Friday, May 31, 2019

समीक्षा : आत्महत्याको जङ्गलमा जिजीविषाको राग

‘हाम्रो देशमा पनि समुन्द्र भएको भए हामी यत्ति विधि छिमेकी राष्ट्रसँग चेपिएर, थुनिएर्र र गुम्सिएर बस्नुपर्ने थिएन होला कि ? भारत र चीनले चारैतिरबाट थुनेको एउटा बन्द कोठाजस्तो आकृतिमा कैद हुनुपर्दा नै धेरै थोक गुमाएका छौं कि हामीले ?’

(प्रभा बराल : आत्महत्याको जंगल पृ.९८)

नियात्रा विधाको नजिक बसेर लेखिएको आत्महत्याको जंगल पुस्तकमा लेखिका प्रभा बराल जापानको भूमध्यसागरको विशालतामा हराएकी छन् र घरिघरि नेपाल सम्झिरहन्छिन् । नेपाली जनताले सोचे जस्तो देश विकास हुन नसक्नुको कारक समुन्द्र भएको उनको निष्कर्ष देखिन्छ । समुन्द्रसँगको सहज पहुँच नभएकैले अधिकांश कुरामा खुम्चिनु पर्दाको पीडाले उकुसमुकुस भएकी बरालको छटपटी भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणका सन्दर्भमा पनि देखिन्छ ।

नेपाललाई चिनाउने र भएका सौन्दर्य र उपलब्धिभन्दा पर नेपालले लिएर गएको वृत्तचित्रले नेपालको दुर्दशा र दुर्नियतिलाई मात्र देखाएकोमा उनी चिन्तित देखिन्छिन् ।

श्रीमानको उच्चशिक्षा अध्ययन छात्रवृत्तिलाई माध्यम बनाएर दुईपटक जापान पुगेकी प्रभा बरालको यात्रावृत्तान्त नेपालको एयरपोर्टबाट सुरु भएको छ ।

विमानस्थल कर्मचारीप्रतिको असन्तुष्टिसँगै नेपालका अव्यवस्थितताप्रतिको गुनासो र चिन्तामा डुबेकी बराल यात्रा आकासिंदै जाँदा भने रमाएकी छिन् । एहिमे विश्वविद्यालय परिसरमा पुगेर त्रि.वि.को स्मरण गरेकी उनी पानीजहाजको यात्रामा पनि फुरुङ्ग भएकी छिन् ।

दीर्घजीवी जापानीहरूको दिनचर्याको उल्लेख गर्दै जापानको ओफुरो संस्कृतिको चर्चा गरिएको छ । तातोपानीमा निर्वस्त्र भई डुब्ने चलन जसले थकान, तनाव, चिन्ता र भयबाट मुक्ति दिन्छ भन्ने विश्वास रहेको छ । २७ डिग्री सेन्टिगे्रडको तापक्रममा पानीजहाज भित्रको सार्वजनिक ओफुरोमा छोरीसँगै गएकी लेखकले ओफुरोको नाममा एउटा सिङ्गो अध्याय खर्च गरेकी छिन् ।

जस्तोसुकै सामाजिक र आर्थिक हैसियत भए पनि साइकलप्रति जापानीहरूको मोह रहेको देखिन्छ भने कर्मयोगी जापानीहरू वृद्धावस्थामा पनि आफ्नो काम आफैं गर्ने गरेको चर्चा छ । लेखिका वृद्धाहरूप्रति पनि खुबै आकषिर्त भएकी छिन् ।

नदीमा एक्लै फोहोर टिपिरहेकी वृद्धा हुन् या सपिङ मलमा भेटिएकी वृद्धा हुन् उनी तिनीहरुप्रति आकषिर्त हुन्छिन् र वृद्धाहरुको मनोविज्ञान बुझ्न दोभाषे साथीको मद्दत लिएर जापानी वृद्धासँग कुराकानी गर्न पुगेकी छिन् ।

आफ्नै शिक्षण पेसाको नियमित तालिकामा प्रवेश गरेपछि मात्र उनी खुसी भएकी छिन् । विद्यावारिधि सकेर फर्किएका श्रीमानलाई जापान किन नबसेको भनेर गरिएको प्रश्नले दिक्दारिएकी उनी आफ्ना सन्ततिको आधारशिला यहीँ खोज्नुपर्ने धारणा व्यक्त गर्छिन्

पुस्तकभरि आफूले घरमा छोडेर आएकी वृद्ध सासूलाई बारम्बार सम्झिएकी बरालको वृद्धवृद्धाप्रतिको यो आकर्षणलाई अभिभावकप्रतिको श्रद्धाको रूपमा पनि लिन सकिन्छ । दीर्घजीवी जापानीहरूको सक्रिय जीवनशैलीप्रति पनि उनी लोभिएकी छिन् ।

बढ्दै गएको ढिलो विवाहप्रति स्वयम् जापानीहरू नै पनि चिन्तित रहेको पाइन्छ भने योसँगै बढेको एकांकीपनले व्यक्तिमा बढेको चरम निराशाको विसर्जन आत्महत्यासम्म पुगेको र त्यसलाई रोक्न गरिएको पहलका बाबजुद पनि नरोकिएको आत्महत्याको दरले सिङ्गो जापानसँगै लेखिका पनि चिन्तित भेटिन्छिन् पुस्तकमा ।

अति विकसित मुलुकहरूमध्ये सबैभन्दा बढी आत्महत्याको दर रहेको जापानमा यान्त्रिक जीवनशैलीप्रतिको असन्तुष्टि आत्महत्याको रूपमा प्रकट भइरहेको लेखकको ठम्याइ छ । साथै प्राकृतिक प्रकोपको मारमा परेर आफन्त गुमाएका व्यक्तिहरू पनि डिप्रेसनको शिकार बन्दै यो बाटोमा अग्रसर बनेको उल्लेख छ ।

अधिकांश जापानीले इहलीला समाप्त गर्ने गरेको जङ्गलमा पुगेर प्रभाले गरेको जीवन चिन्तन पाठकलाई उत्साहित पार्ने खालको छ।

राष्ट्रिय पोसाकप्रतिको जापानीको प्रेम देखेर मोहित बनेकी बराल हाम्रो राष्ट्रिय पोसाकले चाहिं चाहेजति चर्चा नपाएको उल्लेख गर्छिन् । पछिल्लो समयमा राष्ट्रिय पोसाक प्रधानमन्त्रीले नै नलगाइरहेको नेपालको अवस्था तथा भाषामाथिको खेलबाडले नेपाली भाषा र राष्ट्रिय पोशाकलाई देखिने गरी कमजोर बनाइरहेको परिप्रेक्ष्यमा भाषा र संस्कृति जोगाउने संस्थाको अभाव महसुस गरेकी बराल हरेक पर्यटकीय क्षेत्रमा राष्ट्रिय पोसाकलाई एउटा आकर्षणका रूपमा राख्न सकिने धारणा राख्छिन् ।

हिरोशिमाको यात्राले विछिप्त बनेकी उनी जापानी स्कुलमा आया र पियन नभएको देखेर छक्क पर्दछिन् । जापानमा पनि झारफुक रहेको देखेर आश्चर्यमा परेकी उनी सक्रिय र मेहनती जापानी महिलाहरूको अथक परिश्रमप्रति नतमस्तक भएकी छिन् ।

जापानी फोहोर व्यवस्थापनको तरिकाबाट प्रभावित लेखक ग्राहकप्रतिको जापानी श्रद्धा तथा बिरालोलाई शुभ वा सगुनका रूपमा लिने चलनको पनि चर्चा गर्छिन् ।

दुईपटकको साढे पाँच महिने जापान बसाइमा करिब चार महिना  उनले काम गरेकी छिन् । सुन्तला टिप्नेदेखि होटलमा हाउसकिपिङको काम गर्न भ्याएकी उनी नेपालकी स्नातक स्तरीय प्राध्यापक पनि हुन् । त्यहाँको कामप्रतिको श्रद्धा र मोहले उनलाई पनि आकर्षित गरेको देखिन्छ ।

यद्यपि फर्किएर आफ्नै शिक्षण पेसाको नियमित तालिकामा प्रवेश गरेपछि मात्र उनी खुसी भएकी छिन् । विद्यावारिधि सकेर फर्किएका श्रीमानलाई जापान किन नबसेको भनेर गरिएको प्रश्नले दिक्दारिएकी उनी आफ्ना सन्ततिको आधारशिला यहीँ खोज्नुपर्ने धारणा व्यक्त गर्छिन् ।

जापानको सुव्यवस्थित प्रणालीले लेखकलाई सर्वाधिक आकर्षित गरेको छ । थुप्रै कुराहरू उनले जापानमै पुगेर साक्षात्कार गरेकी छिन् । दु:ख र विपत्तिबाट उठेर पनि छोटो समयमै जापानले गरेको विकाससँग नेपाललाई दाँजेर हेरेकी उनले हामीमा मात्र इच्छाशक्तिको कमी रहेको उल्लेख गरेकी छिन् ।

हामी आफ्नै सुगन्धको पहिचान गर्न नसकेर भौंतारिहेका कस्तुरी हौं भन्ने लेखकको ठहर रहेको छ । आत्मपरक शैलीमा लेखिएको प्रस्तुत कृतिको भाषा सरल र व्याख्यात्मक छ ।

एक्काइस शीर्षकमा विभक्त प्रस्तुत कृतिलाई नेपाली यात्रा साहित्यको महत्वपूर्ण प्राप्ति मान्न सकिन्छ ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog