Thursday, May 30, 2019

गाउँपालिकाको पहलमा प्याराग्लाइडिङ

सुनापती । रामेछापको सुनापती गाउँपालिकामा स्थानीय सरकारले प्याराग्लाइडिङ सञ्चालनको पहल थालेको छ । घिउखोर बुर्कोट डाँडाबाट हालै प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ ।

क्यामुलस प्याराग्लाइडिङका जुद्धबहादुर गुरुङ र विनोद खड्काले सोमबार उडान भरेका हुन् । यसले स्थानीय जनप्रतिनिधि मात्र होइन, जनप्रतिनिधि पनि उत्साहित भएका छन् । आफ्नै ठाउँमा पनि प्याराग्लाइडिङ उडेको देख्दा स्थानीय निर्मला सेवा छक्क परिन् । उनी आफू कहिले उडूँ भएको छ । ‘नयाँ कुरा देखें’, उनले भनिन्, ‘चालू रह्यो भने उड्छु ।’ सुनकोसी लहरेमाने सुनापती पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष राज मैनालीले परीक्षण उडानले व्यावसायिकताको सम्भावना देखाएको बताए । ‘स्थानीय सरकारको सहयोगमा परीक्षण उडान भर्न हामी सफल भयौं’, उनले भने, ‘यसको व्यावसायिकताका लागि मिलेर अघि बढ्छौं ।’

गाउँपालिका अध्यक्ष धावा लामाले प्याराग्लाइडिङ सञ्चालनका लागि योजना बनाइने बताए । ‘सुरुमा दुई जनालाई गाउँपालिकाकै बजेटबाट प्याराग्लाइडिङ सिक्न पठाउँछौं’, उनले भने, ‘प्याराग्लाइडिङ सञ्चालन गर्न हामी स्थानीयलाई सेयर आह्वान गर्छौं ।’ उनका अनुसार यो ठाउँ काठमाडौंबाट ८० किलोमिटर दूरीमा पर्छ । जबकि सराङकोटको दूरी २ सय किलोमिटर पर्छ ।

‘हामीसँग पूर्वाधार पनि छ’, उनले भने, ‘थप पूर्वाधार पनि विकास गरी प्याराग्लाइडिङलाई स्थानीयको आयआर्जन वृद्धिसँग जोड्छौं ।’ साहसिक पर्यटकीय क्षेत्रको सम्भावना उजागर गर्न प्याराग्लाइडिङ रोजेको उनले सुनाए । उनका अनुसार सफल नहुने हो कि भन्ने डर थियो । ‘तर, हामी सफल भयौं’, उनले भने, ‘अब बजेट छुट्टयाएर अघि बढ्छौं ।’

वडा नम्बर ३ का अध्यक्ष बाबुराम तामाङले प्याराग्लाइडिङ सञ्चालन गरी पर्यटक भित्र्याउने योजना बनाएको बताए । त्यसपछि स्थानीयको आयआर्जनमा टेवा पुग्ने उनको भनाइ छ । सुरुमा जुद्ध गाउँपालिका उपाध्यक्ष गीता विष्टलाई लिएर उडेका थिए । त्यसपछि नेकपा केन्द्रीय सदस्य एवं पूर्वसांसद देवशंकर पौडेलसँग विनोदले उडान भरेका थिए । दुवै जनाले झन्डै २ हजार २ सय मिटर उचाइबाट साढे ४ सय मिटरमा पर्ने सुनकोसी किनारस्थित कुशेश्वर महादेव मन्दिरनजिकै अवतरण गरेका थिए । यो ठाउँ बीपी राजमार्गअन्तर्गत सिन्धुलीको दुम्जा नेपालथोकमा पर्छ । मध्यपहाडी लोकमार्ग भएर सुनापती जान यही ठाउँमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्याराग्लाइडिङबाट यहाँ आइपुग्न विनोदलाई २५ मिनेट र जुद्धलाई ४५ मिनेट लागेको थियो । ‘मैले एक्रोब्याटिक गरेर छिटो अवतरण गरेको हुँ’, विनोदले भने, ‘लामो अवधि उड्नका लागि यो ठाउँ उपयुक्त छ । मसँग त नडराउने यात्रु पनि पर्नुभएछ । त्यसैले छोटो समयमा अवतरण सम्भव भयो । यहाँ एक–डेढ घण्टा उड्न सकिन्छ ।’

उनका अनुसार उड्ने ठाउँ पाएपछि अवतरणका लागि हावाको चापअनुसार खोला किनार या खुला चउर उपयुक्त हुन्छ । यो ठाउँमा व्यावसायिक उडान भर्न राम्रो सम्भावना देखिएको जुद्धले सुनाए । नेकपा नेता पौडेलले पहिलो पटक प्याराग्लाइडिङ गर्दा गज्जब लागेको प्रतिक्रिया दिए । ‘यो ठाउँमा पर्यटन प्रवद्र्धनका लागि नयाँ सम्भावना उजागर भयो’, उनले भने ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog