Friday, May 31, 2019

व्यंग्य : फेसबुकमा साथी बन्न पनि जागिर ?

बजेट भाषणले तलब बढायो र जागिरेको महत्व झन् बढ्यो । सबैतिर जागिरेकै चर्चा छ । यसले बेरोजगार र जागीर खान खोजिरहेकाहरुलाई कुन दबाब होला, म जागिरे भएर अनुमान गर्न सक्छु । तर, जागिरेको गुनासोका थाक खोतलेर हेरेपछि पो थाहा हुन्छ, जागिरे हुनुको मज्जा ।

समाज भन्छ :  धेरै पछ्नुपर्छ । पढेपछि जागिर खानुपर्छ । एउटा जागिर पनि नखाई के बिहे गर्नु । एउटा जागिर पनि नहुनेले के गफ गर्नु ? यस्तै केके फतफताइरहन्छ । गनगनाइरहन्छ ।

समाज सान देख्छ : उसको त सरकारी जागिर हो नि ? उसको पहुँच माथिसम्म छ ।  ऊ त आइ अन जी ओ मा जागिर खान्छ । ऊ त बैँकको जागिरे पो त । ऊ मन्त्रालयको जागिरे ।ऊ प्रधानमन्त्री कार्यालयको जागिरे । उसको त बाबु नै लाहुरे ।

समाज उदाहरण दिन्छ : फलानाको जस्तो जागिर खाएर देखा  । चिलानाको जस्तो जागिरे भएर फुर्ती ला । हेर छोरा बाबुको जागिर भए पो बजार जानु । हेर नानी जागिरे बाबुका छोराछोरी हेरेर हामीलाई के गर्नु । उनीहरु तलबबाट पनि कमाउँछन् । टेबलमुनिबाट पनि कमाउँछन् । बैक खाताबाट पनि कमाउँछन् । हामीलाई त्यसो गर्न पुग्दैन बा । जता कुरो घुमाइन्छ, बालबालिकाका दिमाखमा जागिरको भूतको घर बनाइन्छ ।

जागिरको सक्कली अर्थ नोकरी नै हो । आजकाल जागिरको अर्थ फेरिँदो छ । नोकरीबाट सानका रुपमा विस्तार हुँदो छ । वास्तवमा जागिर संस्था वा कार्यलयमा काम गर्ने पेसा । यसको गन्तव्य क्षेत्र सरकारी संस्था र गैरसरकारी संस्था  । जागिरको आकर्षषण काम गरेवापत तोकिने निश्चित रकम । यस्तो रकमलाई भनिन्छ तनखा पनि ललब पनि  वेतन पनि । यी पर्यायका अर्थ आफैमा गहिरा छन् । सुकिला लुगा लाएर कार्यालय छिर्नुको सान नै जागिरको मान । समाजको दृष्टिकोण नै जागिरकोसान । समाजको भूत नै अर्को सान । सानै सान मानै मान , जहाँ गयो उही जागिरको महागान ।

गागिर खाने मान्छेलाई भनिन्छ जागिरदार । त्यही जागिर गर्ने कामलाई कर्म गरेर दिनचर्या चलाउने हुँदा  भनिन्छ कर्मचारी । जागिर खाने अर्थमा भनिन्छ जागिरे । यस पेसाका केही सीमा छन् । थुप्रै  समस्या छन् ।  जागिरमा दुःख छ  तर समाजले खुब शक्तिशाली रुपमा हेरेको छ ।

हेरिल्याउँदा जागिरको अर्थ संकुचन र वस्तारका क्रममा विकसित छ । मुगलकालीन भारतमा त्यहाँका वादशाहले आफ्ना भारदारलाई दिने उच्च पदलाई भनिन्थ्यो जागिर । त्यस्तो भारदारलाई पदसँगै कुनै ठुलै भूभाग बक्सिस दिइन्थ्यो । त्यस अर्थमा जागिरको सान हिमाल चढ्थ्यो ।  आज यसको अर्थ संकुचन हुँदै नोकरीकै तहमा झरेको छ ।  यस संकुचनलाई बुझ्दैन समाजले ।  झन् बुझ्दैन सर्वसाधारणले । उही मोगल कालीन विस्तारकै रुपमा बुझ्छ ।  सानकै रुपमा बुझ्छ । मानिलिउँ कसैले सरकारी जागिर पायो, उसको जीवन सफल भयो । कसैले जागिर पाएन, उसले तरकारी पनि खाएन । कसैले जागिर पायो उको बिहे पक्का । कसैले जागिर पाएन बिहे गर्ने केटो वा केटी पाउने भएन । हुने र नहुने, पाउने र नपाउने, बाँच्ने र मर्ने पक्ष नै जागिरमा निर्भर ।

छोरी दिनु पर्‍यो जागिर के छ ? बुहारी भित्र्याउनु पर्‍यो जागिर के छ ? समाजमा उभिनु पर्‍यो जागिर के छ ? मित लाउनु पर्‍यो जागिर के छ ? साथी बन्नु पर्‍यो जागिर के छ । हुँदाहुँदा फेसबुकमा रिक्वेस्ट एसेप्ट गराउन पनि कुनै न कुनै जागिर बताउनै पर्ने : फेक जागिरै भए पनि आइडीमा टास्नु पर्ने । बैक र सरकारी जागिरे भए मालामाल । गैरसरकारी जागिर भए आंशिक मालामाल । जागिरै नभए वास्ता न वेस्ता । जागिरको भूतले नसताएको मानछे छैन । जागिरको भूतले नपछारेको घर परिवार छैन । जागिरको मोहले नलछारेको समाज र देश छैन ।

बाजेले दसैँको टीका लायैपिच्छे जागिर खानु भनिरहे । बजैले त्यसै गरिन् । मावली बाजे बजै उस्तै । बाआमाको सपना उस्तै  । मैले उनीहरुकै सपनाअनुसार मानसिकता बनाएँ । अरु जीवन छोडेर जागिरे जीवन रोजेँ । मैले एउटा  जागिर खान थाल्दा परिवारका मुहारमा छाएको खुसी सम्झन्छु । उनीहरु ठानिरहेका थिए, अब मेरा मात्र होइन परिवारकै दुःखका दिन गए । मैले पनि ठानेँ अब मेरा दुखका दिन गए । म जागिरे भएँ । पाँच अंकको तलब ल्याएर बाआमाका हातमा राखिदिएँ । त्यसो गर्दा बाआमाका मुखमा देखिएको उज्यालो आहा,  कुनै बिहान लाग्ने घाममा त्यस्तो उज्यालो देखिएन । मैले यही बाटो रोजेँ । म जागिरे भएँ ।

धेरैले जागिरलाई सजिलो पेसा सम्झन्छन् । व्यापार र अरु पक्ष भन्दा कम जोखिमको पेसा ठान्छन् । मैले पनि त्यही ठानेँ । सजिलो पेसा माने । जागिरलाई पैसाको बोट ठानेँ सायद । भरमार कमाइको खानी ठानेँ सायद ।  लाहुरे हुने सपना थिचेर, व्यापारी बन्ने सम्भावना कुल्चेर जागिर खोजेँ । कलाकार लेखक-साहित्यकार, पत्रकार बन्ने मनोकांक्षा निमोठेर जागिर खोजेँ । समाजसेवा र राजनीतिका बाटा थुनेर जागिर रोजेँ ।

सासू ससुरालगायत ससुराली खलक त थाहा  छ नि । उनीहरुले जागिरे छोरीज्वाइँलाई महत्व दिने नै भए । उनीहरु पनि आइजाइ गरिरहने भए । बाबुआमापछिका सासूससुरा । उनीहरुका  अपेक्षा कसरी मर्न दिने ?श्रीमतीजीले बाआमालाई गर्न खोजेको उपहारमा बाधक बन्नु भएन

मेरो जागिर पाँच अंकको । पाँच अंक भन्नेबित्तिकै उनन्सय हजार नौ सय पनि हुन्छ । आफनो भने जागिरको अघिल्लो अक्षर पाँच त के तीन पुग्ने हैसियत  कहिल्यै बनेन । भन्छन् नि पुरुषलाई जागिर नसोध्नु, नारीलाई उमेर नसोध्नु । मलाई भने उमेर र जागिर दुवै नसोध्नु । साना कुरा गर्न पनि आउँदैन जागिरे मान्छे । फेरि जागिर सानो छ । बूढो हुन पनि मन छैन, फेरि बुढो भइसकियो । यसो भन्दा मलाई तेस्रोलिङ्गी भने पनि भन्नुहोस् । तर जागिरको अंक नसोध्नुहोस् ।

जागिर पाएको सुरुसुरुमा म झुक्किएँ । सायद उल्किएँ । बढी फुर्किएँ । त्यसबेला मलाई लागे छ जागिर पाएपछि पढिरहनु पर्दैन । जागिर खाए पुगिहाल्छ । समयक्रमले योग्यता नबढाइ हुँदो रहेनछ । उच्च शिक्षा नहुनुको पीडा पनि यही जागिरसँग जोडिँदो रहेछ । जागिर र पढाइ दुई डुङ्गाको उभ्याई । न दाहिने टेक्न मिल्ने न देब्रे टेक्न मिल्ने । न निहुरिन मिल्ने न सीधा उभिन मिल्ने ।  म जागिरे र विद्यार्थीको दोहोरो यात्रामा रहेँ । न ठूलो हुन पाएँ न सानो हुँन पाएँ ।

मेरो तलब कति छ ? यो मेरा मुखले नभने पनि  यसै क्षेत्रका जानकारलाई थाहा छ ।  अनुमान त तपाईँ पनि लाउन सक्नुहुन्छ  । म अहिले यतिउति नबोलूँ । तपाईँलाई अंक गणित आउँछ  भने म केही सूत्र दिन्छु । मेरो जागिर र खर्च गराईका खालिठाउँ भर्दै जानुहोला । मेरो जागिर मानूँ….हजार छ । त्यसबाट सञ्चयकोषको  यति हजार, नागरिक लगानी कोषको यति हजार, सामाजिक सुरक्षा  कर यति हजार, आय कर यति हजार इत्यादि काटिन्छ । यसरी निकै ठूलो भाग घटेर केही भाग मात्र बच्छ । कर्मचारी संघ सङ्गठनको लेभी ।  लाइन लागेर आउने नेताहरुलाई चन्दा । टोले दादा र गुन्डाहरुको मन पनि राख्नै पर्यो । यसो हाकिम हाकिमनीमा पनि भेटघाट र भेटीघाटी गर्ने पर्यो ।  आफ्नो शैक्षिक योग्यता बढाउनु पर्यो । अनुमान लगाउनुहोस् मसँग कति बच्ला ?

तपाई नआत्तिनुहोस् । कुरै सुनेर आत्तिएर पो के गर्नु । भोग्नेलाई कहाँ छ । कुरा त अरु पनि छन् । सधै नहेरे पनि कहिलेकाहीँ यसो हलमै गएर चलचित्र  हेर्नैपर्यो । चाडबाड अउँछन् अरुको भन्दा कमसल मनाउनु हुँदै भएन, विशेष पार्नै पर्यो । अन्न पानीको शरीर न हो, कहिलेकाहीँ दुःख बिराम भइहाल्छ ।  त्यसमाथि दिनदिनै बढिरहेको प्रदूषित हावा, पानी र विषादि मिसिएको खाना ।

यसको असर तपाई हामीलाई मात्र होइन हाम्रा राष्ट्रपतिलाई पनि थाहा छ । एउटा न एउटा रोग त लाग्छ नै । अफिस छोडेर सरकारी अस्पतालमा घण्टौं लाइन लाग्ने कुरा भएन ।   दिनहुँ विदा लिएर बिरामी छु भन्दै दगुर्ने कुरो  झन् भएन । जमानाअनुसार उपचार गर्न  छिटोछरितो काम गर्ने निजी अस्पतालमै जानुपर्यो । बाँच्नु पनि पर्यो इमान जमान जोगाउनु पनि पर्यो । त्यसमाथि बिरामी आफूमात्र परिने होइन । उमेरले बाजे बजै बिरामी परिरहन्छन् । बाआमाको पनि एक दुई औषधी भइहाल्ने भो । महिलाहरुसँग एक न एक बिराम नभए के महिला ? बालबच्चाको खानपिन मिल्दैन, रुघाखोकी, झाडा पखाला त साझा बिरामै भइगो । अस्पताल त गइरहनु परिहाल्यो । अस्पतालले कसरी मुर्गा बनाउँछन्  ? त्यो त तपाईँलाई पनि थाहा होला ? अहिले यति बुझ्नुहोस्, कमाइको एक भाग अस्पताललाई ।

जागिरे  दाजुभाइ भएपछि दिदी बहिनीले महत्व दिने नै भए । उनीहरु आइरहन्छन् । भाञ्जाभाञ्जी आइरहन्छन् । ज्वाइँ भिनाको इज्जत पनि राख्नै पर्यो ।आउँदा जाँदा दक्षिणा र भाडा व्यवस्थापन पनि गर्नै पर्यो । लुगाफाटो यसो उपहार केही नगरे के जागिरे ? तपाईँ सुन्दा सुन्दै हिसाब टिप्नै बिर्सनुहोला ?जागिरे मान्छे  कहिलेकाहीँ घुम्नु पनि पर्छ । घर भान्सा अरुको भन्दा कम चलाउनुभएन । भित्री बाहिरी वस्त्र आफ्ना र परिवारका पनि फेर्नैपर्छ । आफन्तकामा पुग्नु पनि पर्छ । जागिरे मान्छे रित्तै जानुभएन केही कोसेली लानै पर्छ । जागिरे मान्छेका थुप्रै साथीभाइ हुन्छन् । उनीहरुले विवाह, पास्नी, ब्रतबन्ध, बेलविवाह, सरुवा, बढुवा आदिमा निम्ता गर्ने नै भए । त्यहाँ पनि रित्तो हात जानु भएन ।

सासू ससुरालगायत ससुराली खलक त थाहा  छ नि । उनीहरुले जागिरे छोरीज्वाइँलाई महत्व दिने नै भए । उनीहरु पनि आइजाइ गरिरहने भए । बाबुआमापछिका सासूससुरा । उनीहरुका  अपेक्षा कसरी मर्न दिने ? श्रीमतीजीले बाआमालाई गर्न खोजेको उपहारमा बाधक बन्नु भएन । विवाह पनि एउटा संस्थै त हो । उपाध्यक्षको कुरा नसुने के अध्यक्ष ।  अरुले जे भने पनि सालासालीको प्यारो भिनाजु जागिरे भिनाजु नै हो । आफू भनी धाएर आएपछि घुमाउनै पर्यो । राम्रो रेस्टुरेन्टमा खुवाउनै पर्यो । फर्कने बेलामा यसो केही उपहार टक्रयाउनै पर्यो । कुलको इज्जत पनि राख्नै पर्यो । उखानै छ नि छालो जाला कालो जाँदैन । कालो त कसैलाई पार्नु भएन । अब सम्झनुहोस् कमाइको एक भाग यी शीर्षकलाई ।

अरुलाई हेर्दाहेर्दै आफूलाई बिर्सनु भएन । दैेनिकी त्यति सहज पक्कै छैन । कतै जान यातायातका लागि चाहिने खर्च परिहाल्यो । घरको मात्र खाएर पुगेन । बाहिर खानै पर्यो । बाआमालाई महिनामा एउटा न एउटा तीर्थब्रत गराउनै पर्यो । गाउँमा केही धर्मकर्मका अनुष्ठान हुने नै भए  । त्यहाँ बाआमाको उपस्थिति कमजोर हुन दिनै भएन । त्यति पनि नगरे उनीहरुकै आशीर्वादले पाएको जागिरको के काम ? आशीर्वादकै ऋण लाग्ला भन्ने पीर । पीर पनि कति थोकको अब । अवस्था भने झिँगा मारी धार्नी न बिसौली । तपाईँले टिपेको हिसाबमा यो पनि न छुटोस् ।

जागिरे छोराले बाबुका खर्चमा बिहे गर्नुभएन । बिहे गर्दा सानोतिनो ऋण लागेकै हुन्छ । साधन किन्दा अलिकति रिनपान गर्नै पर्यो । दुई चोटी पत्नी सुत्केरी हुँदाको अस्पताल खर्च अरुले सोध्ने व्यहोर्ने कुरै भएन । सोधे पनि कसरी भन्नु लाजमर्दो कुरा ? मेरै दिन उस्ता कि उनका दिन उस्ता दुवै  सन्तान जन्मँदा अप्रेसन । यस्ता सानातिना रिनको व्याज पनि तिर्नै पर्यो । दिदीहरुले भाञ्जा भाञ्जीलाई तँसँगै पठाउन पाए राम्रो बाटो लिन्थे कि भनेर करकर गरेपछि एउटा दुइटा भाञ्जाभाञ्जी पनि पढाउनै पर्यो । भाइबहिनीका नजरमा जागिरे दाइ गिर्नु हुँदै भएन

उनीहरुको शिक्षादीक्षा र जागिरे दाइको छाँटकाँट त समाजमा देखिनै पर्यो । नेट चलाउन मिल्ने मोबायल किनिदिनै पर्यो । यो आश सबै परपरका आफन्त पनि गरिरहन्छन् । उनीहरुका आश  पनि मार्नु भएन । कोठामा आफन्त र साथीभाइ आउँदा बेहोरा देखिने गरी बस्नुभएन । फर्निचर र कार्पेट म्यान्टेन गर्नै पर्यो । सोफामा नराखे के भन्लान् ? अरुकामा गएर बारम्बार भोज खाएको साटो सम्झेर पनि कहिले काहीँ आफ्नैमा जमघट गर्नु परिहाल्यो । परिवारका सदस्यको जन्मदिन त मनाउनै पर्यो । आफ्नो जन्म दिन मान्नै पर्यो । बच्चा बच्चीका खुसीमा सामेल हुनै पर्यो । चिनीको नाम जपेर मुख गुलिने होइन । तपाईँको हिसाबमा यो पनि नछुटोस् ।

म जागिर खाँदा खाँदै कवि हुन्छु जस्तो भाथ्यो एकबेला । कुनै दिन दिउँसो भोकले रन्थनिएका बेला फायलमा टिप्पणी उठाउँदा उठाउँदै लेखेँछु :

कुम टाल्दा घुँडा फाट्यो,  घुँडा टाल्दा टुपी चुहृयो

ढाड टाल्ने मिल्यो टालो,  फाट्यो पिँध इजोतको ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog