Monday, December 31, 2018

जब तपाईं बिरामी भेट्न जानुहुन्छ

‘अहो, के भयो ? कहिलेदेखि यस्तो ? लु बर्बाद भएछ ।’

तपाईं जब अस्पतालको शैयामा पुग्नुहुन्छ, भेट्न आउने ‘शुभेच्छुक’हरुले यसरी नै केरकार गर्न थाल्छन् । तपाईं/हाम्रो स्वास्थ्यको ठेगान छैन । कुन बेला के हुन्छ ? अनुमान गर्न सकिदैन । अचानक रोग लाग्न सक्छ । अप्रत्यासित दुर्घटनामा पर्न सकिन्छ । कुनै कारणवश अस्पतालमा पुगिन्छ । वा घरमै थला पर्न सकिन्छ ।

यस्तो अवस्थामा तपाईं/हाम्रो मनोदसा कस्तो हुन्छ ?

एकातिर रोगको चिन्ता, अर्कोतिर उपचार-खर्चको । उपचारमा खर्च गरेपनि रोग निको हुने हो वा होइन ? जीवनभर यसरी नै थलिनुपर्ने हो कि ? रोगले फेरी कहिल्यै उठ्न नदिने हो कि ? मेडिकल रिपोर्टले भयानक नतिजा देखाउने हो कि ? यस्ता अनेक शंका-उपशंकाले मन बेचैन बनाउँछ ।

अर्कोतिर आफ्नो पीडा छँदैछ । दुखाई, असहज, ऐठन आदिले ग्रस्त बनाइरहेको हुन्छ ।

त्यसमाथि आफ्नो कारणले परिवारमा पर्न गएको दुःख, परिवारले झेल्नुपरेको कष्ट । त्यसैले त भनिन्छ, ‘जीवनभर अस्पतालमा पुग्न नपरोस् । औषधी खान नपरोस् ।’

तर, जब स्वस्थ्य, तन्दुरुस्त हुन्छौं, अस्पतालमा गुजार्नुपर्ने यी दशा भुल्न पुग्छौ । मनलाग्दो खाने, मनलाग्दो बस्ने गर्छौं । नतिजा, रोगले च्याप्छ । रोगले च्यापेपछि न पैसा छैन भन्न पाइयो, न उद्यम-व्यवसायमा घाटा लाग्छ भन्न पाइयो । न जागिरबाट हटाउँछ भन्न पाइयो । यावत कुरा छाडेर चुपचाप अस्पताल धाउनुको विकल्प रहँदैन ।

अस्पताल पुगेपछि चिनेजानेका, आफन्त, साथीभाई भेट्न आउँछन् । किन भेट्न आउँछन् ? जवाफ एउटै हो, रोगीलाई सान्तवना मिलोस् भन्नका खातिर ।

किनभने यसरी भेट्न आउनेहरुले रोगको निदान खोजिदिने होइन । न उपचार गर्ने नै हो । यद्यपी आफ्नो उपस्थितीको कारण रोगीले सान्तवना पाउँछ । ढाडस मिल्छ ।

निश्चय पनि रोगीलाई भेट्न जाने भनेको उनीहरुको निरासा, वेचैनी, दुःख भुलाउन नै हो । आफन्त, साथीभाई, इष्टमित्रको उपस्थितीबाट रोगीले महसुष गरोस् कि, ‘मेरो रोग चाडै निको हुनेछ । सबैले सहयोग गर्नेछन् । मप्रति सबै शुभेच्छा प्रकट गरिरहेका छन् ।’

यसले रोगीमा आत्मविश्वास जागृत हुन्छ । के भनिन्छ भने, धेरैजसो रोग निदानमा रोगीको आत्ममनोवलले काम गर्छ । अर्थात उच्च आत्ममनोवल भएमा उसको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा सहजै रोग निदान हुन्छ ।

जब रोगी हतोत्साही हुन्छन्, आत्ममनोवल कमजोर हुन्छ, उनीहरुलाई रोगले थप ग्रसित बनाउँछ । मानसिक चिन्ता, वेचैनी, भयले उनीहरुको उपचार अपेक्षाकृत राम्रो हुँदैन ।

त्यसैले त चिकित्सकहरुले रोगीलाई सान्तवाना दिन्छन् । थमथमाउँछन् । र, रोग चाडै निको हुन्छ भनेर आश्वस्त तुल्याउँछन् ।

तर, हामी भने रोगीको मनोदसा बुझ्दैनौ ।

जब कोही रोगीलाई भेट्न पुग्छन् । उनीहरु रोगीलाई राहत मिलोस्, आत्मविश्वास प्राप्त होस् भन्ने भन्दा पनि फरक कुरामा चासो राख्न थाल्छन् ।

सुरुमै सोध्छन्, ‘अहो, के भयो यस्तो ?’

यो प्रश्नबाटै रोगी थप व्याथित बन्न पुग्छन् । उनीहरु ठान्छन्, ‘म बर्बाद भइसकेछु ।’

त्यसपछि यस्ता प्रश्नहरु गरिन्छ, ‘हेर त, कति दुब्लाएको ?’

–     ‘लौ, के भएको ? कसरी यस्तो भयो ?’

–     होइन, हिजो-अस्तिसम्म त ठिकठाक थियो । अचानक के भयो ?

–     अहो, रोगले खत्तम बनाएछ नि ?

त्यसमध्ये कतिपले उनीहरुमाथि दया दर्शाउँछन् । ‘विचार’ भनेर करुणा पोख्छन् । हुन त यी मानविय स्वभाव हो । अरुको अवस्था कमजोर देखेपछि हाम्रो मनभित्र करुणा पैदा हुन्छ । दया-भाव पलाउँछ । तर, हामीले सधै भावनामा बहकिएर हुँदैन । कतिपय व्यवहारिक अवस्थालाई पनि ध्यान दिनुपर्छ ।

जब हामी रोगीलाई भेट्न अस्पताल जाँदैछौं भने यस्तो महसुष गराउनुपर्छ कि, त्यो रोगबाट उसले चाडै उन्मुक्ति पाउँदैछन् । उपचार सही ढंगले भइरहेको छ । सबै ठिकठाक छ । यो कुनै अनौठो र भयानक कुरा होइन । मानव शरीर हो, रोग लाग्छ । उपचार गर्नैपर्छ । अरुले पनि तिमीले जस्तै भोगिरहेकै छन् ।

यस किसिमको भावना पैदा गराउनुपर्छ, रोगीमा । जब रोगीले आफु ठिकठाक भएको अनुभूत गर्छन्, तब उनीहरुको आत्ममनोवल उच्च हुन्छ ।

त्यसैले रोगीकहाँ भेट्न गइरहँदा उनीहरुलाई केरकार गर्ने, अन्र्तवार्ता लिने होइन । त्यसै त उनीहरुको मनोदसा खराब भइरहेको हुन्छ । त्यसमाथि तपाईंले घटनाको वेलिविस्तार लगाउन थाल्नुभयो, उपचार खर्चको कुरा उठाइदिनुभयो, उपचारको जटिलता देखाइदिनुभयो भने रोगीको मनमा कस्तो असर गर्छ होला ?

यसरी सोच्नुहोस् कि, भोलि तपाईं अस्पताल पुग्नुहुनेछ । तपाईंलाई भेट्न आउनेहरुले ‘के, किन, कसरी’ भन्दै तपाईंको लम्बेतान अन्र्तवार्ता लिन थालेमा के होला ?

त्यसैले अस्पतालमा विरामी भेट्न जाँदा सकारात्मक भाव पैदा हुने किसिमले आफ्नो उपस्थिती जनाउनुपर्छ । सके सहयोग गरौं, नसके निरुत्साहित नगरौं ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog