Tuesday, April 30, 2019

एउटा साथीको साथले कति, फरक पार्दछ जिन्दगीमा

प्रविण श्रेष्ठलाई चिनाउने एउटा विशेषण छ, चलचित्र ‘मोक्ष’का निर्देशक । उनको यो चलचित्र समीक्षात्मक दृष्टिले औधी रुचाइयो । चलचित्रमा उनको अनुभव र अनुभूतिको संगालो थियो । अर्थात एउटा गायक बन्ने सपनामा तैरिरहेका तन्नेरीको जीवनमा हठात् आइपर्ने व्यवधान ।

त्यसबेला प्रविण अल्लारे वैंशमा थिए । सांगीतिक व्यान्ड खोल्ने लहड थियो । उनी गीत-संगीतमै साधनारत थिए । साथीसंगी मिलेर सांगीतिक समूह बनाएका थिए । गाउँथे । सानोतिनो कन्सर्ट गर्थे । उनीहरुको सपना थियो, ‘हाम्रो ब्यान्ड कुनैदिन चर्चित बन्नेछ । हाम्रा गीतहरु हिट हुनेछन् ।’

तर, उनीहरुको यो सपना भताभुंग पार्नेगरी एकरात भयानक आँधी आयो । दशैंको बेला । घटस्थापनाको केही दिन अघि । महाराजगञ्ज बाटोमा उभिरहेका प्रविणमाथि अचानक आक्रमण भयो । मोटरसाइकलमा आएका केही युवाहरुले उनीमाथि अन्धधुन्ध चक्कु र रड बर्साउन थाले । उनी रक्ताम्मे भए । त्यही ढले । अर्धमूर्छित !

होश खुल्दा उनी अस्पताको शैयामा थिए । आक्रमण गर्ने युवाहरुसँग उनको कुनै लिनुदिनु थिएन । न दुश्मनी थियो । न त चिनजान नै । अरु नै व्यक्ति ठानेर उनीमाथि आक्रमण भयो । त्यसपछि उनी कहिल्यै ठिंग उभिन नसक्नेगरी थलिए । उनी मेरुदण्डको पक्षघातले थलिए, सधैका लागि ।

यसरी वैंशालु उमेरमा, सप्तरंगी सपना देखिरहेका बेला अचानक आइपरेको यस्तो विपत्मा बचाउन उनलाई साथीहरुले ठूलो सहयोग गरे । उनले अस्पतालको शैयाबाट त बिदा पाएका थिए । तर, घरभित्र पनि एउटै कोठामा खुम्चिएर बस्नुपर्ने अवस्था रह्यो ।

दिनरात, महिनौ एउटै कोठामा थुनिएर बस्नुपर्दा उनलाई अत्यास लागेको थियो । जीवन उदास र उराठ लागेको थियो । तर, त्यस घडीमा उनलाई आफ्ना साथीसंगीले यसरी साथ दिए कि, उनले आफ्नो सारा पीडा भुले ।

अतः पीडादायी क्षणमा साथीहरुले कति साथ र सहयोग गरे ? कति उर्जा र उत्साह दिए ? अनलाइनखबरसँग प्रविणले यसरी सुनाए ।

म डिप्रेसनग्रस्त हुँदै थिएँ

मेरो आँखा खुल्दा शिक्षण अस्पताल महारजगञ्जको बेडमा थिएँ । त्यहाँको पट्यारलाग्दो बसाईपछि मलाई घरमा लगियो । सग्लो घरबाट निस्किएको म अशक्त भएर घरभित्र प्रवेश गर्दै थिएँ । ठिंग उँभिन सक्ने अवस्थामा थिइन । मन लागेको ठाउँमा आउजाउ गर्न पनि ह्वील चियरको साहारा लिनुपर्ने भएको थियो ।

आफ्नै हालत देखेर मलाई दुःख लाग्थ्यो । अब कहिल्यै उठ्न पाउँदिन भन्ने कुराले भित्रभित्रै पिरोल्थ्यो । दिनभर त साथीहरु आएर रमाइलो गर्थे । तर, साँझ पर्दै गएपछि उनीहरु आ-आफ्नो घरतिर लाग्थे । म एक्लो हुन्थे । यतिबेला मलाई आफ्नै जीवन बोझ लाग्थ्यो ।

जति-जति रात पथ्र्यो, मलाई छटपटी हुन्थ्यो । उकुसमुकुस हुन्थ्यो । त्यो कालो र चिसो रातले मलाई अशान्त बनाउँथ्यो । बेचैन बनाउँथ्यो । यहि क्रममा म विस्तारै डिप्रेसनको रोगी भएँ ।

साथले कति फरक पार्दछ जिन्दगीमा

त्यसबेला म भित्रभित्रै मरिसकेको थिएँ । मेरो शरीर यसै शिथिल थियो । मन त्यो भन्दा बढी छियाछिया भइसकेको थियो । मलाई आफ्नै जीवन बोझ लाग्न थालेको थियो ।

हो, यहीबेला मेरा साथीहरुले मलाई साथ दिए । साथी भनेको के हो ? साथीको महत्व के छ ? यतिबेला म महसुष गरिरहेको थिएँ । वास्तवमा उनीहरुले मलाई बाँच्ने उर्जा र उत्साह दिइरहेका थिए ।

यदि साथीहरु नभइदिएको म के हुन्थे होला ? सोच्नपनि सकिदैन ।

म थलिएर कोठाभित्र थुनिएका हुन्थे । घरमा साथीहरु पालैपालो आउथे । उनीहरुको पनि काम हुन्थ्यो होला, पढाइ हुन्थ्यो होला । मसँग बस्ने समय नहुँदो हो । तर, उनीहरुले आफ्नो आफ्नो कामभन्दा बढी मलाई महत्व दिए ।

उनीहरु आएर दिनभर मेरो घरमा बस्थे । रमाइला रमाइला गफ गर्थे । उनीहरुको गफ सुन्दा म आफ्नो पीडा भुल्थें । मलाई आफु पनि सग्लो र सक्षम छु भन्ने पथ्र्यो ।

साथीहरुलाई थाहा थियो, म पीडामा डुबेको छु । म निरासाले थिचिएको छु । म अत्यासले आत्तिएको छु । त्यही कारण उनीहरु मसँग उत्साहका कुरा गर्थे । उर्जाका कुरा गर्थे । सपनाका कुरा गर्थे । उनीहरुको कुरा सुनेर मेरो शरीरमा बेग्लै फुर्ति जाग्थ्यो । मरिसकेको मेरो मन तङ्गि्रन्थे ।

‘छाडिदेउ, उसलाई सहयोग नगर’

एकपटक म पलंगबाट भुँइमा खसें । उठ्न सक्दिनथे । साथीहरुले उठाउन खोजे । त्यहीबेला मोहन भन्ने साथीले भने, ‘छाडिदेउ, उसलाई सहयोग नगर ।’

म अरु दुःखी भएँ ।

सधै साथ र सहयोग गर्ने साथीले किन मलाई आज उठाएन ? किन उनीहरु मप्रति यति धेरै निष्ठूरी भए ?

उनीहरुले मलाई हरदम सहयोग गर्थे । ह्वील चियरमा राख्ने, उठाउने, डोहोर्‍याउने सबै काम गरिदिन्थे । उनीहरुको यस्तो सहयोगले म पुलपुलिएको रहेछु । आफै केही गर्नै नसक्ने भएको रहेछु । सबै काम साथीहरुलाई अह्राएर बस्ने भएको रहेछु । सामान्य कामका लागि पनि साथीहरुकै सहयोग खोज्ने भएछु । म पूर्णत परनिर्भर भएछु ।

त्यही कारण मोहनले मलाई त्यो मोडामा असहयोग गरेको रहेछ । त्यसबेला म उठ्न खोजे । शरीर अत्यान्तै दुख्यो । साथीहरुलाई सहयोग गर भने । तर, कसैले साथ दिएन । आखिरमा म आफै सकीनसकी उठें । पलङमा गएँ ।

खासमा मोहन लन्डन जाँदै थियो । त्यसबेलासम्म सबै काम उसैले गरिदिन्थ्यो । ऊ नभएको बेला मेरो हालत कस्तो हुन्थ्यो होला ? सायद यही सोचेर उनीहरुले मलाई आफ्नो काम आफै गर्न सक्ने बनाउन चाहे ।

उनीहरु चाहन्थे कि, आफुहरु नभएको बेला पनि प्रविण आफै उठ्न, सुत्न सकोस् ।

साथीहरुको यस्तै साथ र सहयोगले म आफ्नो काम आफै गर्न सक्षम भए । आज म ह्वील चियरमा हिँड्छु । तर, भिडियो निर्देशनदेखि सम्पादनसम्मको सम्पूर्ण काम आफै गर्छु । सामान्य कामका लागि मलाई कसैले सहयोग गर्नुपर्दैन । यसमा म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठको गुण विर्सन सकिदैन । उनले एकदिन हौसला दिदै भनेको थियो, ‘तिमी यहि बसेर पनि सबै काम गर्न सक्छौ, एडिटिङको, ग्राफिक्सको ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog