Monday, December 31, 2018

वीपीले भारतको प्रस्ताव मान्नुभन्दा राजाको पाउ ढोग्छु भन्नुभयोः केबी गुरूङ

१६ पुस, काठमाडौं । पञ्चायती व्यवस्थाविरुद्ध भारतमा बसेर सशस्त्र आन्दोलन गरिरहेका वीपी कोइराला राष्ट्रियतामा आँच आउन लागेको भन्दै १६ पुस २०३३ मा मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । राष्ट्रिय एकताका लागि ज्यान हत्केलामा राखेर स्वदेश फर्केको भन्दै कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरेको छ ।

वीपी नेपाल फर्कनुभन्दा तीन हप्ता पहिला कुलबहादुर (केबी) गुरुङ, वासु कोइराला र धर्म गौतमले नेपाल फर्केर गिरफ्तारी दिइसकेका थिए । २५ कात्तिक २०३३ मा काठमाडौं फर्केका केबी गुरुङसँग हामीले मेलमिलाप दिवसको पृष्ठभूमि, त्यसको महत्व र सन्दर्भिकता जस्ता विषयमा कुराकानी गरेका छौं ।

पूर्वी नेपालको इलामबाट चारतारे झण्डा बोकेर सशस्त्र क्रान्ति गर्न भारतसम्म पुगेका गुरुङ भन्छन्, ‘वीपी राष्ट्रियताका लागि मर्न तयार भएरै मेलमिलापको नीति लिएर फर्कनुभएको हो । तर, राजाले तत्कालै मार्छ कि मार्दैन भन्ने जान्न खोज्नुभएको थियो ।’

सुनौं कांग्रेस नेता गुरुङका कुरा, उनकै शब्दमा–

पहिला नक्कली, पछि सक्कली कांग्रेस

म विसं १९९१ सालमा जन्मिएँ । जन्मस्थान इलाम हो । पूर्वी नेपालको इलाम दार्जीलिङसँग जोडिएको हुनाले भारतमा कांग्रेसले यो गर्‍यो , त्यो गर्‍यो  भन्ने सुनिन्थ्यो । नेपाली मुलका भारतीयहरू नै त्यहाँ कांग्रेस बनेका थिए ।

वीपी मेलमिलापको नीति लिएर किन फर्कनुभयो भने विषयमा धेरैको जिज्ञासा छ । यसको उत्तर आइसकेको पनि छैन र आउन गाह्रो पनि छ

विद्यालय पढ्ने बेलामा दशैैंमा खेलकुद देखाउनुपर्ने हुन्थ्यो । त्यसका लागि कालो हाफपेन्ट र सेतो कमिज लगाउँथ्यौं । पछि विद्यालय जाँदा पनि त्यही ड्रेसमा जान्थ्यौं । त्यति कारणले अरुले विद्यार्थीलाई कांग्रेस भन्थे । दार्जीलिङको प्रभावमा परेका मान्छेले स्कूल पढ्ने केटाकेटी सबैलाई कांग्रेस भन्थे । तर, हामी कोही पनि कांग्रेस थिएनौं ।

२००७ सालपछि भने हामी सबै साँच्चै कांग्रेस बन्यौं । काठमाडौंमा गोरखा दलका केही मान्छे बाहेक सबै कांग्रेस थिए । जता हेर्‍यो  उतै कांग्रेस । विद्यार्थी जीवनमा कांग्रेस हुँ भन्दा पनि ठूलो कुरा हुन्थ्यो । गर्व गर्ने विषय हुन्थ्यो ।

त्योबेला इलाममा महावीर समशेर वडाहाकिम थिए । उनको बसाई कोलकातामा थियो । उनी पनि कांग्रेस भएको हुनाले त्यसक्षेत्रका मान्छेहरू छिटै कांग्रेस भए ।

२००७ पछिको राजनीतिक घट्नाक्रम हेर्दा आन्दोलनका आन्दोलन भएको देख्नुहुन्छ । आन्दोलनको नेतृत्व विद्यार्थीले गर्नुपथ्र्यो । मैले कलेज दार्जीलिङमा पढेका हुँ । तर, आन्दोलनमा हिड्दा पढाइ बिग्रियो । कलेज छोडेर इलाममा संघर्ष गर्न आउँथे ।

वीपी कोइराला २००८ सालमा गृहमन्त्री भएर इलाम पुगेका थिए । हामीले ठूलो र्‍याली गर्‍यौं । वीपीसँग मेरो पहिलो भेट भएको त्यही हो ।

त्यसपछि त काठमाडौंमा पटक–पटक भेटघाट भयो । २०१५ सालको चुनावमा गृहमन्त्री भएर इलाम जाँदा हामीले यहाँलाई माइखोलासम्म स्कर्टिङ गरेका थियौं । चुनावपछि भेटौंला सान्दाइ भनेर छुट्टियौं ।

२०१७ सालको ‘कु’ पछि वीपी कोइराला आठ वर्ष जेलमा थुनिनु भयो । त्यतिबेला वीपी, गणेशमान सिंह, सुवर्ण शमशेर जबरालाई राजाले त्यस्तो ढंगले पेल्छ भन्ने खालको अनुमान थिएन ।

जेलबाट रिहा भएपछि वीपी कोइराला निर्वासनमा जानुभयो । उहाँले निर्वासनबाटै सशस्त्र क्रान्ति घोषणा गर्नु भयो । उहाँको आव्हान अनुसार हामी भारत गयौं ।

भारतमा बस्दा धेरै कठिन अवस्था थियो । नेपाल–भारत सीमानाको चार माइल टाढा बस्नुपथ्र्यो । नभए पक्राउ गथ्र्यो । त्यहाँ पनि शहरमा नबसेर गाउँमा बस्नुपथ्र्यो ।

कतिपटक भोकै बसेका छौं । खानेकुरा थोरै हुँदा क्यान्सरको बिरामी र सुत्केरीलाई खुवाएर भोकै पनि सुत्यौं ।

वीपी यसकारण स्वदेश फर्किए

वीपी मेलमिलापको नीति लिएर किन फर्कनुभयो भने विषयमा धेरैको जिज्ञासा छ । यसको उत्तर आइसकेको पनि छैन र आउन गाह्रो पनि छ । १६ पुस २०३३ सालमा नेपाल फर्कनुपर्छ भन्ने सोच नआउँदै वीपीले हामीलाई के भन्ने गर्नुहुन्थ्यो–जिन्दगीमा साह्रै अप्ठ्यारो अवस्था पनि मैले झेलेको छु । जेल जानुपर्दा जेल पनि गएको छु ।

जेलमा बस्दा अब मार्दैछ भन्ने हल्ला पनि चलाइन्थ्यो । मर्नुपर्छ भन्ने पनि लाग्यो । मर्न परे पनि मर्छु जस्तो लाग्थ्यो । तर, मलाई यो जतिको कठिन कहिल्यै भएको थिएन । अहिले जत्तिको वेदना कहिले पनि सहेको छैन भन्नुहुन्थ्यो । त्यो के हो ? त्यतिबेला हामीले सोध्न पनि सकेनौं, उहाँले भन्नुपनि भएन ।

पछि थाहा भयो, भारतले त्यतिबेला उहाँलाई एउटा प्रस्ताव राखेको रहेछ– यहाँ बस वा नेपाल जाउ, तिमी जिन्दगीभरि प्रधानमन्त्री बन्छौं । तर, सेना र परराष्ट्र हामीलाई देउ भन्ने प्रस्ताव आएपछि उहाँमा त्यस्तो छटपटी, बेचैनी भएको रहेछ ।

बिराटनगरका एकजना साथी वीपीलाई भेट्न गएका रहेछन् । वीपी एकजना मान्छेसँग कुरा गर्दै रहेछन् । ती साथीलाई वीपीले तिमी बस, तिमी बस भन्नु भएछ । मेरो भाइ बिरामी छ सान्दाजु, भन्दा पनि वीपीले तिमी एकछिन बस भनेर कुरा सुनाउनुभएछ । त्यसैक्रममा त्यो मान्छेलाई वीपीले भन्नुभएछ– म राजाको खुट्टा ढोग्न जाँदैछु, तर यहाँ बस्दिनँ ।

वीपीविरुद्ध नेपालमा सात÷आठवटा मुद्दा थिए, देशद्रोहका । यहाँ फर्किंदा मारिने सम्भावना धेरै थियो । त्यत्रो जोखिम हुँदाहुँदै मारे भने नेपालमै मर्छु भनेर फर्किए ।

वीपीले किन ज्यान हत्केलामा राखेर आए भन्ने राजाले पनि थाहा पाए । र, औषधी गर्न पठाए । त्यतिबेला वीपीले मेरो जीवनभन्दा देशको जीवन धेरै महत्वपूर्ण छ । म क्यान्सरले जति बिरामी छु, त्योभन्दा यो देश अझै बिरामी छ भन्नुभएको थियो ।

जब सार्वभौमिकता खतरा देख्नुभयो

वीपीलाई भारतमा बसेर आन्दोलन गर्न मात्रै असहज भएको होइन । उनले त्यहाँ बसेर आन्दोलन गर्दा सार्वभौमसत्ता रहन्छ कि रहँदैन भन्ने परेपछि मेलमिलापको नीति लिएर नेपाल फर्केका हुन् । मेरो आन्दोलनका कारण सार्वभौमसत्ता नै संकट पर्नसक्छ भने देशलाई किन जोखिममा राख्ने भनेर उनी आफंै ज्यानको बाजी लगाएर नेपाल फर्केका हुन् । मार्छौ भने मार, तर परिस्थिति यस्तो छ है भन्न आएका हुन् ।

१६ पुसमा वीपी, गणेशमान, शैलेजा आचार्य, खुमबहादुर खड्का, रामबाबु लगायत आउनु भएको हो । वासु कोइराला, धर्म गौतम र म भने २५ कार्तिक ०३३ मै नेपाल आयौं ।

वीपीले तत्कालै जाने वित्तिकै मार्छ कि मार्दैन भन्ने जान्न खोज्नुभएको थियो । हामीलाई मार्न खोजेको पनि हो । विमानस्थलबाटै हामीलाई पक्राउ गरेर हनुमानढोका लगियो । २५ दिनसम्म यहाँ राखेर मलाई झापा लगियो । मेरो केही मुद्दा थिएन । तर, झापामै नक्कली मुद्दा बनाए ।

त्यतिबेलाको अवस्था कस्तो थियो भने राजालाई थाहा नदिएरै मार्ने पनि गर्थे । जस्तो– यज्ञबहादुर थापालगायतलाई मारिसकेपछि मात्रै राजालाई थाहा दिइएको थियो । राजालाई पनि गुमराहमा राखेर मार्थे । जबकि राजाको निर्देशनमा मात्रै मार्नुपथ्र्यो ।

मान्छेले शंका गरेजस्तो वीपी राजासँग सल्लाह गरेर आएका भने थिएनन् । त्यो सरासर गलत हो । हामी राष्ट्रवादी हौं । राजा पनि राष्ट्रवादी हो भन्ने वीपीको बुझाइ थियो । फरक के थियो भने राष्ट्र सकिँदा राजालाई जाने ठाउँ कहीँ पनि थिएन ।

वीपी भन्नुुहुन्थ्यो, सरकार, यो देश चीन भयो भने पनि मेरो विराटनगरमा सानो झुपडी छ । भारत भयो भने पनि बिराटनगरको त्यही झुपडीमा बस्छु । म बस्न पाउँछु । तर, चीन वा भारत भयो भने सरकार कहाँ जाने ? यो सन्दर्भमा हो उहाँले राजासँग मेरो घाँटी जोडिएको छ भन्नुभएको ।

तर, राजा राष्ट्रवादी भएर मात्रै पुग्दैन, प्रजातन्त्रवादी पनि हुनुपर्छ । प्रजातन्त्रवादी र राष्ट्रवादी भयौं भने मात्रै राजालाई राजा मान्छौं भन्नुहुन्थ्यो ।

राजाले वीपीलाई बचाए

यो देशको सार्वभौमसत्ता रहन्छ कि रहँदैन भन्ने विषयलाई लिएर वीपी ज्यानको बाजी लगाएर आएका थिए । वीपीको कुरामा राजा ‘कन्भिन्स’ पनि भएका हुन् ।

वीपीलाई औषधी गर्न जान दिनुहुँदैन भन्नेहरू कन्भिन्स भएनन् । त्यस्तो भन्नेमा त तुलसी गिरी पनि थिए । सूर्यबहादुर थापाले वीपीलाई मार्नुपर्छ भनेर प्रत्येक गाउँ पञ्चायतबाट प्रस्ताव पारित गराएका थिए । राजा एक्लैको प्रयासमा मात्र वीपीलाई नमारेको हो । पछि एकजना न्यायाधीशले वीपीका सातैवटा मुद्दामा निर्दोष सावित गरिदिएको छ ।

पछि ०३६ सालको जनमत संग्रहलाई मान्दिनँ भनेर गणेशमानजीले आन्दोलन गर्छु भन्नुभयो । कृष्णप्रसाद भट्टराईले सत्याग्रह गर्छु भन्नुभयो । गिरिजाबाबुले बन्दुकै बोक्छु भन्नुभयो । तर, विपीले धेरै कुरा भनेर सम्झाउनुभयो । सबै कुरा म अहिले भन्न चाहन्न ।

जनमत संग्रहको परिणामलाई वीपीले व्याख्यै गर्न नसकिने नतिजा भन्नुभएको छ । तर, कम्तिमा हामीजस्ता प्रजातन्त्रवादीले जनमत भएकाले अस्वीकार गर्छु भन्न मिल्दैन भन्नुभयो । नहुनु पर्ने थियो, भइहाल्यो । तर यो गलत हो भनेर जनतालाई भन्न समय लाग्छ भन्नुहुन्थ्यो ।

हुन पनि जनमत संग्रहको नतिजा स्वीकार्ने निर्णय सही ठहरियो । जनमत संग्रहले नेपाली कांग्रेसलाई धेरै फाइदा भयो । जनमत संग्रहका बेलामा नेपाली कांगेसको झण्डा देखे जनताले । जो १७ वर्षयता जन्मिएको थियो, उसले कांग्रेसको झण्डा देख्यो । सबैको घर–घरमा, बजार–बजारमा कांग्रेसको झण्डा थियो । कांग्रेसको अफिसमा झण्डा र साइनबोर्ड थियो ।

जनमत संग्रहपछि बोर्ड झिकियो, झण्डा झिकियो तर अफिस झिकिएन । झण्डा छैन, बोर्ड छैन, अफिस त छँदैछ । कांग्रेसको नाम मेटिएन, अफिस पनि मेटिएन । त्यहीँ भेला हुन्थे कांग्रेसहरु । त्यही तयारीबाट ०४६ सालको जनआन्दोलन सुरु गरिएको हो ।

आजको कांग्रेसले नबुझेको मेलमिलाप

झट्ट हेर्दा मेलमिलाप दिवसबाट सिक्नुपर्ने कुरा केही पनि छैन । तर, यसबाट सिक्नुपर्ने कुरा धेरै छ । सबैभन्दा महत्वपूर्ण कुरा, निस्वार्थ भावले पार्टी सञ्चालन गर्नुपर्छ । विना स्वार्थ संगठन निर्माणमा लाग्नु पर्छ ।

कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा देख्नुभयो नि । दुईजना (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) ले अंकमाल गरे, हात मिलाए । तर रामचन्द्रजीले किसुनजी र गिरिजाप्रसादले पनि यस्तै गरेको हो भन्नुभयो । त्यो पनि मिलेको हो ? छुद्रवचन भएन र ? योखालको नियत, योखालको प्रवृत्ति राखेर बस्ने नेताहरुबाट केही पाउन सक्छु भन्ने आशा गर्छौं ?

कृष्ण सिटौलाले पनि मेरो बेग्लै छ भने । कांग्रेसको नीति निर्धारण गर्ने ठाउँ महासमितिको निर्णय मान्दिनँ भन्ने मान्छेलाई तुरुन्त निकाल्नुपर्छ । म मान्दिनँ भन्ने मान्छे पार्टीमा रहन्छ ? उनीहरुले यो नियत बदल्नुपर्छ, होइन भने छोड्नुपर्छ । होइन भने तपाईंहामी जस्ता मान्छेले निकाल्नुपर्छ ।

महासमिति बैठकमा अंकमाल गरेर पछि फेरि त्यसो भन्ने ? कहाँ देख्नुभयो नैतिकता ? नैतिकता नभएको नेताबाट के आशा गर्ने ? उनीहरुले त उसले मान्नुपरेका, मानेका मान्छेले जे भनेको छ, त्यही कुरा मात्र हो भन्छ ।

सैद्धान्तिक कुराहरु नेतृत्वमा के छ, के छैन भन्ने व्याख्या गर्न सकिँदैन । महासमितिमा एक थोक भन्छ, बाहिर निस्केपछि यो हैन भन्छ । नेतासँग नैतिकता सिद्धान्त छ र ? सिद्धान्त र नैतिकता नभएको मान्छेबाट पार्टी कहिलेसम्म चल्न सक्छ ?

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog