Friday, May 17, 2019

तपाईंको बच्चाको बालापन त खोसिदै छैन ?

अबको १०-१५ बर्षपछि कुनै किशोरलाई सोधौं, ‘तिम्रो बाल्यकाल कस्तो थियो ?’ संभवत जवाफ आउनेछैन । किन ?

किनभने उनीहरुले आफ्नो बालापान देख्न, भोग्न र रम्न पाएनन् । उनीहरुको बाल्यकाल त विद्यालयले खोसिदियो । अभिभावकको लहड र विद्यालयको व्यवसायिक लाभको गुरुत्वबलले तानेर उनीहरुलाई त्यही थेचारिदियो, जहाँ उनीहरु आफ्नो वालापनमा रमाउन पाउँदैनथे ।

जन्मेर राम्ररी तंगि्रन नपाई डे केयर सेन्टर, नर्सरी वा प्ले ग्रुपमा भर्ना गरिदिए । त्यहाँ उनीहरु आफ्नो मर्जी अनुसार खेल्न, बस्न, रुन पाएनन् । अरुले खेलाइदिए, अरुले ख्वाइदिए, अरुले सुताइदिए । बच्चा जस्तो हुनुपथ्र्यो, त्यस्तो हुन पाएनन् ।

अघिल्लो पुस्तालाई अझैपनि आफ्नो बाल्यकालले रोमाञ्चित बनाउँछ । जब उनीहरुलाई सोधिन्छ, तिम्रो बाल्यकाल कस्तो थियो ? उनीहरु सुदूर अतितमा र्फकन्छन् र बाल्यकालमा विताएका अनमोल क्षणहरु केलाउन थाल्छन् ।

तर, अब हुर्कने पुस्तासँग यस्तो अनुभूत हुनेछैन । उनीहरु त पढाई, होमर्वक, कक्षाकोठामै सीमित भए । घरमा पनि उनीहरु आमाबुवाको निगरानीमा बस्नुपर्ने अवस्था छ । कहाँ जाने, के गर्ने, के खेल्ने, कोसँग बोल्ने, कसरी खाने सबै कुरामा आमाबुवाको नियन्त्रण हुन्छ । उनीहरुले आफ्नो बालापन गुमाउँदैछन् ।

बालापनमा रम्न दिने कि ?

हरेक उमेर अनुसार हामीले आफ्नो समय र जीवनको भोग गर्छौं । शिशुकाल, बाल्यकाल, किशोरवय, युवा, वयस्क, प्रौड । जीवनलाई फर्केर हेर्दा बाल्यकालका स्मृति नै सवैभन्दा रोमाञ्चक र चञ्चल लाग्छ । अर्थात जीवनको स्वणिर्म अवस्था हो, बाल्यकाल ।

बाल्यकालमा हामीसँग कुनै स्थायी रिस, राग, सत्रुता, घृणा, मोह, लालसा, भय हुँदैन । क्षणभर रिसाउँछौ, क्षणमै खुसी हुन्छौ । क्षणभर मोह पलाउँछ, क्षणमै पखालिन्छ । रुन्छौ, हाँस्छौ, ठुस्किन्छौ, रमाउँछौ । मन कति चंगा हुन्छ । कति निश्छल हुन्छ ।

यस्तो बालापनमा उन्मुक्त रमाउन मनलाग्छ । खेल्न मनलाग्छ । रुन, कराउन, चिच्याउन, झगडा गर्न मन लाग्छ । मनले जे भन्छ, शरीरले त्यही प्रतिक्रिया जनाउन मन लाग्छ । अर्थात मनलाई गाँठो पारेर, मनलाई दबाएर बस्नुपर्दैन । बाल्यकालमा गरिने यावत् कुराहरु आफैमा स्वभाविक, प्राकृतिक र सुन्दर पनि देखिन्छ ।

यस्तो बालापन जीवनमा फेरि कहिल्यै फर्केर आउँदैन ।

तर, आजका बालबालिकाहरुले आफ्नो बालापन पाएका छैनन् । किनभने शारीरिक, मानसिक परिपक्कता नआई उनीहरु शिक्षक/शिक्षिकाको हातमा पुग्छन् । विद्यालयको कक्षाकोठामा पुग्छन् । त्यहाँ उनीहरुले निश्चित सर्त र अनुशासन पालना गर्नुपर्छ । अनुशासनको त्यही बन्धनले उनीहरुलाई बच्चा जस्तै हुन दिदैन ।

अनुशासनले त भलाद्मी, ज्ञानी बन्न भन्छ । जबकी बच्चाको आफ्नो स्वभाव र प्रवृत्ति ठिक त्यसको विपरित हुन्छ ।

बच्चालाई बच्चाजस्तै हुन दिने

पूर्वीय संस्कार अनुसार एउटा बच्चा ८ बर्ष पुगेपछि मात्र उनलाई शिक्षा-दीक्षाको बाटोमा लगाइन्छ । यो भनेको उप नयन संस्कार पछिको कुरा हो । उपनयन संस्कारपछि बच्चालाई शिक्षा-दीक्षाका लागि घरबाट बिदाइ गरिन्छ । तर, अहिले यो कर्मकाण्ड मात्र भएको छ । यसको महत्व र मूल्य बुझेका छैनन् । केवल देखावटी रुपमा गराइन्छ ।

यसको अर्थ चाहि के हो भने ८ बर्षअघिसम्म एउटा बच्चालाई घरको वातावरण नै चाहिन्छ । परिवारको सामिप्य चाहिन्छ । आमाको काखमा खेल्नुपर्ने हुन्छ । बुवाको बुई चढ्नुपर्ने हुन्छ ।

जापानमा पनि हामीकहाँ जस्तो विद्यालय पठाउने हतार गरिदैन । कम्तीमा ६ बर्षसम्मका बच्चालाई घरमै रमाउन दिइन्छ । यत्तिका उमेरसम्म उनीहरुलाई कपी र पेन्सिल समेत दिइदैन । बच्चालाई कसरी हुर्काउने, बच्चाको बालापन कसरी सुरक्षित गरिदिने भन्ने कुरा त फिनल्यान्डबाट पनि सिक्न सकिन्छ ।

त्यहाँको शिक्षा पद्धती पनि बालमैत्री, व्यवहारिक, वैज्ञानिक छ । फिनल्यान्डमा ९ बर्षअघिसम्म कुनैपनि बच्चालाई विद्यालय पुर्‍याइदैन । यत्तिका उमेर उनीहरुले आफ्नो बालापनमै रमाउन छुट दिइन्छ । अर्थात बच्चालाई बच्चा हुन दिइन्छ ।

९ बर्षपछि विद्यालय पठाइन्छ । यद्यपी विद्यालयमा पनि उनीहरुलाई बन्देज हुँदैन । खुला एवं स्वतन्त्रता हुन्छ । रचनात्मक ढंगले उनीहरुको बौद्धिक विकास, सीप विकास, क्षमता विकासमा सहयोग गरिन्छ । त्यहाँ बच्चाले पढाईमा पटक्कै दबाव महसुष गर्नुपर्दैन ।

तर, हामीकहाँ बच्चालाई शिक्षाको महत्व बुझ्ने नभई विद्यालय धकेल्छौ्र । पुस्तकका गह्रौं ठेली बोकाउँछौ । शिद्धान्त र आदर्शका पाठ घोकाउँछौ । पढाई, पढाई र पढाई भन्दा दायाँबायाँ लाग्ने फुर्सद दिदैनौ । यसले हाम्रा छोराछोरीलाई सफल त बनाएका होलान् तर, सक्षम बनाएका छैनन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog