Monday, December 31, 2018

यसरी बाँच्छ नेकपा !

प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा ०७३ साउनमा सदनलाई सम्बोधन गर्दै केपी ओलीले ‘यो समयको अन्त्य होइन, खेल जारी छ’ भनेर राजनैतिक परिदृष्य छिट्टै परिवर्तन हुनसक्ने कुराको संकेत गरेका थिए । त्यसको केही महिनामानै उनै ओलीले आफ्नै सरकार ढलाउने गरी आएको अविश्वास प्रस्तावको प्रस्तावक पुष्पकमल दाहालसँग चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेर ‘सरप्राइज’ दिए ।

यही वाम गठबन्धनले नै आखिरमा जनतामा आशा जगायो र कार्यकर्तामा उत्साह थप्यो । झन्डै दुई तिहाई जनताको समर्थन आयो । ०७५ जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवस पारेर नेपालका वडा वडा दुई कम्युनिष्ट पार्टी एक भएको घोषणा भयो । तर, त्यसपछिको ७ महिनालाई नियाल्दा चुनावताका एकैरातमा पार्टी एकता गरुँलाजस्तै गरेका पार्टीहरुको एकीकरण प्रक्रिया भने निकै सुस्त देखिएको छ ।

यो सुस्तताले एकातर्फ ठूलो कार्यकर्ता पंक्ति निश्क्रिय बनेको छ । निश्क्रियताले स्वाभाविकरुपमा निराशासमेत बढाएको छ । अर्कोतर्फ संघीय, प्रादेशिक र स्थानीय सरकारका कामहरुको स्वामित्व पनि पार्टीले लिन सकेको छैन । सरकार चलाउनेहरुले पार्टीको साथ पाएको अनुभूति गर्न पाएका छैनन् भने पार्टीसँगठनले पूर्णता नपाउँदा पार्टी काम सुस्ताएको छ । कमिटी प्रणाली भत्किएको छ । न बैठक, न भेला, न प्रशिक्षण, न अन्तरक्रिया । जिम्मेवारी नभएपछि दायित्व पनि हुने कुरा भएन ।

पार्टी एकीकरणलाई छिटो छरितो टुङ्गाउन नसक्नु नेतृत्वको कमजोरी नै हो यसमा दुईमत छैन । पार्टी एकता प्रक्रियाले जुन गति पाउनुपर्ने हो, नपाएको कुरामा शंका पनि देखिदैन ।

समुन्नत सिद्धान्तबिना पार्टी अगुवा जोधाहा हुन सक्दैन । नेकपाले जनताको बहुदलीय जनवादको सारसहितको जनताको जनवाद भनेको भए पनि ‘ब्ल्याक इन ह्वाइट’ मा थप व्याख्या भएको छैन । सांगठनिकरुपमा एकता प्रक्रिया पूरा गरेको पनि छैन । यसर्थ, सिद्धान्त र संगठनको हिसाबले नेकपा दरो गरी उभिन सक्ने भएको छैन ।

जबजब पार्टी नीति, नेतृत्व र संगठन कमजोर देखिन्छ, त्यसको मौका छोप्दै नीति र नेतृत्वमाथि प्रहार गर्ने दक्षिणपन्थी अवसरवादको बानी नै हुन्छ । पात्रहरु फेरिन सक्छन् तर यो प्रवृत्ति बेलाबेला कम्युनिष्ट पार्टीमा देखिँदै आएको छ । “जनताको बहुदलीय जनवादको बाटोमा अक्सर दक्षिणपन्थी अवसरवादी विचलन देखिन सक्छ” भन्ने मदन भण्डारीको अनुमान यहाँ नेर स्मरणीय हुन आउँछ ।

०५४ को एमाले विभाजन यसैको ज्वलन्त उदारहण थियो । यो विभाजनले नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन सिंगो देशले ठुलो मूल्य चुकाउन पर्‍यो । यही प्रवृत्ति तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै ‘कु’ गरेपछि नजरबन्दमा परेका तत्कालीन महासचिव माधव नेपालका विरुद्ध नेतृत्व परिवर्तन गर्ने अभियानको रुपमा प्रकट भयो ।

त्यसै गरी स्वच्छ छविको मान्छेको खोजीका नाममा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि विज्ञापन माग गर्दा ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै निवेदन हाल्न पुग्नु पनि दक्षिणपन्थी अवसरवादकै अर्काे भद्दा रुप थियो ।

२०६२ र ६३ को जनआन्दोलनपछि माओवादी ठूलो पार्टी बन्यो । दुई दुईठाउँबाट पराजित एमाले नेता माधव नेपालको संसदमा आवश्यकता महशुस भयो । संसद प्रवेशको केही समयमै प्रधानमन्त्रीसमेत बने । माओवादी नौ दिने आम हड्तालसहित सडकमा पुग्यो । एमाले पार्टी र नेतृत्व बडो अफ्ठ्यारो परिस्थितिको सामना गर्दै थियो । त्यति नै बेला माधव नेपाल सरकारका विरुद्ध आशाका केन्द्र ठानिएका वडा वडानेताहरुबाटै हस्ताक्षर संकलन गरियो । त्यो पनि दक्षिणपन्थी अवसरवादको अर्को नमूना थियो ।

त्यतिमात्र होइन, बुटवल महाधिवेशनमा संगठनको लोकतान्त्रीकरण र संविधानसभाको प्रस्तावलाई स्थगित गरेर सम्भावनाका सबै ढोका खुल्ला राख्ने नीति लिनु तत्कालीन एमालेको जीवनमा अर्को दक्षिणपन्थी भुल थियो । जुन नीतिको कारण ढुलमुले, लिङ्ग नखुलेको पार्टीको बिल्ला लगाइयो । यस्ता जे जति भूलहरू भए, सबैलाई सिद्धान्तको दोष देखाउन प्रकाण्ड मार्क्र्सवादी विद्वानहरु लागि नै रहे । आज पनि त्यो अभियान जारी छ । सही कार्यनीति लिन नसक्नु सिद्धान्तको दोष नभएर नेतृत्वको कमजोरी थियो ।

आज ठूला शक्तिकेन्द्रका जालझेल र षड्यन्त्रका बावजुद दुई भिन्न स्कुलिङ्गका कम्युनिष्ट पार्टीहरु एक भएका छन् । झन्डै दुई तिहाई सहित संघीय सरकार र बहुमतका साथ प्रादेशिक र स्थानीय सरकार बनेको छ । जनतामा नयाँ आशा र उत्साह जागृत भएको छ । ठीक यतिबेला मदन भण्डारीले भनेझैँ पुनरुत्थानवादी र दलालपुजीँवादी शक्तिहरु पूरा शक्तिका साथ कम्युनिष्ट सरकारका विरुद्ध जेहाद छेडेका छन् ।

आजको दुनियाँमा बुर्जुवा वर्ग गोलीगट्ठा बोकेर जनताविरुद्ध आउँदैन । उसको हतियार नै भ्रामक प्रोपागान्डा हो । कम्युनिष्ट पार्टीविरुद्ध व्यापकरुपमा यही हतियार प्रयोग भएको छ । कम्युनिष्ट पार्टीको एउटा पंक्ति त्यही प्रोपागान्डामा होमा हो गर्न थालेको छ । जसरी पनि जे गरेर पनि सत्ता र शक्तिमा पुग्न डोल्पा, बाँके हँुदै काठमाण्डौंसम्मको दौड क्रान्तिकारी ठान्छ । तर, कम्युनिष्ट सरकारको नेतृत्वमा आउने रेल र पानीजहाजमा फासीवाद आएको देख्छ । केपी ओली र पुष्पकमल दाहालको अनुहारमा मुसोलिनी र पोलपोट देख्छ ।

यतिबेला कम्युनिष्ट पार्टीका नेताहरुको यस प्रकारका विचारहरुको प्रवाहले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउँछ कि वुर्जुवा वर्गको मनोवल बढाउँछ? दलाल पुजीँवादी शक्तिको उद्देश्य र कम्युनिष्ट नेताको विचारमा समानता हुनु संयोग मात्र हो कि क्रान्तिकारी रोमान्सको भद्दा रुप हो ? कम्युनिष्ट अहंकारवाद र क्रान्तिकारी लाफ्फाजीबाट जोगिँदै दक्षिणपन्थी अवसरवादका विरुद्ध तिखो राजनैतिक संघर्ष गरेर मात्र कम्युनिष्ट पार्टी बाँच्न सक्छ ।

पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले भनेझंै “कम्युनिष्ट पार्टीको मुख्य चुनौती व्यक्तिवादी आत्मकेन्द्रित प्रवृत्ति” बनेको छ । यस्ता प्रवृत्ति निम्न पुँजीवादी चिन्तनको उपज हुन् । जुन कुरालाई प्रचण्डले अलि बढी नै गम्भीरतापूर्वक उठाएका थिए । व्यक्तिवाद कम्युनिष्ट आन्दोलनको घातक शत्रु हो । सत्ता, शक्ति र पदका लागि जे पनि गर्न तयार हुने, सार्वजनिक हिसाबले नेतृत्वलाई खुइलाउने, एउटाको असफलतामा आफ्नो सफलता देख्ने, जालझेल र षड्यन्त्र गर्ने जस्ता निन्दनीय प्रवृत्ति देखिएको छ ।

एकातर्फ स्वार्थ र निजी हितका लागि नेतृत्वलाई भ्रममा पार्ने, प्रयोग गर्ने छट्टु कार्यकर्ताको बिगबिगी बढेको छ भने अर्कोतर्फ खानपिन र रसरंग व्यवस्था मिलाइदिने, जन्मदिन नआउँदै शुभकामना सामाजिक सन्जालका भित्ता पोत्ने, प्रमुख अतिथि बनाइराख्दिने, जहाँ पुग्यो त्यहाँ खादा र माला लिएर हाजिर हुने, बिहान बेलुकी क्या दिनुभो भन्दै जी हजुरी गर्ने कार्यकताको खोजी गर्ने नेताको जगजगी पनि उस्तै छ ।

आफूले भनेजस्तो नहुने बित्तिकै सार्वजनिकरुपमा असन्तुष्टि र आक्रोश व्यक्त गरेर बार्गेनिङ्ग गर्ने अराजक हर्कत पनि देखिन थालेको छ । यस्ता निम्न पँुजीवादी चिन्तन र कार्यशैलीलाई परास्त गरेर मात्र नेकपा बाँच्न सक्छ र समाजवादी क्रान्तिको लक्ष्यभेदन गर्ने छ ।

आज नेपालमा ‘समृद्ध नेपाल सुखी नेपाली’ कार्यनीतिक नारा बनाएर समाजवादमा पुग्ने लक्ष्यका साथ कम्युनिष्ट पार्टीले देशको बागडोर सम्हालेको छ । राष्ट्रियता, जनजीविका र जनवाद नेपालको कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि उठाउँदै आएको झन्डा हो । यसकै प्रकाशमा बनेको चुनावी घोषणापत्रका आधारमा नेकपालाई पाँच वर्षका लागि सरकार चलाउने जिम्मा आएको छ । वर्षौं राजनैतिक अस्थिरताले थला परेको अर्थतन्त्र तंग्रयाउन, बलियो बनाउन र कुदाउन अर्थतन्त्रका विज्ञ मन्त्री रोज्नु, नेपाली राजनीतिको चर्चामा रहेका, हाईहाई कमाएका वा जनताले धेरै नै आशा र विश्वास गरेका नेतालाई छानीछानी मन्त्री बनाउनु सरकारको सुरुवाती आशालाग्दो थियो ।

सरकारले पाँच वर्षको आफ्नो योजना तय गरिसकेको छ । १९५० को असमान सन्धी पुनरावलोकन गर्न प्रवुद्ध समूह बनाएर काम अगाडि बढ्नु र विराटनगरमा रहेको भारतीय कन्सुलरको कार्यालय हट्नुलाई नदेखेझै गर्न सकिएला । तर, चानचुने उपलब्धी हँुदै होइन । विगत वर्ष जस्तो यस वर्षको वर्षामा तराई डुबान भएन, के पानी कम परेर हो ? कि नदीको बहाब घट्या हो ? नबुझे झैँ गर्न त सकिएला, तर वास्तविकता लुक्दैन कि यो त सरकारको कुटनीतिक पहलको प्रभाव थियो । चीनसँगको पारवाहन सम्झौता गरेर देशलाई दोस्रो बाटोबाट समुन्द्रसँग जोडिएको छ, के यो उपलब्धि होइन र ? यो सम्झौताले राष्ट्रियता र जनजिविकामा कुनै प्रभाव पर्दैन ?

विदेशबाट सीप लिएर फर्केका युवालाई अनुदान ब्याजमा १० लाख सम्मको ऋण दिने सरकारको नीतिले दलालपँुजीको विकास हुन्छ कि राष्ट्रियपँुजी को ? शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई दिने ऋणले कुन वर्गको सेवा गरेको हुन्छ? योगदानको आधारमा सामाजिक सुरक्षा कार्यक्रमले पँजीपतिको हित रक्षा गर्छ कि मजदुरको ?

विभिन्न क्षेत्रमा रहेको सिण्डीकेट तोड्न गरेको प्रयास र कानुन बनाउन देखाएको सक्रियता के केटाकेटी खेल थियो ? कसम खाएर, आँखा चिम्लेर विरोध गर्नु अलग कुरा भयो तर परिणामले देखाउँछ कि सरकारले लिएको दिसा गलत छैन । कामका शिलसिलामा भएका कार्यशैलिगत त्रुटीलाई लिएर जहाजै डुब्न लागेजस्तो कोकोहोलो मच्चाउनेहरु सारसंग्रहबादीहरु हुन्, कम्युनिष्ट विरोधी हुन ्। सरकारलाई कमजोर बनाएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर बनाउन सकिन्छ भन्ने दलाल पँुजीवादी शक्तिकेन्द्रको मिसन हो । त्यसैमा होमा हो गरेर होइन, तिनैको मनोबल बढाएर होइन षड्यन्त्रको प्रतिवाद गरेर, जनतालाई सचेत र संगठित गरेर मात्र नेकपा अगाडी बढ्न सक्छ, बाँच्न सक्छ ।

चिनिया क्रान्तिपछि त्यहाँका कम्युनिष्टले जस्तै, रुसी बोल्सेविक क्रान्तिपछि रसियन कम्युनिष्टहरुले जस्तै र भियतनामको क्रन्तिपछि अमेरिकी नाकाबन्दीका विरुद्ध त्यहाँका जनताले गरेजस्तै योगदान नेपाली कम्युनिष्ट कार्यकर्ताले गर्ने बेला हो यो । आइतामातोभले लेखेको ‘प्रथम गुरु’ को पात्र डुइसेन जस्तै अखिलका हरेक कार्यकर्ताहरु सरकारको निरक्षरता उल्मूलन र अनिवार्य शिक्षा अभियानको अभियन्ता बन्नु जरुरी छ ।

कृषिजन्य उत्पादनमा आत्मनिर्भर हँुदै राष्ट्रियपँुजी निर्माण गर्ने सरकारको नीतिलाई सफल पार्न हरेक युवालाई उत्पादनसँग जोड्ने जोडाहा दस्ता युवा संघ नेपाल बन्नुपर्छ । हरेक कम्युनिष्ट पार्टीको सदस्यले आफुलाई सामाजिक विभेद र कुरीतिका विरुद्ध लड्ने सिपाही ठान्नुपर्छ ।

कर्मचारीतन्त्रभित्र रहेका कम्युनिष्ट पार्टीका सदस्यले सरकारको नीति, कार्यक्रमलाई सफल पार्न जस्तोसुकै चुनौती पनि उठाउन तयार हुनुपर्दछ । जुनसुकै ठाउँमा जुनसुकै जिम्मेबारी उठाउन तयार हुनुपर्दछ । कम्युनिष्ट हुनुको अर्थ वस्तुनिष्ठ, इमान्दार हुनु हो । त्यसैले जो जसले आफूलाई कम्युनिष्ट भन्न रुचाउँछ, त्यसले कम्युनिष्ट सरकारको ‘समृद्ध नेपाल,सुखी नेपाली’ को नीतिलाई आफ्नु जिम्मेवारी ठान्नुपर्छ । यही मिसनले मात्रै कम्युनिष्ट पार्टी बाँच्ने छ ।

राजनैतिक नियुक्ति, सरुवा बढुवाको पछि कुद्ने, निजी कलेजलाई विश्वविद्यालयको सम्बन्धन मिलाइदिने अन्यथा तालाबन्दी गर्दिने जस्ता उपाय रोजेर कमाउ धन्दा चलाउने अखिल, रातारात धनी हुन जे पनि गर्ने दलालपुँजीको दलदलमा फसेको युवा संघ, मालदार ठाउँको पछी कुद्ने कर्मचारी, गणेश प्रवृत्तिका कार्यकर्ता अनि महादेव प्रवृत्तिका नेता भएको पार्टी आजको कम्युनिष्ट पार्टी बन्न सक्दैन ।

आफ्नै पार्टी, नीति र नेतृत्वमाथि सार्वजनिकरुपमै धावा बोल्ने अवसरवादी नेताको जमात बोकेर समेत कम्युनिष्ट पार्टी बाँच्न सक्दैन । यसरी निम्न पुँजीवादी, दलाल पुँजीवादी र दक्षिणपन्थी अवसरवादी चिन्तनलाई चिरेर समाजमा नयाँ आशाको दियो बाल्न तयार कार्यकर्ता तथा नेतृत्व पंक्तिको दस्ताले नै कम्युनिष्ट पार्टी वास्तविकतामा बाँच्न सक्छ ।

(नेकपा कार्यकर्ता न्यौपाने राष्ट्रिय युवा परिषदका सदस्य हुन् )

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog