Thursday, May 30, 2019

प्राविधिक शिक्षा पनि घोकन्ते होला कि भन्ने डर छ !

–डीएन पराजुली, सीटीईभीटी सीप परीक्षण अधिकारी

सुरुआतका बेला प्राविधिक शिक्षा हासिल गर्न सकिन्न भन्ने थियो । यो हाम्रो पहुँचभन्दा टाढाको विषय पनि थियो । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा सीमित कोटा हुन्थ्यो । एक जिल्लाबाट पाँच विद्यार्थी छनोट हुन्थे । समयसँगै प्राविधिक शिक्षाप्रतिको धारणामा परिवर्तन आयो । न्यून जनशक्तिले राज्यको आवश्यकता धान्न सकेन ।

प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक लगानी भित्रिन थाल्यो । सहयोग भित्र्याउन सक्ने आधार बन्ने आसमा प्राविधिक शिक्षालाई चासो दिन थालिएको छ । यति हुँदाहुँदै राज्यले आवश्यक मात्रामा यसको विस्तार गर्न सकिरहेको छैन । या त बेवास्ता गरिरहेको छ । समग्र शिक्षामै बजेट कम छ । त्यसमा पनि शिक्षा बजेटको साढे ३ प्रतिशत मात्र प्राविधिक शिक्षामा छ । यसले प्राविधिक शिक्षाप्रतिको बेवास्ता स्पष्ट पार्छ । कम्तीमा ३० प्रतिशत बजेट दिएको भए धेरै काम गर्न सकिन्थ्यो । 

विद्यार्थी र अभिभावकको चाहना अनि लगानीले मात्र सीटीईभीटीका स्कुल कलेज खुलेका छन् । चाहने हो भने प्रशस्तै विद्यार्थीले प्राविधिक शिक्षा हासिल गर्न सक्छन् । देशमा यससम्बन्धी जनशक्ति अभाव धेरै छ । तर, राज्यको ध्यान यतातिर गएको छैन । ५० वटा पोलिटेक्निकल कलेज आंगिक रूपमा सञ्चालनमा छन् । सीटीईभीटीका संकायहरू छन् । एउटा शिक्षालयमा तीन सय हाराहारी विद्यार्थी छन् । ३ सय ९७ सामुदायिक प्राविधिक स्कुल छन् । सीटीईभीटीबाट मान्यताप्राप्त निजी शिक्षालय १ हजार पुगेका छन् ।

जागिरे मानसिकता बाधक

बजारमा प्राविधिक जनशक्ति अभाव छ । घरमा प्लम्बर चाहियो भने तीन–चार दिन पर्खिनुपर्छ । टेक्निसियन अभाव पनि छ । अन्य विषयमा मास्टर्स डिग्री गर्नेले रोजगारी पाएका छैनन् । पढेर जागिर मात्र खाने भन्ने सोचले डेरा जमाएको छ । जागिरे मानसिकताका कारण पढाइ घोकन्ते भयो । प्राविधिक शिक्षा पनि घोकन्ते होला भन्ने डर छ । तर, बेरोजगारी समाधान गर्न शिक्षा सीपसँग जोडिनुपर्छ । सीपको पाटो ओझेलमा छ । यसलाई अगाडि बढायौं भने पक्कै बजारको माग पूरा हुन सक्छ । बेरोजगारी कम हुँदै जान्छ ।

कस्तो प्राविधिक शिक्षा ?

नेपाललाई चाहिएको प्राविधिक शिक्षा कस्तो हो भन्ने विषयमा छलफल चलिरहेको छ । तर, प्रणाली परिवर्तन गर्नुपर्ने विषयमा भने छलफल हुन सकेको छैन । प्रणालीमा के गर्नु जरुरी भयो भने ‘रिसोर्स मोभिलाइज’ गर्नुपर्यो । शिक्षा उत्पादन प्रणालीसँग जोडिनुपर्यो । तर, हामीमा ६ घण्टा पढ्ने र पढाउने मात्रै भयो । हामीले विद्यालयबाट सैद्धान्तिक ज्ञानबाहेक केही सिक्न सकेनौं । त्यसकारण पढाइसँगै कमाइ हुने सीपमूलक शिक्षा प्रदान गर्ने हो भने बेरोजगारी कम हुँदै जान्छ । 

हामी आफूले खाने खाना पनि बनाउन नसक्ने विद्यार्थी जन्माइरहेका छाैं । मास्टर्स डिग्री पढेर खाडी मुलुक जान बाध्य छन् । त्यसैले सरकारले सीपमूलक शिक्षा पढाउने नीति बनाउन आवश्यक छ । नेपालको हावापानीमा आधारित शिक्षा दिन सकियो भने जहाँ पनि हाम्रा विद्यार्थीले राम्रो कमाउन सक्छन् । विदेश पठाउने पैसा यहीं सदुपयोग गर्न सकियो भने कलेज पनि सामुदायिक हुन सक्छ । विदेशका विद्यार्थी नेपाल आउन सक्छन् । लगानीको वातावरण बनाउनुपर्छ ।

कसैले भन्ला नभन्ला तर प्रणालीगत रूपमा हेर्दा विद्यार्थी पढिसकेपछि बेरोजगार र निरास देखिएका छन् । सरकारले केही गर्ला कि भन्ने पनि भएन । डिप्रेसनमा पुर्याउने जनशक्ति उत्पादन भइरहेको छ । समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ ।

सरकारको लक्ष्य भेट्न प्राविधिक शिक्षा

समृद्धिका लागि सबैभन्दा पहिला शिक्षा प्रणालीमै सुधार आवश्यक छ । यो सबै सरकारी तवरबाट हुनुपर्छ । निजीबाट भयो भने त्यहाँ सीप सिकाउने व्यवस्था नहुने समस्या देखिएको छ । कतिपय फार्मेसी कलेजले ट्याब्लेट बनाउने मेसिन देखेका छैनन् । त्यसैले हामी पछि परेका छाैं । कम्तीमा काम गर्दै कमाउने व्यवस्था त बनाउनुपर्यो । शिक्षासँगै सीप पनि हासिल गरोस् भन्ने हो । के समस्या छ भने हरेकसँग शिक्षा जोडेका छौं । सीप र अनुभव लागू गर्न पाउने कानुन छैन । तर, मास्टर्स डिग्रीलाई मान्यता मात्रै दिन्छ । मास्टर्स डिग्री गरेर किन हलो जोत्ने भन्ने मानसिकता हावी छ । हलो जोत्नेले शिक्षितलाई पालिरहेका छन् । तर, उही नै तल्लो दर्जामा देखिन्छ । सीपको कदर भएको छैन यो देशमा । चीनको एक इन्जिनियरले साह्रा काम एक्लै गर्छ । तर, नेपालको इन्जिनियरले आदेशमा काम लगाउँछ । त्यसकारण सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य भेट्न सीप आवश्यक छ । यसका लागि नीति र ऐन ल्याउनुपर्यो । शिक्षा जनवादी हुनुपर्छ । बुर्जुवा शिक्षा लागू भयो । सर्टिफिकेट खोजियो । पञ्न्चायतले बनाएको कानुनतिरै लागियो ।

(प्राविधिक शिक्षाका विज्ञ पराजुलीसँग राजकुमार श्रेष्ठले गरेको कुराकानीमा आधारित । उनी सीटीईभीटीका सीप परीक्षण अधिकारीसमेत छन् ।)

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog