Tuesday, April 30, 2019

साझा विवेकशीलको प्रस्ताव : नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि नागरिकता

१७ वैशाख, काठमाडौं । साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग विहे गर्ने विदेशीले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग विहे गरी आउने विदेशी नागरिक ७ वर्ष नेपालमै स्थायी बसोबास गरेपछिमात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको हो ।

‘नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ’ प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छ ।’

हाल नेपालमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग गरेको प्रमाण पेश गर्नेवित्तिकै नागरिकता पाउने व्यवस्था छ भने नेपाली महिलासँग विहे गरेका विदेशी पुरुषले नागरिकता पाउने व्यवस्था छैन । संसदमा नागरिकतासम्बन्धी विधेयक छलफलमा रहेका बेला अधिकारकर्मीले नेपाली महिला र पुरुषले विहे गर्दा उनीहरुको जीवनसाथीले पाउने नागरिकताको विषयमा समान कानूनको व्यवस्था हुनुपर्ने धारणा राख्दै आएका छन् ।

साझा विवेकशीलले आमाको नागरिकता लिँदा बुबाको पहिचान खुलाउनुपर्ने व्यवस्था विभेदकारी रहेको भन्दै संभव भए बुबाआमा दुबैको परिचय खुलाउनु उपयुक्त हुने बताएको छ । ‘तर कसैले नागरिकता प्राप्त गर्नकै लागि गलत सूचना दिएको भेटिएमा कुनै पनि बेला कानुन बमोजिम कारवाही गरि उक्त नागरिकता खारेज गरिनु पर्छ’ साझा विवेकशीलले भनेको छ ।

साझा विवेकशीलले २०५४ सालमा जितेन्द्रनारायण देवको समितिले ३४ हजार व्यक्तिलाई जन्मको आधारमा दिएको नागरिकता खारेज गर्न पनि माग गरेको छ । त्यस्तै जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि जन्मिएका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुने पनि बताएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog