Thursday, April 18, 2019

फुच्चे स्याटेलाइटको चर्को हल्ला ! डुंगालाई पानीजहाज भनेजस्तै !

५ वैशाख, काठमाडौं । नेपाल सरकारले करिब २० अर्बको महंगो लगानीमा लगानीमा फ्रान्ससँग पहिलो स्याटेलाइट किन्ने गृहकार्य गरिरहेकै बेला विहीबार एकाएक खबर आयो- नेपालले अन्तरीक्षमा पहिलो स्याटेलाइट पठायो । र, प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको सगर्व घोषणासमेत गरे ।

अमेरिकाको हारवर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटकै रुपमा प्रचार गरिनु ‘डुंगालाई पानीजहाज भनेजस्तै’ भएको बताएका छन् ।

नानो स्याटेलाइट अन्तरीक्षमा पठाउने काम विश्वविद्यालयले पनि गर्ने भन्दै श्रेष्ठले यसमा धेरै हल्ला नगर्न सुझावसमेत दिएका छन् ।

श्रेष्ठले टि्वट गर्दै भनेका छन्- ‘नानो स्याटेलाइटलाई परम्परागत रुपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु डुंगा चलाएको कुरालाई पानीजहाज भनेर प्रचार गर्नुजस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है ! अल्लि हल्ला कम गर्ने कि ?’

एकातिर नेपाल सरकारले स्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको र अर्कोतर्फ नास्टको करिब डेढ करोड लगानीमा पहिलो स्याटेलाइट नेपालले अन्तरीक्षमा पठाएको समाचारले केही भ्रमहरु उत्पन्न गराएको छ ।

आखिर डेढ करोडको लगानीमै नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्न सक्छ भने फेरि ऋण गरेर २० अर्बको स्याटेलाइट फ्रान्सबाट किन किन्नु पर्‍यो ? आम जनमानसमा यो प्रश्न पनि उब्जाइदिएको छ नानो स्याटेलाइटको प्रक्षेपणले ।

भएको चाहिँ के हो ?

बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाँबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरीक्षमा पठाइएको हो । नेपालका साथै श्रीलंका र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरु अन्तरीक्षमा पठाइएको छ ।

यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्यांक रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन

नेपालले अन्तरीक्षमा पठाएको यो स्याटेलाइट संयुक्त राष्ट्र संघको फेलोसिपमा जापानको क्युटेक यनिभर्सिटीमा भू-उपग्रह प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयार पारेका हुन् । यसमा पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तरका विद्यार्थी हरिराम श्रेष्ठको योगदान छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले यो रकम जापान पठाइसकेको छ ।

यो नानो स्याटेलाइटलाई अमेरिकाको भर्जिनियाबाट यानमार्फत अन्तरीक्षमा पठाइएको हो, जसमा श्रीलंकाको नानो स्याटेलाइट रावण-१ र जापानको युगुईसुसमेत छन् ।

के छ विशेषता ?

नेपालले अन्तरीक्षमा पठाएको नेपालीस्याट-१ नामको यो नानो स्टाटेलाइटको तौल १ किलो ३३ ग्राम मात्र छ । यस्ता नानो स्याटेलाइटहरु बढीमा १० केजी तौलसम्मका हुन्छन् ।

यो पनि पढ्नुहोस पहिलोपटक अन्तरिक्षमा पठाइयो नेपालको मिनी स्याटलाइट

यो स्याटेलाइट लोअर अर्बिटमा बस्छ र पृथ्वीलाई फन्को मार्छ । यसको आयु बढीमा ३ वर्ष सम्म अनुमान गरिएको छ ।

नानो स्याटेलाइट नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने र इमेज डाटा खिचेर पृथ्वीमा पठाउने दाबी गरिएको छ ।

आकार हेर्दा खेलौना जस्तै लाग्ने यस्ता नानो स्याटेलाइटहरु विज्ञानका विद्यार्थीले बनाएर नमुना परीक्षणका लागि अन्तरीक्षमा पठाउने गर्दछन् । त्यसरी पठाइएका स्याटेलाइटको आयु थोरै हुने भएता पनि केही डाटाहरु पृथ्वीमा पठाउन काम लाग्ने गरेका छन् । यसमा क्यामेराका लागि डाटा संकलन र जीपीएस सिस्टम पनि हुन्छ ।

तर, यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्यांक रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन ।

कहाँ पुग्यो २० अर्बमा स्याटेलाइट खरीद गर्ने योजना ?

नेपाल सरकारले अहिले २० अर्बभन्दा बढीको लगानीमा स्याटेलाइट खरीदका लागि फ्रान्ससँग जीटुजीमार्फत सहमति गरिसकेको छ । अबको केही महिनामा मूल्य निर्धारण गरेर औपचारिक सम्झौता गर्ने सरकारको तयारी छ ।

सुरुमा स्याटेलाइट खरीदका लागि दूरसञ्चार प्राधिकरणमार्फत नेण्टर आह्वान गरेको सरकारले पछिल्लो समय सञ्चार मन्त्रालयमार्फत जीटुजी प्रक्रिया अघि बढाएको छ ।

यसका लागि सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फ्रान्समा पुगेर स्याटेलाइट कम्पनीको निरीक्षण गर्नुका साथै मन्त्रीसँग सहमति गरेर आएका छन् ।

उता सरकारले ऋणमार्फत २० अर्ब खर्च गर्न लागिरहेका रसिया लगायतका कतिपय कम्पनी ९ देखि १२ अर्बसम्ममै स्याटेलाइट उपलब्ध गराउन सकिने बताउँदै आएको छ ।

तथापि, नानो नै सही, डेड करोडको खर्चमा नेपालले पहिलोचोटि स्याटेलाइट अन्तरीक्षमा पठाउनु एउटा सकारात्मक उपलब्धि नै हो । यसबाट नेपालले भू उपग्रहसम्बन्धी केही शिक्षाहरु अवश्यै सिक्न सक्छ । र, सबैभन्दा ठूलो पाठ चाहिँ तत्कालै डाटा रिसिभ गर्ने ग्राउण्ड स्टेसन निर्माण गर्नु हो ।

यो पनि पढ्नुहोस रेलदेखि स्याटेलाइटसम्म ‘जीटूजी’ मै सरकारको जोड

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog