Wednesday, April 17, 2019

चितवनको त्यो साइकल युग !

३ वैशाख, भरतपुर । एक दशकअघिसम्म चितवनलाई ‘साइकलको राजधानी’ भनिन्थ्यो । यहाँ साइकल चलाउनेको जमात ठूलो थियो, सडकभरी साइकलै साइकल देखिन्थ्यो ।

बालबालिकादेखि वृद्धवृद्धासम्मले साइकल चलाएको देख्दा अन्यत्रबाट आउनेहरु दंग पर्थे । किनमेल, पढ्न–पढाउन, तरकारी, फलफूल वा दूध बेच्न जाने सबै साइकलमा हुन्थे । एउटै घरमा २–३ वटा साइकल हुन्थे ।

बालबालिकाहरुलाई विद्यालय जान उत्प्रेरित गर्न पनि अभिभावकहरु साइकल किनिदिन्थे ।

न्यून र मध्यम आयस्तर भएकाहरुका लागि साइकल सवारी साधन मात्र नभएर जीविकोपार्जनदेखि समृद्धिसम्मको साधन थियो । यसले दैनिकी सहज त बनाएको थियो नै, आर्थिक–सामाजिक सम्बन्धहरुमा थुप्रै आयाम पनि थपेको थियो ।

रत्ननगरका मित्र पुडासैनी साइकलमा सरर भन्डारास्थित ससुराली पुगेको सम्झदा हिजोआज ‘नोस्टाल्जिक’ बन्छन् । ‘कुनै बेला यसको ठुलो महत्व र इज्जत थियो,’ उनी भन्छन्, ‘मैले बहिनीलाई पनि घर गरिखान सजिलो होस् भनेर साइकल नै दाइजो दिएको थिएँ ।’

भरतपुरमा साइकल चलाउँदै गरेका लोकप्रसाद आचार्यले चितवनको गरिबी र अशिक्षा हटाउन साइकलको ठूलो भूमिका रहेको सुनाउँछन् । ‘अहिले साइकल हेलामा पर्यो तर, यसले चितवनलाई बिर्सिनसक्नु गुन लगाएको छ’ उनी भन्छन् ।

अहिले भरतपुरमा साइकल चलाएको मान्छे देख्न चौबिस कोठीचोकमा केही मिनेट उभिएर कुर्नुपर्छ । आचार्य पनि केही मिनेट कुरेपछि भेटिएका थिए । चितवनका मुख्य बजार र चोकहरुमा साइकल चलाउने विरलै भेटिन्छन् । साइकलको राजधानीमा साइकल राज कसरी हरायो त ?


जग्गा बेच्दै साइकललाई विदाइ

२०६२/०६३ सालताका आन्दोलनकारीहरु टाढा-टाढाबाट साइकल चढेर नारायणगढ र भरतपुर आउँथे ।

जनआन्दोलन सफल भएपछि चितवनलाई बैकल्पिक राजधानी बनाउने हल्ला चलाइयो । त्यो हल्ला चलाएर जग्गा कारोवारीहरुले लिनुसम्म लाभ लिए । दलालहरु कुनाकुनासम्म दलालहरु सक्रिय भए, जग्गाको भाउ आकासियो । त्यसयताको अवधिका चितवनका धेरैले मोटरसाइकल रोजे । मोटरसाइकल चढ्नेहरु कारतिर गए ।


साइकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सापकोटा साइकल चढेर जग्गा देखाउँदै हिँड्नेहरु नव धनाढ्य बनेर निस्किएको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि जग्गा कारोबार झन् बढ्यो । एक कठ्ठा जग्गा बेच्दा मोटरसाइकल र कार नै किन्न सक्ने अवस्था आयो । अब त मोटरसाइकल किनेर साइकललाई विदा गर्न धुर बिक्री गर्दा पुग्ने भएको छ ।

त्यसबाहेक वैदेशिक रोजगारीले पनि धेरैलाई मोटरसाइकल किनेर साइकलबाट मुक्ति लिने हैसियतमा पुर्यायो । यसबाहेक साइकलमैत्री पूर्वाधारमा ध्यान नदिँदा साइकलप्रेमीहरु पनि अरु विकल्प रोज्न बाध्य छन् ।

साइकलको गुनै गुन

समथर चितवनमा साइकल चलाउन सजिलो छ तर, अब जमाना फेरिएको छ । अन्यत्रका मानिस जस्तै चितवनेहरुमा पनि पाइडल पेल्ने जाँगर हराएको छ ।

अब केही वर्षमा चितवनमा काठमाडौंमा जस्तै साइकल इतिहास बन्ने साइकल चलाउँदै चौबिसकोठी चोक आइपुगेका आचार्यले बताए । ‘अनि मान्छे पनि काठमाडौंको जस्तै धुँवाधुलोले रोगी हुन्छन्’, उनले भने, ‘मान्छेले जति साइकल बिर्सिदै जान्छ, उति अस्पताल थपिँदै जान्छ ।’

नारायणगढमा भेटिएका शरण लामाले अहिले साइकल कति हेपिएको छ भन्ने सुनाए । आजभोलि साइकल चलाउँदा गाडी र मोटरसाइकल चालकले नै हेप्ने उनले बताए । ‘न पेट्रोल चाहिने न चालक अनुमतिपत्र । जति चलायो उति स्वस्थ रहन सघाउने साइकललाई सबैले हेपेका छन्’, लामाले भने, ‘सडकहरु साइकल लेन पनि राख्दैनन्, गाडी र बाइकले ठक्कर देलान् भनेर थर्कमान हुँदै हिँड्नुपर्छ ।’

चितवनको अहिलेको युवा पुस्ता साइकल चढेरै हुर्किएको हो । यो पुस्ताले पनि साइकलको गुन बिर्सिएजस्तो देखिन्छ । अहिले त कमजोर आर्थिक अवस्थाकाहरु मात्र सवारी साधन बनेको छ साइकल ।

कालिका नगरपालिकाको पदमपुरबाट हरेक बिहान साइकलमा मजदुरी गर्न आउनेको ताँती देखिन्छ । भरतपुर र नारायणगढ क्षेत्रमा दूध र तरकारी बेच्न पनि मोटरसाइकल प्रयोग हुन्छ । त्यस्तै, चितवनका भित्री गाउँहरुमा घाँस–दाउरा, दूध बोक्न र विद्यालय जान साइकलको बाक्लै प्रयोग छ ।

फर्केर हेर्दा

चितवनमा २०१० सालबाट साइकल भित्रिन थाल्यो । त्यसबेला अहिलेका हुनेखानेहरुको घरमा हुन्थे रेडियो र साइकल । चितवन–नवलपुर साइकल व्यवसायी संघका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा कोही साइकलमा आएको देख्दा बाटामा उभिएर हेर्ने धेरै हुने गरेको सम्झन्छन् ।

उनका अनुसार, साइकल किन्न भारत जानुपथ्र्याे । अहिले जस्तो प्रशस्त पैसा नभएकाले सबैले साइकल किन्न सक्दैनथे । ‘२०१५ सालपछि चाहिँ नारायणगढमै साइकल पसल खुल्न थाले’, सापकोटा भन्छन्, ‘पहिलो साइकल पसल खोल्ने नारायणप्रसाद श्रेष्ठ हुन् ।’

सापकोटाका अनुसार, २०१७ सालमा जीतबहादुर कार्कीले ‘जेबी साइकल’ खोले । २०२२ मा पटिहानीमा ठाकुरप्रसाद गिरीले साइकल मर्मत पसल खोले, जुन पोहोर बन्द भयो । २०२४ सालमा रितुप्रसाद पौडेलले नारायणगढमा साइकल पसल खोल्दासम्ममा चितवनमा साइकल घर व्यवहारमा अत्याश्यक साधन भइसकेको थियो ।

२०४० सालको सेरोफेरोबाट साइकल चढ्नेको संख्या ह्वात्तै बढेको संघका निवर्तमान सापकोटा बताउँछन् । ‘पछि त नारायणगढले ‘साइकलको सहर’ उपमा नै पायो’, उनी भन्छन्, ‘हुँदा हुँदा चितवनमा साइकल चलाउन नजान्ने केटीको बिहे हुँदैन भन्नेसम्म भयो ।’

सापकोटाका अनुसार, २०५० को दशकमा चितवनमा साइकल ब्यापार आकशिएको थियो, जुन ०६० को दशकबाट कम हुँदै गयो । ५० को दशकको उत्तरार्धतिर चितवनको कुल युवा जनसंख्याको ९० प्रतिशतले साइकल चढ्ने अनुमान गरिन्थ्यो ।

तर, अहिले साइकल पसलहरुलाई टिक्न मुस्किल भएको छ । चितवन र नवलपुर क्षेत्रमा अहिले नयाँ साइकल बेच्ने पसल एकसयको हाराहारीमा छन् । मर्मत गर्ने पसलसहित जिल्लाका ५५० व्यवसायी संघमा आवद्ध छन् ।

२०६१ सालमा स्थापित चितवन साइकल व्यवसायी संघमा गत वर्ष नवलपुरका व्यवसायी पनि समेटिए । संघका निवर्तमान अध्यक्ष सापकोटाले माडीमा गत वर्ष चारवटा पसल बन्द भए ।

‘पसल बेच्नुपर्ने भयो’

अहिले चितवनका साइकल पसलमध्ये धेरैजसोका संचालक बाबुले सुरु गरेको व्यवसाय भएकोले वाध्यताबश चलाएको बताउँछन् । तिनैमध्येका एक हुन्, भरतपुर हाकिमचोकको सफी साइकल पसल सञ्चालक सफी मियाँ । उनले भने, ‘बुवाको पालामा साइकल बेचिन्थ्यो अहिले पसल नै बेच्नुपर्ने अवस्था आएको छ ।’


अहिले साइकल होइन, बालबच्चाका लागि ट्राइ साइकल बेचेर धेरैको पसल धानिएको मियाले बताए । ‘गाडी गुडाउन सडक चाहिने साइकल चढ्न ट्रयाक नचाहिने रहेछ’ मियाले भने, ‘सबै सडकमा साइकल ट्रयाक नबनाए अब साइकल पुरै हराउँछ ।’

पूर्वी चितवनको टाँडीमा गत २५ वर्षदेखि साइकल ब्यवसाय गर्दै आएका निर्मल श्रेष्ठ पनि बुबाले गरेको काम भनेर मात्र नछाडेको बताउँछन् । ‘यहाँ यत्रो सडक विस्तार भयो, साइकललाई डेडिकेटेड ट्रयाक दिइएन’, उनी भन्छन्, ‘अब ज्यानको माया मारेर को चढ्छ साइकल ?’

चलाउनै डर मर्नू

माडीका गंगाबहादुर विश्वकर्माले भरतपुर वाइपासमा साइकल मर्मत पसल चलाएको १२ बर्ष भयो ।

पहिला दैनिक दुईहजारसम्म कमाइ गर्ने उनले अहिले पाँचसय पनि नहुने बताए । ‘तर, जानेको काम यही छ, अरु के गर्ने ?’ उनी भन्छन्, ‘त्यसमाथि साइकल लिएर सडकमा हिँड्न पनि गाह्रो भयो, मार्देलान् कि भन्ने डर छ ।’

साइकलमा हिँड्ने भरतपुर १० का चन्द्रमान गुरूङ पनि अहिले सडकमा साइकल चलाउनेहरुलाई जोगिएर हिँड्नै मुस्किल भएको बताउँछन् । ‘एक त सडकमा साइकल लेन छैन, त्यसमाथि अहिलेका मानिस धेरै सोखिन भए’, उनले भने, ‘अलिकति जग्गा बेच्दा पनि पैसै–पैसा हुन्छ, कसले चढ्ने दुखिया साइकल ?’

नीति मात्रै


स्वस्थकर र वातावरणमैत्री साधन भएकाले साइकल संस्कृतिलाई अभियानको रुपमा अघि बढाउनुपर्छ भन्नेहरु पनि छन् । भरतपुर महानगरलाई ‘साइकल सिटी’ बनाउनुपर्ने आवाज पनि बेलाबखत उठने गरेको छ ।

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधान सडक बनाउँदा वा विस्तार गर्दा साइकल लेन नबनाउनुलाई दुःखद भन्छन् । तर, भरतपुर महानगरले चालु आर्थिक बर्षमा ‘क’ र ‘ख’ वर्गका सडकमा साइकल लेन बनाउने योजना पनि कागजमै सीमित छ ।

मेयर रेनु दाहाल महानगरभित्र बन्ने ठूला सडकमा साइकल लेन राखिने बताउँछिन् । महानगरले बनाउने चक्रपथ र लिंकरोडमा साइकल लेन थप्ने योजना रहेको उनको भनाइ छ ।

पर्यटन व्यवसायीहरुको पनि यही माग छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog