Friday, May 31, 2019

सिड्नी सपना : पीआर, प्रेम र विवाह !

सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो ।

मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला- पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलाई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै भोकाएको मृगजस्तै गइहाल्न उसलाई उसको संस्कार र सोचले छेक्थ्यो । तर, रातको अलिकति अँध्यारोमा ऊ आदिको कोठामा पुगिहाल्थी ।

बिस्तारै सृष्टिलाई आफूभन्दा उमेरमा निकै जेठो, भद्दा शरीर भएको, कालो कालो बाक्लो ओठ, जर्रो छाला भएको, अनुहार, भ्यात्त परेको भुँडीवाल आदि मन पर्न थाल्यो ।

एक रात निकै रमाइलोसँग बिताएपछि भोलिपल्ट बिहान आदिले सृष्टिलाई ग्रिन टी ल्याएर बेडमा टक्रयायो । सृष्टि मुस्काई । ऊसँगै छेउमा रहेको गमलाको पिस लिली पनि मुस्कायो  ।

म हरेक बिहान तिमीलाई यसैगरी ग्रिन टी खुवाउन चाहन्छु- आदिले भन्यो । खुवाएकै छौ त- सृष्टिले उठेर आदिलाई अँगालो मारी अनि कानमा बिस्तारै भनी- थ्याङ्क यु ।

मसँग बिहे गर्छ्यौ ?- आदिले पनि सृष्टिको कानमै बिस्तारै भन्यो ।

अँगालो पारेर आदिको घाँटीमा बाँधेको हात निकाल्दै सृष्टिले भनी- यति चाँडै ?

तिम्रो पो उमेर अझै बाँकी छ । मेरो त ढल्किँदैछ – आदिले अलि गम्भीर अनुहार पारेर भन्यो- उमेरको फरक अलिक देखिए पनि तिमीसँग मेरो मन मिलेको छ । म तिमीसँग बिहे गर्न चाहन्छु ।

सृष्टिले केही नबोली ग्रिन टी सुरूप सुरूप पारिरही ।

ठीकै छ, समय लिएर जवाफ देऊ । तर, नबिर्स म तिमीलाई माया गर्छु । अनि तिमीलाई सामाजिक विवाह गर्न अलि हतार नगरौँझैँ लाग्छ भने कोर्ट म्यारिज भए पनि गरौँ । तिमीलाई पनि पीआरको समस्या  हुँदैन । पछि तिमी मानसिकरूपमा तयार भएपछि हामी नेपाल गएर विवाह गरौँला ।

सुनिताले भनी- सिड्नीमा पीआर नहुन्जेल सारै गाह्रो हुँदोरहेछ । हाम्रो हेर त कस्तो छ ? बुढाबुढी मरीमरी काम गर्‍यो, सबै पैसा कलेजको फी तिर्दै सकिन्छ । उमेर ढल्किन लागिसक्यो । बच्चा पाउनेसमेत फुर्सद छैन । यतिका महिनासम्म रिलेसनसिपमा बसेर उसलाई चिनेपछि, उसको  माया लाग्छ भने उमेरले के गर्छ त !  बिहे गर, ढुक्क हुन्छ । एक वर्षमा पीआर आइहाल्छ अनि पढ्नू । यो कलेजको फी तिर्ने चक्करबाट त छुटकारा पाउँछेस् ।सल्लाह गर्न सृष्टिको साथीबाहेक आफन्तहरू सिड्नीमा कोही थिएन । अतः उसले हार्बरब्रिज पारि बस्ने साथी सुनितालाई फोन गरी ।

निकितालाई पनि सृष्टिले फोन गरी- आदि बिहे गरौँ भन्छ । के गरौँ ? निकिताले तीन पल्ट सोधी- तँलाई  उसको माया लाग्छ ? सृष्टिले जवाफ दिन सकिन ।

सँगै सुत्दा कस्तो लाग्छ ?

खोइ ! हेर्दा बुढो भए पनि बेडमा त फायर छ । मज्जाले सन्तुष्टि दिन्छ । तर, बिहे नै गर्न चाहिँ के गरूँ, कसो गरूँ भा’की छु । बुवा, मम्मीलाई कसरी भन्ने भइरा’छ । कोर्ट म्यारिज गरेर फस्छु कि जस्तो लाग्छ ।

निकिताले भनी- मुख्य कुरा माया हो । माया छ भनेमात्र एजले म्याटर गर्दैन, नत्र गर्छ ।

सृष्टिले शरीरको भोक मेटाउँदै थिई कि माया साट्दै थिई, छुट्टयाउन सकिरहेकी थिइन । माया कस्तो हुन्छ ? यही त थियो गाह्रो प्रश्न ।

माया गर्छु भन्नेहरूको मायाले सधैँ उसलाई रुवाएको थियो । के रुवाउने नै हुन्छ त माया ? सुरुमा निक्कै चेपारो घस्ने, अनि पछि वास्ता नगर्ने चिसो बैगुनी चिज नै हो त माया ? मान्छेहरूले साँचो मायाको कुरा गर्छन् । कस्तो हुन्छ साँचो माया ?

कति सोच्दा पनि, कसैगरी सोच्दा पनि सृष्टिले साँचो मायाको ठ्याक्कै परिभाषा भेटिन ।

आ होस्, कोर्ट म्यारिज गर्छु । अनि पीआर भएपछि मन लागेको विषय पढ्छु । मन लागेजसरी जिउँछु ।

कोर्ट म्यारिज गर्न सिड्नीमा सिभिल सेलिब्रेन्ट पाइँदोरहेछ । सिभिल सेलिब्रेन्टले ठिक्क पारेको पेपरमा साइन गरेर ६५० डलर बुझाएपछि बिहे हुँदोरहेछ । सृष्टि र आदि कोर्ट म्यारिज गरेर वैधानिक श्रीमान् श्रीमती भए ।

कोर्ट म्यारिज गरेको पहिलो रात आदिले सृष्टिलाई कोठामा लग्यो । सृष्टि रातो ड्रेस लगाएर अदालत पुगेकी थिई । कोठामा पुगेपछि आदिले अङ्कमाल गर्दै भन्यो- श्रीमतीजी ! भित्र गएर बेडमा राखेको लुगा लगाएर आऊ ।

बिहान सृष्टि उठ्दा आदि मस्तसँग घुरिरहेको थियो । सृष्टि उठी र नुहाउन गई । सावरमा उसले अघिल्लो रात आदिले लगाइदिएको सिन्दुर स्याम्पु र कन्डिसनरले घोटीघोटी धुन खोजी । जति गरे पनि जाँदै गएन ।

सृष्टिले बुझी, आदि अर्थात् अद्वितीय थापाले उसको जिन्दगीमा जति धोए पनि नजाने रङ पोतिसकेको छ  ।

 

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog