Sunday, March 31, 2019

स्वीस ज्वाइँको सुझाव – ससुरालीहरु कानूनअनुसार चलुन् !

१७ चैत, जुरिच । स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर हो जुरिच । शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रापछि एउटा पहाडी क्षेत्र आउँछ, जसको नाम हो मुलेहन ।

स्वीट्जरल्याण्डमा २६ वटा प्रदेशहरु (क्यान्टोन) छन् । त्योमध्येको एक रमणीय क्यान्टोन हो– ग्लारुस । सोही क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा मुलेहन अवस्थित छ ।

वालेन्सी तालकै छेउमा एउटा रिसोर्ट जस्तै लाग्ने घर छ, जहाँबाट हिउँले टल्केको हिमालसमेत देख्न सकिन्छ । त्यही घरमा हामीले भेट्यौं– इन्जिनियर डिक्ट्रिक एल्मर, जोसँग नेपालको वैवाहिक साइनोसमेत गाँसिएको रहेछ ।

४५ वर्षअघि नेपालमा नै पुगेर शुभ एल्मर लामासँग उनले लगनगाँठो कसेका रहेछन् । यो जोडीको प्रेम अझै पनि लोभलाग्दो छ । अझ त्योभन्दा पनि उनीहरुभित्रको नेपाल प्रेम !

इन्जिनियर एल्मरको नेपाल प्रेम उनले बोल्ने नेपाली भाषामै झल्कन्छ । उनी नेपाली राम्रोसँग बुझ्ने मात्र हैनन्, प्रष्टसँग बोल्न पनि सक्छन् । उनी ४५ बर्ष पहिले नेपालको सुदूरपश्चिम बझाङ जिल्लामा पुगेका थिए । झोलुङ्गे पुल बनाउन दशकौं अघि नेपाल पुगेका उनले त्यतिबेलाको रोचक अनुभव सुनाए ।

वालेन्सी तालकै छेउमा पुगेर हामी मज्जाले गफियौं । र, उनीमार्फत ४५ बर्षअघिको नेपालबारे पनि बुझ्ने मौका पायौं ।

पटक–पटक नेपाल पुगेका एल्मरले नेपालको विकास निर्माणबारे टिप्पणी गरे । नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने चर्चा उनको कानमा पनि पुगिसकेको रहेछ । यसबारे उनले नेपाल सरकारलाई सुझाव दिनसमेत भ्याए ।

प्रस्तुत छ स्वीट्जरल्याण्ड भ्रमणका क्रममा अनलाइनखबरका लागि युरोप संयोजक बसन्त रानाभाटले इञ्जिनियर एल्मरसँग गरेको कुराकानी–

यति राम्रो नेपाली बोल्न कहाँ सिक्नुभयो ?

म स्वीट्जरल्याण्डबाट नेपालमा काम गर्न गएको थिएँ । सुरुमा नेपाली भाषाकै लागि ६/७ हप्ता इन्टेन्सिभ ट्रेनिङ पनि गरें । बाहिर कामका लागि जानुपर्दा त्यो अनिवार्य पनि थियो । मैले केही वर्ष नेपालमै बिताएँ, यसले भाषा सिक्न सहयोग पुग्यो ।

नेपालको सुदूर पश्चिमस्थित बझाङ जिल्लामा झोलुङे पुल बनाउन स्वीट्जरल्याण्डदेखि तपाई लगायत ३ जनाको टोली पुगेको सुनियो, यसबारे बताइदिनुहोस् न ।

हो । त्यो सन् १९७३ डिसेम्बरतिरको कुरा हो । ४५ वर्षअघि स्वीस सरकारमार्फत पुगेका हौं । कामकै सिलसिलामा मैले २ बर्ष ३ महिना त्यहीँ बिताएँ । छिटो र राम्रो कामका लागि त्यतिबेला हामीलाई विश्वास गरियो । नेपालमा पुगेर काम गर्ने अवसर मिल्यो । अहिले सम्झँदा झनै आनन्द लाग्छ ।

त्योबेलामा बझाङ्सम्म कसरी पुग्नुभयो ?

काठमाडौंबाट प्लेनमा धनगढीसम्म । त्यसपछि पैदल यात्रा गर्नुपर्थ्यो । हप्ताको एकपटक डोटी दिपायलसम्म प्लेन चल्थ्यो । त्यसपछि पनि हिँड्नु पर्दथ्यो ।

पहिलोपटकको यात्रामा त्यहाँ पुग्न अलि अप्ठ्यारो पनि भयो । सुरुमा ३ दिनमा त्यहाँ पुगिन्थ्यो । बाटो राम्रोसँग थाहा हुँदै गएपछि त २ दिनमै पनि पुगियो ।

तर, फर्कँदा अलि झन्झट नै हुथ्यो । प्लेनको कुनै भर नहुने । धनगढीसम्म हिँडेर जान्थ्यौं । त्यहाँ हप्तामा ३/४ वटासम्म प्लेन चल्थे । कतिपय अवस्थामा हामी इण्डियाको सडक हुँदै पनि काठमाडौं फर्कियौं ।

४५ बर्ष पहिले बझाङ कस्तो थियो नि ?

मलाई त बझाङ धेरै राम्रो लाग्यो । स्वीटजरल्याण्डमा धेरै पहाडहरु छन् । नेपाल–स्वीटजरल्याण्डको भौगोलिक बनावट धेरै मिल्छ । मलाई त धेरै रमाइलो लाग्यो । बरु मलाई दुख लागेको के भने त्यतिबेला बझाङका नेपालीहरुले कहिल्यै काठमाडांै देखेनन् । सडक बाटो थिएन । किनमेलदेखि अन्य कामका लागि उनीहरु भारत जानुपर्ने बाध्यता थियो ।

त्यतिबेला स्वीटजरल्याण्डमा त पूर्वाधारहरु थिए, विकास भइसकेको हुँदो हो । तपाई नेपालको विकट ठाउँमा पुगेर पनि कसरी घुलमिल हुनुभयो ?

साँच्चै बताउनुपर्दा मलाई त्यस्तो गाह्रो लागेन । हिँड्न, पहाडमा चढ्न, नयाँ ठाउँमा पुगेर काम गर्न मलाई असाध्यै मन पर्छ । स्वीटजरल्याण्डमा रहँदा पनि म पहाडमा हिँडडुल गर्दै काम गर्थें । त्यसैले बझाङमा घुलमिल हुन र काम गर्न धेरै सजिलो भयो । बझाङमा मान्छेहरु धेरै राम्रा थिए, सहयोगी थिए । ती पुराना दिनहरु सम्झँदा अहिले आनन्द र रमाइलो लाग्छ ।

त्यसबेलाको खानपिनबारे पनि बताइदिनुहोस् न, के–के खानुहुन्थ्यो ?

मैले त्यतिबेला खाना पकाउन त सक्दैनथें । तर, नेपाली दाजुभाइहरुले मीठो खाना बनाएर दिनुहुन्थ्यो । सबैको एउटै पाक्थ्यो । मज्जाले दालभात खायौं । ३/४ हप्तामा एकचोटि खसीको मासु पनि खान पाइन्थ्यो ।

त्यतिबेला विदेशीहरुलाई स्थानीयले कुन रुपमा हेर्थे ?

अलि नयाँ र फरक लाग्थ्यौं होला । तर हामीवीच माया र आत्मीयता थियो ।

पछि फर्केर त्यही ठाउँमा कहिल्यै पुग्नुभयो ?

अहिलेसम्म पुगेको त छैन । तर गुगलमा धेरैपटक हेरेको छु । त्यो पुल अझै छ । नेपाल १२÷१५ पटक नै पुगें । तर, त्यहाँ पुग्ने समय जुरेन । अहिले त बझाङ्सम्म पुग्ने सडकहरु बनेका छन् । पुग्न त्यति गाह्रो छैन ।

त्यो ठाउँ वा पुलको नामबारे केही याद छ ?

अलिअलि याद छ । नाम चिर । नदी खलङ्गा । त्योपछि सेतीसँग मिल्छ । पुलको नाउ त थिएन । तर, गाउँको नाम सेञ्झु जस्तो लाग्छ ।

तपाईको टोलीमा रहेका अन्य साथीहरुसँग अहिले भेटघाट वा कुराकानी हुन्छ ?

हो, हिजो मात्रै एकजनालाई भेट्यौं । त्योबेला स्वीट्जरल्याण्डबाट त्यहाँ पुगेका सिनियर इन्जिनियर थिए उनी । अहिले फिनल्याण्ड बस्छन् । तर, हामीलाई भेट्न आएका थिए । ८४ बर्ष पुगिसके उनी । नेपालबारे धेरै कुराकानी भयो । हामीले पुराना यादहरुलाई ताजा गर्‍यौं ।

अब अलिकति फरक कुरा गरौं, नेपाल पनि प्राकृतिकरुपमा स्वीटजरल्याण्डजस्तै देखिन्छ । के तपाईंलाई नेपाल पनि स्वीटजरल्याण्डजस्तै बनाउन सकिन्छ जस्तो लाग्छ ?

पहिले भन्दा अहिले धेरै कामहरु भएका छन् । तर, अझै धेरै बाँकी छ । आधारभूतरुपमा सरकारबाट व्यवस्थापन राम्रो हुनुपर्छ । नेपाली जनताबारे मलाई राम्रोसँग थाहा छ । ४५ वर्ष पहिले वा अहिले पनि । उनीहरु राम्रो काम गर्न सक्छन् । मेहनती छन् । सम्वन्धित क्षेत्रको ज्ञान र विज्ञता पनि छ । तर, सरकारबाट व्यवस्थापन मिलाउनैपर्छ । राम्रो कामलाई प्रोत्साहन दिने नीति आउनुपर्छ । नियम विपरीत काम गर्नेलाई दण्डित पनि गर्न सक्नुपर्छ ।

नेपालमा नीति र नियम त राम्रा तर, त्यसलाई पछ्याएजस्तो लाग्दैन । एउटा राम्रो सिष्टम हुनुपर्छ, त्यो नै विकासको मुख्य आधार हो ।

पहिले र अहिलेको स्वीट्जरल्याण्ड बारे पनि भनिदिनुहोस् न ।

धेरै नै फरक छ । सडक, रेल बाटोघाटो लगायतका पूर्वाधारहरु पहिले धेरै कम थिए । म बच्चा हुँदा ( हाँस्दै मेरो उमेर त नभनौं) एउटा घरमा एउटा ट्वाइलेट मात्र थियो होला । बाथरुमहरु बनेका थिएनन् । नुहाउनका लागि गाउँमा एउटै ठाउँ थियो । सबै गाउँलेहरु त्यहीँ नुहाउन आउँथे । तर, अहिले त धेरै परिवर्तन भइसक्यो ।

तपाईले बताएअनुसार ५० वर्षअघि र अहिलेको स्वीट्जरल्याण्डमा धेरै भिन्न देखियो नि, त्यो कसरी सम्भव भयो ?

उद्योग धन्दा राम्रो चल्यो । लगानीको वातावरण बन्यो । त्यसो हुँदा मुलुकको अर्थतन्त्र पनि राम्रो र बलियो बन्यो । यहाँ धनीहरुमात्रै धनी भएनन्, गरिबले पनि धन कमाउन सक्ने व्यवस्थापन सरकारबाट भयो । सुरुमा यहाँ पनि धनीहरु धेरै नै धनी थिए । अन्यको जीवनस्तर राम्रो थिएन । तर, दोस्रो विश्वयुद्धपछि मुलुकले ठूलो फड्को मार्‍यो । नीति र नियमहरु बने र तिनलाई सबैले पालना गर्दै गए ।

अन्त्यमा, एक नेपालप्रेमीको नाताले समृद्ध नेपाल बनाउन के सुझाव दिनुहुन्छ ?

तिनीहरुले नियम कानुनअनुसार चल्नुपर्छ । कानूनलाई कार्यान्वयन गर्नुपर्छ । यति राम्रा नीति नियम, कानुन बनेका छन्, मात्र कार्यान्वयन हुन बाँकी छ । त्यसो भएमा देश विकास गर्न समय लाग्दैन ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog