Thursday, February 28, 2019

पर्यटनमन्त्रीलाई कसले, किन पुर्‍यायो पाथीभरा ?

१६ फागुन, काठमाडौं । कुनै पनि दुर्घटना पूर्वसूचित हुँदैनन् । हरेक दुर्घटना अनपेक्षित हुन्छन् । मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटना पनि न पूर्वसूचित थियो, न अपेक्षित । निश्चय नै यो दुर्घटना थियो । भवितव्य थियो ।

दुर्घटना भवितव्यपूर्ण हुँदाहुँदै पनि सरकारले यसबारे छानविन गर्न चार सदस्यीय समिति गठन गरिसकेको छ । के कारणले यत्रो दुर्घटना हुन पुग्यो र देशले यति ठूलो क्षति व्यहोर्नुपर्‍यो ? सरकारले यसको कारण पत्ता लगाउनकै लागि बुधबार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

हरेक दुर्घटना पूर्वसूचित नभएता पनि घटना भइसकेपछि भने त्यसले केही सूचना छाडेर जान्छ । के–कस्तो असावधानीबाट बचेको भए दुर्घटना हुँदैनथ्यो भन्ने उत्तरसूचना दुर्घटना भैसकेपछि बुझ्न र महसुस गर्न सकिन्छ । दुर्घटनाले पुर्‍याएको क्षतिलाई पूर्ववत् अवस्थामा परिपूर्ति गर्न सकिँदैन, तर यसबाट भविश्यमा पाठ सिक्नचाहिँ अवश्य सकिन्छ । देशका आशलाग्दा युवा नेता पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनको हकमा पनि यही कुरा सत्य हो ।

ताप्लेजुङमा बुधबार भएको डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनाबाट देशलाई पर्न गएको क्षतिको परिपूरण गर्न विल्कुलै सकिँदैन । तर, यसबाट पाठ सिक्न भने अवश्यै सकिन्छ ।

पाथीभरा मन्दिरबाट फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाको भीरमा भएको हेलिकोप्टर दुर्घटनाले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । अब यी प्रश्नमाथि सम्बन्धित निकायले ध्यान दिन र आगामी दिनमा त्यस्तो कमजोरी नदोहोर्‍याउन गम्भीरतापूर्वक विचार पुर्‍याउनुपर्ने देखिन्छ ।

अब पर्यटनमन्त्री रविन्द्र अधिकारीहित ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाले उब्जाएका प्रश्नहरुमाथि छलफल गरौं ।

पहिलो प्रश्न– मन्त्री अधिकारीलाई कसले, किन लग्यो पाथीभरा ?

स्वयं पर्यटन मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा गरेको भाषणलाई आधार मान्ने हो भने उनी प्रस्तावित विमानस्थलको निरीक्षणका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा चुहानडाँडा पुगेका थिए । विमानस्थलको अवलोकन गर्नु मन्त्री अधिकारीको ड्युटी थियो, जुन उनले सफलतापूर्वक निभाए ।

तर, महत्वपूर्ण सरकारी कामका लागि नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक र इञ्जिनियरसमेतलाई लिएर तेह्रथुमको आठराई पुगेका मन्त्री अधिकारी आफ्नो ड्युटी सकेपछि राजधानी फर्किनुको साटो मन्दिर दर्शनतिर लागे, जुन सरकारी ड्युटी थिएन ।

के मन्त्री अधिकारी आफैं पाथीभरा दर्शनमा जान चाहन्थे ? या उनको साथमा रहेका कर्मचारी वा व्यवसायीको लहैलहैमा लागेर उनी पाथीभरातिर लागे ? अब यो प्रश्नको जवाफ या त नेकपाका नेताहरुसँग छ, या प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग ।

यो पनि पढ्नुहोस् : ताप्लेजुङमा ढलेका उड्डयन क्षेत्रका दुई धरोहर

नेकपाकै नेतासमेत रहेका प्रदेश सांसद तेजमान कन्दङबाले चुहानडाँडास्थित कार्यक्रमस्थलबाटै बुधबार अनलाइनखबरलाई भनेका थिए– ‘मलाई त उहाँहरु सीधै काठमाडौं गएजस्तो लागेको थियो । तर, पाथीभरा मन्दिर दर्शन गर्न जानुभएछ ।’

धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालका मन्त्री रविन्द्र अधिकारी कम्युनिष्ट एवं भौतिकवादी विचारधाराबाट प्रेरित युवा नेता थिए । यदि मन्त्री अधिकारी ‘आफूमाथि लागेको दोष कटाउन’ पाथीभरा मन्दिरमा पुगेर पूजा गर्न लालायित थिए भनेर हामीले अनुमान लगायौं भने यो उनीमाथिको अन्याय हुन्छ कि हुँदैन ? यो पनि अनुत्तरित प्रश्न हो ।

यो अवस्थामा मन्त्री अधिकारी पर्यटन व्यवसायी आङ छिरिङ शेर्माको आग्रहमा वा प्रधानमन्त्री कार्यालयमा कार्यरत युवराज दाहालको आग्रहमा एकचोटि पाथीभरा पुगौं न त भनेर त्यतातिर मोडिएको पो थिएन कि ? शायद उनी पाथीभरा नगई चुहानडाँडाबाट सरकारी काम सकेर सिधै काठमाडौं फर्केका भए यो दुर्घटना हुने थिएन कि ? यो अर्को निरुत्तरित प्रश्न हो ।

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा ठूला व्यवसायी हुन् भन्नेमा कुनै विवाद छैन । तर, उनी पर्यटनमन्त्री अधिकारीसँगै चुहानडाँडा किन गएका थिए ? सरकारी अधिकारीहरुले अवलोकन गर्नुपर्ने चुहानडाँडा विमानस्थलमा व्यवसायी शेर्पालाई किन लगिएको थियो ? के उनी डाइनास्टिक हेलिकोप्टरका मालिक भएकैले सो हेलिकोप्टरमा मन्त्रीसँगै आफूसमेत चढेका हुन् ? यो प्रश्न पनि निरुत्तरित छ ।

चुहानडाँडा विमानस्थलको ०६८ सालमा सर्भे गर्दा २९ करोड लागत निस्किएको थियो । यस वर्ष नयाँ कन्सल्टेन्सीमार्फत गरिएको अर्को सर्भेले ८७ करोड लागत निकालेको सांसद कन्दङवा बताउँछन् । के यो विमानस्थल निर्माणसँग आङ छिरिङ पनि जोडिएका थिए ? अन्यथा, उनी मन्त्री अधिकारीसँगै चुहानडाँडा जानुको अर्को कारण के थियो ?

कतिपय मानिसहरुको दाबी के छ भने पाथीभरा मन्दिरको गन्तव्य मन्त्री अधिकारीको नभएर पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको छनोट थियो । शेर्पाले ओली सरकारसँग मिलेर पाथीभरामा केबलकारको परियोजना बनाइरहेको दाबी गरिँदै आएको छ ।

तर, यो कुरालाई आधार मान्ने हो भने पनि मन्त्री अधिकारी र आङ छिरिङको टोलीले बुधबार पाथीभरा पुगेर मन्दिरमा पूजाआजा गर्नुबाहेक अन्य कुनै स्थलगत अवलोकन वा छलफल गरेको देखिएन । हेलिकोप्टरबाटै भूगोल हेर्दै हिँडेका हुन् भने त्यो बेग्लै कुरा ।

पाथीभरा मन्दिरका पुजारी डिल्लीरमण आचार्य अनलाइनखबरसँग भन्छन्– ‘मन्त्रीज्यूहरुले लगभग १५ मिनेटजति पूजा गर्नुभयो । त्यसपछाडि बाहिर बस्न गाह्रो भएकाले उहाँहरु हेलिकोप्टरमै बस्नुभयो । मन्त्रीज्यूसँग हाम्रो त्यस्तो केही कुराकानी भएन । उहाँहरु चिया खाउञ्जेल हेलिकोप्टरमा त्यस्तै १५/२० मिनेटजति बस्नुभयो होला ।’

यो पनि पढ्नुहोस् : पाथीभराका पुरोहित भन्छन्– हेलिकोप्टरमै मन्त्रीज्यूलाई दूध चिया खुवाएँ

आखिर यस्तै नै हो भने प्रश्न फेरि पनि उही नै उठ्छ– चुहानडाँडा विमानस्थल अनि पाथीभरा मन्दिरसम्म मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको सहकार्य केका लागि थियो । प्रधानमन्त्रीले अपरिहार्य आवश्यक ठानेर मन्त्री अधिकारीका साथमा आङ छिरिङलाई पनि चुहानडाँडा पठाएका थिए ? या आङ छिरिङले आवश्यक ठानेर मन्त्री अधिकारीलाई पाथीभरासम्म लगे ? आखिर कसले, किन लग्यो मन्त्री अधिकारीलाई चुहानडाँडाबाट पाथिभरा मन्दिरसम्म ?

काठमाडौंमा एउटा ‘मिथ’ के चल्ने गरेको थियो भने हरेक पर्यटनमन्त्रीहरु आङ छिरिङकै छनोटमा बन्छन् । र, हरेक पर्यटन मन्त्रीलाई आङ छिरिङले नै घुमाउँछन् ।

यो प्रश्नको उत्तर समयक्रममा आउँदै जाला । तर, यसले सिकाएको पाठ के हो भने सरकारका मन्त्रीहरु मन्त्रालयको जरुरी कामबाहेक लहड र कसैको व्यवसायिक स्वार्थका भरमा प्रतिकूल मौसम र सुरक्षाको ख्यालै नगरी जतासुकै हिँड्नु जोखिमपूर्ण हुन सक्छ । र, यसबाट सिंगै देशलाई अपुरणीय घाटा लाग्न सक्छ ।

दोस्रो प्रश्न– के हेलिकोप्टरमा क्षमताभन्दा धेरै यात्रु चढेका थिए ?

हेलिकोप्टर दुर्घटनापछि धेरैले क्षमताभन्दा धेरै यात्रु बोकेको त होइन भन्ने प्रश्न गरेका छन् ।

ताप्जेलुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा सांसद योगेश भट्टराईले समेत यसबारेमा प्रश्न उठाएका छन् । पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा जाने गरिएको बताउँदै भट्टराईले भनेका छन्, मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

तर, सुकेटार विमानस्थलका अधिकारीहरुले भने पाथीभरा मन्दिरमा पाइलटसहित ५ जना मात्रै जाने नियमबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

जहाँसम्म हेलिकोप्टरको क्षमता छ, एयर डाइनेस्टीसँग पाइलटसहित ६ र ७ जना जना बोक्ने क्षमताका हेलिकोप्टर छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार बुधबार दुर्घटना भएको हेलिकोप्टर ९ एन–एएमआई (एएस ३५० ए १२५) हो । एयर डाइनेस्टीको वेबसाइटमा एयर बस कम्पनीको यो हेलिकोप्टरको क्षमता पाइलटसहित ७ जना भएको उल्लेख गरिएको छ । जबकि हेलीकोप्टरमा पाइलटसहित ७ जनामात्रै थिए ।

तेस्रो प्रश्न– मौसम खराब हुँदाहुँदै ‘प्रेसर’मा उडान भएको हो ?

तेह्रथुमको कार्यक्रममा बोल्ने क्रममा मन्त्री अधिकारी आफैंले भनेका थिए– पानी परेको छ, मौसम खराब छ, हामी फेरि फर्किनु पर्नेछ । पाथीभराका पुजारी डिल्लीरमरण आचार्यका अनुसार मन्त्रीहरु मन्दिरमा आइपुग्दा मौसम निकै नै बिग्रिएको थियो । ताप्लेजुङ विमानस्थलका अनुसार पनि बुधबार पाथीभरा क्षेत्रमा मौसम राम्रो थिएन ।

दुर्घटनापछि धेरैले प्रश्न उठाएका छन्, मौसम खराब हुँदाहुँदै हेलिकोप्टर उडाइएको त थिएन ? यसबारे दुईखाले अनुमान छन्, हेलिकोप्टरमा मन्त्री, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायतका भीआईपीहरु थिए । उनीहरुले नै ‘जाउँजाउँ’ भनेर पाइलटलाई प्रेसर परेको हुन सक्छ । पाइलटले भीआइपीको प्रेसरमा परेर यत्तिको मौसममा जान सकिन्छ भनेका हुन सक्छन् ।

बेलाबखत हेलिकोप्टरमा यात्रा गर्ने अन्य नेताहरुका अनुसार पछिल्लो समय पाइलटहरुले नै हेलिकोप्टर यात्रालाई हल्का रुपमा लिने गरेका छन् । उनीहरुले जोखिम मोलेर उडाउने तथा साँघुरो ठाउँमा पनि ल्याण्ड गराउने गरेका छन् । भीआईपीहरुले पनि हतारो छ भनेर पाइलटलाई उडान भर्न प्रेरित गर्ने गरेको अनुभव पनि कतिपय नेताहरुको छ ।

बुधबार पाथीभरामा खराब मौसमका कारण करिब २० मिनेट हेलिकोप्टर रोकिएको र आफूहरुले ‘लोकेसन’ हेरेर पठाएको जानकारी दिँदै पुजारी डिल्लीरमण आचार्यले अनलाइनबरसँग भने– ‘युवराज दाहाल सर (प्रधानमन्त्रीका निजी सचिव) पाथिभराको यो बाटो धेरैचोटि हिँड्नुभएको मान्छे हो । यो रुटबाट यसरी जाँदाखेरि सुकेटार पुगिन्छ र सुकेटार पुगेपछि ताप्लेजुङ निस्कन्छ भन्ने कुरा त पाइलटलाई भन्दा उहाँलाई अनुभव थियो । हामीले दिएको लोकेसन उहाँले ठीक छ भन्नुभयो ।’

मौसमकै कुरा गर्दा अर्को विचारणीय पक्ष के छ भने बुधबार पाथीभरा मन्दिरमा सिम्रिक एयरले धरान, भेडेटारबाट ४ वटासम्म उडान भरेको थियो । बुधबार पाथीभरामा हेलिकोप्टर उड्नै नसक्ने स्थितिचाहिँ थिएन । एकछिनमा घाम लाग्दै, मौसम बिग्रँदै गरेको थियो । तर, अन्य हेलीकोप्टरहरु उडेकै थिए ।

डाइनास्टीका पाइलट पाथीभराका लागि अनुभवी थिए/थिएनन् वा हेलिकोप्टर उडानको समय छनोट, इञ्जिन अथवा रुटको प्रयोगमै गल्ती थियो भने त्यो बेग्लै प्राविधिक प्रश्न हो ।

चौथो प्रश्न– मन्त्रीहरुले निजी हेलिकोप्टर चढ्ने कि सरकारी ?

खासगरी पछिल्ला वर्षहरुमा नेता तथा मन्त्रीहरुले विभिन्न जिल्लामा जाँदा निजी हेलिकोप्टर प्रयोग गर्ने क्रम बढ्दो छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने गरेका छन् । व्यवसायिक उडानहरुको तुलनामा सेनाको हेलिकोप्टरमा अतिरिक्त सुरक्षा सावधानी अपनाउने गरिएको पाइन्छ । मौसम खराब छ भने सेनाले उडान नभर्ने गरेका थुप्रै उदाहरण छन् ।

त्यसैले अब नेता तथा मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्दा सेनाको मात्रै प्रयोग गर्ने पो हो कि ?

मन्त्रीहरुले सेनाको हेलिकोप्टर प्रयोग गर्ने सवालमा पनि केही जटिलताहरु छन् । सम्माननीयहरु (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष) को सवारी नेपाली सेनाले आफ्नो हेलिकोप्टरबाट गराउने प्रचलन रहेको जंगी अड्डा स्रोत बताउँछ ।

बाँकी मन्त्री वा सांसदहरुको हकमा भने सम्बन्धित मन्त्रालयले सेनालाई औपचारिक पत्रमार्फत हेलिकोप्टर माग गर्नुपर्ने हुन्छ । र, त्यो अवस्थामा उपलब्धता हुन सकेको अवस्थामा सेनाले निश्चित भाडा लिएर सम्बन्धित मन्त्रालयलाई हेलीकोप्टर प्रयोग गर्न दिन सक्छ ।

प्रधानमन्त्री केपी ओलीको जन्मथलो चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अवलोकनका लागि पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई पठाउँदै गर्दा प्रधानमन्त्रीले सेनाको हेलिकोप्टरमा जान किन भनेनन् ? पर्यटन मन्त्रालयले भाडामा सेनाको हेलिकोप्टर किन मागेन ? पाथीभरा दिनहुँ उडान भरिरहेको सिम्रिक एयरलाई किन हायर गरिएन र आङ छिरिङको डाइनास्टी नै रोजियो ? समयले यो प्रश्नको पनि जवाफ मागेको छ ।

हुन त मन्त्री र नेताहरुलाई सेनाको हेलिकोप्टर प्रयोग गर्न अनिवार्य गर्दाखेरि अरु पनि केही जटिलताहरु पनि आउन सक्छन् । मन्त्रीहरु सानातिना शौचालय उद्घाटनहरुमा पनि गइरहने भएकाले सीमति संख्यामा रहेका सेनाका हेलीकोप्टरहरु भनेका बेलामा उपलब्ध नहुन सक्छन् । अर्कोतर्फ हेलीकोप्टर भाडामा लिएर पैसा नतिर्ने र बेरुजु बढाउने काम जुन भइरहेको छ, त्यो अझ बढ्न सक्छ ।

तथापि सेनाको हेलिकोप्टर प्रयोग गर्दा मन्त्रीहरु दुर्घटनाको जोखिममा पर्ने सम्भावना चाहिँ कम हुन सक्छ । त्यसैले सरकारले अब यसतर्फ पनि सोच्ने र नयाँ नीति बनाउने पो हो कि ?

नेपाली सेनासँग हेलीकोप्टर र विमानहरु ज्यादै कम भएको अवस्था पनि होइन । सेनासँग हेलीकोप्टर र विमानसमेत जोड्दा कुल १४ वटा छन् । तर, यीमध्ये चार हेलिकोप्टर र दुईवटा जहाज गरी कुल ६ वटामात्रै चालु अवस्थामा छन् । ४ वटा मर्मतका क्रममा छन् भने बाँकी ४ वटा ‘अनसर्भिसेस’ का रुपमा थन्किएका छन् ।

त्यसो त सेनाले हालै तीनवटा हेलिकोप्टरहरु किनिसकेको छ । ती मध्ये एउटाले उडान भर्न थालिसकेको छ भने दुईवटा चाहिँ पार्टपूर्जा आइनसकेको हुनाले विमानस्थलमै छन्, सेनाले बुझ्न बाँकी छ ।

सेनासँग रहेका हवाई साधनहरुलाई मन्त्री र सरकारी अधिकारहिरुले प्रयोग गर्ने हो भने सुरक्षाको दृष्टिले मात्रै होइन, सरकारी स्रोत साधनको सदुपयोग हुन गई राज्यलाई नै फाइदा पुग्ने देखिन्छ ।

पाँचौं प्रश्न– केन्द्रबाटै दौडने कि संघीय अभ्यास गर्ने ?

यतिबेला देश संघीयतामा गइसकेको छ । तर, व्यवहारमा संघीयताको अभ्यास हुन नसक्दा जिल्ला वा गाउँको सानो कार्यक्रममा पनि केन्द्रीय मन्त्री वा प्रधानमन्त्रीलाई नै बोलाउने प्रचलन हटेको छैन ।

सानातिना धार्मिक कार्यक्रमहरुमा कम्युनिष्ट सरकारका अधिकारीहरुलाई जोखिमपूर्ण यात्रा गराइने गरेको विषयमा समीक्षाको खाँचो देखिन्छ ।

जस्तो चुहानडाँडाको सानो विमानस्थलको अवलोकन गर्न मन्त्री नै जानुपर्ने जरुरी थियो कि थिएन ? मन्त्रीसँग इञ्जिनियरिङको अनुभव नहुने भएकाले त्यस्तो ठाउँमा प्राधिकरणका प्राविधिक मात्रै गएको भए पनि पर्याप्त हुन्थ्यो कि ? अथवा राजनीतिक नेता नै चाहिने भए मुख्यमन्त्री, प्रदेश मन्त्री वा सम्बन्धित क्षेत्रको सांसले हेरेर रिपोर्ट गरेको भए पो हुन्थ्यो कि ?

सबै ठाउँमा झरीबादलको वास्ता नगरी सरकारी अधिकारीहरुलाई जोखिमपूर्ण यात्रा गराउने प्रचलनमाथि पनि यो घटनाले सीमाक्षाको आवश्यकता दर्शाएको छ ।

केहीसाता पहिले मोरङका दुईवटा विद्यालयमा एकै दिन स्वर्ण महोत्सवको उदघाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जाने चर्चा चल्यो । राष्ट्रपतिको स्वागतमा गेट बन्यो, मञ्च बन्यो, विद्यार्थीहरु फूल बोकेर गेटमा उभिए । तर, सेनाले मौसम खराब भएको भन्दै राष्ट्रपतिको भ्रमण रोकिदियो । र, कार्यक्रमको आतिथ्य मुख्यमन्त्री शेरधन राईले गरे ।

तर, भोलिपल्ट बराह क्षेत्रमा यज्ञको उदघाटन गर्न राष्ट्रपतिको सवारी चलाइयो । त्यो दिन पनि मौसममा राम्रो सुधार आइसकेको थिएन ।

यसरी सानातिना धार्मिक कार्यक्रमहरुमा कम्युनिष्ट सरकारका अधिकारीहरुलाई जोखिमपूर्ण यात्रा गराइने गरेको विषयमा समीक्षाको खाँचो देखिन्छ । कम्युनिष्ट मन्त्री मौसमको जोखिम मोलेर मन्दिर दर्शनमा जानु आफैंमा प्रश्नयोग्य छ ।

छैठौं प्रश्न– मौसम सम्बन्धी एप्स हेर्ने कि आकाश हेर्ने ?

देशमा मौसम विज्ञान विभाग छ । डाबोसमा प्रधानमन्त्रीले भर्खरै चौथो औद्योगिक क्रान्तिसम्बन्धी सेमिनारमा भाग लिएर आएका छन् । विकसित मुलुकमा सामान्य नागरिकले कुनै भ्रमणमा जानुपर्दा एक/दुई सातापछिको मौसम हेरेर, बुझेर हिँड्ने गर्छन् । तर, हाम्रा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको सवारी चलाउँदा वा कार्यक्रम तय गर्दा मौसम हेर्नुपर्दैन ?

राष्ट्रपति कुनै विद्यालयमा आउने दिन मौसम राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा राष्ट्रपति कार्यालयले पहिल्यै हेर्नुपर्छ कि कार्यक्रम हुने दिन बिहान आकाशतिर हेरेर निधो गर्नुपर्छ ?

भीआईपीहरुले गाउँमा पुगेर ‘मौसम खराब छ’ भन्दै भाषण गर्नुअघि नै मन्त्रालयले मौसम राम्रो हुने/नहुने पूर्वानुमान रिपोर्ट देखाएर मन्त्रीको भ्रमण तय वा रद्द गर्नुपर्छ कि पर्दैन ? समृद्धिको कुरा गर्ने सरकारले आकाशतिर हेरेर निर्णय गर्ने या मौसमसम्बन्धी एप्स हेरेर निर्णय गर्ने ? यो लज्जाजनक प्रश्नसमेत सतहमा ल्याइदिएको छ, ‘मौसमका कारण मन्त्री चढेको हेलिकोप्टर दुर्घटनामा पर्‍यो’ भन्ने दुःखद समाचारले ।

अन्त्यमा फेरि एकपटक हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गर्ने सबै होनहार सपुतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरौं । र, भविश्यमा यस्ता कमजोरीहरुबाट पाठ सिकौं । हवाइ दुर्घटनालाई सकेसम्म न्यूनीकरण गरौं । सुरक्षाका उपायहरु अपनाऔं । आशलाग्दा नेता, व्यवसायी तथा राष्ट्रसेवकहरुको जीवनमाथि कसैले पनि खेलवाड नगरौं ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog