर्च थन्क्याउनलाई हुनुपर्छ ।

ऊ भवनभित्र नपसेकै त भन्न मिल्दैन । ‘ग्याप’ धेरै भएर होला, अत्यन्त उत्सुकताका साथ गेट भित्रबाहिर गुड्ने सवारीसाधन, आवतजावत गरिरहेका मानिसहरू र उनीहरूका क्रियाकलापलाई गहिरो अभिरुचिपूर्वक अवलोकन गर्दै थियो । हेराइमा जिज्ञासाको साथमा ‘नर्भसनेस’ मिलावट थियो । यस्तो भाव प्रकट हुनुमा ‘‘केही’ अवश्य हुनुपथ्र्यो । तर्कका गेडा तन्काउन सकिन्छ ।

— पहिरनले जेसुकै देखावस् । हेराइमा अपार अपनत्व छचल्किएकाले ऊ यसै संस्थामा कार्यरत हुनुपथ्र्योे । यद्यपि अज्ञात लघुताभासले होला, भित्र पसूँ कि नपसूँ भन्ने दोधारे मनस्थितिमा गेटअगाडि उभिएको भान हुन्थ्यो ।

— भनिहालियो, उसलाई भित्र पस्न अज्ञात मनोविज्ञानले महासकस परिरहेको चेहराले दर्साउँथ्यो । सायद बाहिरबाटै कुलेलम ठोक्ने मनसुवा पलाइसकेको हुँदो हो ।

— उसको फटेहाल, राउटे लवाइ तथा ‘नर्भस’ हेराइबाट अर्को अनुमान लगाउन सकिन्थ्यो कि ऊ अझै राज्यको दृष्टि परिनसकेको कुनाकन्दराको जिल्लामा वर्षौंदेखि कार्यरत हुनुपथ्र्यो र राजधानी पस्नैपर्ने समस्याले गाँजेर बस चढेको हुन सक्थ्यो । त्यसैले उसलाई राजधानी खासगरी कार्यरत संस्थाको परिवर्तित समग्र वातावरणका बारेमा भनक र छनक नहुन सक्थ्यो ।

००००

अँ त, विशाल संस्थाको भव्य भवनको मुल गेटअगाडि पुगेपछि उसका पाइला स्वतः न्युट्रल गियरमा आइहाले र अन्तर्मनले उसले विशाल भवनलाई परेला ढ्याप्प बन्द गरी, जुम्ल्याहा हात जोडी, चिउँडो छातीमा अड्याई नमन गर्‍यो । प्रणाम गर्दा पूरै श्रद्धाभक्तिपूर्वक ‘त्वमेव माता च पिता त्वमेव’ मन्त्रोउच्चारण गर्न भ्यायो ।

शानदार र भव्य भवनलाई यति तनमनका साथ उसले पूजा गर्नुका पछाडिका अन्तर्निहित सुर्केगाँठा एक होइन अनेक थिए ।

· ठीक पन्ध्र वर्षअगाडि ऊ यही भवनबाटै नोकरीको चिर्कट्टो हातमा लिई बाइरोडको बाटोबाट पहाडतर्फ हानिएको थियो । यति लामो नोकरी अवधिमा आक्कलझुक्कल भन्दा जम्माजम्मी दुई पटकमात्र उसले यस भवनभित्र छिर्ने दुर्लभ सौभाग्य पाएको थियो । त्यो पनि व्यक्तिगत कामले होइन कि अफिसकै पोकापुन्तुरा ल्याउन र पुर्‍याउन । त्यसैले ऊ भवनभित्रका यावत् विशेषताका बारेमा थोरै जानकार थियो ।

· ‘संस्था दुहुनु गाई हो । यसलाई जति हरियोपरियो, दानापानी ख्वाउन सक्यो, त्यति बढी दूध दिन्छ ।’ उसको परम्परागत, शास्त्रीय, पुरातनी मान्यता थियो । यही मान्यता बमोजिम ऊ परिवारलाई कम अफिसलाई बढी समय दिन्थ्यो । जुनसुकै फाँटमा काम गर्न तम्सिहाल्थ्यो । हाकिमहरू मालपानी आउने फाँटमा अर्कैलाई ‘फिट’ गर्थे । मरमसला आउने काम अथवा तालिमसालिममा हुक्के, बैठकेलाई पठाउँथे । उसलाई धाप मार्न भने कदापि बिर्सिंदैनथे— ‘तिमीलाई पठाए अफिसमा ताल्चै ठोक्नुपर्छ । विश्वास गर, अर्को पटक त…… ।’

विडम्बना ! उनीहरूले भन्ने गरेको ‘अर्को पटक’ पन्ध्र वर्षमा सात कार्यालयमा सरुवा हुँदासम्म आएन । तथापि बर्सात र खडेरीमा छाताको काम गर्ने संस्था भएकाले यसै संस्थालाई त्रिपाल मान्थ्यो । यसैले संस्थाको बारेमा उल्टोपाल्टो सोच उसले सपनामा समेत ल्याएन ।

· उसले आक्रोश व्यक्त गर्न त जानेकै थिएन । बेखुसीसम्म जाहेर गरेन । ‘मलाई खान दिने, लाउन दिने, बाटोमा हिँड्दा नमस्कार ख्वाउने संस्था यही हो । किन गुनासो गर्ने ?’ उक्साउन खोज्नेलाई ऊ उल्टै प्रतिप्रश्नले लोप्पा ख्वाउँथ्यो ।

· रोल्पाबाट डोल्पा हुत्याउँदा उसको मार्मिक र मननयोग्य भनाइ थियो—‘भारत, पाकिस्तान सरुवा भएको छैन । देशभित्रै भएको छ । फेरि मजस्तो सामान्य कर्मचारीले खल्ती भ्वाँङ पारी कहाँ फोक्सुण्डो ताल घुम्न पाउनु ? म त कम्मर मर्काउँदै जान्छु ।’ यही मेसोमा ससानो जोक मारिहाल्थ्यो— ‘यार्सागुम्बा र हार्म च्याउ खाएर झन् तन्दुरुस्त र फुर्तिलो हुन्छु, हाम्रो सदाबहार हिरो राजेश हमालजस्तो ।’

· ‘काठमाडौँ ! काठमाडौँ किन जाने ? दिन पुगे बढुवा स्वतः भइहाल्छ । हाकिम साहेबले प्रत्येक वर्ष कार्यसम्पादन भर्दा पूरा नम्बर दिएर पठाउनुभएकै छ । सिफारिस तिमीहरूलाई आवश्यक पर्छ । मलाई पर्दैन ।’ ऊ आत्मविश्वास ओकल्थ्यो ।

दुर्भाग्य ! हरेक वर्षको बढुवामा उसको नाममाथि कालो मसी पोतिएकै हुन्थ्यो ।

००००

लामो समयदेखि गेटअगाडि दोधारे मनस्थितिमा उभिएर लाटोकोसेरोको चोला धारण गरी ट्वालट्वाल्ती नियालिरहेको मनुष्य अरू कोही नभएर आत्मविश्वासी, कर्तव्यपरायण, संस्थामा पन्ध्र वर्षसम्म अनवरत हाड घोटिसकेको र नोकरी अवधिमा थोपो दाग नलागेको भनी कहलिएको लेखापाल कपिलबहादुर खाती थियो जो ट्वाँ… परी दृश्यावलोकन गर्दै थियो ।

· बीस थान जति गाडी हुइकिँदै भित्र पसे ।

· पचास थान मोटरसाइकल हुर्रिदै गए ।

· साधन नभएकाहरू साइडको गेटबाट लुसुलुसु पसे ।

‘होइन, केन्द्रमा जुनसुकै बेला पनि दसै बज्दो रहेछ कि क्या ?’ उसले नाडी उचाल्यो, चानचुन साढे एघार बज्नै लागेको थियो । यद्यपि ड्रेस लगाएकाहरूको भित्र पस्ने लर्को थामिएको थिएन । दस बजे भित्रिने र साढे एघार बजे कष्ट बिसाउने कर्मचारीहरूमा थोरै भिन्नता थियो । ठीक समयमा आउनेहरू कछुवा तालमा
हि“ड्थे । ढिला आउनेहरू मलामी जाने हतारमा ।

‘ए कता, कता ?’ डेढ घण्टाको म्याराथुन अवलोकनपछि ऊभित्र सायद एक पित्को आत्मविश्वास पलायो र गेटभित्र पस्नलाई दुई–चार पाइला अगाडि बढायो । ऊ त्यस्तै आठ या नौ मिटरजति हिँडेको थियो होला, गार्डले पछाडिबाट झोला च्याप्प समातिहाल्यो, आतङ्ककारीलाई पकडेझैँ । अर्कोले त सिटी बजाउन भ्याइहाल्यो । धन्न ! अलार्म बजाएन, नभएर होला ।

‘म यही ……।’

ऊ टुटी खोलेको धारो हुन खोज्यो—‘म यही संस्थाको खाँटी कर्मचारी हुँ । उपशाखा, डोल्पामा कार्यरत छु । मेरा कुनै गुनासा छैनन् । केवल सोधनी गर्नु छ, चित्त बुझाउनका लागि ।’ वाक्य फुटेन । चोरी गरेको थिएन । डकैती गरेको थिएन । भित्र पस्ने कुनियत थिएन । यसैले भकभकाउनुपर्ने आवश्यकता थिएन । तैपनि भकभकाइर≈यो ।

‘क्या माड्साप …. । पहिल्यै भन्नु पर्दैन ?’ गार्डले झोलाको खानतलासी लिइसकेपछि झर्किंदै लाजकाजले ‘माड्साप’ सम्बोधन गर्‍यो । माड्साप सम्बोधन कदापि उसलाई गरिएको थिएन । झोलाभित्रको खुइलिएको फोटोसहितको उसको परिचय पत्रलाई हुन सक्थ्यो ।

गार्डबाट मुक्ति पाएपछि ऊ स्याँस्याँ गर्दै भवनको तेस्रो तलामा रहेको जनशक्ति विभागमा पुग्यो र विभागीय प्रमुखको नेम प्लेट झुन्ड्याइएको कोठाभित्र लुसुक्क छिर्‍यो । कोठामा दुइटा सोफा र चार वटा काठका कुर्सी थिए । एउटा कुर्सीबाहेक सोफा र कुर्सी ‘प्याक’ थिए । ऊ खाली कुर्सीमाथि नबसी कुनामा अडेस लाएर ठिङ्ग उभियो र द्रौपदीको चीरहरणजस्तो लम्बेतान छलफल सुन्न बाध्य भयो ।

· सरकार आफ्नो छ भन्दैमा मनपरी गर्न पाइन्छ ?

· कठाल्नो समात्नुपर्छ । थुतेर च्याम्बरबाट बाहिर निकाल्नुपर्छ ।

· ताला ठोक्नुपर्छ । अख्तियार भित्रउनुपर्छ ।

· यदि हाम्रा मान्छेलाई अपाइक …।

· कट्टुमा मुत्ने नबनाए त …।

‘आ… सबै व्यथा निवेदनमा पोखेर जान्छु । पढि त हाल्लान् ।’ उनीहरूको पटरपटरले कान टट्टाउन थालेपछि उसलाई हाकिमको कोठाभित्र नपसेरै टाप ठोक्न मन लाग्यो । ‘त्यति टाढाबाट आइयो । अर्को पटक कहिले हो कहिले ? कोसिस गरी हेर्दा के फरक पर्ला ? माग्ने केही होइन । जिज्ञासा मात्रै राख्ने हो ।’ आफैँलाई थुमथुम्यायो ।

‘सर ! म हाकिम साहाबलाई भेट्न आ’को, धेरै टाढाबाट ।’ उसले हिम्मतका मट्याङ्ग्रा बटुल्यो ।

‘नेताजीहरूले त भेट्न पाउनु भा’छैन । तपाईंले …….।’ सोफामाथि उपरखुट्टी लाएर बसेकालाई इङ्गित गर्दै पियले ओठ लेब्य्रायो ।

‘म जाऊ“ कि बसौँ ?’ उसले फेरि फुत्किने सोच बनायो ।

‘बस्न चाहनुहुन्छ, बस्नुस् । जाने मन छ, जानुस् । विचार तपाईंको ।’ पियले शुष्क जवाफ दियो ।

‘बस्नैपर्‍यो । त्यति टाढाबाट आएको ।’ उसले खुइय सुस्केरा काढ्यो । एउटा खुट्टा फुस्किनै लागेको काठको कुर्सीमाथि होसियारीपूर्वक टुसुक्क बस्यो र चार वर्ष अगाडिको दिन झलझली सम्झिन थाल्यो ।

हो, ठीक चार वर्षअगाडि ऊ यही कोठामा पसेको थियो ।

‘पिय बदलिएको रहेछ । हाकिम पनि फेरियो कि ? फेरियोस् ।’ उसले प्रार्थना मुद्रा बनायो ।

‘कहा“बाट आएको ? किन आएको ?’ चिलले चल्लो झम्टेझैँ पियले झम्टेको थियो । मानौँ ऊ कोढ लागेको मगन्ते थियो अथवा माओवादीको रसिदको प्याड लिएर चन्दा माग्न आएको वाइसिएल ।

पुलिसेशैलीको केरकारपश्चात् सौभाग्यले उसले हाकिमको कोठाभित्र पस्ने अनुमति पाएको थियो । सुनेको थियो, केन्द्रका हाकिमहरू अफिस टाइमभरि अ.ज. मिटिङमा हुन्छन् । हतारमै हुन्छन् । थप सौभाग्य, हाकिम सहिसलामत कुर्सीमै आसिन थियो । दुर्भाग्य झुङिरहेको अवस्थामा ।

‘जान्नँ भनेको त हो । क्या फसाद !’ देख्नेलाई भन्दा के गर्नेलाई लाज, उखान सम्झेर अत्यधिक शरमका साथ उसले टाउको निहुराएको थियो ।

फसादको भुमरीमा फस्नुको कारण ऊ यहाँ रहरले पसेको थिएन । दशा बिग्रेर पसेको थियो । दशा सानोतिनो, जस्तोतस्तो हो र ! चार वर्षे छोरालाई औषधी गराउन काठमाडौँ ल्याउनैपर्ने शनिग्रह लागिपरेको थियो ।

छोराको पहिलो पटकको निमोनिया धामीझाँक्री, फुकफाकको साथमा जडीबुटीको रस सेवनले सन्चो भइहालेको थियो । दोस्रो पटकको निमोनियाले राजधानी देखाएरै छाड्ने किरिया खाएजस्तै गर्‍यो ।

‘एक पन्थ दुई काज । अरू बेला घुमाउन सकिँदैन । यही मौकामा परिवारलाई राजधानीका दुई–चार ठाउँ घुमाउँछु । पशुपतिको दर्शन गराउँछु ।’ उसले लामो जोडघटाउपछि निर्णय गरेको थियो ।

पशुपति परिक्रमा गरी टीकाप्रसाद ग्रहण गरेकै दिनमा कैलाशीको दिमागमा कस्तो पिलो उठ्यो कुन्नि ! करकर गर्न थालिन्— ‘हाकिम भनेका हाकिम हुन् । एक पटक भेट्दैमा केही बिग्रिने छैन । घटिने छैन । खिइने छैन । चौबिसै घण्टा काम, काम भन्ने मान्छेले पशुपतिनाथको दर्शन गर्ने समय निकालेका छौ । हो न हो, प्रमोसनरूपी वरदान पोल्टामा परिहाल्छ कि ?’

उनैको जिद्दीले ऊ कोठामा उभिएको थियो ।

‘मेरो नाम रामबहादुर खाती । डोल्पाजस्तो दुर्गम कार्यालयमा बसेको चार वर्ष भयो । यस अवधिमा मैले सरुवाको ‘स’ मुखमा ल्याउने धृष्टता गरेको छैन । मेरो एउटा ससानो गुनासो छ । पन्ध्र वर्ष भयो, पदोन्नति भएको छैन । काम बिगारेजस्तो लाग्दैन । त्यसैले म बढुवाका लागि अयोग्य उम्मेदवार होइन होला । गएको वर्ष जे भयो, सो भयो । यसपालिको बढुवामा ….. ।’ उसको चलमलाहटले हो वा उसको उपस्थितिले हो ? हाकिमका अङ्ग थोरै चल्मलाए । हाकिमको नजर उसमाथि पर्नासाथ उसले रातभरि पढाएका र बाटोभरि कण्ठ गरेका वाक्य उभिएरै फररर भन्न भ्याएको थियो ।

‘कामको सिजनमा यहाँ किन ?’ हाकिमले स्पष्टीकरण सोध्ने मुडमा घुम्ने मेच तेर्छो पारी बाङ्गो मुन्टो लगाएको थियो । ढाड र गर्घन तनक्क तन्काउँदै लामो जम्हाइ काढेको थियो । भाते निद्रा खचपच भएको झोँकले होला, बकेटमा प्याच्च थुकेको थियो । उसको जोडको खोकाइले लाग्थ्यो, हाकिम उसको मुखमै थुक्न चाहान्थ्यो ।

‘सर ! छोरो सिकिस्त बिरामी भएर आ’को । रहरले आएको हैन । हामीजस्तालाई रहरले राजधानी पस्न कहाँ पुग्छ र ?’ उसले जतिसक्दो नरम र विनम्र भएर जवाफ फर्काएको थियो ।

‘समय आएपछि बढुवा भइहाल्छ । केन्द्रमा आउँदैमा बढुवा हुन्छ ? काम गर्ने काम । मैले सब नोट गरिसकेँ ।’ उसले डायरी त खुलै राखेको थियो । लेख्यो लेखेन राम जाने । तर माग्नेलाई भगाउने स्वरमा हप्काएको थियो ।

‘पन्ध्र वर्षमा नआएको समय कहिले आउँछ हो, सर ¤’ उसको मुखमा ओठे जवाफ आइसकेको थियो । उसले माथिल्ला दाँतले तल्लो ओठ टोकेर बोली बाहिर आउन दिएको थिएन । उसको टाउकोभित्र पहिलोपल्ट रिस र आक्रोशका कीराहरूले फुटबल खेलेका थिए । दुवै हात पछाडि लिएर उसले मुठी कसेको थियो । ‘मुर्दारको कठाल्नो खिँचेर थुत्दै बाहिर चउरमा निकाली जीउमा नीलडाम पर्ने गरी गोरु चुटाइ गर्नुपर्‍यो कि क्या !’ उसले मगरे लाटो रिसका झिल्का निकाल्न नखोजेको होइन । के सोचेर हो ? संयमित हुँदै बाहिरिएको थियो ।

त्यस दिनदेखि ऊ भवनलाई नतमस्तक भएर नमस्कार गथ्र्यो । तर भवनभित्र रजगज गरी बस्नेलाई भित्रैदेखि घृणा ।

०००००

आज पनि बिना सित्तिमा फट्कार खानुपर्ने त होला ।’ उसले विगतको अभागी दिन सम्झिँदै चरम निराशाका साथ ढाड चिलायो । निराशाको थप कारण त्यहाँको वातावरण थियो । पियद्वारा नेता सम्बोधन गरिएकाहरू शक्ति कपूर स्टाइलमा पाखुरा सुर्किंदै भित्रिएका थिए, मर्नेमार्ने तेवरमा । उनीहरू भित्रिएको दुई घण्टाभन्दा बढ्तै भइसकेको थियो । छलफल टुङ्गिएको थिएन । तीन–चार पटक चियाबिस्कुट भित्रिइसकेको थियो ।

‘हा….हा…..हा…।’ तथाकथित नेताहरूको उन्मुक्त हाँसोले उसको ध्यान खल्बलियो । उसले नोटिस गर्‍यो— भिलेन स्टाइलमा भित्रिएका नेता भनाउँदाहरू बाहिँरिदा जोनी लिभरझैँ दाह्रा फट्टाइरहेका थिए ।

‘अब पस्दा हुन्छ ?’ अलिकति उज्यालिँदै उसले पियको मुखमा हेर्‍यो ।

‘जानुस् । विचार पुर्‍याएर समस्या राख्नुहोला …..।’ पियले सुझाव पस्केर ‘राजधानी’ ले मुख ढपक्कै छोप्यो । यतिन्जेल उसले कान्तिपुरको मुख्य समाचार कण्ठस्त पारिसकेको हुनुपथ्र्यो ।

‘यसको माने… ?’ उसले अप्ठ्यारो मान्दै सोध्यो ।

‘समस्या छोटकरीमा राख्नुहोला । हाकिम भन्ने जातले धेरै गन्थन गरेको रुचाउँदैनन् क्या ।’ पियले उसको पिठ्यूँमा धाप मार्‍यो ।

‘मभन्दा अगाडिकाले दुई घण्टा फोकटमा बिताउन हुने । म त्यति दुर्गमबाट आएको मान्छेले जाबो दुई मिनेट दुःख बेसाउन नपाउने ?’ उसको ओठ चिलाइसकेको थियो । चलाएन । मुख सनासोले चपक्क च्याप्यो र बन्द ढोकाको अगाडि उभियो ।

हाकिमको ढोका खोल्नुभन्दा अगाडि उसले तीन वटा काम गर्न बिर्सेन ।

एक, पाइन्ट तानतुन पारी कपाल मिलाउन ।

दुई, देब्रे हातको हत्केलाको मुठी मुखअगाडि राखी खाकखुक गर्न ।

तीन, भित्र पस्नुअगाडि दाहिने हातको माझीऔँलाको गाँठोले ठ्याकठ्याक पार्न ।

‘हजुर मेरो फाइल …।’ फौजी पाराले भित्र पसिसकेपछि उसले मात्र तीन शब्द बोल्यो । तर वाक्य पूरा थियो ।

‘कस्तो मुला रहेछ ? फाइल खोज्ने ठाउँ हो यो ? बस र नडराएर सबै भन ।’ हाकिमले पूरै बत्तिसी देखायो, सायद ऊ मुडमा थियो । सायद ऊभन्दा अगाडि निक्लिने कर्मचारी नेताहरूले धकेलपकेल नगरेका हुन सक्थे । आमा चकारी गाली नबकेका हुन सक्थे । यो पनि सम्भव थियो, िउनीहरूलाई गुलियो चटाएर पठाउन सकेकोमा ऊ फुरुङ्ग थियो ।

‘पन्ध्र दिनअगाडि सरले बढुवाको परिणाम निकाल्नुभएको छ । म यसपाली नाम निक्लिन्छ भनी ढुक्क थिएँ । साथीहरूलाई भोज ख्वाउन भनी स–सानो पाठोसमेत किनिसकेको थिएँ । मेरो अभाग हो कि अरू थोक नपुगेर हो ? विगतमा जे हुन्थ्यो, त्यही भयो । त्यसैले मलाई भित्रैदेखि दुबिधा छ, मेरो फायलै पो गायब भयो कि ?’ हाकिमको नरम व्यवहारले होला, ऊ अलिकति आश्वस्त देखियो । निधारको पसिना पुछ्यो । सोफामाथि टुसुक्क बस्यो र नोकरी पाएको दिनदेखि हालसम्म बसेका दुर्गम स्थानलगायतका कार्यालयका हाकिमहरूले दिएका प्रशंसापत्रको बयान गर्न भ्यायो ।

‘…।’ हाकिमले नबोलेरै ओठ चोसो पार्‍यो ।

‘जनआन्दोलनको एउटा घटना भनूँ सर ! सरको टाइम छ भने….. ?’ उसले अन्कनाउदै हिम्मत बटुल्यो ।

‘अलि छिटो, छोटकरीमा भन, ल ।’ हाकिमले घडी हेर्दै सदाशयता देखायो ।

‘धन्यवाद ।’ समयको ख्याल गर्दै उसले रामकहानीलाई सङ्क्षेपीकरण गर्‍यो ।

०००

ऊ डोटीमा कार्यरत थियो । कार्यालय पन्ध्र दिनदेखि हाकिमविहीन थियो । हाकिम लामै बिदामा थिए । उनको आउने छाँटकाँट थिएन । कार्यालयमा बाँकी कर्मचारी ऊ र पिउन मात्र थिए । उसलाई निमित्तको पगरी भिडाइएको थियो, जुन उसलाई घाँडो साबित भयो ।

हाकिम बेलाबेलामा स्यालसिँ भइरहन्थे । उनी हराएको समयमा कार्यालयको भारी उसैले बोक्दै आएको थियो । एक–दुई महिना हराउँथे । फेरि देखा पर्थे । यसले खासै असर पर्दैनथ्यो । जिल्ला स्थित सबै कार्यालय यसरी नै चल्दै आएका थिए । उनै पशुपतिनाथको कृपा ।

माओवादी आन्दोलन उत्कर्षमा भएकाले पछिल्लो समयको निमित्तको पगरी उसलाई ‘सर्पको मुखमा छुचुन्द्रो’ बन्दै गएको थियो । आन्दोलनले गर्दा यातायात ठप्प थियो । कार्यालय, बजार, यहाँसम्म कि चिया पसलसमेत बन्द थिए । हाकिमलाई बलियो निहँु भइहाल्यो । उनी आन्दोलन साम्य नहुन्जेल नआउने पक्का थियो । सायद केन्द्रमै हाजिर बजाएर बसेका हुँदाहुन् ।

ऊ दोहरो चपेटामा थियो ।

‘खबर्दार ! अफिस खोलिस् कि तेरो छाला काढ्छौँ ।’ आन्दोलनकारी घण्टैपिच्छे धम्की दिन्थे ।

‘सरकारको नुन खाएर ‘नमक हरामी’ गर्ने । अफिस खोल्ने र दैनिक कार्य सुचारु गर्ने । अन्यथा ….।’ प्रशासन चाबुक हिर्काउँथ्यो ।

ऊ जस्तो अधिकारविहीन कर्मचारीले कसको आदेश मान्नू ? एउटाको आदेश नमानोस्, छ इन्ची घटि जो हाल्थ्यो । अर्कोको आदेश नमानोस्, सदाको लागि नोकरी चिलिम हुन्थ्यो । दुवैलाई ऊ तिजाञ्जली दिन सक्दैनथ्यो । समस्या एक दिन हो र ! लगातार उन्नाइस दिनसम्म र≈यो । ती कालरात्रिहरूमा उसले कसरी सास फेर्‍यो ? कुन मुटुले रोटीको कलो टिप्यो ? पिपिरालाई के भनी सम्झायो ? सम्झिँदा जीउ सिरिङ्ग हुन्थ्यो ।

उसको रणकौशल मान्नुपर्छ । धन्न ! अनेक तिकडम गरी, हातपाउ जोडी अफिसलाई दुवैतर्फको बाङ्गो नजर पर्न दिएन । अफिस तोडफोड हुन दिएन । कागजात जलाउन दिएन । पछि हाकिम आएर स्वाबासी दिँदै केन्द्रमा लामो सिफारिस पत्र पठाए ।

०००

‘मेरै अगाडि सिफासि पत्र लेख्नुभएको हो । यदि मिल्छ…..। म सिफरिसपत्र हेर्न चाहान्छु ।’ उसले उत्तेजित हुँदै गर्विलो अनुहार लगायो ।

‘टिनिनिनि …।’ उसको मर्मस्पर्शी बयान सुनेर हो वा छिटो भगाउने मनसायले हो, हाकिमले घण्टी थिच्यो ।

‘सर !’ पिउन अर्को कोठामा हाकिमको उछित्तो काट्दै थियो वा चार–पाँच पटक घण्टी नबजाएर नआउने स्थापित परम्परा थियो, ऊ तेस्रो पटक घन्टी बजाउँदा बल्ल झुल्कियो ।

‘के रे ! अँ, भाइको व्यक्तिगत फायल लेऊ त ।’ हाकिमले चिट दिएर पठायो । सम्भवतः चिटमा उसको नाम लेखिएको हुनुपथ्र्यो ।

०००

‘…।’ करिब एक घण्टापछि उही पिउन खाली हात देखा पर्‍यो र हाकिमको दाहिने कानमा खासखुस गर्‍यो ।

‘ए तिम्रो फायल त अख्तियारले लगेछ, ‘इन्भेस्टिगेसन’का लागि ।’ हाकिमले ≈याङ्गरबाट कोट उठायो र ऊतर्फ हेर्दै नहेरी लुसुक्क बाहिरियो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog