Monday, June 17, 2019

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, युरोप भ्रमणबारे जानकारी दिने

३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्री ओली फ्रान्सलगायतका युरोपका देशहरु घुमेर गत आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ ।

त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog