Thursday, April 18, 2019

नेपाली फिल्मको स्क्रिप्टः ‘लेख्दा एउटा, बनाउँदा अर्को’

नेपाली चलचित्र हेर्दै गर्दा दर्शक निदाउन थाल्छन् । कतिपय मोबाइल चलाउन थाल्छन् । कतिपय चलचित्र हेरिसकेपछि अब नेपाली चलचित्र नै नहेर्ने भन्दै बाहिरिन्छन् । नेपाली चलचित्रमा देखिएको मुख्य समस्या नै यही हो कि दर्शकलाई पूर्ण रुपमा बाँधेर राख्न नसक्नु । यसको मुख्यकारण हो, स्क्रिप्टको कमजोरी ।

चलचित्रको मेरुदण्ड नै स्क्रिप्ट हो । अझ भनौ, एउटा चलचित्रको आधा प्रतिशत काम भनेकै स्क्रिप्ट हो । त्यसलाई पर्दामा चलायमान बनाउन मात्र त हो, छायांकन गरिने । तर, नेपाली चलचित्रको स्क्रिप्ट कमजोर हुँदा दर्शकले नाक खुम्च्याएर निस्कनु परेको छ ।

हुनत, यसमा स्क्रिप्ट लेख्ने व्यक्तिको मात्र दोष छैन । लेखेको अनुसार चलचित्रको पर्दामा निकाल्न नसक्ने निर्देशक पनि यो दोषका बराबर भागिदार हुन् । स्क्रिप्ट लेखनमा सक्रिय सामिप्याराज तिमिल्सिनाका अनुसार, चलचित्रलाई पर्दामा ल्याउँदा निर्देशकले स्क्रिप्टको मर्म नै मारिदिन्छन् । कहिलेकाही आफ्नो चलचित्र हेर्न आफैलाई लाज लाग्ने तर्क उनको छ ।

सामिप्यले संझदै भने–‘कुरा २०७१ साल भदौमा रिलिज भएको चलचित्र ‘ठुली’को हो । यसको कथा मैले तयार पारेको थिएँ । तर, मैले लेखेको जस्तो चलचित्र पर्दामा देखिएन । आफूले लेखेको चलचित्र हेर्न हल पुग्दा म आफै चकित परेको थिएँ । चलचित्रमा फाइटको दृश्य कतै थिएन । तर, उहाँहरुले फाइट नै फाइट राखिदिनुभएछ ।’

के यसरी स्क्रिप्टलाई परिवर्तन गर्न मिल्छ सामिप्यले भने–‘निर्देशकलाई परिवर्तन गर्ने हक हुन्छ । तर, परिवर्तन गर्ने हक छ भन्दैमा मनलाग्दी गर्न पनि मिल्दैन । स्क्रिप्ट लेखकलाई सोधेर मात्र परिवर्तन गर्नुपर्ने हो तर यहाँ त सोध्दै नसोधी काम हुन्छ । र यसको मर्मलाई नै मारिन्छ ।’

कथा लेख्नका लागि पनि निर्देशकले ठूलो दबाब दिने सामिप्यको अनुभव छ । उनले निर्देशकले कथा लिएर आउने र छोटो समयमा नै यसलाई मिलाइदिन भन्ने गरेको सुनाए । नेपालमा स्क्रिप्ट लेखक र निर्देशकविच ठूलो द्धन्द्ध देखिएको छ । लेखकलाई इज्जत नै नदिने अनुभव सामिप्यको छ । ‘केही अंश मिलाएको भरमा पूरा चलचित्र आफैले लेखेको हु भन्न थाल्छन् निर्देशक । सामिप्यले भने–‘ कथा लेख्नेले पनि निर्देशकलाई कमजोर सोच्छन् । द्धन्द्ध यहीबाट नै सुरु हुन्छ ।’
जे होस्, दर्शकले निर्देशक र स्क्रिप्ट राइटर बीचको द्वन्द्वलाई मतलब गर्दैनन् । उसले पूर्ण चलचित्र कस्तो बनेको छ, राम्रो पक्ष के र नराम्रो पक्ष के भन्ने मात्र मुल्याङ्कन गर्छ । अहिले धेरै दर्शक तथा चलचित्र क्षेत्रकै व्यक्तीहरुले पनि स्क्रिप्टमाथि नै औला उठाउने गरेका छन् ।

सामिप्य यो कुरालाई स्विकार पनि गर्छन् । ‘हो, अहिले राम्रो राम्रो स्क्रिप्ट छैन । तर, यसको दोष लेख्नेलाई मात्र पनि दिन मिल्दैन । यसमा निर्देशकको हात पनि उत्तीकै हुन्छ ।’

स्क्रिप्ट कमोजर हुनु र त्यसमा प्रश्न उठिरहनुमा दोषी निर्देशक पनि भएको सामिप्यको बुझाई छ । उनी भन्छन्–‘लेखकलाई काम लगाउने भनेको निर्देशकले हो । अनि स्क्रिप्ट राम्रो थिएन भने त्यसमा चलचित्र बनाउने आट किन गर्ने निर्देशकले ?’ स्क्रिप्ट राम्रो नभए त्यसलाई परिमार्जन तथा थप समय खर्चिनुपर्ने सामिप्यले बताए ।

सामिप्यको जस्तै अनुवभ अर्का लेखक प्रदिप भारद्धाजको पनि छ । उनले भने–‘मेरो तीन वटा चलचित्र ‘झ्यानाकुटी, पञ्चेबाजा र चङ्गा चेट’ मैले लेखेको जस्तै भएर आयो । तर, अरु चलचित्र त के के परिवर्तन हुन्छ हुन्छ ।’ ‘स्क्रिप्ट परिवर्तन हुन्छ । त्यसमा मलाई खासै ठुलो कुरा लाग्दैन । फेरि लेखेर छायांकन गर्न गाह्रो हुने भएपछि त्यसैलाई केही परिमार्जित गरेर छायांकन गरिन्छ ।’ भारद्धाजले भने ।

प्रदीपले चलचित्र ‘कृ’को कथा लेखेका थिए । तर, पर्दामा चलचित्र आइपुग्दा यति परिवर्तन भएर आयो कि चलचित्र हेरेर बाहिरिदा मुख छोपेर हिड्न पर्यो । उनी भन्छन्–‘फेरि परिवर्तन गर्न पाइन्छ भन्दैमा पुरै परिवर्तन पनि गर्न मिल्दैन ।’
उनले चलचित्र भनेको टिमवर्क भएको भन्दै कथा कमजोर हुनुमा सबैको दोष हुने बताए ।

‘स्क्रिप्ट राइटर दोशमुक्त कसरी हुने ?’, उनी भन्छन्–‘हाम्रो क्षेत्रमा व्यवसायिक भएर चलचित्र निर्माण गर्नेहरु एकदमै कम हुनुहुन्छ । केही मानिस मिलेर लगानी गर्ने र यो क्षेत्रलाई नवुझी आउने प्रचलन बढेको छ । त्यस्तो टिमबाट राम्रो चलचित्रको आश गर्न गाह्रो हुन्छ । लेखक सामिप्यराज स्क्रिप्टमा अझै लगानीको कमी भएको बताउँछन् । उनी भन्छन्–‘इन्भेष्टमेन्टमा पैसाको कुरा मात्र पर्दैन । समय र स्टोरीको खोजीमा पनि हामीले इन्भेष्ट गर्न जरुरी छ । अनि मात्र हामी माथि उठ्न सक्छौँ ।’  उनले चलचित्रको स्क्रिप्ट तयार गर्नका लागि एउटा सिंगो टिम नै लाग्नुपर्ने पनि बताए ।

त्यस्तै, लेखक तथा निर्देशक विनोद पौडेल चलचित्र राम्रो वा नराम्रो बन्नुको सम्पूर्ण दोष निर्देशकले नै लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘चलचित्रको जग भनेको स्क्रिप्ट नै हो । तर, स्क्रिप्ट मात्र सबथोक होइन । लेखिएको स्क्रिप्टलाई कसरी पर्दामा उतार्ने भन्ने कुरामा निर्देशक आफै सक्षम हुनुपर्छ ।’

कतिपय निर्देशकहरुले पूर्ण स्क्रिप्ट नलेखी चलचित्र तयार गर्छन् । त्यसअर्थमा स्क्रिप्ट नै मेरुदण्ड हो भन्ने पनि हुदैन । निर्देशकले चलचित्रको निर्देशन गर्न भन्दा अगाडि ‘म को हुँ, मैले केको लागि चलचित्र बनाउन लागेको हो, मैले के बनाउँन खोजिरहेको छु’ भन्ने कुरामा प्रष्ट हुनुपर्छ । सोही अनुसारको कथा आफै लेख्ने कि अरुलाई लेख्न लगाउने भन्ने बिषयमा निर्देशक प्रष्ट हुनुपर्ने पौडेलको तर्क छ । विनोद भन्छन्–‘यदी निर्देशकले यी कुराको उत्तर आफैमा पाउँछ भने उसले पक्कै राम्रो स्क्रिप्ट लेख्छ वा चुन्छ । र, चलचित्र पनि राम्रो बन्छ ।’

विनोदका अनुसार स्क्रिप्ट आफै लेखेपनि वा अरुलाई लेख्न लगाएपनि निर्देशकले नै यसको नेतृत्व गर्नुपर्ने उनको तर्क छ ।  ‘निर्देशकहरुमा चलचित्रको ज्ञानको कमी भएको देखिन्छ । ‘नाम र दाम कमाउने आशामा चलचित्र बनाउने धेरै भए तर, यस क्षेत्रलाई बुझेर चलचित्र बनाउनेको खडेरी नै लागेको छ । निर्देशकमा चलचित्रको ज्ञानको कमीले हामी पछि परेका छौँ ।’ बिनोद भन्छन् ।

चलचित्रकर्मी र चलचित्र क्षेत्रलाई हेर्ने हाम्रो अवधारणा निकै सानो भइरहेको विनोद बताउँछन् । ‘एक चलचित्र चल्यो भन्दैमा एउटै किसिमका चलचित्र बनिरहेका छन् । हामीले त्यो भन्दा माथि उठेर चलचित्र निर्माण गर्न सकेका छैनौँ । हामी कुवाको भ्यागुता जस्तै भएका छौँ ।’ उनले भने ।

नेपाली चलचित्र बारम्बार कथामा चुकेको छ । सानो कथालाई पनि मन छुने तरिकाले भन्न सकिन्छ । तर, यहाँ कथामा होमकर्व गर्न भन्दा पनि हतारमा चलचित्र बनाएर हतारमै रिलिज गर्ने र निर्माता फसाउने सोचमा धेरै निर्देशक लागेका छन् । स्क्रिप्ट राइटरहरु पनि हतार हतारमा चलचित्र लेखेर अर्कोे लेखिहाल्ने धुनमा लागेका छन् ।

केही दिन अगाडि अनलाइनखबरमा प्रकाशित एउटा लेखमा भनिएजस्तै, कथाले देखाउन खोजेको पात्र र परिवेशलाई सोही स्थानमा पुगेर खोज्न भन्दा पनि २–४ चुस्कीको सहारामा एउटा बन्द कोठामा बसेर स्क्रिप्ट लक गर्ने शैली नेपालमा छ । यहीकारणले नै हो, नेपाली चलचित्र हेरेर दर्शक सन्तुष्ट हुन सकेका छैनन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog