Friday, November 30, 2018

एक पुल, जसले दुई मुलुकको भाग्य फेरिदियो

१४ मंसिर, काठमाडौं ।       स्वीडेनका मानिसले यसलाई ओरेसन्ड्सब्रोन भन्छन् र डेनमार्कका मानिसहले ओरेसन्ड्सब्रोइन । तर, विश्वका अन्य धेरै मानिसहरुले भने यसलाई ‘द ब्रिज’को नामले मात्रै चिन्छन् ।

यो नाम विभिन्न पुरस्कार जितिसकेको नर्डिक नोयर नाटकबाट लिइएको हो, जसको मञ्चन १०० भन्दा धेरै देशमा भइसकेको छ ।

यो पुल विशाल छ । ८२ हजार टन वजनको यो पुल २०४ मिटर लामो धातुका दुई खम्बामको भरमा टिकेको छ ।

पुलको डिजाइन विशेष छ । यो समुन्द्री सतहको माथि र तल दुवैतिर छ । सुरुङसहित यसको लम्बाई १६ किलोमिटर छ, जुन युरोपको सबैभन्दा लामो पुलमध्ये एक हो ।
यो पुलले स्वीडेनको तेस्रो ठूलो शहर माल्मोलाई डेनमार्कको राजधानी कोपेनहेगनसँग जोड्छ । यसले ओरेसन्डको खाडीमा लामो डुंगा वा विमान सेवाको आवश्यकतालाई अन्त्य गरिदिएको छ ।

‘द ब्रिज’ नाटकको चौंथो सिजनमा काम गरिसकेका ३१ वर्षका एक्टर पोन्टस टी पेग्लर माल्मोको उत्तरमा एक सानो बजारमा बस्छन् ।

यो पुलको निर्माण भइरहेको दिनहरु सम्झिँदै उनी भन्छन्, ‘हामी माल्मोसम्म जाने गथ्र्यौं तर, अहिले जस्तो डेनमार्क जान पाउँदैनथ्यौं । डेनमार्क धेरै टाढा लाग्थ्यो र लामो यात्रा गर्नुपर्थ्यो ।’

सन् १९९० को दशकमा स्वीडेनमा आधारभुत सुविधाहरु स्टकहोम र गुटेनवर्ग जस्ता ठूला शहरहरुमा मात्रै थिए । पेग्लर जस्ता मानिसहरु उपेक्षित महसुस गर्थे ।
सन् २००० मा ओरेसन्ड ब्रिज खुलेपछि यहाँको आर्थिक स्थिति परिवर्तन हुन थाल्यो । सीमापार आउजाउ सजिलो भयो । यात्रामा कम समय लाग्न थाल्यो ।

डुंगाको लागि घाटमा घन्टौं पर्खिनुपर्ने बाध्यता सकियो र मानिसहरु कारबाट १० मिनेटमै दुरी पारा गर्न थाले । माल्मो र कोपनहेगको बीचमा यो यात्रा अहिले जम्मा ३४ मिनेटको छ ।

यो पुल छिट्टै यूरोपियन सीमापार सहयोगको प्रतिक बन्यो । पेग्लर भन्छन्, ‘साँच्चै नै धेरै छिटो भयो । अब तपाईं त्यहाँ गएर त्यसैदिन फर्किन सक्नुहुन्छ । मेरो हिसाबमा यो सबैभन्दा ठूलो परिवर्तन हो । तपाईं त्यहाँ सप्ताहन्तमा वा कुनै अरु कारणले बस्न चाहनुभयो भने पनि धेरै सजिलो छ ।’

पुल भएर कति यात्रुहरु ओहोरदोहोर गर्छन् ?

सन् २०१७ मा औसत रुपमा दैनिक २० हजार गाडीहरु यो पुलमा गुडे भने करिब १४ हजार मानिसले दैनिक रेलबाट यात्रा गरे ।

२०१७ को पहिलो छ महिनामा सुरु गरिएको अस्थायी पहिचान जाँचले यात्रामा समय धेरै लागिरहेको थियो । यसको बाबजुद पनि यति धेरै यात्रुहरुलो पुलबाट आउजाउ गरे ।
पुल बन्नुभन्दा पहिला दैनिक ६ हजार मानिसहरु डुंगाले सहायताले यो यात्रा गर्थे ।

माल्मोमा बस्ने ४३ वर्षकी निकोले फ्रिबर्ग एक आईटी कम्पनीमा म्यानेजिङ डाइरेक्टर छिन् । उनी पछिल्लो १२ वर्ष देखि काम गर्न कोपनहेगन जान्छिन् । उनी भन्छिन्, ‘यदि यो पुल हुँदैनथ्यो भने मेरो करियर धेरै सुस्त हुन्थ्यो ।’

पुलबाट ओहोरदोहोर गर्नेहरु धेरैजसो मानिसहरु स्वीडेनका छन् तर, यसले डेनमार्कका मानिहरुलाई पनि स्वीडेन आएर र त्यहाँका मानिहरुसँग भेटघाट गर्न मौका दिएको छ ।

प्रतिक्षाको मिठो फल

ओरेसन्ड पुल बन्न लामो समय पर्खिनु पर्‍यो र निर्माणका क्रममा धेरै चुनौतीहरु आए ।

इन्जिनियरहरुले १९३६ देखि नै स्वीडेन र डेनमार्क सरकारलाई पुल वा सुरुङ बनाउने प्रस्ताव राखिरहेका थिए । पछि दुवै सरकारले सन् १९९१ मा माल्मो र कोपनहेगन जोड्ने यस पुल बनाउने सम्झौतामा हस्ताक्षर गरे ।

स्वीडेनको लक्ष्य यूरोपको अन्य भागमा सहयोग बढाउनु थियो भने डेनमार्कलाई कोपनहेगनको केस्ट्रप एयरपोर्टमा एयर ट्राफिक बढाउनु थियो ।

दुवै देशले ओरेसन्ड क्षेत्रमा व्यापार र शैक्षिक संस्थाहरुलाई बढाएर क्षेत्रीय पहिचानलाई सहारा दिए ।

माल्मोमा पारम्परिक कपडा र जहाज निर्माण उद्योग बिग्रँदै गएपछि त्यहाँ नयाँ व्यापारको खाँचो थियो ।

सन् १९८९ देखि २००३ को बीचमा शहरका स्ट्राटेजिक डेभलपमेन्ट डाइरेक्टर रहेका क्रिस्टर पेर्सन भन्छन्, ‘माल्मोलाई धेरै सुस्त शहर भनिन्थ्यो । यहाँका नेताहरुमा धेरै निराशा भरिएको थियो ।’

पेर्सनले अहिले ओरेसन्ड ब्रिजको प्रभावको बारेमा पुस्तक लेखिरहेका छन् । उनी माल्मो विश्वविद्यालयमा गेस्ट लेक्चरर पनि छन् । ‘सरकारले अध्ययन गर्यो र पुल बनाउने समय आएको निश्कर्षमा पुग्यो किनभने त्यसले मात्रै परिवर्तन सम्भव थियो’ उनी भन्छन् ।

उनीहरुले एक परम्परागत औद्योगिक शहरलाई आधुनिकमा परिवर्तन गर्ने बारेमा सोचे । जहाँ आइटी, डिजाइनर बायोटेक्नोलोजीको क्षेत्रमा साना र मझौला कम्पनी खोल्न सकिन्छ ।

साहसिक कदम

ठूलो लक्ष्यको लागि चाहिने बजेट पनि ठूलो थियो । पुल र त्यससँग जोडिएको आधारभुत सुविधाहरु जस्तै सडक र स्टेशन लगाएतका संरचना बनाउनको लागि ३० अरब डेनिस क्रोनर अर्थात ४.३ अर्ब डलर लाग्ने अनुमान गरिएको थियो ।

मानिसहरुलाई करको बोझ कम गर्न दुवै सरकारले सार्वजनिक सहयोगको बाटो अपनाए । पुलको मुख्य हिस्सा बनाउनको लागि ऋण लिइएको थियो, जसलाई दुवै सरकारले बहन गरे । यस कर्जालाई पुलमा आउजाउ गर्दा निश्चित शुल्क (टोल फि) लगाउने र ३० वर्षमा ऋण चुक्ता गर्ने सहमति भयो ।

डेनमार्कका इन्जिनियर स्मेदेगार्ड एन्सडरसन पढाई पुरा गरेपछि पुलको निर्माणमा लागेको कम्पनीमा जागिरे भए । उनी भन्छन्, ‘यस्तो प्रोजेक्टमा कम गर्नु शानदार थियो ।’
एन्डरसरनको टिममाथि जिम्मेवारीको ठूलो बोझ थियो । उनीहरुलाई पुल त्यति अग्लो नहोस्, जसले कम उचाईमा उडिरहेका विमानहरुलाई खतरा नहोस् भन्ने सुनिश्चित गर्नु थियो ।

यदि पुल होचो भएमा पनि पानी जहाजको बाटो रोकिन्थ्यो । ‘पहिले कसैले यस खालको पुल बनाएका थिएनन्, जहाँ नजिकै एक विमानस्थल पनि थियो र दुई देश बीचको एक व्यस्त जलमार्ग’ उनी भन्छन् ।

पुल निर्माणमा बेलाबेलामा अवरोध पनि आयो । निर्माण क्रममा दोस्रो विश्वयुद्धका १६ बम भेटिए, जुन विष्फोट भएका थिएनन् । दुई पटक भीषण हिमपात भयो, जसले माल ढलान गर्न मुस्किल भयो ।

यस्तै वातावरणविदहरुले प्रोजेक्टको विरोध गरे र स्वीडेनको पर्यावरणमन्त्री ओलोफ जोहानसनले आफ्नो राजीनामा दिने अवस्था आयो । एन्डरसन भन्छन्, ‘पुरै बाल्टिक क्षेत्रको पर्यावरणको सन्तुलनमा बहस भयो । हरेक दिन नयाँ नयाँ चुनौती अगाडि आउन थाल्यो ।’

आलोचकहरुलाई विस्तृत जवाफ दिने प्रयास गरियो र यात्रुहरुलाई कारको सट्टा रेलको प्रयोग गर्न प्रेरित गर्ने अभियान चलाइयो ।

समयमै काम पुरा गर्ने स्केन्डिनेभियन देशको दक्षतालाई साबित गर्दै यस विशाल पुलको निर्माण कार्य ५ वर्षमा सकियो । निर्धारित समभन्दा केही महिना अगाडि नै पुल बनेको थियो ।

पुलको उद्घाटनमा विशेष दौड र साइक्लिङ जस्ता कैयौं प्रतियोगिताहरु आयोजना गरिए । उद्घाटन समारोहमा स्वीडेन र डेनमार्कका शाही परिवारले भाग लिएका थिए ।

त्यसै मौकामा एन्डरसनले डेनिस टिभी नेटवर्क २ का लागि कमेन्ट्री पनि गरेका थिए । उनी भन्छन् ‘जब पहिलो कार र मोटरसाइकल त्यहाँबाट गुडिरहेका थिए । त्यतिखेर म बोलिरहेको थिएँ, साँच्चै त्यो शानदार अनुभव थियो ।’

यात्रुको चाप धेरै भएन

पुराना दिनहरु सम्झिँदै क्रिस्टर पेर्सन भन्छन्, ‘सुरुवातमा पुलमा धेरै ट्राफिक नभएमा दुवै देशलाई कर्जा चुकाउन समस्या पर्ने चिन्ता थियो ।’

सन् २००० मा शिशिरयाममा दैनिक ७ हजार देखि १० हजार गाडि गुड्थे । गर्मीको छुट्टीमा भने यो संख्या १४ हजार सम्म पुग्थ्यो ।

मानिसहरु पेर्सनसँग सोध्ने गर्थे, ‘तपाईहरुले यति ठूलो प्रोजेक्टमा लगानी गर्नुभएको छ जुन १०० वर्षसम्म खडा रहन सक्छ तर के तपाईंहरुले ३० वर्ष मै कर्जा चुकाउन सक्नुहुन्छ ?’ यदि कर्जा चुकाउने अवधि धेरै भएको भए त शुल्क कम राख्न सकिन्थ्यो ।

त्यस वर्ष पुलमा एकपटक हिडँ्नको लागि २५५ स्विडिस क्रोनर १७ पाउन्ड दिन पर्थ्यो । यातायात बढाउनको लागि त्यतिखेर यसलाई अस्थायी रुपमा आधा गरेर १४० क्रोनर गरियो । पुलबाटै यात्रा गर्ने मानिसको रुची बढेसँगै टोल फि फेरि बढाइयो ।

अहिले यहाँ एक सिंगल कार ट्रिपको लागि ५१५ क्रोनर अर्थात ५६.६८ अमेरिकी डलर लाग्छ । नियमित यात्रु र एडभान्समा अनलाइन टिकट किन्नेहरुको लागि केही छुट दिइन्छ । ट्रेन टिकट भने १११ क्रोनर अर्थात १२.२८ डलरबाट सुरु हुन्छ ।

पुलको स्वामित्व डेनिस–स्विडिस संगठन ओरेसन्डब्रो कन्सोर्टिएटसँग छ । उसको अनुमान अनुसार ऋण तिर्ने अन्तिम म्याद भन्दा चार वर्ष पहिले नै २०३३ सम्ममा पुल निमार्णका लागि लिइएको सबै कर्जा चुक्ता गर्न सकिन्छ ।

सीमामा तानातानीले पार्‍यो असर

स्वीडेन सरकारले जनवरी २०१६ देखि मे २०१७ को बीचमा पुल हुँदै आउजाउ यात्रुहरुको लागि फोडो र आइडी कार्डको जाँच सुरु गरिदियो । यात्रुहरुको लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो समस्या बन्यो ।

स्वीडेन सरकारले शरणार्थीको संख्या सीमित गर्न चाहिरहेको थियो । २०१५ मा १ लाख ६३ हजार मानिसहरु शरण माग्न स्वीडेन पुगेका थिए तर, पुलमा कडाइपछि २०१६ मा घटेर २९ हजारमा झरे ।

सीमामा यो नियन्त्रणको कारणले यात्रा झण्झटिलो भयो र यात्रा समय ३० मिनेट बढ्यो । कैयौं पटक त सर्भिस नै रोक्न पर्‍यो । डेनिश ट्रेन अपरेटिङ कम्पनी डिएसबीको अनुसार २०१६ मा रेल यात्रुहरुको संख्या १३ प्रतिशत घट्यो ।

स्वीडिस यात्रुहरु तनावबाट गुज्रिएका थिए र उनीहरु या त जागिर छोडिदिने वा डेनमार्क मै सिफ्ट हुने विकल्पको बारेमा सोचिरहेका थिए । २०१७ मे मा आइडी कार्ड जाँच बन्द गरियो ।

स्वीडेनको क्षेत्रीय रेल कम्पनी स्केनट्रेफिकनको टिकट बिक्रीको ताजा तथ्याङ्कको आधारमा भनिएको छ, ‘जो यात्रुहरुले वैकल्पिक तरिका खोजेका थिए, उनीहरु फेरि ट्रेनमै यात्रा गर्न थालेका छन् ।’

अक्टोबर २०१८ मा रेल यात्रीहरुको संख्या सन् २०१५ कै स्तरमा पुगेको छ ।

स्वीडेनको सफलता ?

इकोनोमिक जियोग्राफर मेगन्स एन्डरसनको अनुसार यात्रुहरुको संख्याले स्वीडेनले डेनमार्कको सेवा क्षेत्रको कमी पुरा गर्न मद्धत गरिरहेको बताउँछ ।

पुलको आर्थिक प्रभावलाई देखाउने अन्य प्रमुख संकेतहरु पनि छन् । सन् २००० देखि अहिलेसम्म विभिन्न क्षेत्रका ६० कम्पनीहरुले माल्मोमा आफ्नो नर्डिक हेडक्वाटर वा स्पेसलिस्ट अफिस खोलेका छन् ।

सन् १९९० मा स्वीडेन सरकारले शहरलाई परिवर्तन गर्ने जुन लक्ष्य तय गरेको थियो त्यसमा मद्धत मिलेको छ ।

यो पुलले मानिसहरुको व्यक्तिगत जिन्दगीहरुको स्तर बढाएको छ । डेनमार्कको मानिसहरु दक्षिणी स्वीडेनमा सस्तो घर किन्न सक्छन् । मुद्रामा अन्तरको कारणले सस्तैमा घर किन्न सक्छन् र दक्षिणी स्वीडेनको समुन्द्र तट र जंगलको मजा लिन सक्छन् ।

स्वीडेनका मानिसहरु डेनमार्कको राजधानीको प्रख्यात खानपान र डिजाइन इन्डस्ट्रीको फाइदा उठाउन सक्छन् र डेनमार्कको विशाल अन्तराष्ट्रिय विमानस्थल केस्ट्रपको पनि प्रयोग गर्न सक्छन् ।

एन्डरसन भन्छन्, ‘कोपनहेगनसँग माल्मोमात्रै जोडिएको छैन बरु यो पुलले स्वीडेनको शहरहरुलाई ग्लोबल नेटवर्कसँग जोडिदिएको छ । जब म माल्मोको भविष्यको बारेमा सोच्छु त्यतिखेर मलाई यो लिंक सबैभन्दा महत्वपूर्ण लाग्छ ।’

नर्डिक नोयर पर्यटनमा विकास

पुल र विमानस्थल दुवैले विदेशी पर्यटकहरुलाई लोभ्याउँछन् । अघिल्लो वर्ष कोपनहेगन यूरोपको सबैभन्दा तिव्र रुपमा फस्टाउँदै गरेको पर्यटकिय केन्द्रको रुपमा छानिएको थियो ।

२००० मा ३६ लाख विदेशी पर्यटकहरु रातमा बास बस्नेगरि कोपनहेगनमा आएका थिए तर, २०१७ मा बढेर ७० लाख भएको थियो ।

माल्मोमा पनि ठूलो परिवर्तन आएको छ । खासगरि हालको वर्षमा सन् २००८ मा यहाँ ४ लाख ८० हजार विदेशी पर्यटक बास बसेका थिए सन् २०१७ मा यो संख्या ८ लाख २० हजार भएको थियो ।

कोपनहेगन टुरिस्ट बोर्ड ‘वन्डरफुल कोपनहेगन’का प्रवक्ता जोनास लवशेल वेडेल भन्छन्, ‘पर्यटन बढाउनमा टिभी सिरिज ‘द ब्रिज’को कति भूमिका त्यो आँक्न मुस्किल छ ।’
वन्डरफुल कोपनहेगनले ‘एक यात्रा दुई देश’ नारा बनाएको छ जसले यो पुलको कति प्रभाव छ भन्ने संकेत गर्छ । ‘द ब्रिज’का अभिनेता पोन्टस टी पेग्ललाई भेट्न अष्ट्रेलिया जस्ता देशका फ्यान जुन रुपमा आतुर हुन्छन् त्यसबाट उनी आँफै पनि छक्क हुन्छन् ।

‘जब मानिसहरु तपाईंको संस्कृति वा पर्यावरणबारे राम्रो राम्रो कुरा गर्छन् भने अजिब लाग्छ । तर म सोच्छनु कि यो ठीक छ । स्वीडेनको दक्षिणी भागको प्रवद्र्धन भइरहेको छ, जुन पहिले भएको थिएन’ उनी भन्छन् ।

ओरेसन्ड ब्रिजले दक्षिण कोरिया र चीनलाई यस्तै खालको इन्जिनियरिङ प्रोजेक्ट सुरु गर्न प्रेरणा दियो ।

सन् २०२८ सम्म डेनमार्कको लोल्याण्ड टापुलाई जर्मनीको फेहमर्न टापुसँग सुरुङबाट जोड्ने डिजाइन गरिएको छ जसको काम सुरु गर्न जर्मनीको स्विकृति पर्खिदैँछ ।
किम स्मेदेगार्ड एन्डरसन यो सुरुङको डेपुटी टेक्निकल डाइरेक्टर हुन् । उनीसँग ओरेसन्ड लिंकको साथसाथै डेनमार्कको जिल्याण्ड टापु र फननेलाई जोड्ने द ग्रेट बेल्ट ब्रिजमा पनि काम गरेको अनुभव छ ।

पहिचानको संकट

आर्थिक सफलताको बाबजुद कैयौं पर्यवेक्षकलाई भने क्षेत्रलाई एक नयाँ पहिचान दिनमा ओरेसन्ड ब्रिजको सफलता सीमित रहेको लाग्छ ।

क्रिस्टन पेर्सनका अनुसार पुल सञ्चालन भएपछि कम्पनीहरु र संस्थानमा सीमा वारपार जस्ता परियोजनाहरु सुरु गरियो त्यसमा ‘धेरै छिटो धेरै थोक हुने’ क्रम चल्यो । कैयौं परियोजनाहरु केही वर्षमै बन्द भए ।

माल्मो र कोपनहेगन विश्वविद्यालयले छात्रछात्राहरुलाई खाडीको दुवैतर्फ पढ्न सक्ने सुविधा दिएका थिए तर, यो राम्रोसँग चलेन । पेर्सन भन्छन्, ‘आशा धेरै थियो तर, त्यसलाई पुरा गर्न मुस्किल थियो ।’

दुवै देशको शिक्षा व्यवस्थामा अन्तर छ । वैश्विकरणको रफ्तार पनि तेज छ । ‘विश्वका अन्य भागमा रहेका संस्थानको सट्टा नजिकै सीमापारि रहेको संस्थानसँग तालमेल गर्न मानिसहरुको रुची कम भएको छ ।’

हालसालै पुरै ओरेसन्ड क्षेत्रलाई ग्रेटर कोपेनहेगनको रुपमा रिब्रान्डिङ गर्ने एक विवादित कोसिस भयो । यसले अन्तराष्ट्रिय पाहुनाको अगाडि एक साझा पहिचान पेश गर्न सजिलो हुने भनाइ थियो ।

म्यागन्स एन्डरसनको भनाइ छ, ‘तर मानिसहरुलाई आफ्नो पहिचानभन्दा माथि उठेर सोच्नको लागि मनाउन चुनौतीपूर्ण रह्यो ।’

कोपनहेगनका मानिसहरुलाई डेनमार्कको भएको र राजधानीबासी भएको अभिमान छ भने स्वीडेनका मानिसहरुलाई पनि आफ्नो क्षेत्रीय पहिचानमा गर्व छ । दुई पहिचानलाई एउटै बनाउन सजिलो छैन ।

सबै समस्याहरुको बाबजुद पनि यो पुलले स्केन्डिनेभियाका मानिसहरुलाई धेरै नजिक ल्याएको छ । ‘सिनियर हाई स्कूलमा मेरा केही साथीहरुले यो पुलको विरुद्धमा प्रदर्शन गरेका थिए । आज हामी उनीहरुको मजाक उडाउँछौं’ एन्डरसन् भन्छन्, ‘हामी हाँस्छौं किनभने हामी यो पुल बिना आफ्नो जिन्दगीको कल्पना गर्न सक्दैनौं ।’

बीबीसीबाट अनूदित

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog