Thursday, January 31, 2019

बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु

१७ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु भएको छ । सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइट निर्माणको जिम्मा पाएसँगै काम शुरु गरेको हो ।

प्रारम्भिक चरणमा निर्माणस्थलको माटो परीक्षण गर्न नमूना संकलनको काम थालिएको मन्त्रालय मातहतको भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

ठूलो क्षेत्रफल भएकाले पाँच ठाउँमा खाल्डो खनेर नमूना संकलन गरिएको मैनालीले जानकारी दिए । माटो परीक्षणको नतीजा अनुसार ल्यान्डफिल साइटको डिजाइन तयार गर्ने विभागको योजना छ ।

‘पाल टाँगेर हामीले काम शुरु गरिसकेका छौं’, विभागका उपमहानिर्देशक मैनालीले भने, ‘सोइल टेस्टपछि हामी डिजाइन तयार गरेर बाँध निर्माणको काम थाल्छौं ।’
आगामी फागुनभित्र कस्तो ल्यान्डफिल साइट निर्माण गर्ने भन्नेबारे डिजाइन तयार पारेर अन्य काम अघि बढाउने योजना रहेको उनले बताए ।

बिहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठ, मन्त्रालय र विभागका अधिकारी सिसडोल हुँदै बञ्चरेडाँडासम्मको स्थलगत अवलोकनका लागि गएका थिए ।

निरीक्षणका क्रममा विभागका उपमहानिर्देशक मैनालीले ल्यान्डफिल साइट निर्माण स्थलका बारेमा मेयर शाक्यलाई ब्रिफिङ गरेका थिए ।

मेयर शाक्यले बर्खाका बेला उपत्यकाको फोहर व्यवस्थापनमा समस्या पर्ने गरेको भन्दै त्यसअगावै अल्पकालीन साइट निर्माणको काम सक्न आग्रह गरेका थिए । जवाफमा विभागका उपमहानिर्देशक मैनालीले समस्या ननिम्त्याउन सक्दो प्रयास गर्ने बताए ।

१७ वर्षअघिको योजना बल्ल अघि बढ्यो

१७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउने योजना अघि सारिएको थियो । तर, ढिलासुस्तीका कारण यो काम अघि बढेन ।

सरकारले फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सन् २००९ मा अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरेर नेपवेस्टसहितका कम्पनीलाई छनोट गर्यो । सन् २०११ मा स्थानीय विकास मन्त्रालयले नेपवेस्टसँग द्विपक्षिय सम्झौता गर्यो । सन् २०१३ पछि यो परियोजना लगानी बोर्ड मातहत आयो ।

उपत्यकाको फोहोर व्यवस्थापन परियोजनाको जिम्मा पाएको कम्पनी हो, नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेसन प्रालिको जोइन्ट भेन्चर ‘नेपवेस्ट’ । तर, नेपवेस्टले ल्यान्डफिल साइट भने आफूले नबनाउने शर्त राख्यो छ ।

त्यस दौरान बञ्चरेडाँडामा ल्यान्डफिल साइट कसले बनाउने भन्ने अन्योल रहृयो । यो पूरै उपत्यकाको समस्या भन्दै केन्द्र वा प्रदेश सरकारले ल्यान्डफिल साइट बनाइदिनु पर्ने भन्दै काठमाडौं महानगरपालिका पछि हट्यो ।

त्यसपछि गत मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले ल्यान्डफिल साइट निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दियो ।

मन्त्रालयले करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको ल्यान्डफिल साइट निर्माणको काम दुई वर्षभित्र सक्ने बनाएको छ । ल्यान्डफिल साइट तयार गर्नका लागि झण्डै ६५ करोड लाग्ने मन्त्रालयको अनुमान छ ।

ल्यान्डफिल साइट निर्माणका लागि एक हजार ७९२ रोपनी झण्डै ३ वर्षअघि नै जग्गा अधिग्रहण गरिसकिएको छ ।  धादिङको छत्रेदेउराली-९ र नुवाकोटको ओखरपौवा-४ मा पर्ने बन्चरेडाँडामा ल्यान्डफिल साइट बनेपछि २० वर्षका लागि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने छ ।

हाल फोहर फालिँदै आएको सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने झण्डै दुई किलोमीटर सडकको निर्माण सडक विभागले ठेकदार छनोट गरेर शुरु गरेको छ ।

फोहार बिसर्जन गर्ने स्थलसम्म पुग्ने कोल्पुखोलामाथिको पुल बनिसकेको महानगरपालिकाको वातावरण विभागका इञ्जिनियर निर्मल बरालले अनलाइनखबरलाई जानकारी दिए ।

सिसडोलमा भरिँदा नजिकैको आलेटारमा र आलेटारमा भरिँदा सिसडोलमा लगेर काठमाडौंको उपत्यकाको फोहर विसर्जन गरिँदै आएको छ ।

बर्षात बेला बाटो बिगि्रएर त्यहाँ पुग्नै नसकिने र काठमाडौंमा फोहर नउठ्ने समस्या आउने गरेकाले पूर्व तयारीका लागि स्थलगत निरीक्षण गरिएको मेयर शाक्यले बताए ।

‘ल्यान्डफिल साइट निर्माण नभइन्जेलसम्मको अवधिका लागि अल्पकालीन व्यवस्थापनको पूर्व तयारीमा जुटेका छौं’, मेयर शाक्यले भने ।

२ वर्षका लागि भनेर विस २०५८ मा नुवाकोटकै ओखरपौवास्थितमा सिसडोलमा बनाइएको ल्याण्डफिल साइट हालसम्म प्रयोग भइरहेको छ । तर, वषर्ातका बेला गाडी जान नसक्ने र थुपि्रएको फोहोरको पहिरो जाने खतरा हुन्छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog