Saturday, June 15, 2019

यस कारण ‘गुठी’ नेवारको मात्रै होइन

विवाह अगाडि मेरो जात सिंह भण्डारी अर्थात् छेत्री। विवाह पछि मेरो जात श्रेष्ठ अर्थात् नेवार । यी दुवै जातीय संरचनाले मेरो बाल्यकाल र अहिलेको समयस्थितिमा विभिन्न किसिमबाट देन दिँदै आएका छन् । मेरा पूर्खा बाग्लुङबाट पोखरा हुँदै तराईतिर लागे र कयौँ सपना र योजना बोकेर करीब ५० वर्षअघि काठमाण्डू पसे। तराई र काठमाण्डू दुवै ठाउँसँग मेरो घनिष्ठ भावनात्मक सम्बन्ध छ।

म काठमाण्डूको ललितपुर जिल्लाको पूल्चोकमा जन्मिएँ। त्योबेलाको पुलचोक अहिल्ये जस्तो रेस्टूरेण्टहरूले होइन, मानिसको चहलपहल, धिमेबाजाको लहर, छिमेकीहरूको गफगाफ र हामी केटाकेटीहरूको होहल्लाले झकिझकाउ थियो।

स्कुलमा आफ्ना साथीहरू , बुवाका साथीहरू, ठमेलको सातघुमतीमा अवस्थित मेरो मामाघरको रहनसहन सबै नेवारी तौर तरिकाको थियो।

हरेक वर्षको मच्छिन्द्रनाथको रथ तान्ने र भोटो जात्रामा एक अर्काको हात समाती हामी ५-६ जना पुगिनै हाल्थ्यौँ। बारा, चतामरी, समय बजी खान पाउँदा गद-गद हुने म, वसन्तपुर, झोछेँ, इन्द्रचोक, असन, भेडासिंह, मंगलबजार,ग्वार्को, पाटन घुम्दै ठूली भएँ।

मीनपचासको दुई महिनाको बिदामा जनकपुर र औरही बस्दाका दिनहरूलाई लड्डु, गुड, चामलको रोटी, बच्का,ऊखुले अविस्मरणीय बनाइदिएका छन्।

मङ्गलवार र शुक्रवार लाग्ने हाटबजार भई, ट्रेक्टरमा सोना माईको दर्शन गरी, दिउँसो पराल चढेर थाकेको जीउलाई मोही र धुरीको आगोले सेकाउँदै लालटिन बालेर राती भूतको कथा भन्दै सुतेको कुरा कहिल्यै काठमाडौँ फर्केर साथीहरूलाई सुनाऊँ जस्तो लाग्थ्यो।

नाग ढुङ्गाबाट काठमाडौँ छिर्दै कलंकी पुगेपछि “ओहो! घर आइपुग्यो” जस्तो लाग्थ्यो। अहिल्यै पनि जता पुगेर आएपनि माथि आकाशमा प्लेनबाट तल काठमाडौँ देख्दा त्यस्तै अनुभव हुन्छ। “आहा घर!”

धेरै मानिसलाई काठमाडौँ भन्दा घरै घरको “कंक्रिट जङ्गल” संसारको सबैभन्दा प्रदूषित सहरहरू मध्य एक,पानीको समस्या, अव्यवस्थित भएको गुनासो छ। तर मेरो लागि काठमाडौँ “Living Museum” जीवित सङ्ग्रहालय हो।

यी मन्दिरहरूका घण्टीलाई गाडीको होर्नले छेक्न सकेको छैन, यी साना चोकहरूलाई ठुला मलहरू र सपिङ कम्प्लेक्सले थिच्न सकेको छैन। राती आँखा बन्द गरेर सुन्दा यो सहरले सास फेरिरहेको हुन्छ।

अनि, काठमाडौँलाई जीवित राख्ने यहाँको संस्कृति, यहाँको सभ्यता, यहाँको मानिस, मठ-मन्दिर र ती बिचको दरिलो सम्बन्ध।

संसारभरिका घट्नालाई विश्लेषण गर्दा कुनै पनि ठाउँ र त्यहाँ बस्ने मान्छेको अस्तित्वमा प्रहार गर्नु छ भने मुख्य दुई कुरा मेटाउनतिर लाग्नुपर्छ। एक प्राकृतिक सम्पदा र दुई सांस्कृतिक सम्पदा।

विगत कैयौँ वर्षदेखि विकास, निजीकरण र पुँजीकरणको नाममा अहिलेको सरकारले अतिक्रमणको कामलाई निरन्तरता दिइनै राखेको देखिन्छ।

अहिल्यै अगाडि ल्याइएको गुठी विधेयक सो अतिक्रमणको एक पाटो मात्र हो। गुठीयारको अधिकार स्वतः आफै समाप्त हुने, सम्बन्धित गुठीयारसँग छलफल नगरिकन अहिल्यै व्यापक रूपमा चलखेल गरिरहेको भू-माफियाहरूलाई पोस्ने, आदिवासी तथा जनजाति लगायत समुदायको पहिचानलाई नै विलुप्त बनाउने खालको विधेयकको खिलाफ अहिल्यै सडक तातेको छ। गुठी संस्था भित्र रहेको अनियमितलाई वैचारिक र सान्दर्भिक रूपमा अनुसन्धान गरी समाधान ननिकालीकन पुर्खाको नासोलाई नै समाप्त पार्ने कुरा सबैको अगाडि छरपसट भएको छ।

नेपालका अहिलेसम्मका नीति, नियम र ऐन आदिलाई पल्टाएर हेर्दा निकै वैज्ञानिक,व्यवस्थित र पी. एच. डी। गरेको विज्ञले बनाएको चिल्ला कागवहरूले सजिएका छन्। तर प्रधानमन्त्री निवासको नै जग्गा बेच्न सक्नेहरू यी सबै नियम भन्दा माथि रहेछन्।

गुठीको मर्म मानिसको आस्था र आफ्नो पुर्खाको इतिहाससँग जोडिएको छ। आफूसँग भएको सम्पत्तिको केही भाग, जग्गा वा घरलाई आफ्ना देउताका नाममा, सम्पदा जोगाउन र सामुदायिक सद्भावलाई कायम राख्न गुठीको रूपमा व्यवस्थित गरिन्छ। गुठियारको अगुवाइमा यी गुठियार समुदायले फाइदा लिए बापत ती

जग्गा, सम्पत्ति, मठ-मन्दिर र सांस्कृतिक-सामाजिक चलनको दीर्घायु सुनिश्चित गरुन्छ। तर यी विशेष परम्पराको भाव केवल गुठी प्रथाको मर्म बुझ्नेले मात्र महसुस गर्नसक्छन्। अहिल्यैको विधेयक अनुसार कर्मचारी सरकार र सरकारले नियुक्त गरेका पुजारी, महन्त, व्यक्तिको हातमा गुठिलाई सुम्पे पछि गुठिको नाममा भएको तैनाथी जग्गा धेरै नै कम मूल्यमा कसैले पनि किनबेच गर्न सक्छ।

काठमाडौँ उपत्यकामा भएका निजी गुठीहरूमा परिवारहरूले आफ्नो क्षमता अनुसार चाड-पर्व मान्दै, आफ्नै मातहतमा जीर्णोद्धार गर्दै र आफ्नो गुठीलाई सक्षम बनाउँदै पुरानो र महत्त्वपूर्ण प्राचीन सभ्यतालाई जोगाएर राखेका छन्।

चाहे इन्द्रजात्रा होस् वा मच्छिन्द्रनाथको जात्रा, गुठीले नै चलाएका र व्यवस्थित गरेका छन्। नाफामूलक प्रतिठानाको रूपमा चलाएको खण्डमा यी सबै चाड-पर्वको भविष्य अन्योलमा पुग्छ।

नाफाका लागि गुठीमा रहेको जग्गा जमिनलाई प्रयोग गर्न मिल्ने प्राववधान राखिएको यो विधेयकले भोलिको दिनमा गुठीको जग्गा र सम्पत्तिमा ठुला भवन उधोग बनाएर सांस्कृतिक महत्त्व बोकेका एतिहासिक व्यवस्थालाई नाङ्गै बनाउँछन्। विकासको नाममा खोकनाको सभ्यता, मानिसहरू र सिंकाली मन्दिरमा चलाइएको डोजरको सम्झना अहिल्यै पनि उपत्यका वासी र नेपाल भरिका नेवार समुदायको मनमा जीवित नै छ।

यो, विधेयकको दफा ३, २३, १८, ४(च), २७ र ३१ ले काठमाडौँको रैथाने माथिको नीतिगत अतिक्रमणको उदाहरण प्रस्ट पारेको छ। अक्षय कोष, प्राधिकरण, प्रतिष्ठान, आर्थिक विकास र व्यवस्थापनको नाममा लुटिन लागेको सभ्यतालाई जोगाउने समय यही हो।

यो एक विषय नेवार समुदायको मात्र होइन , यो मुद्दा एउटा निश्चित पारम्परिक सोचाइको मात्र पनि होइन। यो विषयले सबैलाई समेट्छ। बाहुनवाद र सामन्तवादले कसेर अँगालोमा बाँधिएको हाम्रो प्रशासनिक र सरकारी व्यवस्थाले जनताको सामुदायिक आस्थालाई नभई राजनैतिक विचारधारालाई समेटेको छ।

यही वैचारिक रोगका बिरामीलाई निरोगी बनाउनकोको निमित्त अहिल्ये सडक तातेको छ। यो लडाइमा सबै समुदायले एक्यबद्यता जनाउनु जरुरी छ। बाटोको भीड अझ बढ्नु जरुरी छ। काठमाण्डूको सुकेको ढूँगेधारा, फोहोरको रास संगैक मन्दिर, भात्किन लागेका पाटी पौवा, चोरिएका मूर्तीको हिसाब माग्न जरुरी छ।

म सानी हुँदा हरेक बिहीबार बिहान ४ बजे उठेर हजुरआमासँग बङ्गलामुखी जान्थे। तलेजु भवानीको गजुर हेरेर अहिल्ये पनि नतमस्तक हुन्छु। कुमारी माँजुको हातबाट टिका लाउँदा अहिल्य पनि ढुकढुकी बढ्छ,आकाश भैरवको अगाडिको भाइको एन्टिक पसलबाट  इन्द्रजात्रामा रथ तानेको हेर्दा भावविभोर भई हरेक वर्ष आँखाबाट आँसु झर्छ, करुणामयसँग आशीर्वाद लिँदा आत्मीयताको अनुभव आहिल्य पनि गर्छु।

त्यही सानो बेला बङ्गलामुखी गएर मंगलबजारबाट पेडा किनेर घर फर्किने म जस्ता लाखैंलाई आफ्नो मानेर पालेको यो काठमाण्डू सहर आहिल्य आफ्नो पहिचानका लागि लडिरहेको छ, म जस्ता लाखौंलाई प्रश्न सोधिरहेको छ, शान्त भई कुरिरहेको छ। अबचाहिँ समय भयो, जाने होइन ?

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog