Thursday, April 18, 2019

ड्रिम टु प्ले वर्ल्डकप !

क्रिकेट मेरा लागि त्यो खुशी हो, जुन अरुबाट पूरा हुँदैन । अरुसँग तुलना पनि हुँदैन । मैदानमा हुँदाको समय नै मेरो जीवनको उत्कृष्ट समय हो । उठ्दा, बस्दा, खाँदा पनि सोचिरहेको हुन्छु, नेपालको लागि २० वर्ष खेल्छु । त्यसैको लागि मेहनत पनि गरिरहेको छु ।

२०१५ देखि ०१७ सम्म विश्व क्रिकेट लिगमा खेलिरहेको बेला म काठमाडौंमा दुईवटा एकेडेमीमा क्रिकेट सिकाउन पनि जान्थेँ । त्यो बेला सिक्ने भाइहरुसँग भनेको थिएँ, ‘अर्को पटक जब म तिमीहरुलाई भेट्छु, हामीसँग एकदिवसीय मान्यता हुनेछ । तिमीहरुले क्रिकेट खेल्ने समयमा एकदिवसीय र टेस्ट पनि खेल्छौ ।’

यो मैले सोचेर बोलेको थिइनँ । मनमा विश्वास त थियो तर, उनीहरुको हौसला बढाउन भनिदिएको थिएँ । अहिले हामी एकदिवसीय खेलिरहेका छौं, अब टेस्टमा पुग्छौं पनि । अगाडि हेरेर मेहनत गरिरहेकै छौं । अझ धेरै छन् गर्नुपर्ने कामहरु ।

****

सुरुमा मेरो एउटा बानी सुनाउँछु, जसले मेरो खेल जीवन र अरु स्वभाव पनि तपाइँले बुझ्नुहुन्छ । म हरेक दिन डायरी लेखिरहेको हुन्छु । डायरी लेखिरहँदा नेपालको सफलतामा मैले के योगदान गर्न सकेँ भनेर थाहा हुन्छ र त्यसले मलाई खुशी पनि दिन्छ । किनभने ऐनामा अनुहार हेर्दा पनि आफूले गरिरहेको मेहनतमा गर्व हुनैपर्छ ।

भारतमा विद्यालयस्तरी खेल खेल्ने बेलादेखि नै डायरी लेखिरहेको छु । पहिलेको डायरी र अहिलेको डायरीमा धेरै भिन्नता आइसकेको छ । पहिले स्कूलमा खेल्ने बेलाका कुराहरु लेखिरहेको हुन्थेँ, अहिले राष्ट्रिय टिममा खेलेका कुरा डायरीमा छन् । पहिले लेख्दा विश्वकप खेल्ने सपना थियो । अहिले हरेक दिन चुनौती छ । त्यही चुनौती पनि रमाइलो लाग्छ । राष्ट्रिय टिममा भएपछि जिम्मेवारीहरु पनि धेरै हुन्छन् ।

अहिलेसम्म दुईवटा डायरी भरिएको छ । त्यसमा पनि पहिलेका पानाहरुमा हेर्ने हो भने सिसाकलमका अक्षर भेटिन्छन् । त्यसपछि निलो डटपेन, रातो डटपेन हुँदै कालो डटपेनका अक्षरहरु छन् । पहिले हिन्दीमा लेख्थेँ, त्यसपछि पञ्जाबीमा लेखेँ, अहिले अँग्रेजीमा लेखिरहेको छु । आफ्नो राम्रो प्रदर्शनबारे लेखिएको ठाउँमा अलिकति ‘हाइलाइट’ गर्छु । त्यो हेर्दा अझै राम्रो कसरी गर्ने भन्ने सोचिरहेको हुन्छु ।

डायरीमा क्रिकेटबाहेक अरु केही लेेख्दिनँ । तीन वटा तस्वीर राखेको छु । एउटा मेरो हजुरआमाको, एउटा सचिन तेन्दुल्करको र अर्को आफ्नै यू-१४ मा खेल्ने बेलाको तस्वीर छ । पत्रपत्रिकामा आएका केही समाचारका कटिङहरु पनि छन् । म विगतमा कहिल्यै फर्किन्न । जे भयो भयो । अब अगाडि के गर्ने भन्नेमा धेरै सोच्छु । त्यसैले अहिले डायरीमा केही लेखेपछि अन्तिम लाइनमा लेख्छु, ‘ड्रिम टु प्ले वर्ल्डकप’ ।

****

बाबा भारतमा बसेर काम गर्नुहुन्थ्यो, ममी नेपालमा । पढाईका लागि भनेर म पनि भारत गएँ । १० वर्षसम्म बाबासँग बसेँ । तर, क्रिकेट खेल्न सहज भने भएन । खेल सामग्रीहरु असाध्यै महँगो थियो । ब्याट, प्याड, बल सबै कुरा जुटाउन समस्या हुन्थ्यो । यू-१४ मा पहिलोपटक खेल्ने बेलामा समेत मसँग जुत्ता थिएन ।

क्रिकेट एकेडेमीमा ७ हजार रुपैयाँ बुझाउनुपर्थ्यो । म सबैभन्दा सस्तो ५ सय रुपैयाँ जाने ब्याटले खेल्थेँ । हरेक दिन खेलिसक्दा ब्याट भाँचिएकै हुन्थ्यो । त्यसमा किला ठोकेर ठीक पार्‍यो, अनि फेरि खेल्यो । यस्तै गर्दै चलिरहेको थियो मेरो क्रिकेट ।

तर, क्रिकेटको ज्ञान भने थियो । प्रशिक्षक प्रमोद कुमारको साथ र सिकाइले मैले आफ्नो खेल निखार्दै लैजाने अवसर पाएँ । क्रिकेट खेल्दै गएपछि विस्तारै पढाइमा पनि छात्रवृत्ति पाउँदै गएँ र बाबाले ममीलाई पनि भारतमा लैजान सक्नुभयो र हामी एकै ठाउँमा भयौं ।

त्रिकेटमा सहयोग पनि पाउँदै गएँ । कसैले ब्याट दिन्थे, कसैले प्याड दिन्थे, कसैले जुत्ता दिन्थे । त्यसले गर्दा एकदिन म राम्रो खेलाडी बन्छु भन्ने विश्वास बलियो बनिरहेको थियो । जहिलेदेखि क्रिकेटमा राम्रो गर्छु भन्ने सोचेँ, त्यो दिनदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्छु भन्ने सोच थियो । त्यो कसरी पूरा हुन्छ भन्ने चाहीँ थाहा थिएन ।

भारतमा एउटा आईपीसीएल भन्ने प्रतियोगिता खेल्न गएको बेला महबुब आलम दाइसँग भेट भयो । नेपाली हो भन्ने थाहा पाएपछि उहाँले नेपालमा गएर खेल, राम्रो हुन्छ भन्नुभयो । त्यसैले मैले नेपालमा नै गएर खेल्नुपर्छ भन्ने सोचेँ ।

मलाई नेपाल ल्याएको भने साथी अर्जुन अधिकारीले हो । नेपाल आउने बेलामा मसँग १६ हजार रुपैयाँ थियो । त्यतिले कति दिन पुग्छ थाहा थिएन । ममी-बाबाले पनि ‘नचिनेको ठाउँ काठमाडौंमा तिमीलाई अप्ठ्यारो हुन्छ’ भनिरहनु भएको थियो । तर, मलाई भने क्रिकेट खेल्नु थियो । बाबालाई त केही भनिनँ, तर ममीलाई भनेको थिएँ, ‘जबसम्म नेपालका लागि खेल्दिनँ, तबसम्म भारत फर्केर आउँदिनँ ।’

त्यसो भन्नुको पछाडि कहिँ न कहिँ मेरो मनमा राष्ट्रिय टिमका लागि खेल्छु भन्ने विश्वास थियो । राष्ट्रिय टिममा स्थान पाइनँ भने पनि घरेलु क्रिकेटमा त राम्रो खेल्छु भन्ने थियो ।

काठमाडौंमा आएपछि सन् २०१४ मा पहिलोपटक क्षेत्र नम्बर ३ बाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेल्न पाएँ । दुई शतक बनाएँ । बलिङ पनि राम्रो भयो । त्यसले नेपाल आएको दुई महिनामै राष्ट्रिय टिमको बन्द प्रशिक्षणको ढोका खुल्यो । ‘जर्नी टु वर्ल्डकप’ भन्ने प्रतियोगितामा त मैले ४ खेलमा १० विकेट लिएँ ।

****

नेपाल आउनुभन्दा अघि म ब्याट्सम्यान थिएँ । किनभने मेरो प्रशिक्षक पनि ब्याटिङ प्रशिक्षक हुनुहुन्थ्यो । नेपाल आएपछि यहाँ फास्ट बलरको आवश्यकता रहेको बुझेँ । तर, बलिङमा धेरै कुरा थाहा थिएन । दौडिने र बल फाल्ने मात्र भइरहेको थियो । स्कुलस्तरीय खेलमा फास्ट बलिङ सीधा स्टम्पमा गरिदिँदा विकेट आइहाल्थ्यो ।

तर अन्तर्राष्ट्रिय स्तरमा त्यसरी हुँदैनथ्यो । ब्याट्सम्यानलाई आउट पार्न कि त डर देखाउन सक्नुपर्छ कि उपयुक्त योजना बनाउन सक्नुपर्छ । त्यसैले पनि मेहनत राम्रो गर्नुपर्छ, १४० को स्पिडले मात्र हुँदैन भन्ने मलाई थियो । पुबुदु दासानायके सरसँग पनि मैले कसरी अगाडि बढ्ने एउटा योजना दिनुहोला भनेर कुरा गरेँ । उहाँले दिएको योजना हरेक दिन सुत्नु अगाडि हेर्थेँ । सुरुको ओभरमा यस्तो गर्छु, अन्तिम ओभरतिर यस्तो गर्छु भनेर सोचिरहन्थेँ । किनभने मेरो सिक्ने समय नै त्यही थियो ।

पहिलोपटक राष्ट्रिय टिमको क्याम्पमा परेको बेला १७ वर्षको थिएँ । भाषाकै कारण डर पनि लागेको थियो । जुत्ता पनि थिएन । जर्नी टु वर्ल्डकप प्रतियोगिता खेल्दा यू-१९ को राहुल प्रतापको जुत्ता मागेर लगाएको थिएँ । चन्द्र दाइ, अमित दाइ, पारस दाइले आफ्नो जर्सी दिनुभएको थियो । क्याम्पबाट म राष्ट्रिय टिममा पनि पुगेँ । नाम आउँदा विश्वास नै लागेन । दुई महिनामै राष्ट्रिय टिममा पुग्छु भन्ने थिएन ।

राष्ट्रिय टिममा परेको समाचारपछि लगातार फोन आयो । मिडियाहरुबाट धेरैले प्रश्न सोधिरहेका थिए, तर मलाई भने के बोल्ने, कसरी बोल्न थाहा थिएन । मेहनत गरेर नेपाली बोल्न थालेँ । अहिले त बानी परिसक्यो, काठमाडौं पनि रमाइलो लाग्छ ।

****

राष्ट्रिय टिमबाट पहिलोपटक २०१४ मा विश्वकप छनोट प्रतियोगिताको लागि न्युजिल्याण्ड गएँ । युएईविरुद्ध डेब्यू गरेँ । खेल हारे पनि डेब्यू म्याच भएकाले मेरा लागि महत्वपूर्ण थियो । दोस्रो खेलमा स्कटल्याण्डको तीन विकेट लिएँ, क्यानडासँग पनि तीन विकेट लिएँ । प्रतियोगितामा हामी सबैसँग हारे पनि सिक्ने अवसर भने धेरै भयो । लडेपछि नै उठ्ने हो, अब राम्रो गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ ।

त्यसपछि टी-२० विश्वकपको तयारीमा लागिहाल्यौं । २०१४ मै एसीसी प्रिमियर लिग खैल्यौं, एसियन गेम खेल्यौं, डिभिजन थ्रीमा खेल्यौं र उपाधि जित्यौं पनि । मेरो क्रिकेट करियरमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको वर्ष २०१४ नै होला ।

२०१४ मै श्रीलंकामा भएको हङकङविरुद्धको टी-२० मा दशौं नम्बरमा आएर सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएँ । त्यो बेला ३१ बलमा ४० रन बनाएको थिएँ । खेलिरहेका बेला त कीर्तिमान बनेको थाहा थिएन । आफूले कसरी योगदान गर्न सक्छु भन्ने थियो, तर खेलपछि कीर्तिमान नै बनेको थाहा पाएँ । मेरो व्यक्तिगत कीर्तिमान बने पनि टिम हारेका कारण नरमाइलो लागिरहेको थियो ।

२०१५ मा डिभिजन टूमा तेस्रो भयौं । २०१५ देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यौं । त्यसमा सातौं भएर फेरि २०१८ मा डिभिजन टू नै खेल्यौं । डिभिजन टूमा दोस्रो भएर विश्वकप छनोट खेल्यौं र एकदिवसीय मान्यतासम्म पुग्यौं । यो सबैमा आफूले धेरथोर योगदान दिएको पाएकाले असाध्यै खुशी लाग्छ ।

****

क्रिकेटमा हरेक बल महत्वपूर्ण छ । मैदानमा हुँदामात्र होइन, मैदान बाहिर पनि क्रिकेटबारे नै सोचेर बसिरहेका हुन्छौं । करण, दीपेन्द्र, ललित, अभिनाश, रोहित, सन्दीप जोरा सबैसँग यही कुरा गरिरहेको हुन्छु । किनकी क्रिकेट भनेको ब्याट बलको खेल मात्रै होइन । नेपालको राष्ट्रिय टिम एउटा परिवारजस्तो बनेर अगाडि बढ्ने वातावरण सिनियर दाइहरुले बनाइदिनु भएकोछ, जसलाई हामी पछ्याइरहेका छौं ।

कुनै समयमा कोही चल्यो, कुनै समयमा चल्दैन । तर, नेपालको यहाँसम्मको यात्रामा सबैको योगदान छ । दाइहरु पारस, ज्ञानेन्द्र, शरद, बसन्त, शक्तिको क्रिकेट प्रेमले हामीलाई पनि उत्साह भर्छ, जितको भोक कसरी जगाउने सिकेका छौं ।

उहाँहरुकै प्रेरणाले अहिले ब्याटिङमा पनि फोकस गरिरहेको हुन्छु । म आएको वर्षदेखि नै शक्ति गौचन दाइले ब्याटिङ गर्न लागि हौसला दिइरहनु भयो । शक्ति दाइ असाध्यै शान्त मान्छे । चार वर्ष उहाँको ‘रुम पार्टनर’ हुन पाएकाले पनि धेरै कुरा सिकेँ ।

शक्ति दाइबाट केसम्म सिकेँ भन्ने रमाइलो कुरा सुनाउँछु । म घरमा सधैँ हातले नै खाना खान्छु । राष्ट्रिय टोलीमा परेर खेल्न विभिन्न देशमा जान थालेपछि चम्चाले खानुपर्ने भयो । चम्चाले खाँदा जहिल्यै प्लेटमा चम्चा ठोक्किएको आवाज आउथ्यो… ‘किँकिँ टी किँकिँ जस्तो सुनिन्थ्यो । यसलाई राम्रो नमानिदोरहेछ । रुम पार्टनर भएर बस्दा शक्ति दाइले कसरी आरामले खानेदेखि सुत्ने, उठ्ने सबै सिकाउनुभयो । शक्ति दाइलाई मैले सिकाउन पाएको एउटै कुरा भनेको लुगा लगाउन हो ।

शक्ति दाइसँगै याद आइरहने पार्लेजी बिस्कुट हो । भोक लागेको छ र शक्ति दाइ नजिकै हुनुहुन्छ भने ढुक्क ! किनकी उहाँको झोलामा स्याउ, पार्लेजी बिस्कुट, पानी सबै हुन्थ्यो ।

टिमका अरु साथीसँग पनि रमाइलो गरिरहेको हुन्छु । यसले टिमलाई एकढिक्का बनाउन र सबैलाई सहज महसुस गराउन ठूलो भूमिका खेलिरहेको हुन्छ । करण केसीसँग त म कतै गएको छु, कुनै कुराको चिन्ता हुँदैन । उसले केही किन्दा मैले पैसा तिरिदिएको हुन्छु, मैले किन्दा उसले तिरिदिएको हुन्छ । कतै खान जाँदा पनि त्यस्तै हुन्छ ।

तर सकेसम्म करण केसीसँग सपिङ गर्न भने कोही नजानु, हाहाहा … किनभने, तपाईँले जे किन्नुहुन्छ, उसले पनि त्यही किनिदिन्छ । कतै निस्कँदा जुम्ल्याहा दाजुभाइ जस्तो लाग्छ ।

सिद्धान्त लोहनीसँग सपिङ गर्न जाँदा चाहिँ सामान बोक्न तयार भएर जानुपर्छ, किनकी उ असाध्यै सामान किन्छ । पारस दाइहरु पनि पार्टीहरुमा बोलाइरहनु हुन्छ । यसले देखाउँछ कि हाम्रो टिम कसरी एउटा परिवारजस्तो वातावरणमा हुर्किएको छ ।

****

हामी तीन भाइमा म जेठो । माहिला भाइ पुरन पनि क्रिकेट खेल्छ । सानो भाइ सुरज भने मोडलिङमा इच्छा राख्छ । अहिले मैले लगाउने लुगाहरु पनि उसकै छनोटको हो । राष्ट्रिय टिममा जस्तै परिवारमा पनि अहिले रमाइलो वातावरण छ ।

कतै खेल्न जानुभन्दा अगाडि बाबा-ममीलाई फोन गर्छु । तर, ममीलाई समय दिन नपाएकोमा भने अलि नरमाइलो लाग्छ । सधैँ खेलमा मात्र हुँदा ममीसँग धेरै बस्न पाएको छैन ।

मेरो बाबालाई पनि क्रिकेट मन पर्छ । तर, उहाँले कहिल्यै छोराले क्रिकेट खेल्नसक्छ भनेर सोच्नु भएको रहेनछ । मलाई याद छ, राष्ट्रिय टिमको पहिलो प्रतियोगितामा राम्रो हुन नसक्दा उहाँले भन्नु भएको थियो, ‘यहाँ त राम्रो खेलेर ट्रफी ल्याइरहेको हुन्थ्यौ त । राष्ट्रिय टिममा चाहिँ के भयो ? खै त राष्ट्रिय टिममा खेलेको ?’

डिभिजन थ्रीमा राम्रो गरेपछि खुशी हुनुभयो ।

पहिले भारतमा खेल्ने बेलाका साथीहरुसँग पनि कुराकानी भइरहन्छ । अहिले आईपीएलमा खेलिरहेका सन्दीप शर्मा, सिद्धार्थ कौल, अनमोल प्रित सिंह मेरा साथीहरु हुन् । मैले नेपालको राष्ट्रिय टिमबाट खेलिरहँदा उनीहरु पनि खुसी हुन्छन् । क्रिकेटले मलाई जीवनमा धेरै कुरा दिएको छ । क्रिकेट भएन भने के हुन्छ भन्ने सोच्न पनि सक्दिनँ । अब मेरो डायरीमा लेख्न बाँकी छ, नेपालले खेलेको एकदिवसीय विश्वकप र टेस्ट । त्यो अवश्य लेखिने छ । एकदिन हामी त्यो उचाइमा हुने छौं ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : विकास श्रेष्ठ

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को ३२ औं श्रृङ्खलामा यो हप्ता क्रिकेटर सोमपाल कामीको कथा प्रस्तुत गरिएको हो ।)

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog